काठमाडौं । रोजगारीका लागि साउदी पुगेका ६ नेपाली युवा बिच्चलीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको छ।
विभिन्न कारणले अवैधानिक हैसियतमा पुगेका उनीहरुलाई संघको पहलमा स्वदेश फर्काइएको हो। संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा. बद्री केसीका अनुसार आवासीय अनुमतिपत्र नविकरण हुन नसक्दा उनीहरु साउदीमा बन्दी जीवन बिताउन बाध्य थिए।
भिसाविहीन भई अलपत्र परेका ताप्लेजुङका यज्ञप्रसाद विष्ट, सिन्धुपाल्चोकका एकराज तामाङ, झापाका मदनकुमार उप्रेती, काभ्रेपलाञ्चोकका शंकर विक,सप्तरीका जितेनकुमार मण्डल र सुनिलकुमार यादवलाई शुक्रबार बिहान उद्धार गरी स्वदेश फर्काइएको उनले बताए।
भनेजस्तो सेवासुविधा नपाएपछि उनीहरुले गर्दै आएको कम्पनी छोडेर अन्यत्र भागेका थिए। राम्रो कमाइ हुने प्रलोभनमा परी कम्पनी छोडेका उनीहरु त्यसपछि भने थप समस्यामा परेका थिए।
‘डेढ सालमा पनि ऋण तिर्न नसकेपछि घरबाट आमाबुवाले कराइरहे। अन्यत्र राम्रो कमाइ हुन्छ भनेर कम्पनी छोडेर भागियो। तर, उल्टै दुःख पाइयो,’ सप्तरीका जितेनकुमार मण्डलले भने। उनलाई साउदीमै रहेका झापाका दुर्गा नाम गरेका एजेण्टले प्रलोभन देखाएर कम्पनी छोड्न उक्साएका थिए।
‘नेपाली भनेर विश्वास गरिहालियो । तर, उल्टै ठग्यो। तीन महिनासम्मको तलब पनि दिएन,’ मण्डलले सुनाए, ‘आफै अवैध रुपमा बसेकोले तलब पाएन, दु:ख दियो भनेर कतै उजुरी गर्ने ठाउँ पनि थिएन। अन्त्यमा एनआरएनएका सरहरुले सहयोग गर्नुभयो।’
ताप्लेजुङका विष्टले भागेर काम गर्दा धेरै कठिनाइ भोग्नुपरेको बताए। उनी साउदी पुगेको १६ महिनापछि कम्पनी छोडेर भागेका थिए। ‘भागेर काम त पाइँदो रहेछ । तर, पैसा भने नपाइने। तलब माग्दा उल्टै धम्की दिँदा रहेछन्,’ विदेशमा रहेका अन्य नेपालीलाई कम्पनी नछोड्न सुझाव दिँदै विष्टले भने, ‘कोही पनि भागेर काम नगर्नुहोला। अवैध हुँदा धेरै दुःख पाइने रहेछ।’
संघका नेपालमा रहेका स्वंसेवकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गएर उनीहरुलाई स्वागत गर्दै घरसम्म जान यातायात खर्चको व्यवस्था समेत गरेका थिए।
एनआरएनएको यो विभागले दातृसंस्थाको सहकार्यमा कोभिड–१९ राहत, व्यवस्थापन तथा उद्धार कार्यक्रममार्फत विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्दै आएको छ। हालसम्म यो कार्यक्रममार्फत विदेशमा समस्यामा परेका २६ हजारभन्दा बढी नेपालीलाई विभिन्न सहयोग पुर्याइएको परियोजना प्रमुख सुजाता शर्माले बताइन्।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]