
काठमाडौँ । तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ ।
विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोसी नदीमा आएको बाढी आज बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो । बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोच हुँदै कोसीले बस्तीतर्फको बाटो सोझ्यायो । पैँतालीस सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी । स्थानीय भन्छन्– “हिजो बाटो बिराएको भन्नु कि पुरानै बाटो पहिल्याएको ? आज आँगनमै बग्यो कोसी अब हाम्रो हालत के हुने हो ?”
यसरी ३४ वर्षपछि कोसीले पुरानै धार सोझ्याएको छ । स्थानीयको स्मरणमा २०४५ सालको भूकम्पपछि कोसीले बाटो बिराएर आफ्नो धार अन्यत्रै सोझ्याएको थियो । त्यसपछि त्यस्तै २०५०/५२ सालतिरबाट त्यस क्षेत्रमा बस्ती बस्न सुरु भएको थियो । अहिले त्यहाँ भरिभराउ घर छन् । यहाँको जनसङ्ख्या १८ हजारभन्दा बढी पुगिसकेको छ । अब अहिले आएर कोसीले फेरि उही पुरानो भङ्गालो पछ्यायो र बस्तीभित्रै छिर्यो ।
यसका कारण त्यस आसपास क्षेत्रका झण्डै दुई हजार परिवार प्रभावित हुन पुगेका छन् । प्रभावित स्थानीयको उद्धार कार्य जारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म करिब एक हजार परिवारलाई उद्धार गरिएको छ ।
अझै केही परिवार उद्धारको पर्खाइमा रहेका र उनीहरुको सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धार जारी रहेको उहाँले जानकारी दिनुभयो । बेलका नगरपालिकाको वडा नम्बर १, २, ८ र ९ मा कोसीको एउटा भङ्गालो पसेको छ । गत वर्ष पनि सोही क्षेत्रबाट कोसी बस्तीमा प्रवेश गर्न लागेको थियो । त्यसबेला अस्थायी तटबन्धले कोसी रोकिएको थियो तर यसपाली भने कोसी धार परिवर्नत गर्न सफल भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार सो क्षेत्रमा पानीको बहाव रोक्न भन्दै तीन हप्ताअघि रु २० लाख पठाएर काम गरिएको थियो । त्यहाँ बनाइएको छेकबारले केही काम गरे पनि त्यसको तल्लो भागबाट कोसी पसेको उहाँले जानकारी दिनुभयो । “विसं २०४५ अघि हिँडेको क्षेत्रबाट पुनः कोसी बगेको, त्यहाँको खेतीबाली पुरेको छ, घर पनि डुबानमा छन्, केही टापुमा मानिसहरु असुरक्षित रहेका जानकारी आएको र उद्धार जारी रहेको छ”, पोखरेलले भन्नुभयो, “उद्धार गरिएकाको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।”
आज बिहान मात्रै गृहमन्त्री बालकृष्ण खाँणले बस्ती स्थानान्तरदेखि उद्धार, राहत कार्य तीव्र बनाउन र आवश्यक परेमा हेलिकप्टर परिचालन गर्ने गरी तयारी अवस्थामा रहन निर्देशनसमेत दिनुभएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]