साफ महिला च्याम्पियनसीपमा नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलिदेखि सुरु हुने उक्त च्याम्पियनसिपमा नेपाली टोलीलाई घरेलु दर्शकको भरपुर साथ हुनेछ । दक्षिण एशियाली राष्ट्रले भाग लिने महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
सन् २०१० देखि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले उक्त च्याम्पियनसिप सुरु गरेको हो । बङ्गलादेशबाट सुरु भएको उक्त च्याम्पियनसिपको पाँचौँ संस्करणसम्म पनि नेपालले उपाधि जित्न सकेको छैन । पाँच पटकको सहभागितामा नेपाल चार पटकसम्म उपविजेतामै सीमित भएको छ । एकपटक सेमिफाइनमै सीमित बनेको थियो ।
च्याम्पियनसिपको उपाधि भारतबाहेक अन्य राष्ट्रले हालसम्म जित्न सकेको छैनन् । चार पटकसम्म नेपाल फाइनल पुग्दै भारतसँग नै पराजित हुँदै आएको छ । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित हुँदै दोस्रो बनेको थियो ।
यसैगरी सन् २०१२ मा श्रीलङ्कामा भएको दोस्रो संस्करणको खेलमा नेपाल भारतसँगै पराजित भयो । त्यतिबेला नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित भयो र दोस्रो संस्करणको उपाधि पनि भारतले नै चुम्यो ।
सन् २०१४ मा पाकिस्तानमा भएको समूह चरणको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनल यात्रा तय गर्दा फेरि पनि नेपाल र भारतकै भेट हुन पुग्यो । त्यस संस्करणमा नेपालले इतिहास रच्न सकेन र फाइनल खेलमा भारतसँग नेपाल ६–० गोलको फराकिलो अन्तरले पराजित हुन पुग्यो । प्रतियोगितामा भारतले उपाधिको ह्याट्रिक पूरा गर्दा नेपाल भने तेस्रो पटक पनि उपविजेतामा नै सीमित भयो ।
च्याम्पियनसिपको चौथौ संस्करण भारतले आयोजना गर्यो । सन् २०१६ मा आयोजना भएको उक्त प्रतियोगिताको उपाधि भारतले नै जित्यो । तेस्रो संस्करणको खेलसम्म दोस्रो बन्दै आएको नेपाल यसपटक त सेमिफाइनलमा नै सीमित बन्यो ।
यसपटक पनि भारत तगारो बन्दा नेपाल सेमिफाइलबाट नै बाहिरिनुपर्यो । सेमिफाइनल खेलमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित भयो ।
पाँचौँ संस्करणको खेल भने नेपालले आयोजना गर्यो । यो खेलमा नेपालका लागि भारत नै बाधक बन्यो । विराटनगरमा सन् २०१९ मा आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत नै भयो । आम दर्शकको समर्थन पाउदा पनि नेपाल भारतसँग नै चुक्यो । लिग चरण पार गर्दै फाइनल पुगेको नेपाल अन्ततः भारतसँग ३–१ गोल अन्तरले नै पराजित भयो । भारतले पाँचौँ पटक साफ च्याम्पियपनसिपको उपाधि उचाल्दा नेपाल भने चौथो पटकसम्म उपविजेतामा सीमित भयो ।
घरेलु मैदानमा दोस्रो पटक आयोजना गर्न लागेको छैटौँ संस्करणको खेलमा भने नेपाललाई नयाँ इतिहास रच्ने सुनौलो अवसर छ । घरेलु मैदानमा नेपाली टोलीलाई आम दर्शकको साथ र समर्थन हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले नेपालको लक्ष्य साफमा पहिलो पटक उपाधि जित्ने रहेको बताउनुहुन्छ । उहाँले विगतलाई बिर्सेर प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने र पहिला लिग चरणमा नै आफ्नो टोलीको ध्यान केन्द्रित रहने बताउनुभयो ।
लिग चरणमा नेपालले भूटान र श्रीलङ्कासँग खेल्नेछ । उहाँले सबै टोली राम्रो भएर आएको र आफ्नो टोली खेल्नका लागि तयारी अवस्थामा रहेकोसमेत बताउनुभयो ।
छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए र समूह बी । नेपाल भने सजिलो मानिएको समूह बी मा परेको छ ।
नेपालको समूहमा श्रीलङ्का र भूटान छन् । यी दुई टोलीले अहिलेसम्म फाइनल यात्रा तय गरेका छैनन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् ।
नेपालले उद्घाटन खेलमा भूटानको सामना गर्नेछ । खेल यही भदौ २१ गते साँझ हुनेछ । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यो खेल भने भदौ २७ गते हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
यसपटकको साफ च्याम्पियनसिपमा नेपाली कप्तानीको जिम्मेवारी २६ वर्षीय गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले पाउनुभएको छ । प्रतियोगिताको तयारी दौरान नियमित कप्तान रेनुका नगरकोटी घाइते भएपछि सुब्बाले अवसर पाउनुभएको हो ।
उहाँले आफूले पाएको जिम्मेवारी र विश्वासलाई गुम्न नदिने भन्दै साफ च्याम्पियनसिपको उपाधि जित्ने आफनो टोलीको लक्ष्य रहेको बताउनुभयो । एन्जिलाले भन्नुभयो, “हामी अन्तिमसम्म मैदानमा लड्नेछौँ र उपाधि जित्न प्रयास गर्नेछौँ ।”प्रतियोगितामा नेपालसँगै बाँकी छवटै टोलीले प्रतियोगिताका लागि आफनो टिम तयारी अवस्थामा रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री