
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ ।
सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले २०७२ वैशाख १२ गतेको विनाशकारी महाभूकम्प पछिको पुनर्निर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामाग्रीहरु एनआईसीलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका उपकरण एवं सामाग्रीहरु आविष्कार केन्द्रको वीरगन्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनर्स्थापनाका लागि प्रयोग गरिनेछ ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रबिना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्बर्धनका लागि पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको रहेको आविष्कार केन्दलाई मद्दत पुग्ने आशा राखेको उहाँको भनाई थियो ।
संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरुले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेकोप्रति खुशी व्यक्त गर्नुभयो । संघले समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीहरु आ–आफ्नो स्थानबाट सहयोग गरिरहेको भन्दै अध्यक्ष आचार्यले आविष्कार केन्द्रमार्फत मुलुकमा नवीनतम विकासका लागि साझेदारी गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो ।
संघका उपाध्यक्ष आर के शर्माले विदेशमा सिकेको ज्ञान र सीपलाई मुलुकमा प्रयोग गर्न फर्कने हुटहुटी सधैँ चलिरहने भएपनि विभिन्न कारण फर्कन नसकेको प्रसंग जोड्दै महावीर पुनले देशमा फर्केर गरिरहेको कामले एनआरएनलाई प्रेरणा प्राप्त भएको बताउनुभयो । समृद्ध मुलुक निर्माण र विकासका लागि आविष्कार केन्द्रसँग एनआरएनएले सदैव सहकार्य गर्ने शर्माको भनाई थियो । संघका प्रवक्ता सोम सापकोटाले मुलुकमा कृषि सामाग्रीको आयात बढ्दो क्रममा रहेको अवस्थामा विगत ३ दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कार केन्द्रले लिएको पहलकदमीले नेपालको कृषि क्षेत्रको विकास तथा प्रवर्धनका लागि थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनुभयो । कृषिप्रधान देश भएपनि कृषि औजार बनाउने कारखाना नै ३ दशकदेखि बन्द रहँदा आफूलाई केही गर्नैपर्छ भन्ने महसुस भएकोले पनि वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःसञ्चालनको योजना अघि सारेको पुनको भनाई थियो । उक्त योजनामा संघले सहयोगको लागि अग्रसरता देखाएकोमा पुनले खुशी व्यक्त गर्नुभयो । देशैभरिका किसानहरुले आविष्कार केन्द्रबाट ठूलो अपेक्षा राखेकोले पनि कृषि औजार कारखाना पुर्नस्थापनाका लागि आफू अहोरात्र खटिरहेको उहाँको भनाई थियो ।
कार्यक्रमको सञ्चालन संघका सचिव गोविन्द प्रसाद गौतमले गर्नुभएको थियो ।
एनआरएनएले समुदायको हितका लागि खरिद गरिएका सामाग्री समुदायलाई नै हस्तान्तरण गर्ने असल मनशायसहित आविष्कार केन्द्रलाई सहयोग गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगको लागि “मेक इन नेपाल” र “स्थानीय नवप्रवर्तन” को अवधारणा अन्तर्गत संघ तथा संघका अभियन्ताहरुले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । उक्त अवधारणाबाट प्रेरित भई संघले यसअघि पनि आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपियाँ ४८ पैसा हस्तान्तरण गरिसकेको छ ।
आविष्कार केन्द्रलाई प्रोत्साहन गर्नकै लागि भन्दै संघका पूर्वअध्यक्ष भवन भट्टद्वारा स्थापित रु एक करोड राशीको ‘भवन किर्ती रत्न’ पुरस्कार आविष्कार केन्द्र तथा एनआईसीका संस्थापक पुनलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका विभिन्न राष्ट्रिय समन्वय परिषद्का पदधिकारी तथा प्रतिनिधि, आविष्कार केन्द्रका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी