आज मे दुई तारिख । बेलायतमा बैंक होलिडे। हिजो श्रमिक दिवस आइतबार परेको हुँदा त्यसको सट्टा आज सोमबार बिदा भएको हो। अर्को वर्ष मे १ सोमबार नै पर्ने हुदा बैंक होलिडे पनि मे १ मा नै हुनेछ। नेपालमा जस्तो बेलायतलगायत विश्वका विकसित धेरै देशहरुमा वर्षभरि विभिन्न प्रकारका धेरै दिन बिदा हुने गर्दैन । शुक्रबारको काम सके पछि सोमबार बिहान मात्रै काममा जान पर्ने हुँदा प्रायजसोले पृथक ढंगले बिदा मनाउने गर्दछन् । युवा युवतीहरु भने खानपिन र नाचगानमा व्यस्त हुन्छन् । शुरू शुरुमा मलाई लाग्थ्यो गोराहरु पाँच दिन काम गरेर दुई दिन दशैं मनाउँदा रहेछन् । धेरैजसो काम गर्नेहरुको तलब पनि साप्ताहिक रूपमा प्राप्त गर्ने हुँदा हातमा परेको पैसा दुई दिनमा नै सक्काउनेहरुको संख्या पनि प्रसस्त हुन्छ । नेपालबाट आउने बित्तिक्कै रेस्टुरेन्टमा काम गरेको हुँदा पनि शुक्रबार र शनिबार त घरमा कसैले पनि खाना पकाउँदा रहेनछन् की जस्तो लाग्थ्यो । सधैं हुलमूल हुन्थ्यो ।
शनिबार, आइतबारबाहेक पाइने अन्य सबै सार्वजनिक विदाहरुलाई बेलायतमा बैंक होलिडे भनिन्छ । केही समय अगाडीसम्म यी बिदाहरुमा सरकारी मात्रै नभई निजी ठूला उद्योग व्यवसाय पसलहरु सबै बन्द गरिन्थ्यो। तर अहिले भने क्रिसमस र इस्टर आइतबारमा मात्रै अनिवार्य बन्द हुन्छ र आइतबारको दिन पनि दिउँसो चार बजे पछि खोल्न पाइँदैन । साना व्यवसायहरुलाई भने त्यति धेरै नियन्त्रण गरिएको हुँदैन । कहिलेकाहीँ सट्टा बिदा पनि दिन पर्ने हुँदोरहेछ । सार्वजनिक बिदाहरू कुनै बेला शनिबार आइतबार पाइने छुट्टीको दिन पर्यो भने त्यसको सट्टा सोमबार बिदा दिइने हुँदा प्राय बैंक होलिडे सोमबार पाउने गरेको हुन्छ। पहिलो पटक सुन्दा शायद यो दिन चाहिँ बैंकहरु मात्रै बन्द हुँदोरहेछ भन्ने अड्कल काटेको थिएँ । तर केही समय पछाडी कम्पनीमा काम गरे पछि भने यसको अर्थ बुझियो । हप्ताको छ दिन काम गरेर एक दिन फुर्सद लिने रेस्टुरेन्टको काममा अन्य छुट्टीको खासै अनुभव हुने कुरा भएन। बैंक होलिडेका दिन प्राय सबैतिर बन्द हुने तर खोलिएका कामहरूमा भने अरू बेलाभन्दा दोब्बर तलब दिन पर्ने नियम रहेछ । सन् १८३४ भन्दा अगाडी बेलायतीहरुले पनि अहिले हाम्रो देशमा जस्तै विभिन्न अवसर तथा चाडबाडमा ३३ भन्दा बढी दिन छुट्टी मनाउँथे। त्यस पछाडी भने जम्मा चार दिन मात्रै सार्वजनिक बिदा दिने चलन चल्यो । क्रिसमस डे, मे डे, अल सेन्ट डे (नोभेम्बर १) र इस्टरको गुड फ्राई डे । तात्कालीन राजनीतिज्ञ र बैंकर सर जोन लबबकले प्रस्ताव गरेको बैंक होलिडे एक्ट १८७१ पास भएपछि भने इस्टर मण्डे, व्हिट सण्डे, अगस्तको पहिलो सोमबार, बक्सिङ / सेन्ट स्टेफन डे थप गरी जम्मा सार्वजनिक बिदा आठ दिन हुन गएको थियो ।
जनवरी १ लाई नयाँ वर्षको छुट्टी मनाउने व्यवस्था सन् १८७१ देखि भएको हो । तर यो छुट्टी स्कटल्यान्डमा मात्रै दिने गरिएको थियो । त्यसको १०० वर्षपछि सन् १९७१ को कानुनअनुसार मात्रै बेलायतको सम्पूर्ण राज्यहरूमा नयाँ वर्षको छुट्टी दिन थालिएको हो । यही कानुनअनुसार स्कटल्यान्डमा थप एक दिन नयाँ वर्ष मनाउने छुट्टी दिएको हो। जुन अन्य राज्यहरूमा छैन् । यसले नयाँ वर्षलाई स्कटिशहरुले कति महत्व दिन्छन् भन्ने प्रमाणित गर्दछ । सन् १९०३ मा उत्तरी आयरल्याण्डले मार्च १७ लाई सेन्ट प्याट्रिक डे मनाउन छुट्टी दिने निर्णय गर्यो । जुन दिन अरु राज्यहरूमा विदा हुँदैन । आयरल्याण्डको इतिहासमा सेन्ट प्याट्रिकको विशेष भूमिका रहेको हुँदा उनको सम्मानमा यो बिदा दिइएको हो । इस्टर पर्व अगाडिको शुक्रबारलाई क्रिस्चियनहरुले विशेष दिन गुड फ्राइडेको रूपमा मनाउने गर्दछन् । यो बिदा पनि स्कटल्यान्डमा सन् १८७१ देखि नै शुरू भएको थियो तर अन्य सबै राज्यहरूमा भने सन् १९७१ देखि मात्रै बिदा दिन थालिएको हो । इस्टर सोमबारमा भने स्कटल्यान्डबाहेक अन्य राज्यहरूमा सन् १९७१ देखि बिदा मनाउने चलन छ। मजदुरहरूको सम्मानमा सन् १८७१ देखि नै स्कटल्यान्डमा मे महिनाको पहिलो सोमबार छुट्टी हुने गर्दथ्यो तर अन्य राज्यहरूमा भने लेबर सरकार हुँदा सन् १९७८ देखि मात्रै यो बिदा दिने व्यवस्था गरेको हो । सन् १८७१ मा नै थपिएको इस्टरको सात हप्ता पछाडिको आइतबार मानिने व्हिट सण्डेको दिन सधैं एकै समयमा हुँदैनथ्यो । इस्टर अगाडी पछाडी पर्ने हुँदा यो पनि मे ११ देखि जून १४ भित्र पर्ने गर्दछ। यो बिदालाई सन् १९७१ देखि भने स्प्रिङ बैंक होलिडे भनेर मे महिनाको अन्तिम सोमबार मनाउने गरिएको छ । तर यो वर्ष भने यसलाई जुन महिनामा सारिएको छ।
उत्तरी आयरल्याण्डले सन् १९२६ देखि एक नयाँ बिदा थप गरेको हो । सन् १६९० मा राजाहरू जेम्स दोश्रो र विलियम तेश्रो बीच वोयनमा भएको युद्धको सम्झनास्वरूप आयरल्याण्डबासीहरुले छुट्टी मनाउँदै आएका छन् । त्यस्तैगरी अगस्त महिनाको पहिलो सोमबार स्कटल्यान्ड र अन्तिम सोमबार बाँकी तीन राज्यहरूमा छुट्टी मनाउने चलन छ । नोभेम्बर ३० मा स्कटल्यान्डमा सेन्ट एण्डरुज दिवस मनाइन्छ । सन् १९७१ देखि स्कटल्यान्डमा पनि डिसेम्बर २५ र २६ क्रिसमस र बक्सिङ डेको दिन बिदा दिने चलन शुरू भयो । स्कटल्यान्ड र आयरल्याण्डमा जस्तै इंग्ल्याण्डमा पनि सेन्ट जर्ज डे र सेन्ट डेभिस डे क्रमशः अप्रिल २३ र मार्च १ मा मनाउन थप बैंक होलिडे दिइनु पर्छ भन्ने माग उठेको त छ तर कानुनले व्यवस्था गरिसकेको छैन। हालको कानुनले शाही घोषणाको माध्यमबाट कुनै पनि छुट्टीलाई अगाडी पछाडी सार्न सकिने र कुनै विशेष वर्षमा थप बिदा दिनसक्ने व्यवस्था गरेको छ । जसअनुसार १९९९ डिसेम्बर ३१ मिलिनियम वर्ष, सन् २००२ जुन ३ सोमबार महारानीको राज्यारोहणको ५०सौँ वर्षगाँठ मनाउन विशेष छुट्टी दिइएको थियो । अर्को महिना जुन ३ का दिन महारानीको राज्यारोहण भएको ७० वर्षको वार्षिक उत्सव मनाउन थप छुट्टी मात्रै दिएको छैन मे महिनाको अन्तिम सोमबार दिइने बिदालाई जुन २ मा सारेर विशेष कार्यक्रमहरुसहित लामो छुट्टी मनाउने भएको छ । रानीको सम्झनामा यो दिनको बिदालाई निरन्तरता दिन पर्छ भन्ने छलफल पनि शुरु भैसकेको छ । मे महिनामा भएको दुई वटा बिदालाई जुनको ३ मा सारेर महारानीलाई सम्मान गर्ने अर्को सम्भावना पनि हुन सक्छ। बैंक होलिडेलाई लङ विकेण्ड पनि भनिन्छ। शुक्रबार बेलुकीबाट सोमबार बेलुकीसम्म घुमघाम गर्ने, इस्ट मित्र भेट्ने वा घरमा नगरी नहुने ठूला कामहरू गर्ने चलन छ ।
सार्वजनिक बिदाको साथसाथै सबै देशका सरकारले आफ्ना काम गर्ने नागरिकहरुको लागि वर्ष भरीमा निश्चित दिनहरू विभिन्न शीर्षकमा तलवी छुट्टी दिने परम्परा छ । विश्वभरीको तथ्याङ्क हेर्दा धेरै सार्वजनिक बिदा दिने देशहरूमा क्याम्बोडिया, इरान, श्रीलंका, भारत, नेपाल,काजकस्तान, कोलम्बिया, फिलिपिन्स, चीन, हङकङ, थाइल्यान्ड, टर्की र पाकिस्तान माथिल्लो श्रेणीमा देखिन्छन् । यी देशहरूमा १६ देखि २८ दिन सम्म सार्वजनिक बिदा दिने गरिन्छ । त्यस्तै थोरै सार्वजनिक बिदा दिने देशहरूमा चाड, उरुग्वे, ट्यूनिसिया, स्वीट्जरल्याण्ड, मेक्सिकोलगायत केही देशहरू छन् जहाँ तीन दिनदेखि सात दिनसम्म सार्वजनिक बिदा दिइन्छ । युरोपमा प्राय देशले १० देखि १४ दिनसम्म बिदा दिने गरेको देखिन्छ । युरोपमा बेलायत थोरै बिदा दिने देशमा पर्दछ ।
संसारको सबैभन्दा विकसित मानिने देश अमेरिकामा आधिकारिक रूपमा कुनै प्रकारको सार्वजनिक बिदा नहुने मात्रै हैन त्यहाँ काम गर्नेहरुलाई तलबी बिदा पनि हुँदैन । तर बिदाको लागि काम गराउने र गर्नेहरु बीच भने छुट्टै सहमति हुनसक्छ । तलवी बिदा हुने तर सार्वजनिक बिदा नहुने अन्य देशहरूमा भानुआटु, टोगो, सोलोमन टापू, पोर्टोरिको, मंगोलिया, मोल्डोभा, केप भर्डे हुन् । संसारका सबै देशमा काम गर्नेहरूले काम गरेको समयको आधारमा समान रुपमा वर्षभरीमा छुट्टै तलब पाउने विभिन्न बिदाहरूको व्यवस्था गरेको हुन्छ तर लक्जम्बर्ग मात्रै त्यस्तो देश जहाँ उमेरको आधारमा पनि बिदा संख्या फरक दिइन्छ । त्यति मात्रै हैन अन्त कतै नसुनिएको घर सर्नलाई प्रत्येक तीन वर्षमा तीन दिन, विवाह गर्न छ दिन, एकाघरका दाइभाइ दिदी बहिनीको मृत्यमा तीन दिन, छोरा छोरीको विवाहमा दुई दिनलगायत थप शीर्षकमा पनि बिदा दिने चलन देखिन्छ ।
विशेषत बढी काम गर्ने मानिसहरुले समय समयमा कामबाट छुट्टी लिन पर्ने तथ्य विभिन्न अध्ययनहरुबाट स्थापित भैसकेका छन्। होलिडे जाने सोचाई र तयारीको क्रममा नै मानिसहरुमा एक प्रकारको उत्साह थपिने हुँदा काममा पनि स्फूर्ति आउने गर्दछ। कामको वातावरणबाट टाढा आफूले रुचाएको स्थानमा आफ्ना मनपर्ने मान्छे वा परिवारका सदस्यहरुसँग समय बिताउँदा पारिवारिक सम्बन्ध बलियो भै प्राप्तहुने सकारात्मक उर्जा लामो समयसम्म कायम हुने हुँदा आफ्नो काममा केन्द्रित हुन सहयोग पुग्ने गर्दछ। बिदा मनाउने मानिसहरूमा कम तनाव, हृदय रोगको कम जोखिम, जीवनप्रति राम्रो दृष्टिकोण हुने हुँदा आफ्नो लक्ष्यहरू प्राप्त गर्न बढी प्रेरित हुन्छन्। अध्ययनले यो पनि देखाएको छ कि कामबाट बेलाबखत नियमित रुपमा समय निकाल्दा शारीरिक र मानसिक स्वास्थ्य लाभ पनि हुने गर्दछ । यसै पृष्ठभूमिमा हालसालै नेपाल सरकारले गरेको हप्ताको दुई दिन बिदा दिने निर्णयलाई सकारात्मक रुपमा लिएर आन्तरिक पर्यटन बढाउन सकिने सम्भावनालाई परिणाममा परिणत गराउन सक्न सके राम्रो हुने थियो।
बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।