
काठमाडौँ । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ ।
यसैगरी मन्त्री आलेले कोरोना सङ्क्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान सुरु गर्नेछन् । अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि सुरु हुने प्राधिकरणले जनाएको छ ।
यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम सुरु भएको बताइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तर्राष्ट्रिय उडान सुरु गरिने महानिर्देशक अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्नेछौँ र कटान दुई महिनामा सक्ने लक्ष्य राखेका छौँ ।” नेपालमा कोरोना भाइरस करिबकरिब अन्त हुँदै गएपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने योजना बनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेपाल सरकारका खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित