‘कुमारी’लाई ‘भर्जिन’जस्तो बनाउन नसक्दा

संस्मरण

बर्फिलमा प्रेम लामा असल लामाले सञ्चालन गर्नुभएको हिमालयन हट स्पोटमा काम गर्दा उहाँहरूले सुरुमा रेस्टुरेन्ट कसरी सञ्चालन गर्नुभयो सुनाउने गर्नुहुन्थ्यो । नेपालबाट आएको पाँच/सात वर्षमा नै कसरी यति धेरै काम गर्न सफल भएको होला भनेर लख काट्ने गर्थे । हामीलाई काम दिन सक्ने भएकोले अनुग्रही हुनु त स्वाभाविक नै थियो । आफू भने कति बसिएला, कसरी बसिएला, यहाँ बस्न दिएको निवेदन सफल होला कि नहोला यी र यस्तै तर्कनाहरूले व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने कुराको त कल्पनासम्म पनि हुँदैन थियो । केही समय काम गरेर केही पैसा जम्मा गर्ने र नेपालबाट आउँदाको ऋण तिर्न पाए हुन्थ्यो भन्ने सोच थियो । त्यतिवेला मैले प्रत्येक दिनको डायरी लेखेर मिनुलाई पठाउने गर्थें । मैले सुरुमा पाउने गरेको हप्ताको ७० पाउन्डको हिसाबले अर्को अढाई वर्ष काम गरेपछि ऋण मुक्त हुने र त्यसपछि केही बढी काम गरे भविष्य सुनिश्चित गर्न सकिने व्यहोराको पत्र लेखेको थिएँ ।
रेडिङ छोडेर ओर्दिङ आएपछि अलि फरक ढंगले दिनचर्या बित्न थाल्यो । गोवाबाट आएका डेनी त्यहाँ पाकिस्तानीले सञ्चालन गरेको जेवेल इन द क्राउन भन्ने रेस्टुरेन्टमा काम गर्दोरहेछ । त्यहीँ रेस्टुरेन्टमा बर्फिलमा सँगै काम गरेको सिबी गुरुङ (अशोक) पनि काम गर्न पुग्यो । डेनीले च्याउ टिप्ने काम पनि गथ्र्याे चेसवुड मसरुम कम्पनीमा । त्यहाँबाट फर्केपछि रेस्टुरेन्टमा पनि काम गथ्र्याे । उसले च्याउ टिपेर कमाउने गरेको पे स्लिप सबैलाई देखाउँदो रहेछ । म रेडिङबाट अन्तै जानपर्छ होला भन्ने मानसिकतामा थिएँ । त्यसैले काम गर्ने अनुमति आइसकेकोले च्याउ टिप्न आउँदा राम्रो हुने सल्लाह दियो अशोकले । कृष्ण बुढा पनि आउने भनेर हामी दुवै आउने निर्णय ग¥यौँ । पछि म मात्रै आएँ । कृष्णचाहिँ त्यहीँ पाकिस्तानी रेस्टुरेन्टमा आयो ।
केही समयपछि पाकिस्तानी रेस्टुरेन्टका साहुहरूबीच मनमुटाव सुरु हुन थाल्यो । आफन्त पर्ने दुई साहुहरू अमिर र तारेकबीच हात हालाहालसम्म पनि हुन सक्ने स्थिति आएकाले जसरी हुन्छ त्यो रेस्टुरेन्ट बेच्ने निर्णयमा पुगेछन् । म त्यतिवेलासम्म नेपाली समाजमा आयोजना हुने करिब सबै कार्यक्रममा पुग्ने गरिसकेको थिएँ । एकदिन यतिको कार्यक्रममा लण्डन जाने क्रममा तारेक पनि रेडिङ जाने भएकोले मलाई उसैले आफ्नो गाडीमा लण्डन छाडेर गएका थिए । बाटोमा उनले त्यो रेस्टुरेन्ट धेरै राम्रो चलेको तिमीहरू नेपाली पनि तीनजना काम गर्ने भएकोले मिलेर चलाउनु बरु सस्तोमा नै मिलाउँछु भन्दै थिए । तारेकले वोर्दिङ टाउनमा एउटा फ्ल्याट पनि लिएका रहेछन् । १० हजारमा हाम्रै नाममा पास गरिदिन्छु पनि भन्दै थिए । त्यतिवेला हामीले व्यवसाय गर्ने घर किन्ने भन्ने सोचाइ नै नराखेको हुनाले त्यसबारे थप कुराकानी गर्ने आवश्यकता नै देखेनौँ । हाम्रो यस देशमा बस्न पाउने र काम गर्ने अनुमति भए पनि स्थायी बसोवास गर्न पाउने गरी हाम्रो निवेदन उपर फैसला भइसकेको थिएन । त्यसैले हामीले व्यवसाय सञ्चालन गर्ने सोच राखेका थिएनौँ । बरु अरू कुनै नेपालीहरू पाए खोजिदिन्छौँ भन्यौँ । उनीहरूलाई जसरी भए पनि रेस्टुरेन्ट बेच्नुपर्ने थियो ।
म बर्फिलमा काम गर्दा त्यतिवेला स्ट्यान्डर्ड तन्दुरीमा काम गर्ने रोजकुमार लामाको परिवारसहित प्रेम लामालाई भेट्न आएको बेला अब आफ्नै व्यवसाय सञ्चालन गर्नुपर्छ होला भन्ने सल्लाह गरेको सुनेको थिएँ । त्यहीँ काम गर्ने तेन्जिङ लामा पनि प्रेम लामालाई बेलाबखत भेट्न आउने गर्नुहुन्थ्यो । उहाँहरूबीच नातासम्बन्ध पनि थियो । मैले त्यही आधारमा तेन्जिङ लामासँग कुरा गरेँ । रेस्टुरेन्टको बारेमा सबै कुरा भनेँ । हामी तीन जना त्यहीँ काम गर्छौ । व्यापारको कुनै चिन्ता छैन हेर्न आउनुस् मन परे लिनुहोला भनेँ । केही दिनभित्र नै रोजकुमार तेन्जिङ र पाकिस्तानीहरूबीच भेटघाट छलफल भयो र किन्ने टुंगो लाग्यो । चिनाजान भएकै नेपालीहरूले रेस्टुरेन्ट किन्न लागेकोमा हामी वास्तवमै खुसी भयौँ । सन् १९९८ को मार्च अप्रिलतिरबाट रेस्टुरेन्ट गोर्खा तन्दुरीको नाममा नेपालीहरूले सञ्चालन गरेको हुनुपर्छ ।
अमिरसँग अलि खटपट परेर मैले केही अघिदेखि नै त्यहाँ काम गर्न छोडिसकेको थिएँ । त्यहाँ जान पनि छोडेको थिएँ । म त्यहीँ रेस्टुरेन्टमा काम गर्ने लालाले खोलेको गोरिङको टेक अवेमाथि बस्न थालेको थिएँ । बेलाबखत काममा पनि सघाइदिन्थेँ । त्यही घरमा भाडामा बस्न डेनी पनि आइपुग्यो । ऊसँग काममा पनि सँगै र बस्न पनि सँगै भएपछि अलि नजिक हुन पुग्यौँ । उसले गोवामा पसल चलाउने गर्दोरहेछ । अर्काको काम सधैँ गरेर हुँदैन आफ्नै गर्नुपर्छ भन्थ्यो । मैले सुनेको नसुनेझैँ गर्थे । रेस्टुरेन्ट नै चलाउने भएको भए त त्यही किनिन्थ्यो नि किन अर्को खोज्नुपर्यो र भन्ने गर्थे ।
सन् १९९८ को जुनतिर मिनु पहिलोपल्ट बेलायत आएपछि भने यो रुटिनमा अलि परिवर्तन आउन खोज्यो । अब यसरी हुँदैन लण्डन जानुपर्छ । अरूले झैँ अलि राम्रो काम गर्नुपर्छ, भन्ने सोच्न थाल्यौँ । एउटा कम्पनी पत्ता लगाएर अफिसमा काम गर्ने भनेर अन्तर्वार्ता पनि दिन गयौँ । तर, रेफरेन्स मागेको ठाउँबाट नआएकोले त्यो काम हुन सकेन । यही बेलामा डेनीको काममा लडेर हात प्लास्टर गर्नुपर्ने भएकोले लामो छुट्टीमा घरमै बस्नुपर्ने भयो । म काममा जान्थेँ । ऊ भने मिनुलाई यसरी हुँदैन । यी काम गर्न नसकिए पैसा धेरै आउँदैन । आफ्नै काम भए त कमाइ भइरहन्छ नि भन्दै बजारतिर कुन कुन पसल भाडामा छ बुझ्दै हिँड्न थालेछ । मिनुले पनि मिल्छ भने आफनै कुनै काम नै गर्न पाए राम्रो भन्न थालेपछि अब व्यवसाय गर्न सकिन्न भन्ने हिजोको जब्बर सोचाइ परिवर्तन हुन थाल्यो ।
हामी चेसवुडमा च्याउ टिप्न जाँदा गोरिङदेखि वेस्ट वर्किङसम्म हिँडेर आउने र मिनिबसबाट जाने गथ्र्यौं । यसो गर्दा हामी उठ्न पनि छिटो उठ्नपर्ने र अरूलाई छाडेपछि मात्र हामीलाई छाड्ने हुँदा गाडीमा नै धेरै समय जान्थ्यो । हामी जाने बाटो फिन्डन भ्यालीमा एउटा बाल्टी हाउस भन्ने पाकिस्तानी रेस्टुरेन्ट थियो । त्यो हामीले काम गर्ने ठाउँबाट त्यति टाढा पनि थिएन । जाँदा पनि ढिलो र आउँदा चाहिँ छिटो पुगिने थियो । त्यो रेस्टुरेन्टको साहुनी केजा पनि हामीसँगै काम गर्नुहुन्थ्यो । डेनी र मिनुले साह्रै भन्न थालेपछि एक बिहान मैले केजासँग ‘कुनै रेस्टुरेन्ट बेच्न राखेको थाहा छ ?’ भनेर सोधँे । उसले ‘खै अरूको त छैन बरु हामी छोरीको विवाहको लागि पाकिस्तान जाँदै छौँ । मिल्यो भने हाम्रै रेस्टुरेन्ट बेच्ने कुरा छ, खान सापसँग कुरा गर्न आउनु नि’ भन्नुभयो । मैले यो कुरा सबैसँग भनेँ र त्यहीँ दिन बेलुकी हेर्न गयौँ । १० हजार पहिला दिनपर्ने अनि महिनाको १२ सय भाडा दिनपर्ने । तल रेस्टुरेन्ट माथि बस्ने तीनवटा कोठा थिए । म र डेनीले बाहिर बस्नको लागि करिब ६ सय त तिरेकै छौँ । रेस्टुरेन्टको भाडा छ सय मात्रै बढी तिरे पुग्ने देखियो । कृष्णले गोर्खा छोडेर त्यहीँ आउने, अशोकले केही पैसा हालेर पार्टनर बन्ने सल्लाहा भयो । बाहिर मैले र डेनीले काम गर्ने कुरा भयो । डेनीले त्यहीवेला बैंकबाट केही कर्जा लिएको र त्यो प्रयोग गर्न सकिने भनेको थियो । उसलाई जसरी भए पनि व्यवसाय चलाउन पर्ने इच्छा भएको हुनाले हामीले धेरै नापतौल नगरिकन कुरा पक्का गर्यौँ । त्यसको करिब दुई हप्तापछि आफ्नै व्यवसाय सुरु गर्यौँ । यसरी वोर्दिङमा दुईओटा नेपाली रेस्टुरेन्ट सञ्चालनमा आए ।
नाम के राख्ने? मेनु कस्तो बनाउने? भन्ने छलफल गर्न थाल्यौँ । सुरुमा त बाल्टी हाउस भनेरै चलायौँ । त्यहाँ करी मात्रै होइन पिज्जा पनि पाक्ने गथ्र्याे । मेनुमा बिफ थियो, तर भेडाको मासुलाई नै बिफ भनेर बेच्ने गरेको रहेछ । हामीले मेनुबाट बिफ हटाउने निर्णय गर्यौँ । नाम एभरेस्ट, गोर्खा, हिमालय आदि इत्यादि सोच्यौँ, छलफल गर्यौँ तर निर्णयमा पुग्न सकेका थिएनौँ । साइनबोर्ड, मेनु सबै बनाउने स्थानिय छापाखानाका पिटरको अगाडि हामी सबै छलफलमा थियौँ । ऊसँग पनि सल्लाह माग्यौँ । उसले ‘नेपालसम्बन्धी कुनै पुस्तक छ?’ भनेर सोध्यो । हामीले पर्यटन बोर्डले छापेको एउटा पुस्तक दियौँ । उसले भोलिपल्ट ‘कुमारी’ नाम राख्दा कस्तो हुन्छ ?’ भन्ने सुझाव फोनबाटै दियो ।सबैले यही नाम राख्ने निर्णय गर्यौँ । नेपाललाई हिमाल गोर्खा शेर्पाको नामले मात्र चिनाउनु भन्दा कहीँ नभएको प्रचलनबारे प्रचार गर्नु त्यति अनुपयुक्त लागेन । आजसम्म पनि बेलायतमा तीनसय भन्दा बढी नेपाली रेस्टुरेन्ट होला कतै पनि ‘कुमारी’ नाम छैन । अलिपछि थाहा भयो अमेरिका बाल्टिमोरमा नायक सरोज खनालले पनि आफ्नो रेस्टुरेन्टको नाम कुमारी नै राख्नुभएको थियो रे ।
मेनु बनाउँदा पनि सामान्य भारतीय रेस्टुरेन्टमा पाइने खानाहरूको अलवा आठओटा नेपाली परिकारहरू बनाउने निर्णय गर्यौँ । मलाई पकाउने खुबै जाँगर चल्ने हुँदा विविध स्वादमा ती परिकारहरू तयार पार्यौँ । अब नाम के राख्नेबारे छलफल हुँदा नेपालकै प्रख्यात ठाउँहरू काठमाडौं, पोखरा त भइहाल्यो डेनी दामनबाट आएको र हाम्रो पनि दामन भन्ने ठाउँ भएकोले दामन ल्याम्ब, कृष्णको जिल्ला भएकोले रुकुम भेज, मिनुको जिल्ला बाग्लुङ मिक्स, अशोकको जिल्ला गोर्खा चिकेन, मेरो हेलम्बु र जुगल भन्ने नामाकरण गर्यौँ । यी खाना प्राय सबैले मन पराउँथे । अलि पछि मैले नेपाली रेस्टुरेन्टमा किन राँगोको मासुको परिकार नराख्ने भनेर खोज्न थाले । पहिला त बेल्सबाट पार्सल गरेर मगाइयो पछि बेजिङ्स्टङको फार्ममा आफैँ गएर किनेर ल्याउने गरेँ । अलि महँगो हुने हुँदा मैले मेनुमा पनि किङ प्राउनकै भाउमा बेच्न थालेँ । आज पनि खासै आमनेपाली रेस्टुरेन्टहरूमा राँगोको मासुका परिकार पाइँदैन । यही अनुभवले गर्दा एक पटक नेवारहरूको भोजमा सिंगो राँगोको मासु ल्याएर विभिन्न परिकार बनाएर सबैलाई खुवाउने अवसर पनि मिल्थ्यो ।
केही उतार चढावसहित कुमारी रेस्टुरेन्ट सन् २०१२ सम्म चल्यो । हामी स्लावमा आएपछि केही समय कुन्दनले सञ्चालन गर्यो । उसले पनि एउटा बंगालीलाई बिक्री गर्यो । जुन अहिले अर्कै नामबाट सञ्चालनमा छ ।
मैले रेस्टुरेन्टको नाम ‘कुमारी’ राख्नुको एउटा अदृश्य तर महत्वकांक्षी कारण थियो । जुन कुरा मैले सायद अरूसँग व्यक्त गरेको थिइनँ । कुमारीको अंग्रेजीमा ‘भर्जिन’ हुन्छ, जुन नामबाट रिचर्ड ब्रानसनले आफ्नो व्यावसायिक साम्राज्य फैलाउन सफल भएका छन् । कतै हामीले पनि कुनै दिन केही हदसम्म भए पनि त्यही नामबाट सफलता प्राप्त गर्न सकिएला कि भन्ने आशा लिएका थियौँ । जुन आजसम्म सम्भावनाको नजिक पुग्न सकिएन ।

श्रेष्ठको ‘मेरो आधा शताब्दी’ पुस्तकबाट

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री