एक वर्षमा १ लाख बीएनओले गरे बेलायतको आवासीय भिसा आवेदन

लण्डन । चीनले हङकङमा सुरक्षासम्बन्धी कानुन ल्याएपछि बेलायतले ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) राहदानी भएकाहरुलाई बेलायतको आवासीय अधिकार दिने नीति ल्यायो । सो नीतिले खोलेको बाटो पहिल्याउँदै करिब १ लाख हङकङबासीले बेलायतको आवासीय भिसाका लागि आवेदन गरेका छन् ।

बेलायतको गृह मन्त्रालयका अनुसार एक वर्षमा १ लाख ३ हजार ९०० बीएनओहरुले बेलायतको आवासीय भिसा आवेदन गरेका छन् । जसमध्ये करिब ९७ हजारको आवेदन सफल भएको मन्त्रालयले जनाएको छ ।

यसरी बेलायत आउनेहरुमा व्यावसायिक क्षमता भएका, व्यवस्थापकीय जिम्मेवारीमा रहेका उच्च दक्ष जनशक्ति रहेको छ । मन्त्रालयका अनुसार जसमा ६९ प्रतिशत विश्वविद्यालय तहको शिक्षा पाएका र ७६ प्रतिशत व्यावसायिक दक्षता भएका छन् । तीमध्ये ९६ प्रतिशत काम गर्ने उमेर समूहका र २१ प्रतिशत ३५ वर्षमुनीका छन् ।

बीएनओहरुले बेलायतको आवासीय अधिकारका लागि निवेदन दिँदा वयस्कका लागि जनही ३ हजार १२० पाउण्ड र बच्चाहरुको लागि जनही २ हजार ३५० पाउण्ड खर्च लाग्छ । उनीहरुको आवेदन छिनोफानो हुन करिब छ हप्ता लाग्ने बताइएको छ ।

बेलायत सरकारले बीएनओ राहदानीवाहकहरुलाई बेलायतमा बसोबासका लागि ४३ मिलियन पाउण्ड छुट्याएको बताएको छ ।

अहिले बीएनओहरुलाई पाँच वर्षको आवासीय भिसा दिइएको छ । त्यसपछि उनीहरुले बेलायतको नागरिकता प्राप्त गर्न निवेदन दिन सक्नेछन् । सीएनबिसीले गरेको सर्भेक्षणमा बेलायत आएका ९६ प्रतिशत बीएनओले अब हङकङ नफर्कने बताएका छन् ।

बेलायतले सन् २०२१ को जनवरीमा हङकङबासी बीएनओ राहदानीवाहक र उनीहरुका आश्रितहरुका लागि आवासीय अधिकार दिने योजना ल्याएको थियो ।

सो मापदण्डभित्र करिब ५४ लाख हङकङबासी परे पनि करिब ३ लाख देखि ५ लाख मानिसले आवेदन दिने बेलायत सरकारको अनुमान रहेको छ ।

हङकङमा सन् २०१९ मा सरकारविरुद्ध लामो समय प्रदर्शन भएपछि सन् २०२० मा चीन सरकारले सुरक्षासम्बन्धी कानुन ल्याएको थियो । सो कानुनले बेलायतले हङकङ चीनलाई छोड्दा गरिएको प्रतिवद्धता उल्लंघन गरेको बेलायतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री