लण्डनमा ‘दिक्त्तेल बजार’का भाकाहरु गुञ्जिँदा

नियात्रा

हाते घडीमा समय अपरान्हको ४ बजेको हुनुपर्छ । अझै तिथिमिति तोकेर ठ्याक्कै भन्ने हो भने त्यस दिन १२ नोभेम्वर २०२२ को दिन हुन आउँछ । बेलायती नोभेम्बर महिना भनेपछि मुटु ठिङ्ग्रिने जाडोको कल्पना गर्न सकिन्छ । त्यति मात्र नभएर त्यस महिनामा बेलायती आकाश दिउँसै अन्धकारमय देखिन्छ । त्यसैले अपरान्हको समय ४ बजेको भएतापनि रात परिसकेको आभास हुन्छ । त्यस्तो हिउँदे मौसममा झरी र हुरीले लछप्पै भिज्ने अल्डरसट धन्न त्यस दिन पानी नपरेर थोरै ओबानो बनेको छ । तैपनि घर बाहिरको जाडो चाहिँ खपिनसक्नुको छ । त्यसैले प्रायः मानिसहरु आ-आफ्नो घरदेखि बाहिर निस्केका कहीँ कतै देखिँदैनन् । यदि गृष्मकालिन समय हुँदो हो त ‘मिनी नेपाल’ भनेर परिचय बनाएको अल्डरसट बजारभरि गोर्खा सिपाहीहरु र पूर्व गोर्खा सिपाहीका परिवारहरु छपक्कै देखा पर्दथे ।  

बेलायती नेपालीहरुको क्यालेण्डरमा त्यसदिन एउटा रमाईलो दिन थियो । किनभने अल्डरसटको एम्पाएर हलमा धुमधामको साथ राजेश पायल राईको ‘एकल कन्सर्ट’ हुँदै थियो । जसले गर्दा भर्खरभर्खर बजारमा हल्काफुल्का गोर्खालीहरु देखा पर्न सुरु गरेका थिए । तिनै कन्सर्ट हेर्नका लागि हामी पनि चुल्है निम्तो अल्डरसट बजारमा पुगेका छौं । नत्रभने हामी बानबरी भन्ने सानो गाउँमा बस्छौं । अनि त्यो गाउँ अक्सफोर्डसायर जिल्लामा पर्छ । जुन गाउँमा हामीबाहेक अन्य नेपालीहरु बसेका छैनन् होला जस्तो लाग्छ । नत्रभने विगत पाँच वर्षको समयभित्र हामीले कुनै न कुनै नेपालीलाई भेट्नु पर्ने हो । तर कसैलाई नभेटेर पनि हामीलाई एक्लोपन महसुस भएको छैन । यदि त्यस्तो भयो भने पनि औसी पूर्णेमा हामी त्यसरी नै अल्डरसट पुगिहाल्छौं । र, धित मरिन्जेल नेपाली टोपी लगाएका मानिसहरु हेरेर आफ्नो प्यारो जन्मभूमि बुईपा, खोटाङको याद गर्दैगर्दै बानबरी फर्कन्छौं ।   

‘रापा’ कन्सर्टको समय बेलुकी ७ बजे छ । तैपनि हामी सबेरै होटलमा चेक इन भइसकेका छौ । यसपटक छोरीको काम होटल आरक्षण गर्नु थियो । त्यसैले उनको रोजाइअनुसार नै उनले ‘ट्राभल लज’ आरक्षण गरिन् र पैसा पनि उनैले तिरिसकेकी छिन् । भरै बेलुकी रेष्टुरेन्टमा खाना खाएको पैसा तिर्ने काम चाहिँ छोरोको अंशमा परेको छ । तर यसबेलासम्म उनको अनुहार अल्डरसटमा देखा परिसकेको छैन । किनभने गत रात उसको रात्रीकालिन ड्यूटी थियो । बिचरा अस्पतालमा काम गर्ने मान्छे । सेन्ट मार्क अस्पताल लण्डनमा रातभरि दुईजना बिमारी गोराहरुको आन्द्राभुँडी चिरफार गरेर जोडेपछि सिधै ऊ रेल यात्रामा लागेको छ भन्ने कुरो उसले फोनमार्फत जानकारी गराएका छन् । आधुनिक जमानाका सर्जन । रातभरि काम गर्यो । अनि दिनभरी रेल यात्रामा आखाको बिष मार्यो । लण्डन जस्तो व्यस्त सहरमा यो नै उसको दिनचर्या बनेको छ ।

हामी होटलमा चेक इन भएपछि, “म एकछिन आराम गर्छु है, किनभने समय पनि फालाफाल छ । फेरि मलाई गाडीले थोरै मातेको जस्तो भयो ।” ताराले सानो स्वरमा मलाई सुनाइन्, र थपक्कै खास्टो ओढेर आराम गर्न थालिन् । आधुनिक मोटरहरु र तारा एक अर्कामा विपरीत ध्रुवहरु जस्तै हुन् भन्ने कुरो मैले निक्कै अगाडीदेखि चाल पाएको छु । त्यसैले यस बारेमा मैले केही भन्न चाहिनँ । नत्रभने मैले एक रफ्तारमा थोत्रो मर्सिडिज हाकिरहँदा कतै छाउरी कुकुर्नी झैं भुक्लुक्कै वान्ता गर्छिन् कि भन्ने सुर्तामा थिए । धन्न त्यस्तो दुर्घटना चाहिँ घटेन । त्यसैमा बिघ्न खुसी छु । तर अति आरामदायी बिस्तारा भेटेपछि कुकुरको झैं खुट्टा कुङलिङ्ग बाङ्गो पारेर मज्जाले निदाइ हालिन् । म चाहिँ खै अलिक बूढो भएछु कि क्या हो ? सुत्ने बेलामा किताब नपल्टाइँ छुसुक्क सुतेको रेकर्ड नै अहिलेसम्म छैन ।   

उनी निन्द्रामा परेपछि म हातेझोला उघार्छु । खत्र्याकखुत्रुक चकचक गर्छु । झोलादेखि लैनसिंह बाङदेलको “स्पेनको सम्झना” पुस्तक निकाल्छु । र, त्यही पुस्तकलाई सरसर्ती पढन थाल्छु । मैले ध्यान दिएर खुरुन्धार त्यस पुस्तक पढ्नुको मूख्य कारण कुनै परीक्षा उतीर्ण हुनको लागि चाहिँ कदापि हुँदै होइन । आगामी जनवरी महिनामा हामी स्पेन जाँदै छौं । अनि मैले एउटा कुरो यहाँ नढाँटी भन्नुपर्छ । पहिले पहिले म स्पेन त्यतिक्कै पुगेको रहेछु । केही नपढी, केही नबुझी । अझ त्यो पनि एकचोटी मात्र कहाँ हो र ? तीन-तीन चोटि । पहिले स्पेनको मुख्यभूमि बार्सोलोना (क्याटोलोनिय) क्षेत्र, त्यसपछि मार्लोका (बलेरिक टापुहरु) अनि अन्तमा लान्जारोटी र फियोर्टभेन्चुरा (क्यानरी टापुहरु) पुगेको सम्झन्छु ।     

स्पेनदेखि हुरुरु मन उडाएर अल्डरसटमा ल्याउँछु । हामी होटलको दोश्रो तलामा छौं । होटलको कोठा एकदम सुनसान वा प्रायः मृत अवस्थामा छ । त्यति सुनसान कोठामा म एक्लै घुटुकघुटुक चिया पिउँछु । तर चियाको कप टेबलमा राख्दा निस्केको टक्क आवाजले घरिघरि म झस्कन्छु । म त्यसरी झस्केपछि किताबका पानाहरुदेखि नजर भगाएर होटल बाहिरतिर डुलाउँछु । अनि बेलायती सेनाको घर (होम अफ द ब्रिटिस आर्मी) अल्डरसटलाई दूरसम्म नियाल्छु । त्यसपछि मुन्टोलाई १ सय ८० डिग्री घुमाउँछु र किताबका पानाहरुमा पुनः ठोकाउँछु । किताबमा भएका कला पारखीहरु पिकासो, एल ग्रे र भेलास्कीका नामहरु कण्ठस्त बनाउनको लागि मन्त्रमुग्ध हुन्छु । अझै भिन्सी, भ्यान गग, मोनेट, रेम्ब्रान्ड र माइकल एन्जेलोको कला हेर्न म लण्डनदेखि एउटा थोत्रो झोला बोकेर न्यूयोर्क, पेरिस, आम्सटर्डम, रोम, बार्सोलोना र सेन्ट पिटर्सबर्ग कहाँकहाँ र कतिचोटी पुगेँ होला भनेर एकछिन स्मंरण गर्छु ।

साँच्चै मानिसको मन आकाशभन्दा फराकिलो हुन्छ रहेछ भनेर एकछिन सोच्छु । तर त्यसरी सोच्दै गर्दा अचानक मेरो मोबाइलको घण्टी बज्छ । फोनबाट आएको किरिङकिरिङ आवाजले मेरो ध्यान भङ्ग हुन्छ । कस्ले फोन गरेछ भनेर एक झलक स्क्रिनमा हेर्छु । ए…अरुण भान्जा पो रहेछ भनेर हतारहतार फोन उठाउछु ।

फोन उठाउने बितिक्कै, “मामा ! कता हुनुहुन्छ ?” भान्जाको पातलो स्वर सुनिन्छ ।  

“होटलमा नै छु,” छोटो उत्तर दिन्छु ।

“यतै आउनोस् है,” अनुरोध गर्नुहुन्छ ।

“हस् हस्,” भनेर फोन मार्छु ।

त्यसबेलासम्म तारा बेडमा लम्पसार परेर सुतिरहेकी छे । म उनलाई नजिकदेखि एक झलक नियाल्छु । त्यसपछि हतार हतार शरीरमा एकसरो कपडा उन्छु । र, हिँड्नको लागि तयार भइहाल्छु । तर म कोठामा त्यसरी चलमलाएको सुनेर उनी अचानक ब्युझँन्छिन् ।

“सात बजेको कार्यक्रम हेर्न पाँच बजे नै जानु हुन्छ कि के हो ?” अनायासै उनको मुख खोलिन्छ ।

“भान्जाले बोलाउनु भएको छ । त्यसैले अब उतै जान्छु । भरै कार्यक्रम स्थलमा नै भेटौला नि,” भन्छु । त्यसपछि ड्याम्मै ढोका बन्द गर्छु । र, ठमठम हिँडिहाल्छु ।

होटल छाडेपछि सडकको बाँया किनारै किनार हिँड्न थाल्छु । एकछिन हिँडेपछि एम्पाएर हलको सामुन्ने पुग्छु । हलको ढोका छेउमा अरुण भान्जासँग भेट भइहाल्छ । भान्जाले भेट हुने बितिक्कै नेपालको राजनैतिक गफ सुरु गर्न खोज्नु हुन्छ । किनभने अर्को हप्ता नेपालमा व्यवस्थापिका संसद र प्रदेशको मतदान हुन गइरहेको छ । मलाई बेलायत बसेर के नेपाली राजनैतिक गफ गर्ने भन्ने मनमनै लाग्छ । तर भान्जालाई त्यसो भनिहाल्न पनि सक्त्तिनँ । धन्न अहिलेसम्म परदेश पसेर त्यति कुटनीतिसम्म जानेको रहेछु भन्ने भान हुन्छ । अझै त्यतिले मात्र मेरो मन कहाँ मान्छ र ?

“हिँड्दा पाइतालाले किरा फटेङ्ग्रा नमरोस्, र बोल्दा मानिसको अनुहार नजलोस्,” भन्ने मनमनै सोच्छु ।

साँच्चै साँच्चै भन्नुपर्दा हामीलाई राजनैतिक विज्ञानको ज्ञान छैन भने पनि हुँदोरहेछ । मैले आफू पूर्व गोर्खा सैनिक भएकोले मात्र त्यसो भनेको चाहिँ निश्चय पनि होइन । नेपाली राजनीतिलाई नै व्यवसाय बनाएका र देशभित्र बसिरहेका मानिसहरुको मनगढन्ते विचार सुनेर त्यस्तो चाल पाएको हुँ । हुनत मैले राजनीति बुझ्नको लागि पटकपटक रहर गरेको हुँ । तर प्रत्यक्ष भाग लिनको लागि होइन । त्यसैले पटकपटक रोम र एथेन्स पुगेर केवल दिमागलाई दुःखमात्र दिएको छु । प्राचिनकालका राजनीति शास्त्रका पिता अरिस्टोटलदेखि आधुनिक राजनीति शास्त्रका पिता निकोला म्याकाभेलियाको विचारहरु यूरोपमा बसेर अध्ययन गर्ने अवसर जुरेका छन् । तर पूर्वीय र पश्चिमी दर्शनहरु अध्ययन गरेपछि झन् धेरै अलमल्ल परेर कुहिरो भित्रको काग झैं बनेको छु । त्यसैले अहिले त्यस विषयलाई चट्टै भुलेर साधरण जिन्दगी बिताउँदै छु । नत्र भने सतहीमा बोल्यो, अनि अनुहार खुम्च्याउनुबाहेक केही नहुने रहेछ जस्तो लाग्छ ।   

आखिर कुरो संक्षिप्तमा हुनुपर्छ भन्ने सोच्छु । त्यसपछि सानो स्वरमा, ‘भान्जा ! राजनीतिज्ञले मानिसलाई दुई भागमा ध्रुवीकरण गर्छन् “ट्रुप्स अथवा इनेमी” नित्सेको भनाई सुनाउँछु र प्रसङ्ग बदल्छु ।

“अ… बरु भट्टी पसल खोलियो कि छैन ?” भनेर सोध्छु ।  

“अघि नै खोलिसकेको छ, भित्र जाने हो र ?” सोध्नु हुन्छ । त्यसपछि हामी दुईजना सुस्तरी हिँड्दै कार्यक्रम हुने हलतिर जान्छौं । तर मुख्य द्वारमा पुग्दा २-३ जना महिला स्वंयसेविकाहरुले धमाधम टिकट बिक्री गरिरहेको रमाईलो दृश्य देख्छौं । अन्य स्वंयसेविकाहरुलाई मैले चिन्न सकिनँ । तर एकजना चाहिँ मेरी बुहारी हुन् । उनलाई देखेपछि म उनको नजिकै पुग्छु र संक्षिप्तमा बोल्न थाल्छु, –

“जेठी ! मैले टिकट बोकेको त छैन । अग्रिम टिकट खरिद गरेका छौं । तर मसँग छैन्, नमिताले पो बोकिरहेकी छिन् ?” बिस्तारै सुनाउँछु । (नमिता गायक राजेश पायलको आफ्नै दिदी हुन् र उनी आफ्नो परिवारको साथमा अल्डरसटलाई गृह नगर बनाएर यतै घरजम गरेकी छिन् )

मेरो कुरो सुनेर, “काका ! हस् हस्,” मात्र भन्दै थिइन् । तर उनको हातमा भएको फोन अचानक बजिहाल्छ । त्यसबेला बुहारी र म सानो टेबलको वारिपारि उभिरहेका थियौं । त्यति नजिक भएको हुनाले फोन भतिज गजेन्द्रको रहेछ भनेर मैले ठहर गरें । अझै उनले ठूल्ठूलो स्वरमा, “मेरो कालो कोट कता राखेकी छौं ?” भन्दै बुहारीलाई थर्काएको पनि सुनें । मैले पनि तारालाई त्यसरी थर्काउने भए, मैले यहाँ बोकी हिँडेकी छु र ? भन्ने उत्तर पाउँथे हुँला । धन्न मेरो अगाडि बुहारीले त्यसो चाहिँ भनिनन् ।

तैपनि भतिजको कुरो सुनेर म एकछिन छक्क परें । किनभने उनको हजुर बाबुले शखुँ खोलाको शिरदेखि छसुङ खोलाको दोभानसम्म दुई गाउँ जग्गा जमिन जोडिदिनु भएको छ । आलमारी भित्रको कोट नदेख्नेले त्यतिका धेरै जग्गाजमिन भविष्यमा कसरी हेरचाह गर्छ होला भनेर एकछिन् पीरमा परें । त्यति मात्र कहाँ हुनु र ? मेरो भतिज ज्यादै भाग्यमानी रहेछ । किनभने उनको छोरी ‘अमेरिकन ल फर्म’ लण्डनमा सोलिसिटर हुँदै छिन् र ३० वर्ष भन्दा सानो उमेरमा ६ अङ्क वेतन खानेवाला छिन् । त्यो सुनेर गर्वले मेरो कुखुरे छाती पनि फुलेर सगरमाथा झैं अग्लो हुन खोज्छ ।    

बुहारी फोन राखेपछि उनी थोरै व्यस्त भइन् । म त्यहाँदेखि अलिक पछाडि सरें र भित्ताको नजिकै अडेस लगाएर उभिरहें । केहीबेरमा हस्याङफस्याङ गर्दै नमिता आइपुग्छिन् । उनी आउने बितिक्कै, ‘काका ! यी टिकटहरु लिनुहोस्,’ भन्दै उनले मलाई टिकटहरु दिन्छिन् । मैले ५ वटा टिकटहरु खरिद गर्नको अग्रिम जानकारी गराएको थिएँ । त्यसपछि हामी दुईजना त्यही कुनामा एकछिन् कमिला गन्थन गर्न थाल्छौं । ठीक त्यहिँबेला तारा, उनकी आमा, र छोराछोरीहरु सँगसँगै कार्यक्रम स्थलमा आइपुग्छन् ।

उनीहरु आएपछि हामी सरासर कार्यक्रम स्थलभित्र छिर्छौं । र, सुस्तरी हिड्दै भट्टी पसलमा पुग्छौ । त्यहाँ पुगेर छोराले नाति र बजूको लागि एक-एक पाइन्ट बियर मगाइ हाल्छन् । त्यसपछि हामीलाई के के पिउनु हुन्छ भनेर सोध्छन् । ताराले एक गिलास वाइन पिउने रहर गरिन् । छोरीले जिन एण्ड टोनिक पिउँछु भनिन् । म अलिक कमजोरी मान्छे । तैपनि किराँतीको छोराले जाँडरक्सी छोएन भने गरिखान्छ भन्ने सपना देखेर मादक पदार्थको नजिक नपुगेको दुई दशक भएको छ । बरु धेरै बोलेर हरहर तिर्खा लागिरहेको थियो । त्यसैले एक बोतल पानी पिउँछु भनें । त्यसपछि हामी हातमा पेय पदार्थ बोकेर बस्ने स्थानको खोजीमा लाग्छौं । हलभित्र रङ्गीचङ्गी बलिरहेको बत्तीमा झुमुस खाँदैखाँदै अगाडि बढ्छौं ।    

निक्कै अगाडी पुगेपछि बाटैमा ठिङ्गै उभिरहेको एकजना स्वयंसेवकसँग हाम्रो भेट हुन्छ । उनले भेटने बितिक्कै, “अगाडिको तीनलहरमा राखिएका कुर्सीहरु अल्डरसटका अति महत्वपूर्ण (भिआइपी) मानिसहरु बस्नको लागि हुन् । त्यसपछिका अन्य कुर्सीहरु दोश्रो दर्जाका मानिसहरुका लागि । ती कुर्सीहरुमा झुसमुस र गिरिधारीलालहरु जतासुकै बसेपनि हुन्छ,” पल्टने भाषा प्रयोग गरेर उनले आफ्नो वाक्यांशलाई बिट मार्छ । उनको भनाइ सुनेर मलाई हाइगेटमा लम्पसार परेर सुतिरहेको कार्ल मार्क्सको बेस्सरी याद आउछ । उनले समस्त मानव जातिलाई ‘कुलिन र सर्वहारा’ दुई वर्गमा विभाजन गरेका थिए । अब मलाई यहाँनेर, “पैसा सबै चिज होइन, तर केही चिज हो,” भन्ने महसुस हुन्छ । स्वयंसेवकको भनाइले म अक्क न बक्क भएर उभिरहेको देखेर ताराले, “ल ! ठीक छ, हामी यतै बसौं कि कसो ?” भन्छिन् । मैले प्रति उत्तर नफर्काएपछि उनको कुरोलाई आमाले सही थाप्छिन् र हामी त्यहिँ आसन गर्छौं ।  

हामी कुर्सीमा आसन गरेपछि बिस्तारै बिस्तारै हल भरिन सुरु गर्छ । एकछिन पछि त भरिभराउ मात्र नभएर खचाखच भइहाल्छ । एउटै स्थानमा त्यतिका धेरै नेपाली मूलका मानिसहरु देख्दा अल्डरसटलाई त्यतिक्कै मिनी नेपाल भनेको होइन रहेछ भन्ने महसुस हुन्छ । त्यतिका धेरै मानिसहरु देखेपछि हाते घडीलाई एक झलक हेर्छु । बेलुकीको समय ७ बज्नै लागेको थियो । सोही बेला अचानक स्टेजमा ज्यादै आकर्षक शरीरकी धनी एकजना उद्घोषिका देखा पर्छिन् । उनले आफ्नो नाम प्रमिला लाबुङ बताएपछि बहुचर्चित गायक राजेश पायललाई स्टेजमा आमन्त्रण गर्छिन् । हुनत त्यो कार्यक्रम बेलायती गृष्मकालिन मौसम जुलाईमा निर्धारित गरिएको थियो । तैपनि बिबिध कारणहरुले गर्दा अनिश्चित कालसम्मका लागि स्थगित भयो । त्यसैले लामो समयको प्रतीक्षापछि कार्यक्रम गरिएको हुनाले कार्यक्रम स्थलभित्र खुट्टा टेक्ने ठाउँ नै थिएन ।  

उद्घोषिकाले राजेशलाई बोलाएपछि भीडको बिचमा सानो बाटो खुल्छ । तिनै बाटोमा अजङ्गका तीन जना अश्वेत सुरक्षाकर्मीहरुले घेरा हालेर अति सुरक्षित तरिकाले राजेशलाई स्टेजतर्फ लान्छन् । उनलाई त्यसरी डोहोर्याउँदै लैजादा दर्शकहरुले गडगडाहट तालीले भव्य स्वागत गर्छन् । हलभित्र स्वागत गर्ने दर्शकहरुमध्ये मेरो आदरणीय दाजु र भाउज्यू अथवा उनका आमा र बाबु पनि हुनुहुन्छ । त्यति जोडदार होहल्ला र तालीको साथमा हलभित्र उनी छिर्दा मैले नजिकबाट दाजु र भाउजूको अनुहार पढिरहेको हुन्छु । उहाँहरुलाई यतिबेला कस्तो अनुभूति भइरहेको छ होला भनेर म मनमनै कल्पना गर्छु । अब त्यो वातावरण र उत्साह देखेर म आफैँ त त्यति उत्साहित छु भने उहाँहरु आफ्नो छोरालाई देखेर झन् कति धेरै उत्साहित एबम गौरवान्वीत भएका होलान् भनेर झन् सोच्न बाध्य हुन्छु ।  

राजेश पायलले स्टेजमा पुग्ने बितिक्कै, “कृपया ! तपाईहरुको सिटको बेल्ट बाँध्नुहोला, अब सांगीतिक यात्रा सुरु हुनै आँटेको छ,” ध्वनी प्रसारक यन्त्र हातमा लिएर पहिलो वाक्यांश छाड्दा म कताकता हर्षले बिभोर भइरहेको हुन्छु । मैले जीवन जिउने क्रममा लगभग छ दशक जिन्दगी पार गरिसकेको छु । तैपनि जीवनमा पहिलो चोटि नेपाली सांगीतिक कन्सर्ट हेर्न गइरहेको छु । ताराले त पहिले पनि अल्डरसटमा राजेशको कन्सर्ट हेरिसकेकी थिइन् । तैपनि मभन्दा अझै बढी उनी नै खुसी देखिन्थिन् । कारण के छ भने उनको माइती घरमा हिउँद बर्खा पारिवारिक राजनैतिक खिचातानी भइरहन्छ । जस्ले गर्दा यस वर्षको दशैं तिहार उनले आफ्नी आमासँग मनाउन पाएकी थिइनन् । बल्लबल्ल कन्सर्टको समयमा आज काकताली परेको छ । त्यसैले आमाको छेउमा बसेर केटाकेटी झैं पुल्पुलिएका छिन् । र, उनको खुट्टा भुइँमा नभएर माथिमाथि उडी हिँडेको छ ।

राजेश पायल उर्फ ‘राई इज किङ’ ले स्टेजमा पुगेर सबैभन्दा पहिले ‘नमाग मसँग सहारा नमाग, भूइँमा छु आकासका जुन तारा नमाग’ भन्ने गीत गाउदा म भावुक बनिसकेको छु । त्यो गीत सुन्दै गर्दा मेरो तन त्यतिका धेरै मानिसहरुको बिचमा भएतापनि मन हुरुरु उडेर उनको जन्मघर बुईपा, लेक्पाको बेसीडाँडा पुग्छ । मैले यहाँ गर्वको साथ के भन्नु पर्छ भने उनको घर मुनी एउटा फाँटिलो जमिन छ र जस्लाई टारी खेत भन्ने गरिन्छ । तिनै टारी खेतमा फलेको मार्सी धानको भात खाएर मात्र होइन टारी खोलाको पानी पिएर हुर्केको एकजना बालकले जगतभरि पुगेर बसोबास गरिरहेका हरेक नेपाली भाषीहरुको मन र मुटु जित्न सफल भएको छ । जुन सौभाग्य जो कोहीलाई मिल्न त अवश्य सक्त्तैन । केवल राजेशलाई जुरेको छ भन्ने सोचिरहन्छु ।  

करिब ८ सय दर्शकहरुको उपस्थिति रहेको त्यस कन्सर्ट हलमा उनले जीवनकै पहिलोपटक लाइभ ब्याण्डका साथ कन्सर्ट गरिरहेका छन् । विश्वको अलौकिक सहर लण्डनलाई क्रमशः साढे दुई घण्टा थर्काइरहँदा, “तिमी शक्त्ति पाएर जन्मेको रहेछौ- भाइ,” रुन्चे स्वरमा ताराको मुख खोलिन्छ । दर्शन नमस्ते, मत मर्छु कि क्या हो, ठूली ? बैगुनी रैछौ मायालु, दिक्त्तेल बजार भन्ने कर्णप्रिय गीतहरु गाउँदा बैसालु जवानहरुदेखि केश पाकेका बुढापाकाहरुले पनि कम्मर हल्लाएको देखिन्छ ।

‘हौवा हौ हौवा’ भन्ने गीत सुन्दा भने मेरो मन हाम्रै गाउँको बुईपा, पन्चरबाटोको हटिया भर्न पुग्छ । बिहे गरेर धेरै टाढा पुगेकी चेलीले लामो समयपछि आफ्नो माइतीलाई तिनै हटियामा भेट्दा एक बोतल रक्सी राखेर चाम्लिङ् भाषामा ‘दाजै, स्या मुइँ – हौवा है हौवा,’ भनेको सुन्दा चाम्लिङ्गेहरु बाहेक अरुले ‘बाहुनले च्याउ खावस न च्याउको स्वाद पावस्’ हुन्छ । त्यति धेरै भाषा र संस्कृति बोकेका उनको गीतहरुले हामीलाई भरपूर मनोरन्जन त यस्सै दिइरहेकै छ । तैपनि त्यति रमाइलो समयले हामीलाई बिदाइ गर्छ ।

त्यसपछि हामी सुस्तरी हलबाट बाहिर निस्कन खोज्छौं । तर बारको नजिकै मात्र के पुगेको हुन्छौं । एक हुल पूर्व गोर्खा यातायात रेजिमेन्टका सदस्यहरुसँग हाम्रो जम्काभेट भइहाल्छ । १५-१६ वर्षपछि भेटिएका रेजिमेन्टमा सदस्यहरुसँग ‘पेचाउ, पेचाउ’ (क्यान्टोनिज भाषामा बियर) भन्दै सम्झनास्वरुप तस्वीर लिएपछि मात्र बिदा हुन पाइन्छ ।  

होटलको लबीमा पुग्दा समय रातको ११ बज्छ । तर हामी त्यहाँ पुग्दा राजेश पायल र नमिता त्यहीँ हुन्छन् । अझै हामी पुग्ने बितिक्कै, –

“काका ! अब राजेशसँग हाम्रो घरमा आउनोस् है । मैले कालिजको मासु पकाएकी छु,” उनले अनुरोध गर्छिन् ।

बेलायती सैनिक अधिकृत मेसकी अनुभवी भान्से छोरीको अनुरोधलाई अस्विकार गर्न त यो मन मान्दैन तैपनि, “म बुढो भएको मान्छे । यसो त्यसो गरेर ११ बजे त सुतिहाल्छु, आज रात पनि धेरै गइसक्यो,” भन्छु ।

“ल ल हामी काकासँग हामी आउँछौं,” उल्टो राजेशले जवाफ फर्काउँछ ।

त्यति बोलिसकेर नमिता आफ्नो बाटो लाग्छिन् । ‘अरुलाई के को धन्दा, घर जुवाइँलाई खानेको धन्दा’ भने झैं जेशन बारमा जान्छ र नाति बजुलाई एक/एक पाइन्ट बियर लिएर आइहाल्छ । राजेशले अल्कोहल पिउँदिन भन्छ । तर, “मेरो कोठामा बर्गर छ लिएर आउँछु है,” भनेर ऊ बसिरहेको ठाउँदेखि जुरुक्कै उठ्छ । जेशनले, “मामा ! म पनि सघाउनको लागि आउनु कि ?” भनेर एक पटक सोध्छ । त्यसपछि उनीहरु दुवैजना सँगसँगै कोठातिर लाग्छन् । हुनत उसको र हाम्रो कोठा एउटै तलामा छ । अझै कोठाहरु पनि जानेको जस्तै ठ्याक्कै वर्तिर र पर्तिर नै परेका रहेछन् ।  

एकछिन पछि दुईजना बर्गर लिएर लबीमा उपस्थिति जनाउँछन् । बर्गरको साइज हेर्दा बेलायती नभएर अमेरिकन हो कि भन्ने मलाई भान पर्छ । त्यसरी म छक्क परिरहेको बेला, “काका ! यो मेरो साथीले स्पेशल बनाइदिएको हो,” राजेशले भन्छ । हामी तिनै बर्गरलाई लबीमा बसेर टोक्न थालिहाल्छौं । उनले बर्गरलाई केवल दुई गाँस पनि खान पाएको थिएन तस्वीर लिने भनेर एक हुल मानिसहरु सरासर होटलभित्र छिरिहाल्छन् । अब मानिसहरु उनलाई खोज्दै आएपछि खानुको सट्टा ऊ उतैतिर लाग्छ । ऊ हामीदेखि बिलय भएपछि हामीलाई पो मिनी दशैं सुरु हुन्छ । अब केहीबेरमा आउला भन्दा झन् हुलका हुल फोटो खिच्ने मानिसहरुको ताँती लाग्छ ।

ठीक त्यहिँबेला नमिताले मलाई किरिङकिरिङ फोन गर्छिन । म सानो स्वरमा, ‘छोरी ! आउँदै छौं है,’ भनेर जवाफ फर्काउँछु । तर दुई टुक्रा रोटी चपाउन पाउदा नपाउँदै त्यतिका धेरै मानिसहरुलाई समय दिनु पर्दा ताराले टाउको हल्लाउँदै अचानक मुख खोल्छिन्, –

“साँच्चै ! सेलिब्रेटीको जिन्दगी कति चर्को रहेछ, हगि ।” 

बानबरी  

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री