
मस्को । तत्कालीन सोभियत सङ्घका पूर्वराष्ट्रपति मिखाइल गोर्बाचोभको मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएको मस्कोस्थित अस्पतालका अधिकारीले बताएका छन् ।
लामो समयदेखि बिरामी उहाँको उपचारको क्रममा निधन भएको यहाँस्थित केन्द्रीय क्लिनिकल अस्पतालले बताएको छ ।
रक्तपात बिना नै शीतयुद्धको अन्त्य गर्न सफल तर सोभियत सङ्घको पतन रोक्न असफल नेता गोर्बाचोभ विश्वकै विशाल राष्ट्रको अन्तिम राष्ट्रपति हुनुहुन्थ्यो । संयुक्त राज्य अमेरिकासँग हतियार कटौती सम्झौता र पश्चिमा शक्तिराष्ट्रहरूसँगको साझेदारीमा विभाजित युरोपलाई एकताको सूत्रमा आवद्ध गर्न तथा जर्मनीको एकीकरणमा उहाँको योगदान स्मरणीय छ ।
अमेरिका राष्ट्रपति रोनाल्ड रेगन र जर्ज बुशसँगका शिखर वार्ता र तिनले आणविक हातहतियारको दुईदेशीय होडबाजी घटाउन मद्दत गरेकाले उहाँ विश्व रङ्गमञ्चमा सधैँ चर्चाको चुलीमा रहनुभएको थियो ।
‘ग्लास्तोनास्तो पेरेस्त्रोइका’का प्रवर्तक उहाँ देशको आन्तरिक सुधारका निम्ति थाल्नुभएका कामका कारण अन्ततः विशाल सोभियत सङ्घलाई टुक्रिनबाट जोगाउन अक्षम हुनुभयो । तानाशाही सोभियत राज्यको पतन, पूर्वी युरोपेली राष्ट्रहरूलाई रूसी प्रभुत्वबाट मुक्त गर्ने र दशकौंदेखि पूर्व–पश्चिम आणविक टकरावको अन्त्यको परिणामस्वरूप देश १५ गणराज्यमा विभक्त भयो । सात वर्षभन्दा कम समय सत्तामा रहे पनि राष्ट्रपति गोर्भाचोभले परिवर्तनको रोमाञ्चक शृङ्खला प्रस्तुत गर्नुभएको थियो ।
सन् १९९१ को अगस्टमा उहाँका विरुद्धमा भएको विद्रोहको अन्ततः सोही वर्षको डिसेम्बर २५ मा उहाँको राजीनामासँगै पटाक्षेप भयो । संयोग पनि कस्तो अगस्ट महिनामा नै उहाँको अवसान भएको छ । आणविक शक्ति सम्पन्न सोभियत सङ्घमा आन्दोलन दबाउन बल प्रयोग गर्दा अराजकता बढ्ने डरले आफूले त्यसो नगरेको सत्ताच्युत भएको झण्डै २५ वर्षपछि एसोसिएटेड प्रेसलाई बताउनुभएको थियो । नोबेल शान्ति पुरस्कारप्राप्त नेता गोर्बाचोभ सामान्य किसानको छोरो हुनुहुन्थ्यो । सन् १९५२ मा कम्युनिष्ट पार्टी अफ सोभियत सङ्घको सदस्यता लिनुभएका उहाँ सन् १९८० मा उक्त पार्टीको सबैभन्दा कान्छो पूर्ण पोलिटव्यूरो सदस्य हुनुहुन्थ्यो ।
नेता गोर्बाचोभको निधनमा विश्व नेताहरूले दुःख व्यक्त गर्दै शोक प्रकट गर्नुभएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले उहाँलाई बीसौं शताब्दीका महान् नेताको संज्ञा दिँदै उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । विश्व इतिहासमा उहाँको ठूलो प्रभाव रहेको राष्ट्रपति पुटिनले उल्लेख गर्नुभएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपलिते बिहीबार उहाँको परिवार र साथीहरूलाई शोकको टेलिग्राम पठाउनु हुनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गोर्बाचेभलाई ‘उल्लेखनीय दृष्टि भएको व्यक्ति दुर्लभ नेता’भन्नुभएको छ । उहाँले आफ्नो सम्पूर्ण जीवनलाई जोखिममा पार्ने साहस भएका स्वतन्त्रता पक्षधर नेता हुनुहुन्थ्यो भन्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने दयालु राजनेताका रूपमा गोर्बाचेभलाई सम्झदै उहाँ इतिहासको सिलसिला परिवर्तन गर्ने नेता हुनुहुन्थ्यो भन्नुभएको छ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोग, जर्मनीका राष्ट्रपति फ्रर्याङ्क वाल्टर स्टाइनमेयर, चान्सलर ओलाफ स्कोल्ज, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, निवर्तमान बेलायती प्रधानमन्त्री बोरिस जोन्सन,जापानका प्रधानमन्त्री फुमियो किसिदा, अमेरिकाका पूर्वविदेशमन्त्री कोन्डोलिजा राइसलगायतले दिवङ्गत नेताको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु