लण्डन । विगतमा डार्टफोर्ड निर्वाचन क्षेत्रबाट बेलायतको संसदीय चुनावमा उम्मेदवार रही हाल ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा बच्चुकैलाश कैनीको एकैसाथ पाँच वटा कृति विमोचन हुँदैछ । यही कात्तिक ५ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा उनका अदृश्य मनका सादृश्यहरु (निबन्धसंग्रह), भिसागर्ल (कथासंग्रह), सीमाहीन सीमा (कवितासंग्रह), प्रतिबिम्ब (गजलसंग्रह) र रंगको पहिचान (कवितासंग्रह) विमोचन हुँदैछ। पेशाले अस्पताल ब्यवस्थापक डा कैनीका विमोचन हुन लागेका पाँच वटै पुस्तक भने साहित्यिक हुन् । दुई वटा कविता संग्रह छन् बाँकी निबन्ध, कथा र गजल संग्रह छन् । प्रस्तुत छ उहाँसित यही सन्दर्भमा गरिएको छोटो कुराकानी ।
पाँचवटा कृति एकैसाथ ल्याउँदै हुनुहुँदोरहेछ । यो आकस्मिक योजना हो कि पूर्व योजना नै हो ?
साहित्यका धेरैवटा विधामा पहिलेदेखि नै लेख्दै आएको थिएँ । कथा, कविता, निबन्ध, गजल, समसामयिक विषयका लेख, रचनाहरु प्रकाशन हुँदै पनि आएको थियो । अहिले सबैलाई संग्रह गरेर हेर्दा पाँच वटा कृतिका लागि पर्याप्त पनि भेटियो । पहिले यसरी एकमुष्ट हेरिएको थिएन । नेपाल बसाइको पछिल्लो एक वर्षमा सबै सृजनाहरु केलाउँदा किताब निकाल्दा निकाल्दा सबै एकै पटक किन ननिकाल्ने भन्ने सोच आएको हो ।
लेख्ने बानी पुरानै हो भन्नु भयो । कहिलेदेखि लेख्न थाल्नुभयो ?
विद्यालय जीवनमा पनि फाट्टफुट्ट त लेख्थेँ । खास लेखन चाहिँ स्कुल जीवनपछि शुरु भएको हो । मेरो पहिलो लघुकथा मधुपर्कमा २०४९ सालमा छापिएको थियो । त्यसयता निरन्तर लेखिरहेको छु । कहिले कथा, कहिले कविता, कहिले निबन्ध, कहिले गजल, कहिले राजनीतिक र समसामयिक लेखहरु पनि लेखिरहेको छु । लेखन मेरो सौख हो । फुर्सदको समय भयो कि लेखिहाल्ने मेरो बानी छ ।
लेख्नका लागि समयको ब्यवस्थापन कसरी गर्नुहुन्छ ?
समय भनेको व्यवस्थापन गर्ने कुरा हो । किनकि सबैको लागि दिन २४ घन्टाकै हुन्छ । अहिले पनि म अस्पतालमा प्रमुख कार्यकारी अधिकृतका रुपमा पूर्णरुपमा कार्यरत छु भने एउटा कलेज र युएसएडको एक परियोजनामा सल्लाहकारका रुपमा आंशिक रुपमा कार्यरत छु । मेरो नियमित जीवनशैली छ । प्राय समय मिलाएर सबेरै लेख्ने गर्छु । धेरैजसो बिहान ४/५ बजे र सप्ताहन्तमा लेख्ने गर्छु ।
तपाईले प्रवासको जीवन अनुभव पनि भोग्नुभयो । फर्केर स्वदेशको जीवन पनि अनुभव गर्दै हुनुहुन्छ । तपाईको पुस्तकमा प्रवासका बारेमा पनि केही लेख्नुभएको छ कि ?
खासगरी कथा र कवितामा प्रवासका विषयहरु, नेपाल फर्किँदा मनमा उब्जिएका कुराहरु, सन्ततिका बारेमा उत्पन्न हुने चिन्ता र चासो प्रशस्तै लेखेको छु । मैले विगतमा प्रवासका अरु विषयमा पनि धेरै लेखहरु लेखेको थिएँ । तिनीहरु चाहिँ अहिले प्रकाशन हुन लागेका पुस्तकमा छैनन् ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
नेपालमा साहित्यिक कृतिहरु एउटै लेखकले पाँच/पाँचवटा निकाल्नु सामान्य कुरा होइन । त्यसमाथि हामी जस्तो नयाँ लेखकले निकालेको कृति पाठकहरुले कति मन पराउनुहुन्छ भन्ने पनि परीक्षणकै कुरा छ । आशा छ, पाठकहरुले मेरा कृतिहरु मन पराइदिनुहुनेछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा