बेलायत आउन चाहने नर्सहरुलाई नआत्तिन, नहौसिन र जागिर नछोड्न बेलायतका नेपाली नर्सको आग्रह

लण्डन । नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता भई नर्सहरु बेलायत ल्याउने प्रक्रिया करिब एक वर्ष लाग्न सक्ने बताइएको छ ।
बेलायतमा रहेका नेपाली नर्सहरुको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले बेलायतको स्वास्थ्य मन्त्रालय (डिपार्टमेण्ट अफ हेल्थ एण्ड सोसल केयर) सित गरेको छलफलमा मन्त्रालयका अधिकारीहरुले सो सुझाव दिएका हुन् ।
एनएनए युकेले आइतबार लण्डनमा नेपालबाट बेलायतमा नर्सहरु ल्याउने सम्बन्धमा सत्यतथ्य जानकारी गराउन एक भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी सोको जानकारी गराएको हो ।
एनएनए युकेका अध्यक्ष सुनिता गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयसित हालै भएको छलफलमा उनीहरुले नेपाल सरकारसितको पहिलो छलफल सकारात्मक भएको र नेपालबाट नर्स ल्याउन एक वर्ष लाग्न सक्ने बताएको जानकारी दिइन् ।
नेपाल विश्व स्वास्थ्य संगठनको रेड लिष्टमा रहेको र बेलायतबाट सीधै रिक्रुटमेण्ट एजेन्सीहरु गएर नर्सहरुलाई ल्याउन नपाउने भएकाले सरकार र सरकारबीच सम्झौता भएमा मात्र नेपालबाट स्वास्थ्यकर्मी ल्याउन पाउने र सोको लागि श्रम सम्झौता हुन लागेको उनले बताइन् । तर नेपालबाट नर्सहरु व्यक्तिगत तवरमा बेलायत आउन चाहेमा अहिले पनि एक पैसा खर्च नगरी बेलायत आउने बाटो रहेको उनले बताइन् ।
एनएनए युकेकी महासचिव बिनु लामिछानेले नेपाल र बेलायत सरकारबीच हुन लागेको सम्झौताबाट बेलायत आउने नर्सहरुले एक वर्षमै काम छोडेमा करिब ४ हजार पाउण्ड तिर्नुपर्ने, दोस्रो वर्षमा छोडेमा सोको ५० प्रतिशत राशी र तेस्रो वर्षमा छोडेमा २५ प्रतिशत राशी तिर्नुपर्ने हालसम्मको छलफलमा बताइएको जानकारी दिइन् । एउटा नर्सलाई बेलायत ल्याउँदा करिब ४ हजार पाउण्ड खर्च लाग्न सक्ने तर सबै पैसा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) वा त्यसमार्फतको एजेन्सीले तिर्ने तर नेपालका नर्सहरुले एक पैसा तिर्न नपर्ने उनले बताइन् ।
एनएनए युकेका पूर्व अध्यक्ष वासु लामिछानेले नेपालबाट बेलायत आउन चाहने नर्सहरुलाई बेलायतमा दर्ताका लागि बेग्लै व्यवस्था नभएको प्रष्ट पारे । बेलायतले बिरामीहरुको सेवामा स्तर कायम गर्न अंग्रेजी भाषाको मापदण्ड बनाएको र नेपालबाट आउनेका लागि मात्र अंग्रेजी भाषाको स्तर घटाउने सम्भावना नभएको उनले बताए ।
अध्यक्ष गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले नेपालबाट बेलायत आउन चाहने नर्सहरुलाई धेरै नहौसिन, नआत्तिन र खाइपाइ आएको जागिर अहिल्यै नछोड्न भनेको उद्धृत गर्दै इच्छुक नेपाली नर्सहरुलाई त्यहीअनुसार गर्न सल्लाह दिइन् । बेलायतको एनएचएसमा मात्र ४० देखि ५० हजार नर्सको खाँचो रहेको उल्लेख गर्दै उनले प्रशस्त जागिर भएकाले नआत्तिन, धैर्य गरी अंग्रेजी भाषाको परीक्षा पास गरेर मात्र बेलायत आउन उनले आग्रह गरिन् ।
बेलायतमा केयररका रुपमा आएका कतिपय नर्सहरुको अवस्था हेर्दा आँशु आउने भन्दै उनले नेपालमा रजिस्टर्ड भएका नर्सहरुलाई एजेन्सीको उक्साहटमा परी केयररका रुपमा बेलायत आउनुभन्दा बरु मिहिनेत गरेर अंग्रेजी परीक्षा पास गरेर बिना पैसा आउन सुझाव दिइन् ।
नेपालका मिडियाहरुमा बेलायतमा नर्सहरुले पाउने तलबका बारेमा बढाइचढाइ गरिएकोमा अध्यक्ष गौतमले बेलायतमा नर्सहरुको शुरुवाती तलब वार्षिक करिब २५ हजाउ पाउण्ड रहेको र लण्डन लगायतका क्षेत्रमा भत्तावापत २० प्रतिशतसम्म अतिरिक्त रकम दिइने पनि गौतमले प्रष्ट पारिन् ।
एनएनए युकेले नेपालबाट बेलायत आउन चाहने नर्सहरुलाई वास्तविक सूचना दिन हरेक महिनाको अन्तिम आइतबार बिहान १० बजे आफ्नो फेसबुक पेजबाट कार्यक्रम आयोजना गरिरहेको जानकारी दिँदै उनले नेपालका नर्सहरुलाई कुनै पनि जिज्ञासा छ भने एनएनए युकेको वेभसाइटमा दिइएको सम्पर्कमा म्यासेज गर्न अपील गरिन् । उनले नयाँ-नयाँ सूचनाहरु एनएनए युकेको वेभसाइटमा अपडेट गर्ने पनि जानकारी दिइन् ।
बेलायतमा कार्यरत अर्का नर्स राजेन्द्र पुडासैनीले पनि नेपाली नर्सहरुलाई जागिर नछाड्न, धेरै उत्साहित नहुन र बेलायत आउनका लागि कसैलाई पैसा नतिर्न सचेत पारे ।
एनएनए युकेकै ईन्दिरा बस्यालले एनएनए युकेले बेलायतमा कार्यरत नेपाली नर्सहरुको हितका लागि विभिन्न कार्यक्रम गरिँदै गरेको जानकारी दिइन् ।

नेपालमा दीर्घकालिन असरको चिन्ता

नेपाल नर्सिङ एसोसिएनका अध्यक्ष मन राईले नेपालबाट बेलायत नर्स लैजाने बारेमा नेपाल सरकारले आफूहरुसित आधिकारिक रुपमा छलफल नगरेको बताइन् । भविष्यमा नेपालको नर्सिङ क्षेत्रमा पर्नसक्ने दीर्घकालिन असरका बारेमा निर्णय गर्नुअघि प्रशस्त छलफल नभएको उनको भनाइ छ ।
नेपालबाट विदेश जाने नर्सहरु नेपालमा काम नपाएरभन्दा पनि राम्रो अवसरको खोजीमा विदेश जाने गरेको उनले बताइन् । बेलायत जाने नर्सहरुमा आधाजसो एजेन्टको उक्साहटमा जाने गरेको बताउँदै उनले नर्सहरुलाई मात्र होइन उनीहरुको अभिभावकहरुलाई पनि बेलायतको नर्सिङ अवसर बारेमा वास्तविक जानकारी दिनपर्ने आवश्यकता औँल्याइन् ।
नेपालको मोडल नर्सिङ कलेजकी प्रिन्सिपल सुमिता पाठकले राज्यकै प्रत्यक्ष संलग्नतामा विदेशमा नर्सहरु पठाउँदा नेपालको नर्सिङ क्षेत्रमा भविष्यमा पर्ने असरका बारेमा ध्यान दिनुपर्ने बताइन् । “अहिले बेलायतमा पठाउन लागिएको छ, पछि अरु देशहरुमा पनि पठाउने होला । त्यसले पछि नेपालमा नर्स नपुग्न सक्छ । त्यतातर्फ ध्यान दिनुपर्छ”, उनले भनिन् ।
सो अवसरमा अध्यक्ष गौतमले नेपाल नर्सिङ एसोसिएन युकेको परिचय, उद्देश्य र गतिविधि, नेपाली नर्सहरुले बेलायत आउँदा गर्नुपर्ने प्रक्रिया, बेलायत आएपछिको जीवनशैली, बेलायतमा नर्स पेशाको चुनौती र सम्भावनाका बारेमा जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री