
काठमाडौँ । नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गर्नुभएको हो ।
“गीत–सङ्गीतमार्फत म र मेरा श्रीमान्ले धेरै माया र साथ पाएका छौँ । नेपाली चलचित्रकर्मीको हितमा स्थापना गरिएको कोषमा केही सहयोग गर्न पाउँदा खुसी लागेको छ”, गायिका झाले भन्नुभयो, “नेपाली गीतमार्फत मैले गायन जीवनमा पाएको उपलब्धि म कहिले भुल्न सक्दिनँ ।”
यस्तै, अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही रु एक लाख एक सय ११, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही रु ५१ हजार एक सय ११ र चलचित्रकर्मी महिला सशक्तीकरण समितिका संयोजक गीता नेपालले रु ११ हजार एक सय ११ कोषमा सहयोग प्रदान गर्नुभएको छ ।
कोषका संयोजक वसुन्धरा भुसालले सहयोगीलाई धन्यवाद दिनुभयो । “यो कोष स्थापना चलचित्रकर्मीकै लागि गरिएको हो । कोषमा रु पाँच करोड जम्मा भइसकेको छ । हाम्रो लक्ष्य रु १० करोडको छ”, उहाँले भन्नुभयो । नेपाली चलचित्र क्षेत्रमा निरन्तररूपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिकरूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना गरिएको हो ।
चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्नेलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीसँगै पूर्वअध्यक्ष शम्भुजीत बाँस्कोटा, कृष्ण मल्ल र राजकुमार राई, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, फिल्म निर्देशक माधवराज खरेललगायत उपस्थित हुनुहुन्थ्यो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा