
लन्डन । संविधान दिवसका अवसरमा बेलायतस्थित लिड्स विश्वविद्यालयमा प्राध्यापनरत प्रा डा सूर्यप्रसाद सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान गरिएको छ ।
भौतिकरूपमा विदेशमा रहे पनि निरन्तर मुलुकको सेवा गर्दै आएका प्रा सुवेदीले आफ्नो योगदानको मूल्याङ्कन भएकामा नेपाल राष्ट्रप्रति आभार व्यक्त गर्नुभयो ।
सरकारमा जो आए पनि परिआउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिका रूपमा नेपालका सबै प्रकारका सरकारलाई प्रा सुवेदीले सल्लाह दिँदै आउनुभएको छ ।
नेपालको नयाँ नक्सा समावेश गरेर संविधान संशोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री केपी ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सीमासम्बन्धी विज्ञ समूहको सदस्यका रूपमा भूमिका निर्वाह गर्नुभएको छ । साथै नेपालको नीति प्रतिष्ठानको परराष्ट्र विषयको विशिष्ट सल्लाहकार भएर समेत प्रा सुवेदीले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ भने सन् २०२२ मा अमेरिकासँगको एमसीसी सम्झौता संसद्ले अनुमोदन गर्ने कार्यमा उहाँको भूमिका प्रशंसनीय रहेको सरकारको भनाइ छ ।
अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने प्रा सुवेदी संसारकै प्रतिष्ठित विद्वत व्यक्तित्वभित्र पर्नुहुन्छ । प्रा सुवेदीले नेपाल सरकारको प्रतिनिधिमण्डलको सदस्य भएर संयुक्त राष्ट्रसङ्घ र असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिइसक्नुभएको छ भने अन्य धेरै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ ।
बेलायत र अमेरिकालगायतका पाँचवटा देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीका कृतिहरु विभिन्न देशका भाषामा अनुदित भई प्रकाशन भएका छन् । उहाँको ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ भन्ने ग्रन्थ अन्तर्राष्ट्रियरूपमै चर्चित ग्रन्थ हो । उहाँले मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाबाट उहाँले मानार्थ ओबिई र मानार्थ क्विन्स काउन्सेलजस्ता विशिष्ट कानूनविद्हरुलाई दिइने उच्च उपाधि प्राप्त गरिसक्नुभएको छ ।
प्रा सुवेदीको उत्कृष्ट प्राज्ञिक योगदानको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालयले उहाँको नाममा वार्षिक स्थायी पुरस्कार स्थापनासमेत गरेको छ । क्याम्बोडियामा महत्वपूर्ण राजनीतिक सुधारमा गरेको योगदानका लागि उहाँको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनयनसमेत भएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]