लण्डनस्थित पशुपतिनाथ मन्दिरमा नेतृत्व चयनमा विवाद

फाइल फोटो

लण्डन । दक्षिण पूर्वी लण्डनस्थित नेपालीहरुद्वारा स्थापित पशुपतिनाथ मन्दिरको छैटौँ अधिवेसनमा विवाद उत्पन्न भएको छ ।

सन् २०२३-२५ को कार्यकालका लागि चुनिने मन्दिर व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयनका क्रममा विवाद देखिएको हो ।

विवादको कारण

मनोनयन पत्र बुझाउँदै त्रिपाठी

नयाँ कार्यसमितिको अध्यक्षका लागि उम्मेदवारी दिएकी कल्पना त्रिपाठीको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएपछि समितिकी पूर्व सचिवसमेत रहेकी त्रिपाठीले आफूमाथि भेदभाव र अन्याय भएको आरोप लगाएकी छिन् । उता निर्वाचन समितिका संयोजक नरेन्द्र कँडेल र बोर्ड अफ ट्रष्टीजका कोअर्डिनेटर कर्णबहादुर शाहीले भने त्रिपाठीले उम्मेदवारीका लागि आवश्यक काजगजात बुझाउन नसकेको बताएका छन् ।

निर्वाचन समिति र शाहीका अनुसार त्रिपाठीले अध्यक्ष पदमा मनोनयन गर्नका लागि बोर्ड अफ ट्रष्टिजबाट सिफारिस पत्र ल्याउनु पर्नेमा त्यो पत्र ल्याएकी छैनन् । सोही कारण उनको उम्मेदवारी खारेज भएको हो । तर त्रिपाठी सो कुरा स्वीकार्न तयार छैनन् । मन्दिरको विधान २०१५ (संशोधन २०१७) को हवाला दिँदै उनी समितिको अध्यक्ष बन्नका लागि बोर्ड अफ ट्रष्टिजको सिफारिस आवश्यक नरहेको तर्क गर्छिन् ।

त्रिपाठीले जिकिर गरेको विधानको परिच्छेद ६ (१) मा ‘‍….अध्यक्षको उम्मेदवार हुनको लागि ट्रष्टी समूहको सदस्य हुन अनिवार्य हुने छ’  मात्र लेखिएको छ (हेर्नुहोस् तस्वीर तल)। त्यसो त बोर्ड अफ ट्रष्टिजका संयोजक शाही पनि विधानमा यस्तो व्यवस्था भएकोमा जानकार छन् । त्यसैले उनी भन्छन्, ” हामीले गर्दै आएको ‘अभ्यास’ के हो भने अध्यक्ष पदमा मनोनयन गर्नका लागि ट्रष्टी हुनुपर्ने र बोर्ड अफ ट्रष्टीको बहुमतले सिफारिस गरेको पत्र चाहिन्छ ।” यहाँ उनले अभ्यास शब्दको अर्थपूर्ण प्रयोग गरेका छन् । जसको मतलब विधानमा व्यवस्था नभए पनि गरिँदै आएको कार्य मान्न सकिन्छ।

उता त्रिपाठी भने गत अधिवेसनमा नै आफूलाई आउने कार्यसमितिका लागि निर्विरोध अध्यक्ष बनाउने वचन दिइएको बताउँछिन् । त्यतिबेला उपाध्यक्षमा त्रिपाठीसहित ‘दुई जनाको उम्मेदवारी परेको र ट्रष्टी सदस्यहरु तथा सँस्थापक अध्यक्ष होम शर्माले अर्को पटक स्वतः अध्यक्ष हुनुहोला’ भनेपछि उम्मेदवारी फिर्ता लिएको दाबी गर्छिन् । आफूलाई महिला भएकै कारण पटकपटक अन्याय र भेदभाव गरिएको उनको आरोप छ । उता बोर्ड अफ ट्रष्टिजका संयोजक शाही भने त्रिपाठीलाई स्वत: अध्यक्ष बनाउने कुरा मनगढन्ते भएको बताउँछन् । ‘अर्को अधिवेसनमा स्वत: अध्यक्ष दिन्छु भनेको भए कतै अडियो,भिडियो, लिखित रेकर्ड होला नि ? प्रमाण होला । खै मलाई त अहिलेसम्म एक जनाले पनि यो कुरा भनेको छैन’, शाही भन्छन् ।

त्रिपाठीको आरोप

पशुपतिनाथ मन्दिर तथा कम्युनिटी सेन्टर युकेमा स्थापना कालदेखि मैले निरन्तर सहयोग पुर्याउँदै आएको थिएँ । २०१९-२०२१ को कार्यकालमा म सचिव पदमा रही आफ्नो कार्यकाल सफल रुपमा सम्पन्न गरेकी थिएँ । मेरो संयोजनकारी भूमिकामा नेपालको मूल पशुपतिनाथ मन्दिर र सम्बन्धित निकायहरुसँग समन्वय गरी शिवलिङ्ग, पञ्चदेवता, बसाहालगायत मन्दिरलाई आवश्यक पर्ने अन्य सामग्रीहरु ल्याई उदाहरणीय काम समेत गरेकी थिएँ । गत अधिवेशनमा मैले मन्दिरमा अरु धेरै कामहरु गर्ने हेतुले आजिवन सदस्य, ट्रस्टीहरु तथा सामाजिक अभियन्ताहरुको सल्लाहबमोजिम उपाध्यक्षमा उम्मेदवारी दिएको थिएँ । उपाध्यक्षमा अर्को पनि उम्मेदवारी परेको थियो यो अवस्थामा निर्वाचन कमिटीले निर्वाचन प्रकृया पूरा गरी उपाध्यक्ष चुन्नु पर्नेमा निर्वाचनलाई प्रकृयामा नलगी ट्रष्टी सदस्यहरु र सँस्थापक अध्यक्ष होम शर्माले अर्को पटक स्वतः अध्यक्ष हुनुहोला, यसपटक सरिता पौडेललाई उपाध्यक्ष छाडिदिन पटकपटक अनुरोध गर्नुभयो । पशुपतिनाथ जस्तो पवित्र संस्थामा कार्यसमितिमा रही काम गर्ने इच्छा हुँदाहुँदै पनि वहाँहरुको सर्त स्वीकार गरेकी थिएँ ।

मन्दिर व्यवस्थापन समितिको यही अगष्ट २७ तारिख आइतबार हुन गइरहेको अधिवेशनमा पूर्व शर्तबमोजिम मलाई अध्यक्ष पदमा निर्बिरोध अगाडि बढ्न सल्लाह दिनुहुन्छ भन्ने पूर्ण अपेक्षा थियो तर त्यस्तो भएन । ट्रस्टी बोर्ड बैठकमा अध्यक्षको आकाङ्क्षा मलगायत अरु दुइईजनाले पनि राख्नु भएको थियो । बैठकमा एक समूहले बैठक नै प्रभावित पारी एक पक्षमा निर्णय गरायो मैले यसमा हस्ताक्षर नगरी असहमति जनाएँ ।

मौखिक रुपमा ट्रष्टी संयोजक कर्ण शाही, ट्रस्टीहरु, पूर्वअध्यक्षहरु, आजिवन सदस्यहरुसँग सल्लाह गरी निर्वाचन समितिले तोकेको समयमा ट्रष्टी सदस्य तथा पूर्व सचिव फत्त थापा प्रस्तावक तथा पूर्व अध्यक्ष तथा ट्रस्टी सदस्य सहदेव गिरीको समर्थनमा विधानसम्मत ढङ्गले अध्यक्षको उम्मेदवारी दर्ता गरेकी थिएँ । निर्वाचन समितिले २१ अगस्त आइतबार बेलुकी ५ बजे मेरो उम्मेदवारी रद्द गर्यो जुन कमिटीका सीमित ब्यक्तिहरुले आफ्नो पक्षका उम्मेदवारलाई निर्वाचन प्रकृयामा जान नपर्ने गरी सहयोग गर्ने हेतुले निर्णय गरिएको प्रष्टसँग देखिन्छ । निर्वाचन समितिले गरेको उक्त निर्णय अवैधानिक अर्थात् विधानविपरीत रहेको छ । निर्वाचन समितिले गरेको यस निर्णयप्रति मलगायत नेपाली मन्दिर तथा सामुदायिक केन्द्रसँग सम्बन्धित धेरै व्यक्तिहरुमा हेपाहा प्रवृत्ति हावी भएको भाव सिर्जना भएको छ। 

यसले मलाई हतोत्साही तुल्याई आफू भेदभाव र पक्षपातमा परेको महसुस भई मेरो मन्दिर प्रतिको समर्पण, सेवाभाव, आस्था, निष्ठामा ठूलो चोट पुर्याएको छ । साथै मन्दिर जस्तो पवित्र संस्था सबैले अपनत्व गर्न सक्ने, साझा स्वच्छ, पारदर्शी र निष्पक्ष हुनु पर्नेमा निर्वाचन कमिटीले विधानमा उल्लेख नै नभएको कुरालाई आधार बनाई पशुपतिनाथ मन्दिरकै गरिमामाथि आँच आउने काम भएको र कुनै ब्यक्तिको पक्षधर भई पदको दुरुपयोग भएको पनि देखियो। 

बायाँ गोपाल अर्याललाई गरिएको सिफारिस दायाँ कल्पना त्रिपाठीको बदर उम्मेदवारी

के भन्छन् निर्वाचन समितिका संयोजक ?

मन्दिर व्यवस्थापन समिति चयन गर्नका लागि नरेन्द्र कँडेलको संयोजकत्वमा मोति भण्डारी र अर्जुन गौतम रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिका संयोजक नरेन्द्र कँडेल निर्वाचन समितिले कार्यसमिति र बोर्ड अफ ट्रष्टिजले दिएको कार्यविधिका आधारमा कार्यसम्पादन गरेको र त्रिपाठीको मनोनयनमा सो कार्यविधिमा राखिएको प्रावधान पूरा नभएकाले रद्द गरेको बताउनुहुन्छ । कँडेलका अनुसार समितिको अध्यक्ष पदमा मनोनयन गर्नका लागि बोर्ड अफ ट्रष्टिजको सिफारिस सामेल गर्नुपर्नेमा त्रिपाठीले सो सामेल गरेकी थिइनन् । कँडेलले उपलब्ध गराएको निर्वाचन कार्यविधिको २ (ग) मा ‘अध्यक्ष पदको लागि ट्रष्टी बोर्डबाट सिफारिस भै आएको हुनुपर्नेछ’ उल्लेख छ ।

मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका कँडेल आफूले पनि विगतमा उम्मेदवारी दिँदा बोर्ड अफ ट्रष्टिजको सिफारिसका साथ नै उम्मेदवारी दिएको बताउनुहुन्छ ।

के भन्छन् बोर्ड अफ ट्रष्टिजका संयोजक शाही ?  

पशुपतिनाथ मन्दिरको च्यारिटी कमिसनमा दर्ता भएको अभिलेखमा १९ जना ट्रष्टिज छन् जसमा कल्पना त्रिपाठी हुनुहुन्न । अभिलेखमा नहुनु भए पनि व्याबहारिक रूपमा उहाँ ट्रष्टी हुनुहुन्छ र उहाँलगायत १७ जना ट्रष्टीको नाम दुरुस्त गर्न बाँकी छ । पशुपति मन्दिरको मुख्य सन्चालन बोर्ड अफ ट्रष्टीजबाटै हुन्छ । कानुनी र आर्थिक दायित्व पनि बोर्ड अफ ट्रष्टिजकै हो । बोर्ड अफ ट्रष्टिजले दैनिक मन्दिर सन्चालनका लागि कार्यसमिति गठन गर्ने गरेको छ । जसमा हामीले गर्दै आएको अभ्यास के हो भने अध्यक्ष पदमा मनोनयन गर्नका लागि ट्रष्टी हुनुपर्ने र बोर्ड अफ ट्रष्टीको बहुमतले सिफारिस गरेको पत्र चाहिन्छ । यसपटकको कार्यसमिति चयनका लागि बोर्ड अफ ट्रष्टिजको सात घण्टा बैठक बस्यो । बैठकमा कल्पना त्रिपाठी लगायत तीन जना ट्रष्टीहरुले अध्यक्ष पदका लागि इच्छा जाहेर गर्नुभयो । अन्तिममा पूर्व कोषाध्यक्ष गोपाल अर्यालको नाम सर्वसम्मतले सिफारिस गर्ने निर्णय भयो । जसमा कल्पना त्रिपाठीले पनि सहमति जनाउनुभएको थियो । निर्णय पुस्तिकामा उहाँको हस्ताक्षर नभए पनि उहाँले नोट अफ डिसेन्ट लेख्नुभएको छैन ।  

अन्त्यमा

आफ्नै घरमा बसेको बैठकबाट शुरु भएको मन्दिरको व्यवस्थापन समितिको निर्वाचन प्रक्रियामा सामेल हुन समेत नपाएकोमा आफू मर्माहत भएको त्रिपाठी बताउँछिन् । केही व्यक्तिले आफूले चाहेको मान्छे मात्र कार्यसमितिमा हुनुपर्छ भन्ने बदनियत राखेकाले यो समस्या आएको उनको आरोप छ । उता बोर्ड अफ ट्रष्टिजका अध्यक्ष शाही भने मन्दिरमा काम गर्नका लागि पदमा बस्न आवश्यक नै नभएको ठान्छन् । त्यसमाथि ट्रष्टीहरूलाई त कार्यसमितिमा बसिरहनु जरूरी नै नभएको उनको धारणा छ । यस्तो विवाद आउनुमा म नै हुनुपर्छ भन्ने प्रवृत्ति जिम्मेवार रहेको उनको ठहर छ ।

आराध्यदेव पशुपतिनाथको देशका नेपालीहरूले प्रवासमा आएर गाँस काटीकाटी खडा गरेको पशुपतिनाथ मन्दिरको व्यवस्थापनमा आएको यस्तो किचलोले कतै पशुपतिनाथकै संरक्षणमा बिजोग हुने त होइन भन्ने प्रश्न खडा भएको छ ।

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री