
“खैनी खाने हो ?” मेरो बायाँ काँधमा एउटा गह्रुङ्गो हात राखेर उक्त प्रश्न आउँदा म एकचोटी झसङ्ग झस्किन्छु । तैपनि त्यो हात एकछिनसम्म मेरो काँधमा नै रहिरहन्छ । अचानक खैनी खाने हो भनेर सोध्ने को रहेछ भनेर हत्तपत्त मेरो मुन्टो आवाज आएको दिशातर्फ फर्काउँछु । तर मुन्टो फर्काउने बितिक्कै पहिले हङकङमा वर्षौवर्ष सँगसँगै काम गरेको लान्स कर्पोरल चन्द्र लिम्बूको चिरपरिचित अनुहारसम्म पुगेर ठोकिन्छ । अब उनलाई देख्ने बितिक्कै, –
“गुरुजी ! मैले खैनी खान छाडी सकें त,” छोटो जवाफ फर्काउँछु ।
“होइना हौ लुङ्गा ! पहिले पहिले त एक-एक छिनमा खैनी ओठमा च्यानु पर्थ्यो । हन आजभोलि त्यस्तो के भो र ? कि निक्कै लामो समयसम्म बाँच्नु मन छ र ?” पहिले मधुर मुस्कान छाड्छन् र मेरो कानै नजिक आएर उनले त्यस्तो लेक्चर दिन्छन् ।
लगभग साढे दुई दशकको अन्तरालपछि सुनेको उहाँको त्यो बोलीले मलाई केवल आकर्षण मात्र गर्दैन । म माझकिराँतमा जन्मेर हुर्केको मान्छे, मेरो दिल हुरुरु उडाएर पल्लो किराँत ताप्लेजुङ, पाँचथर वा तेह्रथुमतर्फ पुर्याउँछ । मलाई नेपालको पूर्वी भागमा बस्ने लिम्बूहरुको त्यस्तो बोलीचाली सुन्न असाध्यै मन पर्छ । त्यसैले उहाँको मुख जति खोलिन्छ, म त्यति मन्त्रमुग्ध हुन्छु । तर खै के भएर हो कुन्नि ? त्यति बोलिसकेपछि उनी मैले दिने उत्तरको प्रतीक्षा गर्दैनन् । बरु मानिसहरुको हुलमुलभित्र उनको शरीर सुस्तरी बिलय भएर गएको देखिन्छ ।
हो, हामी त्यसबेला तारासँग भट्टीपसलको एउटा कुनामा उभिएर पेय पदार्थ किन्नको लागि बेयराको प्रतीक्षा गरिरहेको थियौं । त्यो भट्टीपसल अन्त कतै नभएर मानभवन, पाटनमा रहेको ब्रिटिस गोर्खा क्याम्प काठमाण्डौको अधिकृतहरुको मेसमा थियो । किनभने त्यसदिन गोर्खा ट्रान्सपोर्ट रेजिमेन्टको जन्मदिन परेको थियो र तिनै जन्मदिनलाई भव्यताको साथ मनाउन हामी पनि त्यहाँ पुगेका थियौँ ।
काठमाण्डौ उपत्यकामा रहेको तीनवटा शहरहरुमध्ये अति चर्चित सहर पाटनमा टण्टलापुर घाम लागेको त्यो दिन १ जुलाई २०२२ को दिन थियो । अझ भनौं, त्यसको ठीक ६४ वर्ष पहिले तर ठीक त्यसै दिन विभिन्न बेलायती गोर्खा इन्फेन्ट्री बटालियनहरुका सिपाहीहरु मिलाएर मलायामा गोर्खा आर्मी सर्भिस कोर (जिएएससी) खडा गरिएको थियो ।
सन् १९५८ देखि शुरु भएको जिएएससी सन् १९६५ मा आएर अन्त भएपछि गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट (जिटिआर) मा परिणत हुन्छ । मलाई मेरो जिन्दगीमा एउटा काकताली के पर्छ भने म जुन वर्ष जन्मछु, सोही वर्ष जन्मेको रेजिमेन्टमा पछि गएर काम गर्न पुग्छु । मलाया, सिङ्गापुर र हङकङको भूमिमा विभिन्न कठिनाइहरु पारगर्दै उक्त्त रेजिमेन्ट सन् १९९२ सम्म जीवित रहेपछि क्विन्स ओन गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट (क्युओजिटिआर) मा परिणत हुन्छ र सन् १९९४ देखि अहिलेसम्म क्विन्स अन गोर्खा लजिस्टिक रेजिमेन्ट (क्युओजिएलआर) भएर अल्डरसट, बेलायतमा आफ्नो जिउपाला गरिरहेको छ ।
हाते घडीको समय बिहानीको ठीक एघार बज्छ । सार्जन्ट मेजरले जन्मदिनको केक काटेको हेर्नको लागि रेजिमेन्टका सबै सदस्यहरुलाई ध्यानाकर्षण गराउँछ । उनको अति ठूलो तर थोरै खस्रो बोली सुनेपछि हातमा एक-एकवटा ड्रिङक्स समातेर तारा र म त्यहाँदेखि सुस्तरी हिँड्दै केही अगाडी बढ्छौं । तर अचानक हाम्रो भेट कप्तान प्रदीप लिम्बूसँग हुन्छ । ऊ मेरो नम्बरी हो अथवा हामी एउटै मितिमा बेलायती गोर्खा सेनामा भर्ती भएका हौं । त्यतिमात्र नभएर पल्टन घरमा बीसौं वर्ष सँगसँगै काम गरेका छौं । तर समय आँधिबेहरी जस्तै हो, आउँछ र जान्छ । त्यस्तै हामी एकआपसमा छुटेको पनि अहिले साढे एक दशक भइसकेको रहेछ । तर त्यस अवधिमा एउटा उदेक भयो छ । मैले थाहा नपाउँदै उनले दोश्रो बिहे गरिसकेका रहेछन् । फेरि हामी एक आपसमा नभेटेको पनि लामो समय भएको थियो । त्यसैले त्यसदिन भेट हुँदा उनको नयाँ श्रीमतीसँग हाम्रो परिचय हुन्छ ।
हुलमुलको बेला हाटहुटे परिचय गरेपछि, “वास्तवमा प्रदीप निक्कै भाग्यमानी मानिस रहेछ,” भन्दै सानो स्वरमा तारालाई सुनाइ हाल्छु ।
प्रति उत्तर दिनेक्रममा ताराले, “कप्तान भएर हो, कि कसरी ?” भन्छिन् ।
“होइन, होइन – पहिले उनको श्रीमती राईनी थिई, अहिले गुरुङ्सेनी रहेछ अब अर्को बिहे गर्यो भने मरि गए फरक पर्दैन, लिम्बुनी नै हुन्छ । तर के गर्नु ? म ऊ जस्तो भाग्यमानी छैन । उही हो, आफ्नो त अभागी खप्पर । बीसौ वर्ष पहिले बानेश्वरमा बनाएको एउटा थोत्रो घर छ र त्यो घर पर्खने केवल एउटी थोत्री श्रीमतीमात्र छ,” भन्छु । मेरो कुरो सुनेर ताराको कन्पारो तातिन्छ । त्यसैले एक्कै शब्द बोल्दै नबोली रिसले मरिच झैं चाउरी परेको उनको अनुहारले स्पष्ट बताइरहेको देख्छु ।
अधिकृत मेसको पल्लो कुनामा केक काटने कार्यक्रम सुरु हुन्छ । रेजिमेन्टको सबैभन्दा पुरानो मान्छे भनेको उनै मेजर बालकृष्ण राना (बिके) हुनुहुन्छ । त्यसैले उहाँको हातदेखि केक काट्ने एउटा पुरानो चलन छ । सन् १९८४ मा भर्ती भएर म रेजिमेन्टमा पुग्दा उहाँ मेजर भएर गोराको दर्जामा काम गर्ने उपाधि लिइ सक्नुभएको थियो । अझै यस आलेखमा के पनि भनौ भने रेजिमेन्टमा उहाँभन्दा जेठोपाको कोही पनि छँदै छैनन् ।
तर उहाँलाई केक काट्न सहयोग गर्ने अर्को एकजना गोरा साहेब पनि त्यहाँ देखा पर्छन् । उहाँको असल नाम कलनेल पौल स्मिथ हो । निक्कै समय अगाडी दश रेजिमेन्ट, कोलचेस्टरमा कप्तान पौल अपरेसन अधिकृत हुँदा म सोही रेजिमेन्टको २८ स्क्वाड्रनमा अपरेसन सार्जन्टको भूमिका निभाउँदथे । त्यहाँदेखि छुटेपछि विगत दुई दशकसम्म मैले उहाँलाई कहिल्यै सलाम गर्ने अवसर पाउँदै पाइनँ । तर लामो समयपछि त्यसदिन बल्लबल्ल त्यो साइत जुरेर आएको देखेर म छक्क परें । अनि त्यतिबेला उहाँ कमाण्डर बिजिएन मात्र नभएर नेपालको लागि बेलायती सैनिक सहचारी पनि रहेछन् ।
रेजिमेन्टको जन्मदिनको केक काट्ने कार्यक्रम सकिएपछि सार्जन्ट मेजरले पुनः एकचोटी हामी सबैजनाको ध्यान ऊप्रति खिच्छ । तर त्यसबेला अन्य केही विषय नभएर कोभिड १९ को महामारीमा बाँच्न सफल हुनुभएको रेजिमेन्टको सबै सदस्यहरुलाई लेफ्टिनेन्ट आशमान राईको नामबाट एक-एक ड्रिङ्कस उपलब्ध हुने जानकारी गराउँदछ । त्यति धेरै मानिसहरुको अगाडी उहाँको त्यो विशाल हृदय सम्झेर म आफू पनि राई भएको नाताले अति गर्वित भएको महसुस गर्छु ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको न्यानो काख सोलुखुम्बुमा जन्मेको तर बहादुरहरुको पनि अति बहादुर आशमान राईले त्यसरी सबैको लागि पेय पदार्थ खरिद गरेको त्यो नै प्रथमचोटी चाहिँ निश्चय पनि हुँदै होइन । आजभन्दा लगभग तीस बत्तीस वर्ष अगाडी पनि २८ सैनिक शिक्षा केन्द्र, बोर्नियो लाइन्सबाट अधिकृत हुने परीक्षा उतीर्ण भएर आउँदा दुवै घुँडा जमिनमा टेकेर शून्य आकाशतिर हेर्दै सुम्निमा र पारुहाङसँग आशिर्बाद माग्दै गर्दा, – “लु ! अब मलाई अधिकृत हुन कस्ले छेक्दो रहेछ, हेरौं,” भनेर बेलुकीको ६ बजेदेखि १० बजेसम्म पूरै निशुन क्लब खुला गरिदिएको क्षण मैले त्यसबेला अति आनन्दित हुँदै हेरेको निक्कै लामो समयसम्म स्मरण गरिरहें ।
सार्जन्ट मेजरले त्यस्तो उद्घोष गरेपछि सितैमा भेटे अलकत्र पनि बजाइन्छ भन्ने मनस्थिति बोकेर म बारको नजिक लम्कँदै गर्दा अचानक कप्तान जयनारायणसँग पहिलो मुलाकात हुन्छ । उहाँसँग भेट हुने बितिक्कै पहिले हाम्रा हातहरु एकआपसमा आत्मियताका साथ जोडिन्छन् । त्यसपछि मलाई एक ढ्याप मार्दै उहाँले कुरोको पोयो खोल्न सुरु गर्नु हुन्छ ।
“अ…कता बस्छौं ? खै के भयो ? पटक्कै हाम्रो भेटघाट छैन् ? तर तिमीलाई देखेर म असाध्यै खुसी छु । अनि खाना सँगै बसेर खानुपर्छ है । गोर्खालीहरु बेलायतमा जान नपाउने समयमा त्यतिका धेरै गोर्खालीहरु बेलायत लगेर सारा जगतलाई खुसी दिलायौं । बेलायतमा भएपनि छोराछोरीहरुलाई राम्ररी पढायौं । मानिस अजम्बरी कोही छैनन् तर दुई दिन बाँच्दा मानवीय जिन्दगी कसरी जिउनु पर्छ भनेर दुनियाँलाई पाठ सिकायौं । अब त तिम्रो विश्व भ्रमण पनि सकिसकियो होला ? कि अझै बाँकी छ र ?” सासै नरोकी त्यति भनिसकेपछि उहाँ एकछिन लामो सास तान्नु हुन्छ र केहीबेर रोकिनु हुन्छ ।
त्यति प्रेमपूर्वक उहाँको भनाइ सुनेपछि म उहाँको शिरदेखि पाइतालासम्म मज्जाले नियाल्छु । तर उहाँको कुरा सुनिबस्दा लाग्छ, मैले जिन्दगीमा निक्कै ठूलै काम गरें । तर सत्यता त्यो होइन । मेरो छाती चिरेर, दुःखको पोको खोलेर उहाँलाई देखाइ हाल्न म के सक्थेँ र ? तैपनि, “होइन हजुर ! मैले के नै पो गरेको छु र, जाबो म भुइँमान्छे त हुँ । जति माथि उठ्न खोजेपनि सक्त्तै सक्त्तिनँ । खयर जे सुकै होस् – यतिका धेरै कुरोहरु चाहिँ कसरी चाल पाउनु भयो ?” भन्छु, त्यसपछि दुवै हात कम्मरमा थपक्कै राख्छु । तर मेरो कुरो भुइँमा खस्न पाउँदा नपाउँदै, “एकछिन है । तिमीसँग अझै धेरै कुरो गर्न बाँकी छ,” भन्दै मसँग उहाँ बिदा माग्नु हुन्छ । तैपनि उहाँको हृदयभित्र वर्षौवर्ष जमेर बसेका प्रश्न, अन्योल र उथलपुथलहरु जम्मै एक्कैचोटी मेरो अगाडी त्यसरी पोखिँदा मलाई थोरै सहानुभूति हुन्छ ।
मेसभित्र समयले नेटो काटिरहेको थियो । कप्तान जयनारायणसँग छुटेपछि पाल्पाली ढाका टोपी ढलक्कै ढल्काएका एकजना भलादमी मानिससँग मेरो एक्कासि भेट हुन पुग्छ । त्यसरी अकस्मात् भेटिएका मानिस अन्य कोही नभएर तीन लाख वर्ष यता सुरु भएको मानवीय सभ्यता, संस्कृति र पहिचानको लागि “किराँत प्रदेश” नै हुनुपर्छ भनेर सदैव आफ्नै भूमिमा मरिहत्ते गरेर राजनीतिमा लागि पर्ने मानिस – श्री भूपेन्द्र नेम्बाङ हुन् ।
उहाँ पल्टनघरमा छँदा मभन्दा निक्कै धेरै सिनियर गुरुजी हुनुहुन्थ्यो । तैपनि पदोन्नति लिन असफल हुनुभएकोले बोर्नियो लाइन्स सेकङ्मा छँदा हामी सँगसँगै फनकाम रोडमा ३७ सिटे कोच हाँक्ने गर्दथ्यौं । उहाँले पल्टन घर छाडेर हिँडेपछि एभिएम चौक, मानभवनमा भने हाम्रो भेटघाट निक्कै बाक्लै रहने गर्दथ्यो । म त्यसबेला चारैतर्फ फलामे तारले बारिएको मानभवनको सैनिक क्याम्पभित्र बस्थेँ । तर हरेक शनिबार बिहान उठेर हातमा एउटा जेब्रा झोला च्यापेर मासु लिन त्यही चौकमा जाने गर्थेँ । तिनै चौकमा हरेक सप्ताहन्तमा “नमस्ते मामा” ले धराने कालो बङ्गुरको वध गर्नु हुन्थ्यो । त्यसरी भेटघाट हुँदा हामीले सुक्रोटिस, प्लेटो, अरिस्टोटल र निकोला म्याकियभेलीको दर्शनका कुरोहरु निक्कै लामो समयसम्म गर्दथ्यौं । र, अन्तमा मार्क्सवाद, लेनिनवाद, माओवाद र बाहुनवादको विषयमा गहन अध्ययन र छलफल गरेर कुरोको बिट मार्थ्यौं ।
हामी त्यसबेला पनि “राजनीति” किन विज्ञान हुन गयो भन्ने विषयमा घनिभूत छलफल गरिरहँदा एकजना अपरिचित अनुहारसँग अकस्मात् मेरो अनुहार ठोक्किन पुग्छ । मेरो अनुहार त्यसरी ठोकिए मात्र त केही हुदैनथ्यो, “भीम ! ठीक्छ ?” भनेको मधुरो आवाज मेरो कानसम्म आएर बज्रन्छ । उहाँ हामीभन्दा थोरै टाढा हुनुहुन्थ्यो र मैले बादल लागिरहेको मेरो चश्मा हातमा लिएर रुमालले पुछ्दै थिएँ । त्यसैले मैले उहाँलाई राम्ररी ठम्याउन सकिनँ । फेरि उहाँ हाम्रो नजिक आउनु भएन र उतैउतै हराइ हाल्नु भयो ।
“मैले उहाँलाई चिन्न सकिनँ कि के हो ?” चिउँडोले सङ्केत गर्दै भूपेन्द्र दाजुसँग सोध्छु ।
“हना कस्तो चिन्दैना को ? बाहुनी बुढो क्या,” छोटो तर सटिक जवाफ फर्किन्छ ।
उहाँको कुरो सुन्ने बितिक्कै, “ए ! चश्मा खोलेकोले चिन्न सकिन रहेछु,” भन्छु । तैपनि उहाँको कुरो सुनेर म एकाएक तीन मुर्छा पर्छु । नेपाली ब्याकरणको राम्ररी हेक्का राख्ने हो भने पनि बाहुनी बुढी र बाहुन चाहिँ बुढो हुनु पर्ने हो जस्तो लाग्छ तर भविष्यमा राष्ट्रको मन्त्री हुने मानिसको अगाडी छु । उहाँको सामू त्यति क्षुद्र बोली ओकली हाल्न पनि मेरो मन मान्दैन । हुनत यस्मा उहाँको पनि केही गलत छैन् त्यो त पल्टन घरको उरन्ठ्याउलो भाषा न पर्यो ।
नभन्दै मेसभित्र खाना खुल्छ । हामी त्यहाँदेखि हिँड्दै अगाडी बढ्छौं । त्यसरी अगाडी बढ्ने क्रममा कप्तान जयनारायण र स्टाफ सार्जन्ट प्रेम राई बात मारिरहेका रमाइलो दृश्यावलोकन गर्न मिल्छ । उहाँहरुलाई भेट्ने बितिक्कै खाना खानको लागि पङ्त्तिवध्द हुन्छौँ । एक-एक थाल मासु, भात, दाल, सलाद र गोलभेडा पिसेर बनाइएका अमिलो अचार बोकेर खाना खाने टेबलको खोजी गर्न थाल्छौं । एकछिनपछि दुईजना मान्छेहरु मात्र बसिरहेको एउटा टेबलको नजिक पुग्छौं । हामी पनि यही बस्यौं है जयनारायणको मुख खोलिन्छ । उहाँको भनाइलाई समर्थन जनाउँदै थपकथपक हामी त्यहीँ बस्छौं ।
त्यस टेबलमा बसेर खाना खाइरहेका दुई जनामध्ये एकजना महिलाले फुरफुर उड्ने जामा पहिरन गरिरहेकी थिइन् । अनी उन्को दाहिनेतिर अङ्ग्रेजहरु जस्तै देखिने एकजना तालु खुइले कुहिरे पनि देखिरहेको थियो । खै के भएर हो कुन्नि ? उनीहरुलाई देखेपछि मेरो मनभित्र शङ्का उपशङ्काको भुईँचालो जान थाल्यो । किनभने त्यहाँ उपस्थित अन्य सबै आइमाईहरुले विभिन्न प्रकारको रङ्गमा कम्मरदेखि गोलीगाँठोसम्म ढाक्नेगरि रेसमी साडी र स-साना चोलीहरुमात्र पहिरन गरेका रमाईलो दृश्य देख्न सकिन्थ्यो । तर उनी चाहिँ को होलिन् ? जस्ले साडीको सट्टा जामा लगाएर जन्मदिन मनाउन यहाँ आइन् भन्ने खुल्दुली लागिरह्यो । अब उनीसँग त्यति नजिक बसिसकेपछि मेरो मनभित्र लागेको उकुसमुकुस र जिज्ञासाले कतिबेर तड्पिनु बरु सासले मात्र बोलेर भएपनि भूपेन्द्र दाजुसँग सोधिहाल्छु ।
“अन्त के त बिके रानाको छोरी,” पछाडी फर्केर मलाई सानो स्वरमा जवाफ दिनुहुन्छ ।
त्यसपछि म उनलाई झन् राम्ररी नजर मार्न थाल्छु । अश्वेत मोडल नाओमी क्याम्बलको झैं देखिने सानो छाती, निक्कै अग्ली तर पातली शरीरकी धनी । त्यसबेला उनको उमेर कति होला भनेर ठ्याक्कै अनुमान लगाउन त मलाई निक्कै हम्मेहम्मे पर्छ । तर सत्य कुरो के हो भने म बीस बाइसे ठिटा हुँदा उनी त्यस्तै सोह्र सत्र वर्षकी जस्ती देखिने गर्थिन् । अब उनको त्यो सत्र वर्षे जवानीलाई त्यसदिन तुलना गर्दा मलाई कसो कसो फुङ्गै उडेको मलिन अनुहार जस्तै लाग्न थाल्छ ।
तैपनि एउटै टेबलमा बसेको हुनाले म पटक पटक उनको अनुहारलाई राम्ररी पढ्ने प्रयत्न गर्छु । उनको अनुहारमा पहिलेको जस्तो चमक भने पटक्कै देख्न सकिँदैन । बाबुले तीसौ वर्ष बेलायती सेनामा मात्र नभएर ब्रुनाईमा गएर दशकौं वर्ष काम गर्दा आर्जन गरेको पहिचान उनको नाक र घाँटीमा टल्किने सुन वा हिराको जुहारत पनि कहीँ कतै देखा पर्दैन । तर कता कता दुवैपट्टी कानमा बहुमूल्य निलमणी वा मोतिको झुम्का तुर्लुङ्गै झुन्डिरहेको देख्दा चाहिँ मलाई विश्वबिख्यात डच चित्रकार जोहान्स वर्मरको “गर्ल विथ ए पर्ल इएररिङ्” को बेस्सरी याद आइरह्यो । जुन चित्रलाई मैले भिन्सीको मोनालिसाभन्दा बढी सुन्दरी देख्थेँ ।
खै उनको नाम के हो ? मलाई थाहा हुन त सकेन । तर उनलाई देखेपछि म त्यसबेला लगभग ३०-३५ वर्ष अगाडीको कुरो स्मरण गर्न थाल्छु । तिनताका म पल्टनघरमा एकजना ठेट्ना नै थिएँ र पेसाले चालक थिएँ । अझै पल्टन घरको कर्तब्य पालन गर्ने क्रममा बेलाबखत सात नम्बर सैनिक पोशाकमा सर्लक्कै सजिएर सिभेट कारमा उनको बाबुलाई सवार दिएर उनीहरुको घर बफ्स एभेन्यु, सेकङ भिलेजमा पुर्याउन जान्थेँ । म त्यहाँ पुग्दा उनी अङ्ग्रेजी पुस्तकहरुको गहन अध्ययन गरिरहेकी देखिन्थिन् ।
अङ्ग्रेजी विद्यालयमा अध्ययन गर्ने भएकीले उनले खस भाषा बोल्न जान्दछिन् वा जान्दिनन् होला भनेर म जहिले पनि द्वविधामा परिरहने गर्दथेँ । तर मलाई याद छ, उनले पढ्ने गरेको अङ्ग्रेजी पुस्तकहरु हेर्दा निक्कै ठूल्ठूला देखिन्थे । मुस्किलले एबीसिडी जानेर गाउँदेखि आएको मानिसलाई त्यसबेला अङ्ग्रेजी अक्षर कालो भैँसी बराबर लाग्दथ्यो । अहिले कल्पना गर्छु कि उनी त्यसबेला सायद एभन नदीको किनारमा जन्मेका सेक्सपियरका तिनै बहुचर्चित पुस्तकहरु रोमियो एण्ड जुलियट, ह्यामलेट र म्यागवेथहरु पढिरहेकी हुन्थिन् होली ? तर म जाबो चालक न परें । त्यसैले उनीसँग सोध्न एकदम सरम मान्दथेँ । वास्तवमा त्यो बीस बाइसे उमेरमा लागेको सरम अहिले साठीको हाराहारीमा पुग्दा पनि छुट्दै नछुटेको रहेछ भन्ने कुरो मेरो मुखदेखि त्यसदिन पनि एक्कै शब्द ननिस्केकोले चाल पाएँ ।
जन्मदिनको खाना खाइसकेपछि हामी घर फर्कनको लागि तयार हुन्छौं । मेरी जीवन सङ्गिनीसँग एक अर्कामा हात समातेर मेसदेखि बाहिर प्राङ्गणमा निस्केपछि म अधिकृत मेसलाई अन्तिम पटक हेर्छु । यदि मेरो जीवनको इतिहासलाई एकचोटी अश्लिल चलचित्रकी अभिनेत्री सन्नि लियोनको शरीर जस्तै ह्वाङ्गै उदाङ्गो पारेर हेर्ने हो भने करिब बाइस तेइस वर्ष अगाडी म तिनै क्याम्पमा सानो भुटुने काम गर्थें । जुन मेसको निर्माणकर्ता अरु कोही नभएर मुटुमा बेलायती तातो खुन भएका तत्कालिन बिजिएन कमाण्डर कलनेल मार्क डाउडल हुन् । त्यो मेसको निर्माण भएपछि मैले एउटै टेबलमा बसेर राजकुमार फिलिपसँग बियर पिएर ख्यालठट्टा गरेको निक्कै लामो समयसम्म स्मृति गरिरहें । आखिर अजम्बरी कोही छैनन् र दुर्भाग्यवस उहाँ अहिले हामीसँग हुनुहुन्न । स्वर्गमा हुनहुन्छ ।
अधिकृत मेसभित्र मेरो सुखद समयमात्र बितेको थिएन, दुःखद समयको पनि इतिहास ज्यूँकात्यूँ रहेका छन् । जस्को ज्वलन्त उदाहरण भनेको जनरल साम काउनले एक पटकको रात्रिभोजमा गोर्खालीहरुको निवृत्तिभरणको विषयमा बोल्दा “ब्रिगेड अफ गोर्खाज” नै एउटा अवैधानिक सँगठन हो । त्यसकारण अङ्ग्रेज सिपाहीँहरु जस्तै सबै सेवा र सुविधा उस्तै पाउनु पर्छ भन्ने हुँदैन भनेको म अहिले पनि झल्झली सम्झन्छु ।
हुनत एकदिन मरेर जाने चोला त हो । त्यसैले जनरलले जे सुकै भनोस् है भनेर मेरो मन थाम्छु । तर मैले त्यस क्याम्पलाई छाडेर निस्कने अघिल्लो रात तिनै जनरल काउनले प्रयोग गरेको भिआइपी कोठामा एकरात बास बसेर क्याम्पलाई सधैँ सधैँको लागि छाडेको थिएँ । सन् २००१ मा मैले मानभवन क्याम्प त्यसरी छाड्दै गर्दा पूर्व जिटिआरको अधिकृत कलनेल डाउडलले भनेको एउटा कुरो चाहिँ मेरो मानसपटलदेखि कहिलै बिलय भएर जान सकेको छैन् ।
“भीम ! चाहे पल्टन ट्रान्सपोर्ट होस् वा सप्लाइ होस् । यस्ले हामीलाई केही फरक पार्दैन । हामी त केवल आजीवन जिटिआर मात्र हौं ।”
पुरानो बानेश्वर, काठमाण्डौ ।

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो