तालिबानद्वारा संयुक्त राष्ट्रसंघको प्रतिवेदन अस्वीकार

काबुल । तालिबानले संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई अस्वीकार गरेको छ । उक्त प्रतिवेदनमा अघिल्लो सरकारका १०० भन्दा बढी अधिकारी र सुरक्षा बलका सदस्यहरू अफगानिस्तानबाट अमेरिकी गठबन्धनका सैन्य बाहिरिएपछि तालिबान वा यसका सहयोगीहरूबाट मारिएको उल्लेख गरिएको छ ।
गत वर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि तत्कालीन असरफ घानी सरकारका सदस्य, यसका सुरक्षा बल र अन्तर्राष्ट्रिय सेनासँग काम गर्ने १०० भन्दा धेरै मानिसहरू मारिएका रिपोर्टहरू बाहिरिएको थियो । तालिवानको आन्तरिक मन्त्रालयले सो रिपोर्ट अस्वीकार गरेको छ।
प्रतिवेदनमा संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले ‘पूर्व सरकारसँग सम्वद्धहरूलाई सामान्य माफी दिए पनि अधिकांश मृत्यु तालिबान वा यसका सहयोगीहरूले गैरन्यायिक हत्याका कारण भएको’ बताएका छन् ।
सरकारका पूर्व सदस्यहरू, सुरक्षा बलहरू र अन्तर्राष्ट्रिय सैन्य बलहरूसँग काम गर्नेहरूका लागि सामान्य माफीको घोषणाको बावजुद अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहायता मिसनले हत्या, अपहरणका घटनाजस्ता आरोपहरू विश्वसनीय रुपमा प्राप्त गरिरहेको जनाइएको छ ।
युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, नर्वे, बेलायत र अमेरिकाका विशेष प्रतिनिधि र विशेष दूतले अफगानिस्तानको अवस्थाबारे छलफल गर्न गत सोमबार ओस्लोमा भेटेका थिए।
बैठक पछि पश्चिमी राजदूतहरूले एक विज्ञप्तिमा मानव अधिकारको सम्मानको महत्त्व र अफगानिस्तानको स्थायित्व र शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न समावेशी र प्रतिनिधि राजनीतिक प्रणालीको बलियो आवश्यकताको बारेमा चिन्ता व्यक्त गरेका थिए।
विशेष प्रतिनिधिहरूले तालिबानलाई स्वेच्छाचारी नजरबन्द, जबरजस्ती बेपत्ता, मिडियालाई नियन्त्रण, गैरन्यायिक हत्या, यातना र महिला र बालिकाहरूको शिक्षामा प्रतिबन्ध, रोजगारी र महिलालाई स्वतन्त्रतापूर्वक यात्रा गर्ने स्वतन्त्रता लगायतका मानवअधिकार उल्लङ्घनको चिन्ताजनक वृद्धि रोक्न थप गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री