बेलारूसको जेलमा बन्दी मानव अधिकारवादीलाई नोबेल शान्ति पुरस्कार

ओस्लो । युद्ध अपराध र अधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणका लागि काम गरेपापत बेलारुसका मानव अधिकारवादी एलेस बियालियात्स्की, रुसको मेमोरियल समूह र युक्रेनको सेन्टर फर सिभिल लिबर्टीजलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।
समितिले सन् २०२१ देखि बेलारुसको जेलमा रहेका बियालियात्स्कीको रिहाईको माग गरेको छ ।
“उनीहरूले युद्ध अपराध, मानव अधिकार उल्लङ्घन र शक्तिको दुरुपयोगलाई दस्तावेजीकरण गर्न उत्कृष्ट प्रयास गरेका छन् । नर्वेजियन नोबेल कमिटीका प्रमुख बेरिट रीस एन्डरसनले भन्नुभयो, “उनीहरूले मिलेर शान्ति र लोकतन्त्रका लागि नागरिक समाजको महत्वलाई दर्शाएका छन् ।
गत वर्षको शान्ति पुरस्कारले प्रेस स्वतन्त्रताका दुई विजेता फिलिपिन्सकी पत्रकार मारिया रेसा र उनका रुसी सहकर्मी दिमित्री मुरातोभलाई सम्मान गरेको थियो ।
यो पुरस्कारमा स्वर्ण पदक, प्रमाणपत्र र १० मिलियन स्वीडिश क्रोनर (करिब नौ लाख अमेरिकी डलर) को पुरस्कार राशी रहेको छ ।
सन् १८९६ मा स्वीडिस आविष्कारक तथा परोपकारी अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा ओस्लोमा आयोजित एक औपचारिक समारोहमा सो पुरस्कार प्रदान गरिनेछ ।
रीस–एन्डरसनले बियालियात्स्की उपस्थित हुन सक्षम हुने आशा व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “हामी आशा गर्छौं । उहाँ ओस्लोमा आउनुहुनेछ र सम्मान प्राप्त गर्नुहुनेछ ।” शान्ति पुरस्कार ओस्लोबाट प्रदान गरिएको एक मात्र नोबेल पुरस्कार हो, अन्य विधाहरू स्टकहोमबाट घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री