
साँझ झमक्कै परिसकेको छ । हामी हवाईजहाजभित्र छौं र जमिनभन्दा हजार फिट माथि आकाशमा उडिरहेको छौं । तर हामी बसिरहेको आफ्नो सिटदेखि मुनि जमिनमा हेर्दा बत्तीको प्रकाशले भ्यानकुभर शहर नवदुलहीझैं मज्जाले सजिएको देख्न सकिन्छ ।
“के तपाइँलाई थाहा छ । यस शहरको निर्माण लगभग सय वर्षदेखि यतामात्र सुरु भएको थियो,” एकछिन अगाडी हवाईजहाजकी परिचारिकाले भनेको सम्झन्छु । उनले त्यसो भनेको सम्झँदा यो एउटा बिल्कुल नयाँ शहर हो है भन्ने मलाई लाग्छ । हुनत आजभोलि वर्षे च्याउँ झैँ छ्यासछ्यास्ती उम्रेर हल्हली बढेका घरहरुले निर्मित यो शहर विश्वको एउटा आधुनिक शहर हो भनेर पत्याउन जो कोहीलाई निक्कै हम्मेहम्मे पर्छ ।
६ अक्टोवर २०२३ को दिन छ । ब्रिटिस एयरवेजको उडान नम्वर ००८५ ले भ्यानकुभर विमानस्थलमा अवतरण गर्दा बेलुकीको समय ७ बजेर ३० मिनेट गइसकेको हुन्छ । लण्डनको सर्वाधिक प्रख्यात विमानस्थल हिथ्रोदेखि उँभैउँभो उत्तर अथवा यसो भनौं उत्तरी ध्रुवतर्फ हानिएर आकाशमा ९ घण्टा ४५ मिनेट जति समय व्यतित गरेपछि हामीले बल्लबल्ल क्यानडाको जमिन छोएका छौं ।
जमिनमा हवाईजहाज पूर्ण रुपले रोकिएपछि विमान परिचारिकाले घरर आवाजसहित विमानको ढोका खोल्छिन् । त्यसपछि उनी ढोकाको नजिकै सुरिलो पोजिसनमा ठिङ्गै उभिएर यात्रुहरुलाई विमानदेखि बाहिर निस्कने सङ्केत गर्छिन् । हामी ढोकाको तीन हारपछिको सिटमा बसेका छौं । तर उनले ढोका खोलेको देख्ने बितिक्कै हामी बसिरहेको स्थानदेखि जर्याकजुरुक्क उठछौं । सिटदेखि उठेर हिँडनको लागि तयार हुँदा हामीभन्दा अगाडीको मान्छेहरुले हवाईजहाजदेखि निस्कन थोरै ढिला गर्छन् । अब एकछिन पर्खनु पर्ने भयो भनेपछि मैले परिचारिकाको बायाँ वक्षस्थलको ठीकमाथि लेखिएको नाम ‘मिसाइल डेभिस’ मज्जाले पढ्छु ।
उनको नाम पढिसकेपछि उनी अङ्ग्रेजी युवती नै हुन है भनेर निश्चित गर्छु । नत्रभने २ सय ८० वटा हवाईजहाज भएको ब्रिटिश एयरवेजमा बेलायतदेखि क्यारिबियन मुलुकका मानिसहरुसम्मले काम गर्ने गर्दछन् । तर मलाई यतिबेला अनायासै यस्तो लाग्छ । यिनी बिघ्नै भए त्यस्तै २०-२२ वर्षकी होली ? त्योभन्दा माथि को त के हुन्थी होली र ? यद्यपि झट्टै हेर्दा चाहिँ उनी एकदम पट्ठी वा १६ वर्षे षोडशी जस्ती देखिन्छे ।
अब त्यति आकर्षक शरीरकी धनी मिसाइललाई म अन्तिमचोटी शिरदेखि पयरसम्म मज्जाले हेर्छु । त्यसपछि उनलाई ध्यानाकर्षण गर्न ‘अहम’ गर्दै भुइँमा आराम गरिरहेको मेरो हाते झोलालाई टिप्छु । अनि झोलालाई दायाँ काँधमा झुन्डाएर मेरा अगाडीका मानिसहरुको पछिपछि लामबवद्ध भएर ढोकादेखि बाहिर निस्कँदै गर्दा, “गुड बाई ! नमरे बाँचे, फेरि भेटौला है,” भन्दै बाहिर निस्कन्छु ।
भ्यानकुभर क्यानडाको यात्रा मेरो जीवनमा बिल्कुल पहिलो पटक हो । त्यसैले मनभित्र अनेक थरिको कुरोहरु सोच्तै सोच्तै हवाईजहाजदेखि बाहिर निस्कन्छु । तर अचानक तारालाई सम्झेर झसङ्गै हुन्छु र हतारहतार एकपटक पछाडी फर्कन्छु । त्यसपछि मेरो आँधा शरीर तारा मसँगसँगै आएकी छन् कि छैनन् भनेर निश्चित गर्छु ।
हुनत हामीलाई यात्रामा साथ दिनको लागि यस पटक भाइ कृष्ण र बहिनी सानु पनि हामी सँगसँगै आउनु भएको छ । उनीहरुको बाबुबाजेको वतन वा थातथलो पूर्व ४ नम्वर भोजपुर भएतापनि लामो समयसम्म पूर्वको उदयीमान शहर धरानमा बसोबास गरेको हुनाले उनीहरुलाई नगर पिता हर्क साम्पाङको छिमेकी हुन् है भन्न म एकरति पनि हिचकिचाउँदिनँ ।
म नाथे ! बुईपा – खोटाङ्मा जन्मेर हुर्केको मान्छे र उनीहरु धरान । तैपनि हाम्रो हिमचिम राम्रो नै छ । उनीहरुसँग सम्बन्ध राम्रो भएको हुनाले म गाउँको मान्छेलाई शहरको मान्छेसँग हिँडडुल गर्दा अति नै गौरव लाग्ने गर्छ । त्यसैले तिनै प्रिय मित्रहरुसँग मिलेर हामी हाँसिखुसीका साथ यसपटक पश्चिमी क्यानडाको यात्रामा निस्केका छौं ।
हवाईजहाजदेखि बाहिर निस्केपछि हामी सुस्तरी अगाडी बढछौं र अन्य कुरो केही सोच्तै नसोची तीरझैं हानिएर सिधै अध्यागमनतर्फ लाग्छौं । तर त्यसरी पैदलैपैदल निक्कै लामो समयसम्म हिँडिरहँदा पनि अध्यागमन नभेटिएपछि, –
“ए ! लौ, शौचालयको ठीक अगाडी आइपुगिए छ । खै खै ! यहाँ अलिकति पिसाब फेरौं ।?” ताराको अनायसै मुख खोलिन्छ । उनको भनाइ सुनेपछि क्रमशः अगाडी बढिरहेका मेरा कदमहरु एक्कासी रोक्किन पुग्छ ।
“ल ल चाँडो गर, यस्तै छौ र त । छोरी मान्छेसँग नहिँड्नु भन्छु । तर के गर्ने जीवन सङ्गिनी नभै नहुने ?” मसिनो स्वरमा गुनगुनाउँछु ।
मेरो कुरो सुनेर, “ठीक छ ! एकछिन यहिँ उभिउँ न त,” कृष्णले सल्लाह दिन्छ ।
तारा शौचालयभित्र पसेपछि हामी तीनजना त्यहीँ उभिन थाल्छौं । त्यसरी उभिने क्रममा मलाई यो विमानस्थल निक्कै ठूलो रहेछ भन्ने कताकता भान पर्न थाल्छ । यसो एक झिमिक पछाडी फर्केर हेर्छु । मलाई निक्कैबेर हिँडेको जस्तो आभाष हुन्छ । सम्भवतः क्यानडामा यो विमानस्थल टोरोन्टोपछिको दोश्रो ठूलो विमानस्थल होला भन्ने मलाई कताकता लाग्न थाल्छ । किन मैले त्यस्तो सोचेको हो भने पियर्सन विमानस्थल टोरोन्टोमा म आधा दशक अगाडी पुगिसकेको थिएँ र त्यो निक्कै ठूलो छ भन्ने कुरो मलाई राम्रैसँग हेक्का थियो ।
शौचालय गरेपछि हयाङ्फस्याङ् गर्दै तारा हाम्रो नजिक टुप्लक्कै झुल्किन्छिन् । उनी आएपछि हाम्रो यात्राको गति पुनः आरम्भ हुन्छ । अनि एकछिन अगाडी हिँडेपछि अध्यागमनको काउन्टर नजिकै पुग्छौं । हामी त्यहाँ पुग्दा मानिसहरुको निक्कै ठूलो भीड देखापर्छ । मानिसहरुको भीड निक्कै धेरै रहेछ मनमनै भन्छु । तर त्यहाँ पुगेर अन्य कुनै उपाय नफुरेपछि तिनै पङ्तिमा लामवद्ध हुन्छौं ।
एकछिनपछि मानिसहरुको पङ्क्ति सुस्तरी अगाडी बढ्न थाल्छ । त्यसरी बढेपछि, “ए ! धेरै समय नलाग्ने रहेछ,” भन्छु । तर ताराले मेरो कुरो सुनेर, “धेरै लागे पनि के गर्न सक्नु हुन्छ र ?” जवाफ फर्काउने क्रममा प्रतिप्रश्न गर्छिन् । आफ्नै श्रीमती हुन् के गलबाजी गरिरहने है भन्छु र बोल्दिनँ । बरु सिधै अगाडी अध्यागमन काउन्टरमा रहेका कर्मचारीहरुलाई राम्ररी हेर्न थाल्छु ।
अ मैले त्यतिबेला धेरैजसो कर्मचारीहरु चिनियाँ मूलका देख्छु । जस्ले गर्दा मलाई कसोकसो बेइजिङको दासिङ, सङघाईको फुदोङ वा हङकङको पहिले काइटक र अहिलेको चेपलाक कोक विमानस्थलमा पुगेको याद आउँछ ।
“होइनौ बुढिया ! के हो, सबै चिनाहरु पो छ त ? कि कहाँ आइयो ?” मसिनो स्वरमा तारालाई छड्के दिन्छु ।
“खै कोनी है, मलाई झन के थाहा हुन्छ र ?” जवाफ फर्किन्छ ।
खयर जे सुकै होस् । अहिले म भ्यानकुभर विमानस्थलको अध्यागमनभित्र बसेर विगतमा तिनै चिनियाँ अध्यागमनहरुमा पुगेको एकचोटी मज्जाले स्मरण गर्छु । मैले यहाँ किन त्यसो भनेको हो भने यहाँको अधिकतम कर्मचारीहरु मैले कल्पना गरेको जस्तो श्वेत वर्णको नभएर चिनिया मूलको मात्र देखिरहेको छु ।
अध्यागमनको हलभित्र निक्कै बेर समय खर्चेपछि हामी एकजना कर्मचारीको अगाडी पुग्छौं । नभन्दै ती कर्मचारी मैले माथि उद्धृत गरे जस्तै चिनियाँ मूलका हुन् । अलिक नजिक पुगेपछि म उनको शिरदेखि पाउसम्म एक झलक हेर्छु । पक्का पक्का भन्ने हो भने उनी खान नपाएर मृत्युको नजिक पुगेको उत्तर कोरियाली नागरिकहरुझैँ एकदम लुते र पातले देखिन्छन् ।
तर मज्जाले हेर्ने हो भने मानव अस्थिपन्जर मात्र भएको त्यो शरीर लिएर ऊ कुर्सीमा गमक्कै फुलिएर बसेको छ । ऊ बसिरहेको झन् नजिक पुगेपछि दोहोर्याएर उनको अनुहार झन राम्ररी हेर्छु । अलिअलि घुर्माइलो अनुहारमा चाउरी परेको गाला देख्दा मेरो मन थोरै बितृष्णामय हुन्छ । त्यही माथि उनले आँखामा असुहाउदिलो प्रकारको एकजोर चश्मा पहिरिरहेको देख्न सकिन्छ । सम्भवत: यो मान्छे यहीँ जन्मेर यहीँ हुर्केको हुनु पर्छ । अनि मलाई जहाँसम्म लाग्छ ऊ आफ्नो जीवनकालमा कहिलै बेइजिङ पुगेको छैन होला ? नत्रभने बेइजिङमा छ्यासछ्यास्ती पाइने हाँसको मासु (बेइजिङ डक) खाएपछि बलियो, मोटोघाटो वा हृष्टपुष्ट भैहाल्थ्यो नि भन्छु ।
“जाबो मान्छे पनि हेर्दै यस्तो लुते देखिन्छ । अब यसले अध्यागमनमा के कडाइ गर्ला र ?” उनलाई देख्दा मेरो मनमा लागेको कुरो तारालाई फ्यास्सै सुनाउँछु ।
“खै कुनि है । पहिले न्यूयोर्कको अध्यागमनमा त त्यहाँको अधिकारीले तपाइँलाई असिनपसिन बनाएको मलाई राम्ररी याद छ,” ताराले सुनाउँछिन् ।
“हुन्छ, हेरौला नि,” भन्छु र उनको नजिकै पुगेर हामी ठिङ्गै उभिन्छौं । त्यतिबेला म उनलाई झन् नजिकदेखि राम्ररी नियाल्न थाल्छु । तर उनले अल्छिलाग्दो तरिकाले दाहिने हात थाप्ने बितिक्कै म उनलाई हाम्रो राहदानीहरु सर्लक्कै दिन्छु । त्यसपछि उनले हाम्रो राहदानीहरु पालैपालो ओल्टाइपल्टाइ हेर्छ । अनि होटलको ठेगाना चाहिँ एकचोटी सरर पढेको देख्छु । त्यसबेलासम्म उनी हामीसँग एकपटक पनि बोलेका छैनन् । तर उनले एक्कैचोटी बोल्दै नबोली हाम्रो राहदानीहरु हेरेर फर्काइ दिन्छ र हातको इसाराले जाऊ भनेर भन्छ ।
उनले इसारा दिएपछि केही कुरो नसोधेर ठीक्कै गरिस् मोरा मनमनै भन्छु । त्यसपछि हामी क्रमशः अगाडी बढछौं ।
हुनत, म यस्सै पनि रहरे मान्छे छु । त्यसैले विगत ४० वर्षदेखि यता संसारको हरेक कुनाकुनामा के कस्तो स्थानहरु रहेछन् भनेर जान्नको लागि बिरालोले फन्फनी घर घुमेझैं म पनि संसारको विभिन्न स्थानहरुमा फन्फनी घुमिरहेको छु । यसै क्रममा चीनको गाउँ गाउँमा मात्र नभएर हङकङ र मकाउ कति चोटि पुगें होला भनेर खास्सै लेखाजोखा गरिहालेको छैन । जसले गर्दा चिनियाँहरुको बानी बेहोरा कस्तो हुन्छ भनेर मलाई राम्रैसँग थाहा छ ।
आखिर जे सुकै होस् । ती मोराले हामीलाई त्यहाँदेखि बिदा दिन्छन् । त्यसपछि हामी सरासर हिँडेर सुटकेसहरु घुम्दै आउने कन्भेयर बेल्टको सामुन्ने पुगेर दोश्रोचोटी ठिङ्गै खडा हुन्छौं । एकछिनको प्रतिक्षापछि सुटकेसहरु कन्भेयर बेल्टमा इजिप्सियन बेली नाचकी नर्तकीझैं कम्मर हल्लाउँदै हल्लाउँदै हाम्रो अगाडी आउँछन् । सुटकेसहरु हाम्रो अगाडी देखा परेपछि हतार हतार आ-आफ्नो सुटकेसहरु लिन्छौं र तिनलाई गुडाउँदै गुडाउँदै यात्रु प्रतिक्षालयमा पुग्छौं ।
यात्रु प्रतिक्षालयमा केहीबेर अगाडीदेखि हामीलाई एकजना चालकले प्रतिक्षा गरिरहेको हुन्छ । अझै उनले हातमा एउटा टेव्लेट समातिरहेको छ । र, तिनै टेव्लेटमा ठूल्ठूलो अक्षरमा लेखिएको ‘भीम राई’ भन्ने सूचना निक्कै टाढादेखि मज्जाले दृश्यावलोकन गर्न मिल्छ । अब त्यो सूचना देखिएपछि हामी उनको नजिकै पुग्छौं र “म भीम राई हो,” भनेर म आफैं आफ्नो संक्षिप्तमा परिचय दिन्छु ।
“जम्माजम्मी चार जना हुनुहुन्छ, होइन र ?” उनले हामीलाई देख्ने बितिक्कै पहिलो वाक्य छोड्छ ।
उनको कुरो सुनेर, “हो हो भन्छु ।”
“लु अब ! मलाई पछ्याउनोस् है,” भन्छ र ऊ खुरुखुरु हाम्रो अगाडी अगाडी हिँड्न थाल्छ ।
यसो हेर्दा चालक निक्कै मिजासिलो देखिन्छ । पहिलो नजर लगाउने बितिक्कै मलाई उनको उमेर निक्कै पाकेको हुनु पर्छ जस्तो लाग्छ । सायद बुढेसकाल भएर होला उनको शरीर चाहिँ निक्कै पातलो देखिन्छ र तिनै पातलो शरीरमा उनले मामुली एउटा सर्ट र खैरो रङ्गको सुट उनिरहेको छ । तर उनले सुटमा टाइ भने बाँधेको छैन् । उनलाई हेर्दा मलाई काटिकुटी उनको ज्यानसँग मिल्ने एकजना मेरो पूर्व मित्र एलगन डेभिसको झसङ्गै याद आउँछ । किन म उनलाई देखेर झस्केको हुँ भने कुरो यस्तो छ ।
लगभग एक दशक अगाडीको कुरो हो । म तिनै एलगनको कारमा चढेर ग्लेन एब्बी गल्फ कोर्स वेल्समा गल्फ खेल्नको लागि गएको थिएँ । मेरो जिन्दगीको सबैभन्दा नराम्रो दिन त्यही दिन भयो । जब हामी गल्फ खेल्दै खेल्दै चौधौं प्वाल (होल) मा पुगेको के थियौं । उनलाई अचानक हृदयघात भयो र ठाउँको ठाउँ उनको मृत्यु भयो ।
मैले जिन्दगीमा मेरो आँखै अगाडी एकजना असल मित्रको मृत्यु देख्दा ज्यादै दु:खित भएको थिएँ । त्यो सम्झेर म अहिले अलिकति झस्केको हुँ ।
अब चालक अगाडी अगाडी र हामी उनको पछि पछि हिँड्दै कार पार्कमा पुग्छौँ । कार पार्कमा पुगेपछि उनले कारको डिकीमा हाम्रा सुटकेसहरु मिलाएर राख्न थाल्छन् । उनले कारमा समानहरु राख्तै गर्दा म कारको अगाडी सिटमा बस्छु र मज्जाले खुट्टा तन्काउँछु । त्यसपछि, “बल्ल बल्ल भ्यानकुभर आइ पुगियो,” भनेर सानो स्वरमा भन्छु । एकछिन पछि घन्द्रङ्गै ढोका खोल्दै चालक कारको चालक बस्ने सिटमा पसेर बस्छ । उनी त्यसरी बस्ने बितिक्कै हतार हतार कार स्टार्ट गर्छ । अनि सानो स्वरमा कारको रेडियो बजाउँछ त्यसपछि हामीलाई एक-एक बोतल क्यानेडियन पानी दिन्छ ।
हामीलाई पानी दिँदै गर्दा पहिलो चोटी, “यहाँहरुलाई क्यानडामा न्यानो स्वागत छ,” भन्छ । त्यसपछि “के तपाईहरुको क्यानडा पहिलो चोटी हो ?’ भनेर प्रश्न गर्छ ।
“होइन, होइन, टोरोन्टो पहिले नै आइसकेको छौं । तर भ्यानकुभर भने पहिलो पटक हो,” म नै उत्तर दिन्छु ।
मेरो कुरो सुनेपछि कृष्णले, “म पनि पहिले क्यालगरीमा आएको थिएँ । तर निक्कै लामो समय अगाडीको कुरो हो । हामी त्यहाँ आउनुको मुख्य कारण भनेको सैनिक अभ्यास नै थियो । त्यो नै मेरो क्यानडाको पहिलो अनुभव थियो,” उनले भन्छ ।
त्यति कुरोकानि भएपछि कारले बिस्तारै भ्यानकुभर विमानस्थललाई छोड्छ । लगभग १० घण्टा जति आकासमा उडेको र बेलायती समय रातको ३ बजिसकेको हुनाले हामी थोरै थकित अवस्थामा हुन्छौं । केहीबेरमा कारको पछाडी बस्ने मेरा सहयात्रीहरु सबैजना निन्द्रादेवीको शरणमा परिहाल्छन् । म चाहिँ ठूलो मान्छे भएर गमक्कै कारको अगाडी सिटमा आसन गरिरहेको हुन्छु । त्यसैले मलाई निन्द्रा लागिहालेको छैन् । पहिलो कुरो त अरुले गाडी हाँकिरहेको अवस्थामा मलाई हल्काफुल्का डर लाग्ने गर्छ । त्यसैले म सुत्न सक्त्तै सक्त्तिनँ । अर्को कुरो भनेको चाहिँ नयाँ ठाउँको नयाँ परिवेश र दृश्यहरु कतै छुटलान् कि भनेर म माथि झन् पिरको भारी थपिन्छ ।
केहीबेरमा कार फ्रेजर नदीमा पुग्छ । सलमान माछाको लागि अति प्रख्यात फ्रेजर नदी ब्रिटिस कोलम्बियाको सबैभन्दा लामो नदी हो । नदीको नाम साइमन फ्रेजरबाट आएको हो है भन्ने कुरो म मेरा पाठकहरुलाई यिनै लेख मार्फत जानकारी गराउन चाहन्छु । साइमन खोज तथा अन्वेषकमात्र नभएर भेडाको ऊन व्यापारी पनि हुन् । त्यसैले सन् १७७६ मा न्यूयोर्कमा जन्मेर उनी पैसा कमाउनको लागि यतातिर हानिएका थिए ।
फ्रेजर नदीमा रहेको बाइक वे साँघु पार गरेपछी कार आफ्नै गतिमा कम्वी सडकतर्फ गुडिरहन्छ । रात्रीकालिन समय छ तैपनि बत्तीको प्रकाशले त्यति फराकिलो सडक दिउँसोझै उज्यालो देखिरहेको छ । यति ठूल्ठूलो बाटामा एक रफ्तारले कार गुडिरहँदा मलाई एकदम रमाईलो लागिरहेको छ ।
एकछिनपछि कारको रेडियोमा विश्व विख्यात गायक मेड्डोनाको ‘लाइक अ भर्जिन’ भन्ने गीत अचानक बज्न सुरु गर्छ । सन् ८० को दशकको अति प्रख्यात उक्त्त गीत मैले पटक पटक सुनेको मात्र होइन । त्यस गीतको छायाङ्कन गरिएको स्थान रियल्टा साँघु भेनिस पुगेको मलाई त्यसबेला झल्झली याद आउँछ । हुनत जाबो म भुइँमान्छे । अझै यसो भनौँ ढिँडो र गुन्द्रुक खाएर सगरमाथाको फेदीमा हुर्केको पाखे । त्यो पनि कुनै कुनै बेला नपाएर गिठ्ठा र भ्यागुरले मुस्किलले अल्झेको जीवन । अहिले कसोकसो भाग्यले जुराएर ग्रुज पर्वतको फेदीमा रहेको र कुमुदिनी फूलहरुले सजिरहेको शहर भ्यानकुभर पुग्दा निक्कै आनन्दित भइरहेको छु ।
कार आफ्नै गतिमा गुडिरहेको छ । बेलुकी पखको समय भएको हुनाले सुनसान वातावरण छ । वास्तवमा मानिसको जिन्दगी पनि साँच्चै अचम्मैको हुने रहेछ भनेर म त्यसबेला अचानक सोच्न थाल्छु ।
वास्तवमा मैले भ्यानकुभर भन्ने शब्द अहिले सुनेको होइन । आजभन्दा लगभग ३५ वर्ष अगाडी सुनेको थिएँ । त्योभन्दा अगाडी मलाई यसको विषयमा शून्य ज्ञान थियो । अथवा पटक्कै थाहा थिएन । तिनताका म हङकङमा बेलायती गोर्खा सिपाही भएर काम गरिरहेको थिएँ । हुनत त्यसबेला मेरो विदेशमा बसेको अनुभव पाँच वर्ष भइसकेको थियो तैपनि म अलिक ठेट्ना नै थिएँ ।
सिपाही हुँ भनेपछि सिपाहीको जिन्दगी अलिक कष्टकर नै हुन्छ । त्यसैले पल्टन घरमा विभिन्न प्रकारको कठिनाइहरु आउने र जाने गर्दथ्यो । तर कुनै कुनैबेला उरन्ठेउलो र मनोरन्जनात्मक समयहरु आएपनि धेरै जसो समयहरु अलिक झन्झटिलो र पट्यारलाग्दो नै हुन्थे । हुनत मनोरन्जन जीवनको अभिन्न अङ्ग हो भन्ने कुरो मलाई त्यसबेला राम्रैसँग हेक्का थियो । त्यसैले हल्काफुल्का मनोरन्जन गर्नको लागि हरेक सप्ताहन्तको प्रतिक्षा गर्ने गर्दथे । त्यसपछि जब आइतबारको दिन आउँथ्यो । सूर्यको पहिलो किरण जमिनमा खस्दानखस्दै एउटा जिन्सको पतलुङ उनेर चाइनिज फ्लिट क्लव (सिएफसी) वानचाइ पुगिहाल्थें ।
तिनताका पल्टन घरमा जिन्सको पतलुङ अथवा जिन्सबाट बनेको कुनै पनि लुगाफाटा लगाउनको लागि गोर्खा सैनिक घरमा पूर्ण रुपले प्रतिबन्ध गरिएको थियो । त्यसैले त्यसप्रकारको कपडा पहिरन गर्न भनेको जिउँदो बाघको मुखमा पर्नु जतिक्कै जोखिमयुक्त्त कार्य थियो । तर के गर्ने र ? वैँसालु उमेर न हो । त्यसबेला निषेधित कार्य गर्नु नै सबैभन्दा ठूलो बहादुरी हो जस्तो लाग्दथ्यो । त्यसैले यदाकदा ढल्काइ हालिन्थ्यो ।
फेरि त्यसको अर्को पाटो पनि थियो । जिन्स लगाइएन भने आफूभन्दा थोरै अगाडी भर्ती भाकाहरुले पाखे, गवारे वा यस्तै यस्तै सरकारी भन्ने उपनामको बिल्ला भिराइ दिइहाल्थे । उनीहरुबाट पनि बच्नु थियो र सैनिकका हाकिम हाकिम्नीहरुदेखि पनि बच्नु थियो । त्यसैले लैँनछोकडा सिपाही हुँदा स्यान्डवीचको बीचमा च्यापिएको टुना जस्तै जिन्दगी हुन्थ्यो ।
एक सप्ताहन्तको कुरो हो । फाटेको जिन्सको पतलुङ्मा झलल टल्किने पहेलो भेस्ट घुसारेर म तिनै सिएफसी वानचाइ पुगेको थिएँ । क्लबमा पुगेपछि त्यही काम गर्ने एकजना वेयरासँग मेरो भेट भयो । हुनत दुई-तीन हप्ता अगाडीमात्र मैले उनीसँग परिचय गरेको थिएँ । हङकङभन्दा निक्कै टाढा फिलिपिन्सदेखि आएकी तिनै वेयराले मलाई, –
“भीम ! म आज तपाईलाई एक पाइन्ट बियर किनिदिन्छु,” भट्टीपशलको एकापट्टी कुनामा म एक्लै उभिरहेको बेला मेरो नजिक आएर उनले अचानक त्यस्तो शब्द छाड्छिन् ।
मैले फिलिपिनो युवतीहरुको विषयमा पहिलेपहिले त्यति राम्रो कुरो सुनेको थिइनँ । उनीहरु अति लोभी हुन्छ्न् र अरुको खान मात्र जान्दछन् भन्ने सुनेको थिएँ । अब उनीहरुको बानी त्यस्तो हुन्छन् भन्ने थाहा भएको हुनाले यस्ले खुब फूर्ति लगाई होली भन्ने मलाई लाग्छ । तैपनि उनले किन त्यसो भनिन् होली भनेर मलाई एकछिन अचम्म त यस्सै लाग्यो । आज मेरो चन्द्रमा दाहिने भएको दिन रहेछ । त्यसैले सित्तैमा एक पाइन्ट बियर लडाइने भयो भनेर एक मनले खुसी हुन्छु । हुनत जिन्दगीमा कहिलै सोच्तै नसोचेको तर उनको एक्कासी आएको त्यो आग्रहले म थोरै झस्किएको चाहिँ थिएँ ।
“डियर ! छोरी मान्छेले किनेको बियर मलाई खाने बानी परेको छैन्,” संक्षिप्तमा प्रतिकृया दिइहालें ।
“तिमी के साह्रो खुत्तिएको मान्छे हौ ?” मेरो कुरो हावामा बिलय हुन पाउँदानपाउँदै उनले जवाफ फर्काइ हालिन् ।
“किन र ?” मलाई त्यसपछि थोरै आत्मग्लानी भयो ।
“ल सुन्नोस् । म यो हप्ता भ्यानकुभर जाँदैछु । त्यसपछि म हङकङ कहिले फर्केर आउँदै आउँदिनँ । उतै एकजना बुढो कुहिरे खोज्छु र घरजम गरेर बस्छु । सकेँ भने समय समयमा भ्यानकुभर र मनिला ओहोरदोहोर गर्छु । तर हङकङ के आउँथे र ? आउँदै आउँदिनँ । किनभने मैले यहाँ कुकुरले नपाएको दुःख पाएको छु । अनि तपाईलाई एउटा कुरो थाहा छ ? मैले यो ठाउँ छाड्दै गर्दा तीनचोटी थुकेर छाड्छु । त्यसैले हाम्रो जिन्दगीको यो अन्तिम भेटघाट हो,” त्यति भनिन् र मलिन अनुहार लिएर एकछिनसम्म निक्कै टाढा हङकङ हार्बरतिर नियाली रहिन ।
उनको कुरो सुनेपछि मलाई त्यसबेला यो भ्यानकुभर भन्ने ठाउँ कहाँ पर्ने रहेछ भन्ने मनमा लागिरह्यो । तर साह्रै नजान्ने लाटो पनि किन हुने र भन्दै खस्रे भ्यागुताझैं एकछिन फुलिएर बसिरहें । हुनत म निःशब्द थिएँ र हुनु स्वभाविकै पनि थियो । किनभने मलाई भ्यानकुभरको विषयमा केही अत्तोपत्तो थिएन ।
एकछिनसम्म लगातार हङकङ हार्बरमा आइरहेको सामुन्द्रिक ज्वारभाटाको नजर लगाइ सकेपछि उनी पुनः मतिर फर्किन । तर उनी फर्किने बितिक्कै, –
“उसो भए म पनि अबदेखि यो जाबो सिएफसीमा मरिगए पाइला टेक्ने छैन किनभने मलाई यहाँका चिनियाँ बेयराहरुको बानी पटक्कै मन पर्दै पर्दैन,” मसिनो स्वरमा भनिहालें ।
त्यो दिनदेखि हामी एक अर्कामा सधैँ सधैँको लागि बिदा भयौं । तर उनले हङकङ छाडेपछि मलाई भ्यानकुभरको विषयमा जान्ने झन् तीब्र इच्छा जाग्न थाल्यो ।
३५ वर्ष अगाडीको त्यो क्षणलाई म अहिले कम्बी सडक भ्यानकुभरमा मज्जाले स्मरण गरिरहेको छु । हुनत ती क्षणहरु बितेको निक्कै लामो समय भइसकेको छ । जस्ले गर्दा धेरैजसो कुरोहरु मैले बिर्सिसकेको छु । त्यसैले ती फिलिपिनो महिलाको नाम त के हो मैले त्यो पनि सम्झन सक्त्तिनँ । अहँ मलाई उनको नाम अहिले पटक्कै याद छैन् । यतिबेलासम्म उनी यस लोकमा छन् कि परलोकमा छन् त्यो पनि थाहा छैन् ।
तर उनको विषयमा मैले यहाँ चर्चा परिचर्चा गर्दा मेरी श्रीमतीले नकारात्मक सोच लिन सक्छिन् भनेर म चुपचाप एक्लै घोत्लिरहन्छु । किनभने हामी त्यतिबेला बोर्नियो लाइन्स, सेकङ, हङकङमा बस्थ्यौं । एकदिन सैनिक क्याम्पमा ठूलो मेला लागिरहेको थियो । हङकङको गर्मी त्यस्तै हो । हामीभन्दा निक्कै जेठो बीरबहादुर दाजू र एकजना फिलिपिनो युवती रूखको फेदमा बसेर सियाल लिँदैलिँदै खै के गफ चुटिरहेका थिए । गोर्खा फेमिली लाइन्सकी एकजना सुल्सुले दिदीले देखेर उनकी श्रीमतीलाई खबर गरी दिइछिन् । एकछिनपछि उनकी श्रमतीले पछाडीदेखि आएर दाजुको गालामा दिएको झापड सम्झँदा अहिले पनि मेरो गाला दुखेर आउँछ । त्यो दिनदेखि मैले मेरी श्रीमतीको अगाडी फिलिपिनो युवतीहरुको विषयमा बरु यो ज्यान जान्छ तर कुरो गर्दिनँ भन्ने प्रण गरेको छु ।
बीरबहादुर दाजूको गाला सम्झँदै सम्झँदै म कारभित्र मज्जाले आराम गरिरहेको छु । आजभोलि ती दाजु कता छन् मलाई अत्तोपत्तो छैन् । कार आफ्नै गतिमा क्रमशः भ्यानकुभर शहरतर्फ तीरझैं हानिरहेको छ ।
क्रमश:

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो