
काठमाडौँ। पर्यटकीय नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ ।
प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी नवौँ राष्ट्रिय खेलकुदको नजिक आइपुगिसकेका छौँ । प्रतियोगिता सुरु हुन अब २० दिन मात्र बाँकी छ । अब बाँकी तयारीलाई घनिभूतरूपमा पूर्णता दिने, कहीँकतै कमी–कमजोरी देखिए सुधार गर्दै समन्वय र सहकार्यलाई बलियो तुल्याइनेछ ।”
प्रतियोगिताका सन्दर्भमा गठन भएका समिति र उपसमितिले आ–आफ्नो कार्य जिम्मेवारीलाई तीव्र तुल्याएको जानकारी दिइएको छ । मन्त्रालयले पनि सरोकारवाला र निजी क्षेत्रसँग छलफल गरी प्रतियोगिताका लागि प्रायोजन गर्ने वातावरण बनाएको छ । राष्ट्रपतिलाई प्रतियोगिता उद्घाटन तथा प्रधानमन्त्रीलाई समारोहमा सरिक हुन मन्त्रालयले केही दिनभित्रै औपचारिकरूपमा अनुरोध गर्नेछ ।
यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकाम पुर्याएर देखाउने काम भइरहेको छ । उक्त ट्रफी केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गर्नुभएको थियो ।
सचिव डा रेग्मी भन्नुहुन्छ, “खेलाडीको नाम दर्ता गराउने प्रक्रिया भइसकेको छ, वास्तविक सङ्ख्या परिषद्बाट केही दिनमै सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि आवश्यक सामग्री सार्वजनिक खरिद प्रक्रियाअनुसार नै अघि बढिसकेको छ ।”
खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथिसहित करिब १० हजारको सङ्ख्यामा सहभागी हुने व्यक्तिलाई आवास व्यवस्थापनको चुनौतीलाई सहज तुल्याउँदै मन्त्रालयले प्रतियोगितालाई खेलउत्सवका रूपमा व्यवस्थित र ऐतिहासिक तुल्याउने ढङ्गबाट तयारी गरिरहेको छ । पहिलोपटक प्रदेशिक आधारमा हुन लागेको प्रतियोगितामा सहभागी ११ वटै टोलीका खेलाडीको सहभागिता बढाएर पदकमाथि प्रभुत्व जमाउने हिसाबले अन्तिम तयारीमा जुटिरहेका छन् ।
प्रतियोगितामा सात प्रदेशका सात, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को टिमबीच प्रतिस्पर्धा हुनेछ । यसअघिका प्रतियोगितामा पदकमाथि विभागीय टोलीले कब्जा जमाउँदै आएको थियो । यसपटक भने विभागीय टोलीलाई प्रदेश टोलीले चुनौती खडा गर्ने अनुमान गरिएको छ ।
प्रतियोगिता सञ्चालनका क्रममा प्रस्तुत हुने झाँकीले प्रदेशको पहिचान उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन योगदान पुर्याउनेछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलले जानकारी दिनुभयो ।
नेपालको खेलकुदको इतिहासमा पोखरामा ३९ वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेतालाई रु २५ हजार तथा सामूहिकतर्फका स्वर्णधारीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ । चार सय आठ प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदकको यसअघि नै तय भइसकेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा