बेलायतका पूर्व काउन्सिलर डा. कैनीका पाँच कृति एकैपटक सार्वजनिक

काठमाडौं । बेलायतको डार्टफोर्ट बोरो काउन्सिलका पूर्व काउन्सिलर तथा बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृतिहरु एकैसाथ लोकार्पण गरिएको छ ।
कैनीको निबन्ध संग्रह ‘अदृष्य मनका शादृष्यहरु’, कविता संग्रह ‘सीमाहीन सीमाहरु’, कथा संग्रह ‘भिसागर्ल’, कविता संग्रह ‘रङको पहिचान’ र गजल संग्रह ‘प्रतिविम्व’ शनिवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रा. डा. अभि सुवेदी, सर्जक डा. बच्चुकैलाश कैनी, पूर्व मन्त्री अमरराज कैनी, नेपाल क्यान्सर अस्पतालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ, समालोचक प्रतीक ढकाल, प्रा. खेमनारायण पौडेल, साहित्यकार शिवप्रकाश, साहित्यकार रमेश पौडेल एवम् कार्यक्रमकी सभापति साहित्यकार प्रभा कैनीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
सो अवसरमा प्रमुख अतिथि प्रा. डा. अभि सुवेदीले एकै साथ पाँच वटा कृतिहरु प्रकाशनमा ल्याउन सक्नु कृतिकारको गहन उपलब्धि रहेको बताउनुहुँदै उक्त कृतिहरुमा जीवनको विशाल क्यान्भासलाई छोटकरीमा लेख्ने शिल्प कलालाई कृतिकारले उजागर गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कृतिकार कैनीले आफनो मुख्य रुचिको विधा कविता भएको र विगतमा ४० को दशकताका आफना सिर्जनाहरु प्रकाशन गर्ने अभिलाषासहित गोरखापत्रको कार्यालय धाउने गरेको स्मरण ताजै रहेको बताउनु भयो । साथै उहाँले कार्य व्यस्तताबाट हुने मानसिक थकानलाई मेटाउन आफू निरन्तर साहित्य साधनामा तल्लीन रहँदै आएको र त्यसैको उपज उक्त कृतिहरु पाठकमाझ पस्कन सफल भएको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्व मन्त्री अमरराज कैनीले डा. बच्चुकैलाश कैनी अभाव एवम् विभिन्न प्रतिकूलतासँग जुध्दै मेधावी क्षमता, संघर्ष र अथक मेहनत तथा परिश्रमबाट माथि उठेको व्यक्ति भएको बताउनु भयो । अस्पताल व्यवस्थापनसँगै कृतिकारले साहित्यको क्षेत्रमा पनि आफनो अब्बल क्षमता प्रस्तुत गर्दै आफूलाई बहुप्रतिभाशाली व्यक्तिका रुपमा प्रमाणित गर्न सफल समेत रहेको पूर्व मन्त्री कैनीले उल्लेख गर्नुभयो ।
सो अवसरमा चिकित्सकद्व्य वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोईराला र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा. डा. सुदिप श्रेष्ठले डा. कैनीले क्रमशः विगतमा ह्रदय रोग अस्पताल र हाल नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेण्टरमा कार्यरत रहदै गर्दा अस्पताल व्यवस्थापनको क्षेत्रमा प्रस्तुत गर्दै आउनु भएको क्षमताको तारिफ गर्नुहुँदै साहित्य सिर्जनाको क्षेत्रमा पनि उस्तै प्रशंसनीय कार्यहरु गर्न सफल रहेको बताउनु भयो ।
त्यसैगरी, समालोचक एवम् साहित्यकारत्रय प्रतीक ढकाल, प्रा. खेमनारायण पौडेल र शिवप्रकाशले कैनीका कृतिहरुको बारेमा समीक्षा गर्नुहुँदै उक्त कृतिहरु पढ्दा सर्जकका मनका कुरा, जीवनवादी मूल्य, सकारात्मक सोच, राजनीतिक सन्दर्भ, समसामयिकताको आत्मसात गर्न सकिने बताउनुहुँदै पेशाभन्दा फरकधारको अक्षरको दुनियाँमा समर्पित भएर लाग्न सक्नु नै उहाँको जित भएको महशुस गर्न सकिने धारणा राख्नुभयो ।
त्यसैगरी, कृतिको प्रकाशक संस्था आवरण प्रकाशनका प्रमुख तथा साहित्यकार रमेश पौडेलले डा. कैनी आफनो बालसखा समेत रहेको स्मरण गर्नुहुँदै कृतिकारको लेखन कला एवम् इच्छा शक्तीको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्नुहुँदै साहित्यकार प्रभा कैनीले बच्चुकैलाश लगनशिलता, मेहनत र परिश्रमका पर्याय रहेको बताउनुहुँदै त्यसैको बलमा प्रगतिको शिखर चुम्न सफल बहुआयामिक व्यक्ति रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री