फुलै फूलको अप्रिल

अहिले विश्वमा विभिन्न आधार (विषेशत धार्मिक) मा तयार पारिएका करिब चालीस प्रकारका पात्रोहरु प्रयोगमा रहेको मानिन्छ । नेपाल, इथियोपिया, अफगानिस्तान, भारत, बंगलादेश इजरायल, जापान, दक्षिण कोरिया, ताइवान, थाइल्यान्डलगायत निकै थोरै देशमा आफ्नै स्वतन्त्र पात्रो प्रयोग गरिन्छ । अहिले सबैभन्दा बढी प्रयोगमा आउने ग्रेगोरियन पात्रो तत्कालिन पोप ग्रेगोरी तेर्हौको नामबाट नामाकरण गरिएको थियो । २४ फेब्रुअरी १५८२ मा जुलियन पात्रोलाई विस्थापित गरेर स्थापित यो पात्रोको वार्षिक हिसाब मिलाउन त्यस वर्षको अक्टोबर ४ बाट एकैपटक अक्टोबर १५ बनाइएको थियो । जुलियन क्यालेण्डरभन्दा अगाडि प्रयोगमा रहेको रोमन क्यालेण्डर अनुसार एक वर्षमा दश महिना मात्रै थियो । मार्च महिनाबाट शुरू हुने नयाँ वर्ष डिसेम्बरमा अन्त्य हुन्थ्यो। जाडो मौसमको दुई महिना गणना नै गरिँदैनथ्यो । रोमका दोश्रो राजा नुमा पोम्पिलियासले ईशा पूर्व ७३८ तिर जनवरी र फेब्रुअरी थप गरे पछि १२ महिनाको एक वर्ष भएको थियो ।

अप्रिल महिनालाई उत्तरी गोलार्धमा वसन्त ऋतुको दोश्रो महिनाको रूपमा लिइन्छ भने दक्षिणी गोलार्धमा शरद ऋतुको दोश्रो महिनाको रूपमा । महिनाको हिसाबले हेर्दा दक्षिणी गोलार्धमा अप्रिललाई अक्टोबरसँग तुलना गरिन्छ । यो वर्षको चौथो महिना हो भने ३० दिनको एक महिना हुने वर्षको पहिलो महिना हो । वर्ष भरीमा चार महिना मात्रै ३० दिनका हुन्छन् । यो महिनाको नामाकरण संभवत ग्रीकहरुले प्रेम, सुन्दरता र प्रजननको देवीको रूपमा मान्ने आफ्रोडाइटबाट लिइएको हुन सक्ने मानिन्छ । इटली नजिकैको एक पुरानो सभ्यता इट्रुस्क्यानहरुले यिनै देवीलाई आप्रो भन्ने गर्दथे । रोमनहरुले उनीहरूकै कतिपय प्रचलनहरु पछ्याउँदै आएको हुँदा उनीहरूले पनि अप्रिल महिनामा तिनै देवीको सम्झनामा उत्सव मनाउने गर्दछन् । केही इतिहासविद्हरु यो महिनाको नामाकरण ल्याटिन शब्द अप्रिलिस जुन शब्द अपेरियर अथवा अप्रिकसबाट आएको हुन सक्ने बताउँछन् । यसको अर्थ हुन्छ खोल्नु र घमाइलो भन्ने हुन्छ । यो महिनाबाट घाम लाग्न थाल्ने र रुख बिरुवाका मुनाहरु फक्रिने भएकोले यो नामाकरण हुनु उपयुक्त देखिन्छ । परम्पराअनुसार अप्रिल महिनाको शुभ रत्न हिरा मानिन्छ । यो महिनाको १९ तारीख सम्म जन्मनेहरु मेष र त्यसपछि जन्मिनेहरुलाई वृष राशी मानिन्छन् । यो महिनामा फूल्ने फूलहरुले पूरा वातावरण रमणीय पारेर सबैको मन नै हर्षित बनाउने गर्दछ । सम्भवत साहित्यमा सबैभन्दा बढी प्रयोग गरिने मौसम पनि वसन्त ऋतु नै हुनुपर्छ ।  

अप्रिल महिना भन्ने बित्तिकै पहिलो दिन अप्रिल फुललाई संसारभरि विभिन्न ढंगले तर समान उद्देश्यका लागि मान्ने गरिन्छ । हुन त यो दिन नेपालमा हुँदा धेरै मानेको जस्तो लाग्थ्यो । बेलायत आएपछि खासै धुमधामसँग मानिएको छैन । मनोरञ्जनको लागि कसैलाई झुक्याएर दु:ख दिनु नै अप्रिल फुलको मुख्य विशेषता हो । मानिसहरू बीच ठट्टा गरेर मजाक गर्दा कसैले नबुझिकन वास्तविक ठान्यो भने त्यस्तो मजाक गर्ने मान्छेलाई सफल ठानिन्छ र मजाकमा उड्ने मानिसलाई मुर्ख वा माछा ठानिने परम्परा छ । यो परम्परा कहिलेदेखि शुरु भयो भन्ने चाहिँ कुनै ठोस प्रमाण फेला परेको छैन । यसबारे अमेरिकी साहित्यकार मार्क ट्वेनको बुझाइ अर्थपूर्ण छ । उनी भन्छन्, “अप्रिल महिनाको पहिलो दिन बाँकी ३६४ दिनका भोगाईहरु सम्झने र व्यक्त गर्ने दिन हो ।”

यो दिन मनाउनको लागि सरकारले नै छुट्टी दिने विश्वभरी एउटा मात्र शहर  छ । अहिले युद्धको मारमा परेको युक्रेनको तेश्रो ठूलो शहर “ओडेसा”मा अप्रिल १ गते सार्वजनिक बिदा नै हुन्छ ।  यो परम्परा सन् १९७३ देखि चलेको हो । यसपाली शायद यो पर्व मनाउने सम्भावना नहुन पनि सक्छ । संयोग नै मान्नुपर्छ भौगोलिक रूपमा निकै टाढा पर्ने तर उस्तै उस्तै सुनिने भारतको “ओडिशा “राज्यले पनि यही दिन आफ्नो स्थापना दिवस मनाउँछ । यसलाई उतकला दिवस पनि भनिन्छ । सन् १९३६ अप्रिल १ गते बिहार र ओरिसा राज्यको केही भूभाग मिलाएर नयाँ राज्य घोषणा गरेको दिनलाई विशेष रूपमा महोत्सव मनाउने चलन चल्यो । पहिला यो राज्यको नाम ओरिसा थियो जुन अङ्ग्रेजी नाम हो । सन् २०११ देखि यसलाई परिवर्तन गरी ओडिशा नामाकरण गरिएको थियो । यो राज्य जनसंख्याको आधारमा भारतको एघारौ र भूभागको आधारमा आठौ ठूलो राज्य हो। जहाँ चार करोडभन्दा बढी भारतीयहरु बसोबास गर्छन् ।  

यो महिनामा संसारका केही देशहरुले आफ्नो स्वतन्त्रता दिवस मनाउँछन् । जसमा सेनेगल ४ तारिख, जर्जिया ९ तारिख, सिरिया १७ तारिख, जिम्बावे १८ तारिख,  आयरल्यान्ड २४ तारिख, टोगो, सेरालियोन, दक्षिण अफ्रिका २७ तारिख र इजरायल २९ तारिखमा छन् । नेपालले पनि अप्रिल ११ का दिन लोकतंत्र दिवस मनाउने गर्दछ ।  

नेपालमा वैशाख १ गते नयाँ वर्ष मनाइन्छ । यो अप्रिल महिनाको १४- १५ तारिखतिर पर्दछ । यही हाराहारीमा भारतका विभिन्न प्रान्तहरु,  श्रीलंका, क्याम्बोडिया, थाइल्यान्ड, लाओसका साथै बर्मिज, बंगाली, तमिलहरुले पनि नयाँ वर्ष मनाउँछन् । बेलायत आएपछि यहाँ धुमधाम मनाइने बैशाखीबारे थाहा भयो । शिखहरुका गुरु गोविन्द सिंहले सन् १६९९ देखि गुरु गोविन्द सिंहले खाल्सा शुरू गरेसँगै वैशाखी मनाउन थालिएको हो । यसलाई पंजाबी नयाँ वर्ष पनि भनिन्छ ।

यसपालिको अप्रिल महिना विश्वका तीन महत्वपूर्ण धर्मालम्वीहरुको विशेष महिना बनेको छ । वसन्त ऋतुको आगमन पछि पर्ने पूर्ण चन्द्रमालाई आधार मानी मनाइने क्रिश्चियन, यहूदी र मुस्लिमहरुको क्रमशः इस्टर, पासओभर र रमादान यस वर्ष अप्रिल १७, १५-२३ र २ देखि ३० दिनसम्म परेको छ ।

हिन्दू धर्ममा विभिन्न अवसरमा फरक-फरक भगबानको नाममा वर्षैभरी लामो छोटो व्रत बस्ने चलन छ । धार्मिक माध्यमबाट मानिसको शरीरलाई स्वस्छ र पवित्र राख्न यस प्रकारको प्रथा चलेको हुन पर्छ । अहिले संसारको सबैभन्दा ठूलो समस्या मोटोपनालाई कम गर्न विभिन्न किसिमको खानपिन, आहारब्यवहारको लागि धेरैले धेरै पैसा र समय छुट्याउने गरेको पाइन्छ । बुद्ध धर्मअनुसार दिनको एकपटक मात्रै मुख्य भोजन गर्ने परम्परा पनि यसैसँग सम्बन्धित हुन सक्छ ।

ईशाईहरुको महत्वपूर्ण चाडमध्ये एक इस्टर हो । जिशशलाई क्रसमा चढाएको तीन दिनपछि पुन: जीवन प्राप्त गरेको मानिन्छ । त्यसैको प्रतीकस्वरूप उक्त दिन अण्डाबाट चल्ला कोरलेको देखाइन्छ । यो अवधिमा बजारमा सबैतिर ‘इस्टर एग’ पाइन्छ । घरमा इस्टर एग लुकाएर पत्ता लगाउने चलन पनि छ । यो पर्व मनाउन पूर्व तयारीको लागि ४० दिनसम्म शरीरलाई स्वस्थ्य र पवित्र राख्ने प्रक्रियालाई ‘लेन्ट’ भनिन्छ । हुन त यो अवधि ४६ दिनको हुन्छ तर त्यस बीचको आईतबार गणना नगरिने हुँदा ४० दिन मात्र मानिन्छ । यो अवधिभर कसै कसैले एक छाक खाने, माछा मासु पेय पदार्थ प्रयोग नगर्ने, अनावश्यक सामान नकिन्ने, अनावश्यक समान बाँड्ने गरिन्छ ।  युवायुबतीहरुले पनि चकलेट, क्रिप्स, चिया,कफी जस्ता अनावश्यक रुपमा प्रयोग गरिने वस्तु यो अवधिभर प्रयोग नगर्ने कोशिश गर्दछन् । यो प्रथालाई बाइबलमा शैतानहरुले जिशशलाई दु:ख दिन मरूभूमिमा भोकै ४० दिन कटाउन बाध्य बनाएको र यदि तिमी देवताको छोरा भए यो ढुङ्गालाई रोटी ठानेर खानु भनेका थिए भनिएको छ ।

मुस्लिमहरुले कुरानअनुसार करिब एक महिना उपवास बस्ने चलन छ । जसलाई रमादान र त्यसको अन्तिम दिनलाई ईद भनिन्छ । यो अवधिमा आत्मानुशासन, आत्म नियन्त्रण र बलिदानमार्फत कम भाग्यमानीहरुले जस्तै अनुभव गर्ने अभ्यास गर्दछन् । सूर्य उदाएदेखि नअस्ताएसम्म केही खानपिन नगर्ने परम्परा छ । यस बीचमा अन्य परोपकारी कामहरु पनि गर्ने गरिन्छ । मुश्लिम क्यालेन्डरअनुसार मानिने हुँदा यो सँधै एकै महिनामा पर्दैन ।

यहूदीहरु आफ्नो पुर्खा इजिप्टको दासत्वबाट मुक्त भएको अवसरलाई पारेर विशेष हर्ष उल्लास मनाउँछन् । सात वा आठ दिनसम्म मनाइने यो पर्वलाई पास ओभर भनिन्छ । यो अवधिमा सबै जहानपरिवार, इष्टमित्रहरू जम्मा भएर थरीथरीका परिकारहरु पकाउने गरिन्छ । तर यो पर्वमा गहुँ, जौ, चामल, गेडागुडी, मकै, दाल र त्यसबाट उत्पादित खानाहरु खान बन्देज गरिन्छ । त्यसैले यो अवधिभर यी अनाजहरुबाट बनाइने पेय पदार्थहरू पिउन पाइँदैन ।

संयुक्त रास्ट्र संघले विश्वव्यापी समस्याहरूलाई सम्बोधन गर्न,  राजनीतिक इच्छाशक्ति र स्रोतहरू परिचालन गर्न,  मानवताका उपलब्धिहरूलाई प्रचार गर्न र अन्तर्राष्ट्रिय विषयहरूमा आमजनतालाई शिक्षित गर्न वर्षभरि अनेकन विशेष दिन घोषणा गरी अन्तर्रास्ट्रिय रुपमा मनाउँदै आएको छ । अप्रिल २ मा विश्व अटिजम सचेतना दिवस, ४ मा खानी जागरूकता दिवस, ५ मा विवेक दिवस, ६ मा विकास र शान्तिको लागि खेलकुद दिवस, ७ मा स्वास्थ्य दिवस, रुवाण्डा नरसंहारका पीडितहरूको सम्झना दिवस, १२ मा मानव अन्तरिक्ष उडान दिवस, १४ मा चागस रोग दिवस, १५ मा कला दिवस, २० मा चिनियाँ भाषा दिवस, २१ मा रचनात्मकता र नवीनता दिवस, २२ मा पृथ्वी दिवस, २३ मा पुस्तक र प्रतिलिपि अधिकार दिवस, अंग्रेजी भाषा दिवस, २४ मा बहुपक्षीयता र शान्तिको लागि कूटनीतिको अन्तर्राष्ट्रिय दिवस, २५ मा अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस, विश्व मलेरिया दिवस, २६ मा विश्व बौद्धिक सम्पदा दिवस, अन्तर्राष्ट्रिय चेर्नोबिल प्रकोप स्मरण दिवस, २८ मा अन्तर्राष्ट्रिय बालिका दिवस, काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस, ३० मा ज्याज दिवस मनाइन्छ । यी बाहेक रास्ट्रिय र क्षेत्रीय रुपमा पनि विभिन्न दिवसहरु मनाइने गरिन्छ ।

लेखक

बेलायतमा कर वर्ष अघिल्लो वर्षको अप्रिल ५ देखि अर्को वर्षको अप्रिल ४ सम्मलाई मानिन्छ । पुरानो क्यालेण्डरअनुसार बेलायतले मार्च २५ लाई आफ्नो नयाँ वर्ष मानेको थियो ।  बेलायतले सन् १७५२ बाट मात्रै ग्रेगोरियन पात्रो प्रयोग गरेको हुनाले सरकारलाई कर घाटा नहोस् भन्नको लागि ट्रेजरीले कर वर्ष पनि ३६५ दिनकै बनाउन यस्तो व्यवस्था गरेको हो ।

विश्वका धेरै देशहरुमा अप्रिल महिनामा ठूल्ठूला अन्तर्राष्ट्रिय पर्वहरू मनाउने गरिन्छ । राष्ट्रिय रूपमा प्रथा वा परम्पराअनुसार चल्दै आएको रीतिरिवाज नै बिस्तारै अन्तर्राष्ट्रियकरण हुँदै जाने गरेको पाइन्छ । आवतजावतमा सजिलो हुँदै गर्दा पर्यटकहरु कुनै देशमा जाँदा त्यहाँको वास्तविक रहनसहन, कला, संस्कृति बुझ्न यस्तो पर्वको अवसर पार्ने चलन बढेको छ । नेपालमा नयाँ वर्षको दिन मनाइने सिन्दुर जात्रा विशेष नेवारी समुदायमा भक्तपुर, मध्य ठिमीमा व्यापक रूपमा मानिन्छ । विस्केट वा विस्का जात्रा भनेर चिनिने यो जात्रा देशभरिका नेवार समुदायले पनि विशेष रूपमा मान्ने गर्छन् । यसपाली पहिलो पटक बेलायतमा पनि पासा पुच गुठीले यो पर्व भव्य तरिकाले मनाउने तयारी गर्दैछ । भैरव र भद्रकालीलाई दुई रथमा राखेर नयाँ वर्ष प्रारम्भ हुनुअघि सहरका पूर्व र पश्चिमवासीहरू  एक आपसमा डोरी तानेर टक्कर लिने गर्दछन् र एक आपसमा अबिर लगाई दिने चलन छ । नेपालमा यो महिना केही पर्वहरू परेका छन् । अप्रिल १ मा घोडेजात्रा, २ मा तेल लगाउने र नीमको पात खाने दिन, ९ मा चैते दशैं, १० रामनवमी र ३० मा मातातीर्थ औशी अर्थात् आमाको मुख हेर्ने दिन ।

नेपाली नयाँ वर्षकै दिन अप्रिल १३ देखि बर्माको म्यानमारमा थिङ यान पर्व मनाइन्छ । त्यहाँ पनि नयाँ वर्ष तीन/चार दिन मान्ने चलन छ । एक आपसमा पानी फ्याँकेर पाप पखाल्ने र नयाँवर्ष शुरू गर्ने भनिन्छ । शहरभरी असंख्य नाचगान परेड खेलिन्छ । यो मेला हेर्न धेरै देशबाट पर्यटकहरु आउने गर्दछन् । इस्टरको समयमा अस्ट्रेलियाको भिक्टोरिया समुन्द्रमा संसारकै लामो सर्फिङ हुने गर्दछ । सन् १९६२ देखि शुरू गरिएको यो सर्फिङ प्रतियोगितामा संसार भएका नामुद व्यावसायिक खेलाडीहरुले भाग लिने गरेका छन् । मध्य एसियाका देशहरूमा जाडो महिना पछाडि वसन्त ऋतुको आगमनसंगै नवरस पर्व मनाउने चलन छ । यो पर्व फारसबाट शुरू भएको हो र फारसी भाषामा नवरस भन्नाले नयाँ दिन हो । फारसीहरुको लागि पनि यो नयाँ वर्षको शुरुआत हो । उक्त दिन शहरभरी व्यापार मेला, कन्सर्ट तथा राष्ट्रिय घोडा दौड गरिन्छ। नाचगान, खानपिन त हुने नै भयो । जापानमा मनाइने हानामीले संसारभरिका धेरै मानिसहरूलाई आकर्षण गर्दछ । जापानिज भाषामा हाना भनेको फूल र मी भनेको हेर्ने हो । चेरी फूल्ने सिजनमा साकुरालगायत धेरै प्रकारका फूलहरूले गाउँ शहर सबै ढकमक्क भरिएको हुन्छ । यिनै मनोरम दृश्य हेर्न विशेषत संसारभरिबाट प्रशस्त प्रेमिल जोडीहरु आउने गर्दछन् । दिनभरी खानपिन, नाचगान गरेर सूर्य नअस्ताएसम्म रमाउने चलन छ । त्यसैगरी लाओसमा मनाउने पिमे पर्व, अमेरिकाको न्यू ओर्लिनमा मनाउने ज्याज पर्व, थाइल्यान्ड र कम्बोडियामा मनाउने सोंग क्रान, न्यूजिल्याण्डमा मनाउने सिफुड पर्व, अस्ट्रेलियाको मेलबर्नमा सन् १९८७ देखि मनाउन थालिएको संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय हास्यव्यंग्य पर्व, न्युजिल्यान्डमा मनाइने वानाका अन्तर्राष्ट्रिय एयर शो अप्रिल महिनामा पर्ने प्रख्यात पर्वहरु हुन् ।

यो महिनामा संसारका धेरै मानिसहरूले थुप्रै नयाँ प्रविधिको विकास गरेका छन् । ती मध्ये अहिले सबैभन्दा महत्वपूर्ण मानिने वर्ल्ड वाइड वेब सफ्टवेयर पहिलोपटक सार्वजनिक डोमेनमा राखिएको दिन अप्रिल ३० सन् १९९३ थियो । बेलायती वैज्ञानिक टीम बर्नस लीले विशेषत विश्वविद्यालय र वैज्ञानिकहरुबीच प्रयोगको लागि मात्रै यसलाई सन् १९८९ मा नै आविष्कार गरेका थिए । उनले काम गर्ने कम्पनी युरोपियन आणविक अनुसन्धान केन्द्रले पछि सार्वजनिक प्रयोगको लागि उपलब्ध गराउने निर्णय गरेको थियो ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री