शुक्रबार, माघ ७ २०७८ | Fri, January 21, 2022
नेपालको समय: ०१:२८ | UK Time: 19:43

उत्पादनमा जोडिनुको विकल्प छैन

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७८ पुष ११ गते २२:१०

हुन त हामीभन्दा धेरै अगाडिबाट शुरू भएका र अहिलेसम्म पनि समाधान गर्न नसकेका कतिपय राजनीतिक घटनाहरू विश्वसामू विद्यमान छन् । हामीले जनयुद्धको दश वर्षमा गुमाएका करिब १७ हजार नेपालीको हिसाबकिताब केवल हामीलाई ज्यानमारा साबित गर्न मात्रै प्रयोग गर्दै आएका छन् । त्यो जगमा उभिएर पटकपटक शासनमा पुग्नेहरु मौका पाउने बित्तिकै फेरि त्यही विषय उठान गर्न पुग्छन् । अहिले हुँदाहुँदै केपी वलीले समेत ‘अपाङ्ग घाइतेहरुलाई केही गर्न सकेन, सत्तामा पुग्ने भर्याङ मात्रै बनायो, कहाँ छन् काली बहादुर खाम ?’ भन्दै भाषण गर्न थालेका छन् । केही पूर्व सेनाहरुलाई माया गरे जस्तो गरेर इतिहासको खिल्ली उडाइएको हेर्न हामी बाध्य भएका छौं ।

हाम्रो कमीकमजोरीलाई पक्डेर केही आर्थिक चलखेलका साथ हिजो उठाएर पूरा नभएका केही योजनाहरु पूरा गर्ने नाममा क्षणिक आकर्षणमा लाग्ने सम्भावनाहरु बढेको देखिन्छ । हामीले यो समस्यालाई दीर्घकालीन रूपमा नै समाधान गर्न पनि प्रत्येक सदस्यलाई कुनै न  कुनै उत्पादनको अभियानमा संलग्न गराउन पर्छ भन्ने विषय उठान गर्दै आएका छौं । यसलाई व्यावहारिक रूपमा जति सक्यो छिटो प्रमाणित गर्दै जानु पर्दछ । यस बीचमा हामीसँग थुप्रै पूर्व सेनाका साथीहरु, (जो व्यक्तिगत र सामूहिक रूपमा उत्पादनमा लागि रहेका छन्) भेटेका छौं।  काम गर्ने प्रबल  इच्छा शक्ति हुँदाहुँदै कतिपय व्यावहारिक र आर्थिक क्रियाकलापका कारण राम्रा भनिएका धेरै साथीहरु गुमनाम भएको उदाहरण पनि भेटिएको छ । विदेशमा बसेर कमाएको पैसा स्वदेशमा बसेर प्रयोग गर्दा कतिपय साथीहरुमा आर्थिक अपचलनहरु देखिएको र सारा योजना भताभुङ्ग भएको दुःखद उदारहण पनि देखिएको छ ।

पार्टीलाई आर्थिक रूपमा सशक्त बनाउन पार्टी सदस्यहरु कुनै न कुनै उत्पादनमा संलग्न हुन आवश्यक छ भन्ने विषय हामीले धेरै अगाडीबाट उठाउँदै आएका छौं। यसलाई पूर्ण व्यावसायिक रूपमा कसरी लागू गर्न सकिन्छ त्यो नै हाम्रो मुख्य प्रयास हुन पर्दछ । पार्टी सदस्य, उत्पादन र नेतृत्व बीचको सम्बन्ध प्रगाढ गर्न सकेको खण्डमा मात्र हामीले दीर्घकालीन रूपमा समाजलाई रूपान्तरण गर्न सम्भव छ । कोरा सिद्धान्तले व्यावहारिक समस्या समाधान गर्न सक्दैनौं । हुन त हामीले पनि यसबारे ठोस रुपमा काम शुरु भने गर्न सकेका छैनौँ तर यसबारे व्यापक छलफल भने भएका छन्।

के हामीले यो समस्याको दीर्घकालीन समाधान गर्न सक्दैनौं ? घाइते अपाङ्ग साथीहरुको जीवनभर हेरचाह गर्न सक्दैनौं ? आश्रित बाल बालिकाहरुलाई शिक्षाको ग्यारेन्टी गर्न सक्दैनौं ? शहीद बेपत्ता परिवारलाई ससम्मान जीवनयापन गराउन सक्दैनौं ? हामी पटकपटक सरकारमा पुग्दा यो समस्या समाधान गर्न कहाँनिर चुक्यौं ? यो पत्ता लगाउन सक्दैनौं ? यससम्बन्धी विशेष जिम्मेदारीसहित एउटा बृहत योजना तर्जुमा गर्न सक्दैनौं ? म त भन्छु अन्य सबै विषयलाई भन्दा यस विषयलाई बढी प्राथमिकता दिनपर्छ । पार्टीले एउटा विशेष संरचना बनाएर निश्चित समयभित्र यो समस्या समाधान गर्ने काम थाली हाल्नु पर्दछ । जीवन बलिदान दिने शहीदहरुलाई कहिलेकाहीँ सम्झिँदा पुग्ला तर जीवन कसरी बाँचेर अगाडी बढ्ने भन्नेहरुलाई आश्वासन र सपना बाँडेर मात्रै पुग्दैन । दिनानुदिन जीवनयापन गर्न सरल र सहज बनाउन सक्नु पर्छ । घाइते शरीरलाई बचाई राख्न औषधि हातमा लिएर नियाल्दा सहयात्री साथीहरुको सकारात्मक बिम्ब देख्न सक्नु पर्दछ । असहज क्षणलाई सहजीकरण गर्न आफैसँग हिँडेका साथीहरु जो नेतृत्वमा पुगेका छन् उनीहरुलाई सम्झिँदा साथ र सहयोगको अनुभूति गर्न सक्नु पर्दछ । प्रत्येक दुखका सुस्केराहरुमा नेतृत्वले सराप खान परिरहेको यो अवस्थालाई जसरी भए पनि परिवर्तन गर्न अनिवार्य छ ।

हिजो थुप्रै लडाईका मोर्चाहरुमा सामेल भएका साथीहरु अहिले विदेशी भूमिमा विविध समस्यामा परिरहेको टुलुटुलु हेर्न पर्दा कसको छाती चस्किन्न  र ? जीवन या मृत्युको कसम खाएर युद्धमा होमिँदा बरु मरेको भए आनन्द हुन्थ्यो होला भन्ने अनुभूति गर्नु कति पीडादायी हुन्छ होला ? चाहेर पनि आफूभन्दा आवश्यक परेका साथीहरुलाई केही सहयोग गर्न नसक्दा आफ्नै जीवन कति बोझ बन्छ होला ?

हिजो घरजम सबै परिवार छाडेर सिंगो देश बनाउने सपनामा जीवन उत्सर्ग गर्न तयार भयो।  पूर्ण जीत नभए पनि हार स्वीकार गर्न नपरेको लडाईका सिपाहीँहरु पुन: आफ्नो एउटा सानो घरपरिवार व्यवस्थित गर्न यो उर्वर यौवनमा फेरि एक्लै घर परिवार, देश छाडेर परदेशको लागि मिहिनेत गर्न पर्दा कस्तो हुन्छ होला ?

लेखक

वास्तवमा यो कहालीलाग्दो समस्या समाधान गर्नै नसक्ने समस्या हुँदै हैन। केवल यसलाई प्राथमिकतामा पार्न किन सकिएन भन्ने मात्रै हो । सबै जोडजाड गर्दा पनि प्रत्यक्ष परोक्ष ५० हजार भन्दा बढीको समस्या नै हैन यो । यति समस्या समाधान गर्ने हिम्मत र जाँगर नलिने हो भने हामीले गरेको युद्ध गलत थियो भन्ने साबित हुन्छ ।  सन् १९९४ अप्रिल ७ देखि १५ जुलाईमा रुवाण्डामा भएको नरसंहार र गृह युद्धबारे हामी के भन्छौँ ? करिब १०० दिनमा दश लाख मानिसले ज्यान गुमाउन परेको थियो । १९९० को जनगणना अनुसार ७२ लाख ८८ हजार ८८२ जनसंख्या भएको रुवाण्डामा युद्ध सकेपछि सन् १९९५ मा गरिएको गणना मा ५८लाख ३६ हजार ४९५ मात्रै जनसंख्या देखियो । मरेका र शरणार्थी भएकाहरुको संख्या झण्डै १४ लाख देखिन्छ ।

हाल त्यहाँको जनसङ्ख्या १ करोड २९ लाख ५२ हजार २१८ पुगेको देखिन्छ । अफ्रिकाको सिंगापुर भनेर पहिचान बनाउन सफल रुवाण्डामा नयाँ राजनीतिक नेतृत्वले जुन प्रकारको कार्य योजना अगाडी बढाउने काम गर्यो त्यो विश्व इतिहासमै उदाहरणीय देखिन्छ । हाम्रो देशमा जस्तो १७ हजारको हिसाबकिताब मात्रै त्यहाँ हुँदैन । त्यत्रो जातीय नरसंहारलाई समेत एउटा बिर्सन सक्ने इतिहासको रूपमा लिएको देखिन्छ । अहिले सबै जना मिलेर आफ्नो देशलाई संसारको नवविकसित देशको रुपमा स्थापित गर्न सफल भएको छ । अब हामीले पनि पार्टीको पुन: संरचना नयाँ ढंगबाट गरिरहँदा यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न पार्टीले नै पहलकदमी लिन आवश्यक छ ।

हामी सामू रहेको एउटा उदाहरण यहाँ उल्लेख गर्न उचित ठानेको छु।  लामो समयसम्म पार्टीको विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका एक लडाकु स्वभावका नेता लोकेन्द्र बिष्टले पार्टी परित्याग गरेर उत्पादनमा लागिरहेका छन्। आफ्नै मिहिनेत र श्रोतमा थालिएको विभिन्न उत्पादनहरु सफल हुँदै गएको देखिन्छ। जनयुद्धको विरोध गर्नेहरु पनि लोकेन्द्र बिष्टले ठिक गर्यो भन्ने गरेका छन्। सामाजिक संजालमा पनि सक्रिय देखिने बिष्टको पोस्टहरुमा देखिने टिप्पणीहरुबाट धेरै तथ्यहरु उजागर हुने गरेको देखिन्छ। यसले एउटा ठूलो प्रश्न चिन्ह पनि खडा गरेको छ।  के उत्पादन गर्नको लागि राजनीति छाड्नु पर्ने हो ? के राजनीतिमा सक्रिय रहेका लोकेन्द्र बिष्टका सहकर्मीहरु कसैले पनि उत्पादनमा संग्लग्न हुन् नमिल्ने हो ? एकपटक कल्पना गरौँ त लोकेन्द्र बिष्टले पनि राजनीतिबाट सन्यास नलिएर आफ्ना सबै साथीहरुलाई यसरी उत्पादन पनि गर्न सकिन्छ भनेर प्रमाणित गरेको  होस् । यो असम्भव विषय नै हैन। केवल हाम्रो सोच र काम गर्ने शैली परिवर्तन गर्न पर्दछ।  हामी पनि छिटो सम्पन्न हुने सपना साकार गराउनेतिर लाग्यौँ। अरु कसैलाई दोष दिन नै पर्दैन तलदेखि माथिसम्म पार्टीमा सक्रिय नेतृत्वदायी भूमिकामा पुगेकाहरुले बिहान उठेदेखि राति नसुतेसम्म गरिने क्रियाकलापहरु र भोगिने भोगाइहरुमाथि एकपटक आँखा चिम्लेर सोचे मात्रै पनि काफी हुन्छ। प्राय सबै कार्यक्रममा गरिने मौनधारणमा यत्ति सोची दिए कति राम्रो हुन्थ्यो होला ? अब फेरि एकपटक हामी आफैँसँग निर्मम ढंगले प्रश्न गर्न आवश्यक छ । के हामी बस्ने घर, हामीले प्रयोग गर्ने महङ्गा सामानहरु, हिमचिम बढेका नयाँ सम्बन्धहरु, व्यक्तिगत सपनाहरु, सन्तानका भविष्यसँग मात्रै सीमित थियो त्यो महान उथलपुथलको एक दशक ? हैन भने हामीले हाम्रो गन्तब्य प्राप्त गर्न भुलेको बाटो हिँडी रहेर पुगिँदैन। अलि अलमलमा परियो भन्ने लागेको हो भने ठीक बाटो हिँड्न पर्छ।

एकाधिकारवादी पश्चगामीहरुको  यो हर्कतलाई हामी सबै मिलेर परास्त गर्दै दशकौँदेखि समाधान गर्न नसकिएका समस्याहरु हल गर्न नयाँ ढंगले अगाडी बढौँ। नेपाललाई समाजवादमा परिणत गर्न आजैबाट उत्प्पादन र निर्माणमा सहभागी बनौँ। इतिहास हामीले कोरेका छौँ त्यही आधारमा भविष्य लेख्ने अभियानमा सबैजना सबैतिरबाट सक्रिय बनौँ। विस्वाश गरौँ अहिले चलिरहेको पार्टीको आठौँ महाअधिवेशनले यस सम्बन्धी ठोस कार्य योजना निर्माण गर्ने छ।

(लेखक नेकपा माओवादी केन्द्रका प्रवास संयोजन समितिका सदस्य हुन्।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक