लण्डन । विगतमा डार्टफोर्ड निर्वाचन क्षेत्रबाट बेलायतको संसदीय चुनावमा उम्मेदवार रही हाल ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा बच्चुकैलाश कैनीको एकैसाथ पाँच वटा कृति विमोचन हुँदैछ । यही कात्तिक ५ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा उनका अदृश्य मनका सादृश्यहरु (निबन्धसंग्रह), भिसागर्ल (कथासंग्रह), सीमाहीन सीमा (कवितासंग्रह), प्रतिबिम्ब (गजलसंग्रह) र रंगको पहिचान (कवितासंग्रह) विमोचन हुँदैछ। पेशाले अस्पताल ब्यवस्थापक डा कैनीका विमोचन हुन लागेका पाँच वटै पुस्तक भने साहित्यिक हुन् । दुई वटा कविता संग्रह छन् बाँकी निबन्ध, कथा र गजल संग्रह छन् । प्रस्तुत छ उहाँसित यही सन्दर्भमा गरिएको छोटो कुराकानी ।
पाँचवटा कृति एकैसाथ ल्याउँदै हुनुहुँदोरहेछ । यो आकस्मिक योजना हो कि पूर्व योजना नै हो ?
साहित्यका धेरैवटा विधामा पहिलेदेखि नै लेख्दै आएको थिएँ । कथा, कविता, निबन्ध, गजल, समसामयिक विषयका लेख, रचनाहरु प्रकाशन हुँदै पनि आएको थियो । अहिले सबैलाई संग्रह गरेर हेर्दा पाँच वटा कृतिका लागि पर्याप्त पनि भेटियो । पहिले यसरी एकमुष्ट हेरिएको थिएन । नेपाल बसाइको पछिल्लो एक वर्षमा सबै सृजनाहरु केलाउँदा किताब निकाल्दा निकाल्दा सबै एकै पटक किन ननिकाल्ने भन्ने सोच आएको हो ।
लेख्ने बानी पुरानै हो भन्नु भयो । कहिलेदेखि लेख्न थाल्नुभयो ?
विद्यालय जीवनमा पनि फाट्टफुट्ट त लेख्थेँ । खास लेखन चाहिँ स्कुल जीवनपछि शुरु भएको हो । मेरो पहिलो लघुकथा मधुपर्कमा २०४९ सालमा छापिएको थियो । त्यसयता निरन्तर लेखिरहेको छु । कहिले कथा, कहिले कविता, कहिले निबन्ध, कहिले गजल, कहिले राजनीतिक र समसामयिक लेखहरु पनि लेखिरहेको छु । लेखन मेरो सौख हो । फुर्सदको समय भयो कि लेखिहाल्ने मेरो बानी छ ।
लेख्नका लागि समयको ब्यवस्थापन कसरी गर्नुहुन्छ ?
समय भनेको व्यवस्थापन गर्ने कुरा हो । किनकि सबैको लागि दिन २४ घन्टाकै हुन्छ । अहिले पनि म अस्पतालमा प्रमुख कार्यकारी अधिकृतका रुपमा पूर्णरुपमा कार्यरत छु भने एउटा कलेज र युएसएडको एक परियोजनामा सल्लाहकारका रुपमा आंशिक रुपमा कार्यरत छु । मेरो नियमित जीवनशैली छ । प्राय समय मिलाएर सबेरै लेख्ने गर्छु । धेरैजसो बिहान ४/५ बजे र सप्ताहन्तमा लेख्ने गर्छु ।
तपाईले प्रवासको जीवन अनुभव पनि भोग्नुभयो । फर्केर स्वदेशको जीवन पनि अनुभव गर्दै हुनुहुन्छ । तपाईको पुस्तकमा प्रवासका बारेमा पनि केही लेख्नुभएको छ कि ?
खासगरी कथा र कवितामा प्रवासका विषयहरु, नेपाल फर्किँदा मनमा उब्जिएका कुराहरु, सन्ततिका बारेमा उत्पन्न हुने चिन्ता र चासो प्रशस्तै लेखेको छु । मैले विगतमा प्रवासका अरु विषयमा पनि धेरै लेखहरु लेखेको थिएँ । तिनीहरु चाहिँ अहिले प्रकाशन हुन लागेका पुस्तकमा छैनन् ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
नेपालमा साहित्यिक कृतिहरु एउटै लेखकले पाँच/पाँचवटा निकाल्नु सामान्य कुरा होइन । त्यसमाथि हामी जस्तो नयाँ लेखकले निकालेको कृति पाठकहरुले कति मन पराउनुहुन्छ भन्ने पनि परीक्षणकै कुरा छ । आशा छ, पाठकहरुले मेरा कृतिहरु मन पराइदिनुहुनेछ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]