पाकिस्तानमा संसद् विघटन, ९० दिनभित्र निर्वाचन हुने

प्रधानमन्त्री खान । तस्विर सिन्हवा

इस्लामावाद ।  पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गर्नु भएको छ ।

प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।

संसद् विघटनसँगै उहाँले आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री खानले संसद्‌मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नु भएको हो ।

विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उहाँले स्पष्ट पार्नु भयो ।

पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उहाँ नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गर्नु भएको छ ।

विपक्षले आफु विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिनुभएको थियो ।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनु भएको छ ।

उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको छ ।

खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री