शुक्रबार, माघ ७ २०७८ | Fri, January 21, 2022
नेपालको समय: ०१:५९ | UK Time: 20:14

भाडाको शरीर, आँशुका नदी र आम्सटर्डम बेश्यालय

नियात्रा

भीम राई
२०७८ पुष ३ गते १३:४९

एमएससी म्याग्नाफीका पानीजहाजदेखि ब्रेकफास्ट हसुरेर बाहिर जमिनमा निस्कँदै गर्दा फुसफुस्से पानी परिरहेको थियो । हुनत युरोपियन हिउँदे मौसममा पानी र हिउँ पर्नु कुनै नौलो कुरो भने निश्चय पनि हुँदै होइन । हामी त्यसरी पानीजहाजदेखि बाहिर निस्कँदा हाते घडीले बिहानीको समय ९ बजाइसकेको थियो तैपनि बाहिरको मौसम हल्का अँध्यारो देखिन्थ्यो । त्यति बिरमाइलो मौसमको तिथिमिति तोकेर ठ्याक्कै भन्ने हो भने त्यसदिन ३ डिसेम्बर २०२१ को दिन थियो । र, हामी त्यसबेला म्याग्नाफीका क्रुजदेखि उत्तरी युरोपलाई फन्फनी चक्कर मारिरहेको थियौं । अनि हामीलाई यसपटकको क्रुज यात्रामा छोरी नमिता र ज्वाइँ डम्बरले पनि साथ दिइरहेका थिए ।

लगभग ३५ सय अनुरागी यात्रुहरु बोक्ने क्षमता भएको म्याग्नाफीकाले त्यसपटक ८ सय ९९ जना यात्रुहरु बोकेर इमुदिन बन्दरगाह द नेदरल्याण्डमा एकरात बास बसेको थियो । वास्तवमा त्योभन्दा अघिलो दिन हामी जिबर्गर, बेल्जियम गइरहेका थियौं तर अङ्ग्रेजी जल संयोजनमा अचानक आएको सामुन्द्रिक आँधिबेरीले हाम्रो जहाज एकदिन अगाडि नै नेदरल्याण्डतर्फ मोडिएको थियो । अचानक पानीजहाजले आफ्नो जलपथ परिवर्तन गर्नुपर्ने खबर इटालियन कप्तान पियाट्रो मोरिस्कोले बताउँदै गर्दा छोरी ज्वाँको अनुहार धुमिलधुमिल भएका थिए । किनभने उनीहरुका पयरहरु बेल्जियमका माटोमा प्रथम चोटी पर्न गइरहेका थिए । तर तारा र मेरो चाहिँ भाग्यले भनौँ कि खै केले भनौँ बेलायतदेखि बेल्जियम पानीपँधेरा जस्तै बनेका थिए ।

९५ हजार १ सय २८ टन तौल क्षमता भएको पानीजहाज म्याग्नाफीकाको सिँढीबाट ढल्किँदै बाहिर जमिनमा निस्केपछि राजेश पायल राईको, ‘हर्पेमा आम्मै घ्यू रैछ, कलिलो जिउ रैछ,’ भन्ने गीतमा हामी सबै मिलेर एउटा सानो टिकटिक बनाएका थियौं । किनभने आजभोलिको दुनियामा अरु जम्मै कुरोलाई उछिनेर टिकटकले राम्रै बजार लिइरहेको अवस्था छ । अझै त्योभन्दा ठूलो कुरो त राजेश तिनै नमिताकी सहोदर काइँला भाइ पनि हुन् । र, अहिलेसम्म विवाह गर्न साइत नजुरेका तिनै महागायकको कर्णप्रिय स्वरमा स्वर मिलाउँदै कलिला कलिला जिउ भएकी षोडशीहरुको रमिता हेर्न हामी डि वालेन, आम्सटर्डम‍तर्फ लागिरहेका थियौं ।

उत्तरी हल्याण्ड प्रान्तमा अवस्थित लघु बन्दरगाह इमुदिन पुगेको त्यो क्षण मेरो लागि पहिलो पटक चाहिँ निश्चय पनि हुँदै होइन । किनभने त्यसको ठीक ५ वर्ष पहिले म पूर्वी युरोपको सेरोफेरो लगाउने क्रममा सेन्ट पिटर्सबर्ग रुसतर्फ गइरहेको थिएँ । र, हामीलाई रुसतर्फ लाने पानीजहाजको नाम नर्वेजियन जेड थियो । त्यसबेला पनि नेर्वेजियन जेडले म्याग्नाफीका जस्तै इमुदिन बन्दरगाहमा एकदिन मज्जाले आराम गरेका थिए । हुनत पानीजहाज रोकिएको त्यो क्षणलाई आराम पनि खै के भनि हालौँ होला र ? जुनसुकै बन्दरगाहमा पानीजहाज रोकिने बितिक्कै भीमकाय डोरीको लट्ठारोले जहाजलाई हलचल नहुने गरेर टमक्कै कसेर राखेका हुन्छन् । त्यसबेला पनि इमुदिनमा त्यति ठूल्ठूला लट्ठारोले नर्वेजियन जेडलाई बाँधेर राखेपछि तारा र म लाल रङ्गले रङ्गिएको आम्सटर्डम वेश्यालय पुगेर सर्लक्कै एक चक्कर मारेको थियौं ।

विश्वको अति प्रख्यात यौनिक राजधानी ‘आम्सटर्डम रेड लाइट डिस्ट्रिक्ट’ पहिले एकचोटी पुगिसकेको हुनाले पानीजहाजदेखि निस्कने बितिक्कै मैले त्यसदिन पथप्रदर्शकको भूमिका निर्वाह गर्न सुरु गरेका थिएँ । त्यसैले बाहिर जमिनमा एउटा टिकटक बनाइ सकेपछि म सरासर हिँडदै अध्यागमनतर्फ लागेको थिएँ । अनि मेरो पछिपछि मेरा मित्रहरुले मलाई पछ्याउन थालेका थिए । अध्यागमनमा पुगेर थोरै समय बितेपश्चात् हामी सूचना केन्द्रतर्फ लागेका थियौं ।

सूचना केन्द्रमा पुग्ने बितिक्कै मेरो नजर एकजना डच युवतीको नजरसँग मज्जाले ठोकिन पुग्यो । जब म हिँड्दै उनको समीपमा पुगेँ । उनले हत्तपत्त, ‘यहाँहरुलाई आम्सटर्डममा न्यानो स्वागत छ,’ भनिन् र आम्सटर्डम बेश्यालयको नक्सा मेरो हातैमा थमाइ दिइन् । उनको त्यति न्यानो आतिथ्यले मेरो मन सिमलको भुवाझैं हावामा फुरुङ्गै उडिरह्यो । अझै त्यसबेला अध्यागमन बाहिरको मौसम लगभग शून्य डिग्री सेन्टग्रेट जस्तै थियो तैपनि त्यति कोमल तर अति कामुक युवतीको हस्तरेखाहरु मेरो हत्केलामा एकिभूत हुँदा मेरो शरीरको तापक्रम उँभोउँभो बढ्दै गरेको एकछिनसम्म मैले महसुस गरिरहें ।

सामुन्द्रिक सतहभन्दा २ देखि ७ मिटरसम्म मुनी रहेको देश द नेदरल्याण्डसको राजधानी आम्सटर्डमको नक्सा हातमा परेपछि हामी सिधै अगाडि रहेका अजङ्गका खुड्किलाहरुलाई आँखा झिमिकको भरमा पार गर्यौं । त्यसपछि डाँडाको टुप्पामा पुगेर कम्मरमा हात राख्दै एकचोटी खुइय गरेर लामो श्वास लियौं । फोक्सोमा निक्कै धेरै अक्सिजन जम्मा गरेपछि हाम्रा पाइतालाहरु सुस्तरी बस स्टेसनतर्फ बढ्दै गएका थिए । किनभने तिनै बस स्टेसनदेखि ३८२ नम्बरको बस चढेर आम्सटर्डम सहर घुम्न जाने हाम्रो अग्रिम योजना तय भएको थियो ।

बस स्टेसनमा हामी पुग्दा कुनैकुनै यात्रुहरुले निक्कै अगाडिदेखि बसको प्रतीक्षा गरिरहेका थिए । त्यहाँ लामवद्ध भएर एक छटकले उभिरहेका मानिसहरुलाई हेर्दा धेरैजसो अङ्ग्रेजहरु नै हुन् कि भन्ने मलाई भित्रभित्रै लागिरहेको थियो । हुनत उहिलेदेखि अहिलेसम्म संसार विजय गर्न भनेर हिँडेका अङ्ग्रेजहरु नपुगेको स्थान सायद बिरलै मात्र भेट्न सकिन्छ । तर खेदको कुरो के छ भने पश्चिमेलीहरुलाई झल्यास्स हेर्दा प्रायः धेरैजसो मानिसहरुको अनुहार उस्तैउस्तै देखिने हुनाले जबसम्म उनीहरुको मुखबाट शब्दहरु प्रष्फुटित हुँदैनन् तबसम्म कुन देशका रहेछन् भने्र ठम्याउन निक्कै मुस्किल पर्छ । खयर त्यहाँ बसको प्रतीक्षा गरिरहेका मानिसहरु जुनसुकै देशका भएतापनि उनीहरुको हातहातमा अग्रिम खरिद गरेका बसको टिकटहरु देख्दा म झसङ्गै झस्किएको थिएँ ।

उनीहरुको हातहातमा टिकट देखा परेपछि मेरो मनभित्र हल्का तरङ्ग त यस्सै पैदा भएको थियो तैपनि सरासर हिँड्दै ताँतीको पुच्छारमा पुगे । र, मेरो सामुन्ने ठिङ्ग उभिरहेको तर हेर्दा खान नपाएका मरिन्च्यासे बाँदर जस्तो देखिने एकजना अधबैँसे मान्छेलाई, ‘मलाई माफ गर्नोस् ! बसको टिकट कहाँ पाउन सकिन्छ होला ?’ भनेर सुस्तरी सोधें । उनले उत्तर दिने क्रममा, ‘अध्यागमनको बाहिर पट्टी एउटा रातो तर सानो मालसमान बोक्ने ट्रक छ । हामीले तिनै ट्रकमा भएका मानिसदेखि टिकट खरिद गरेका हौं,’ भने । उनको कुरोले मेरो नाडी यसै गलेर आयो किनभने मलाई पुनः अध्यागमन फर्कन मन लागिरहेको थिएन । त्यसैले सायद बसमा पनि टिकट खरिद गर्न पाईएला कि भनेर तारालाई सानो स्वरमा सुनाइ हालें ।

इमुदिन बन्दरगाहमा घडीको काँटा आफ्नै गतिमा घुमिरहेको थियो । करिब १५ मिनेट जति समय खर्च भएपछि दुई डिब्बे रेल जस्तै देखिने लामो बसले हाम्रो अगाडि टुप्लुक्कै अनुहार देखायो । बस त्यहाँ आएर रोकिने बितिक्कै टिकट भएका मानिसहरु ढुक्कले बसभित्र पस्न सुरु गरिहाले । अब हाम्रो साथमा टिकट थिएन त्यसैले बसभित्र टिकट खरिद गर्न पाइएला कि नपाइएला भनेर मलाई हल्का त्रास उत्पन्न भइरहेको थियो ।

हुनत संसार भ्रमण गर्न रहर गरेर घर छाडेको मानिसले जाबो बसको टिकट किन्नको लागि कुन ठूलो कुरो हो र भन्ने एकचोटी सोचें । तैपनि फेरि अध्यागमन छेउ फर्केर जान नपरोस् है भन्दै पानीमा भिजेको मुसो झैं बनेर चालकको नजिकै पुगेका थिएँ । अनि चालकको ठीक सामुन्ने पर्ने बितिक्कै, ‘मलाई माफ गर्नुहोस् ! के बसमा टिकट खरिद गर्न पाउँछ ?’ भनेर हतार-हतार सोधिहालें । उनले मेरो सिधै अगाडि रहेको क्रेडिट कार्ड पेल्ने मेसिन देखाएर मेरो प्रश्नको जवाफ फर्काइ दिए । आम्सटर्डम यात्रामा हामी जम्मा ४ जना थियौं । त्यसैले मेसिन देख्ने बितिक्कै खुसी हुँदै २८ यूरोको लागि मैले क्रेडिट कार्ड निकालेर हड्बडाउँदै पेलिहालें ।

टिकट खरिद गरिसकेपछि हामी बसको पछाडी भागमा गएका थियौं । किनभने अगाडीका सिटहरु टन्न भरि सकिएका थिए । तर हामी सिटमा पुगेर बस्न पाउँदा नपाउँदै, ‘अनुहारमा भइरहेको मास्कले नाक र मुख राम्ररी छोपेको हुनपर्छ,’ भनेर अग्रीम रेकर्ड गरेर राखिएको सूचना बसदेखि पटक-पटक बज्न थालिहाल्यो । किनभने नेदरल्याण्डमा पनि ओमिक्रोनले आक्रान्त तुल्याउन सक्छ भनेर मानिसहरु त्रसित भइरहेका देखिन्थे ।

तर कसोकसो मैले फ्रान्स र जर्मनीमा जतिको नेदरल्याण्डमा यात्रा गर्न अफ्ठ्यारो महसुस गरिरहेको थिइनँ । उक्त्त देशहरुमा त क्याफेभित्र छिर्न राहदानी, दुई खुराक कोभिड खोप लगाएको राहदानी, सवारी चालक अनुमती पत्र देखाएर मात्र पनि पुग्दैनथ्यो । अझै उनीहरुले बनाएको फाराममा आफ्नो स्थायी वेतन र सम्पर्क नम्बर पनि भर्नु पर्दथ्यो । त्यसरी बसभित्र त्यति स्पष्ट सूचना पाएपछि मैले मास्क सही स्थानमा छ कि छैन भनेर एकचोटी निश्चित गरें । त्यसपछि बसमा थपक्कै बसेको मात्र के थिएँ बसले आफ्नो बाटो तताइ हाल्यो । र, लगभग ५ मिनेट जति बस गुडेपछि पूर्णतया रोकिन पुग्यो ।

बस रोकिने बित्तिक्कै, ‘यहीँ बस बिसौनीमा अर्को बस आउँछ, त्यसैले सबैजना बसदेखि ओर्लनु होला,’ चालकले उर्दी जारी गर्यो । चालकको कुरो सुनेर हामी सबैजना बसदेखि जमिनमा झर्यौं । नभन्दै दुई-तीन मिनेट जति समय जाँदा नजाँदै एउटा अर्को बस आइहाल्यो । र, २८ वटा बस बिसौनीहरु पार गर्दै लगभग ४० मिनेटको यात्रा पूरा गरेपछि बसले हामीलाई स्लोटेरडिक बस स्टेसनमा पुर्याई दियो ।

हज्जारौँ साइकलहरुको बीचमा अवस्थित स्लोटेरडिक बस स्टेसन हाम्रो बस यात्राको अन्तिम गन्तब्य थियो । बसदेखि झरेपछि जाडो असाध्यै थियो । त्यसैले आ-आफ्नो गोजीमा हात राखेर बिजुली भर्याङ्गको प्रयोग गर्दै एकतला माथि उक्लेका थियौँ । तिनै तलामा रहेको टिकट स्टेसनदेखि रेलको टिकट काटेर हामी आम्सटर्डम सेन्ट्रल जानको लागि तम्तयार भयौँ । छिनछिनमा रेल आउने त्यो स्टेसनमा एउटा रेल आउने बितिक्कै पक्रिहाल्यौँ र आफ्नो बाटो तताइहाल्यौं । स्लोटेरडिक रेल स्टेसनदेखि आम्सटर्डम सेन्ट्रल पुग्न मात्र एक स्टेसन पार गर्नु परेको थियो । आम्सटर्डम सेन्ट्रल पुगेपछि हामी जस्तै अन्य २ लाख मानिसहरुले हरेक दिन त्यो स्टेसनको प्रयोग गर्छन् भन्ने जानकारी पाउँदा म दङ्ग परेको थिएँ ।

आम्सटेल नदीको दायाँ किनारमा अवस्थित आम्सटर्डम सेन्ट्रलदेखि बाहिर निस्कने बितिक्कै मार्कमिर झिलदेखि आएको भयङ्कर चिसो बतासले हाम्रो अनुहार छुँदा मरौं कि बाचौं बनाइरहेको थियो । त्यति चिसो बताससगँ युद्ध लड्दैलड्दै आएकी मेरी अर्धाङ्गिनीले मलाई चिसो नलागोस भनेर, ‘ज्याकेटको टोपी लगाइरहनु है,’ भन्ने हुकुम जारी गरिन् । हुनत एउटा जिन्दगी सँगसँगै बिताउँ भनेर छानेकी मान्छेलाई अब म अन्य धेरै कुरो के नै पो भन्न सक्थेँ र ? प्रति उत्तरमा, ‘हुन्छ,’ सम्म भने । वास्तवमा म त्यसबेला लाल रङ्गमा सजिएकी षोडशीहरु हेर्नको लागि एकदम आतुर अवस्थामा थिएँ । त्यसैले त्यति मात्र भनि राखेर चाँडोचाँडो हिँड्दै क्रमशः दामर्क पथतिर लम्किहालें ।

तिनै दामर्क पथमा एकछिन हिँडेपछि मैले गोजीदेखि नक्सा निकालेर प्रिन्स हेर्डिक्काड सडक कता पर्छ होला भनेर एक झलक नक्सा हेरें । नक्सा र जमिनको रेखाङ्कन मिलेपछि मेरो पाइतालाहरु सर्लक्कै बायाँतर्फ मोडिएर सुरुसुरु अगाडी बढ्न थालें । हाम्रो भ्रमण दलको अन्य सदस्यहरु पनि मेरो पछिपछि आउन थालिहाले । नत्रभने त्यति ख्यातिप्राप्त नहरहरुको, साइकलहरुको, बेश्यालयहरुको वा सत्रौँ शताब्दीमा बनेका आकर्षक घरहरुको सहर आम्सटर्डममा कतै हराइ हालिएला कि भनेर उनीहरु ठूलो सुर्तामा थिए ।

हुनत घरिघरि रुप परिवर्तन भइरहने कोरोना महामारीले विश्व अति नै आक्रान्त बनिरहेको छ । यसले नेदरल्याण्डलाई पनि अछुतो राख्न सकेको छैन । तर हामी प्रिन्स हेर्डिक्काड सडकमा पुगेर त्यति धेरै मानिसहरुको भीड देख्दा गोजीदेखि हतारहतार मास्क निकालेर उनिहालें र एकछिन ट्वाल्ल परेर रमिता हेरिरहें । त्यति ब्यस्त सडकमा केहिबेर हिँडेपछि हामी अलिक भित्रपट्टिको जिडिक गल्लीमा छिरेका थियौं ।

तर त्यो गल्लीमा छिरेको २-४ मिनेट हुँदा नहुँदै मेरा कदमहरु डि क्लेस्टस्कोप क्याफेभित्र पुगेर रोकिएका थिए । किनभने केही समय अगाडी ताराले बिहानको ब्रेकफास्टमा चिया अलिक बढी नै पिएछु कि के हो भन्ने कुरो मेरो कानमा आएर सुटुक्कै बताएकी थिइन् । अझै उनी त्यति मात्र भनेर के चित्त बुझाउँथिन र ? ‘चियाको पेलानले आम्सटर्डममा शौचालयको प्रयोग गर्न नपाएर मर्छु कि के हो ?’ सम्म भनेकी मैले बिरमाइलो मान्दै सुनेको थिएँ ।

तारालाई सहयोग गर्ने भावले म बिरालो चालमा क्याफेभित्र पसेको थिएँ । त्यसपछि त्यो दोकानमा काम गर्ने एकजना लिखुरे मानिसलाई, ‘के तपाईहरुको क्याफेमा भएको सौचालय हामीले प्रयोग गर्न पाउँछौं ?’ भनेर एकदम सानो स्वरमा प्रश्न गरेको थिएँ । उनले प्रतिउत्तर दिने क्रममा, ‘आम्सटर्डममा जे पनि गर्न पाइन्छ तर दुर्भाग्यवश सित्तैमा कुनै चिज पाइँदैन,’ राम्रैसँग मुख खोलेर निर्लज्जतापूर्वक मलाई भने ।

दोकानेको भनाइले मलाई ज्याक माको, ‘सित्तैमा कुनै चिज पाइदैन, सबैकुरो तिर्नु पर्छ,’ भन्ने वाणीको याद उजागर भयो । हुनत नेपालीहरुले सित्तैमा भेटियो भने एमसीसी पनि लिने भन्ने बहस चलिरहेको वर्तमान अवस्था छ । आशा एवम् भरोसा गरौं चन्दा थापेर देश चलाउनुभन्दा केही पाउनको लागि कमाउनु पर्छ भन्ने मानसिकताले एकदिन विजय गरोस् । त्यति सोचि सकेपछि, ‘आ.. ठिक्कै छ नि बरु दाम चाहिँ कति पो होला ?’ भनेर मैले दोश्रोचोटी उनलाई सोधिहालें । उनले पछाडी भित्तातिर फर्केर सानो स्वरमा, ‘प्रतिब्यक्त्तिको ५० सेन्ट दिनुपर्छ,’ भनेर मलाई भन्ने बितिक्कै गोजीदेखि हतार-हतार २ युरो निकालेर ‘हामी ४ जनाको है’ भनेर दिइहालें ।

क्याफेभित्रको सौचालय प्रयोग गर्ने अनुमति पाएपछि तारा खुसीले प्रफुल्ल भएकी थिइन् । त्यसपछि हामी कछुवा गतिमा हिँड्दै गएर सिधै अगाडी देखिएको एउटा सानो फलामे साघुँलाई पार गर्यौं । हुनत आम्सटर्डम सहरभरी त्यस्ता साँघुहरु जम्मा १७ सय रहेका छन् । त्यो संख्या भनेको भेनिसको भन्दा कता हो कता धेरै हुन् । अझै त्यस्ता साँघुहरु नहरहरु माथि मात्र १ सय ६० वटा छन् ।

तर कुरोको चुरो के हो भने त्यो सानो साँघु छिचोल्ने बितिक्कै हाम्रा पाईतालाहरु सुस्तरी डि वालेन क्षेत्रभित्र परिसकेका थिए । आम्सटर्डमको डि वालेन क्षेत्र तिनै क्षेत्र हो जहाँ सन् १९४० देखि आजका मितिसम्म आधिकारिक रुपमा बेश्यालयहरु रहेका छन् । र, डिसेम्बर महिनाको जतिसुकै ठन्डी महिना भएतापनि तिनै बेश्यालयहरुमा अर्धनग्न एवम् कामुक युवतीहरु प्रजनन ग्रन्थी देखाउँदै झ्याल-झ्यालमा उभिएर मधुर मुस्कान छरिरहेका रमाइलो दृश्यावलोकन गर्न मिल्दछ ।

त्यति धेरै युवतीहरुको मुस्कानको सहर आम्सटर्डममा रहेको डि वालेन, नेदरल्याण्डको सबैभन्दा पुरानो वेश्यालय क्षेत्र हो । तिनै वेश्यालयमा कोभिड १९ भन्दा अगाडी ४ सय ३ वटा कोठाहरुमा षोडशीहरु बस्ने गर्दथे भने अहिले खुम्चिएर २ सय २५ मा झरेका छन् । वेश्याहरुले तिनै कोठाहरु ८० देखि १ सय ८० यूरोसम्म तिरेर भाडामा लिने गर्छन् । र, १५ देखि २० मिनेटसम्म शारीरिक सम्पर्क गर्नको लागि उनीहरुले आफनो शरीर ‍५० यूरोमा भाडामा दिने गर्दछन् । हुनत त्यो रकम त्यतिमा मात्र सीमित रहन्न । रति लम्पट पुरुषहरु मैथुनको लागि तयार भएर ढोकाबाट भित्र पसेपछि के कस्तो सेवा सुविधा उपभोग गर्ने हो उनीहरुको शुल्क त्यसैमा निर्धारित हुन्छ । ति सबै सुविधाहरुको विषयमा मलाई अलिक अल्पज्ञान भएको हुनाले सबैकुरोको वर्णन गर्न म यहाँ सक्षम छुइनँ ।

आम्सटर्डम नगरका बधुहरुले केही यूरोको लागि आफ्नो शरीर भाडामा दिएतापनि उनीहरुको जिन्दगी दोहोरो चरित्रले बिताइरहेका हुने रहेछन् । अनि उनीहरुले त्यहाँ निर्वाह गरिरहेको भूमिका बाहिर जीवनमा कहिले पनि देखाउने गर्दैनन् र वेश्यावृत्तीमा लागेको कुरो आफ्नो परिवारलाई थाहा दिँदैनन् । त्यसैले नग्न अवस्थामा रहेर झ्यालमा उभिरहेको उनीहरुको तस्वीर यदि कसैले लिन खोज्यो भने उनीहरु अत्यन्तै रिसाउने रहेछन् । अझै कुनैकुनै युवतीहरु त यति आक्रामक हुने रहेछन् कि उनीहरुको तस्वीर लिँदै गरेको देखिहाले भने क्यामेरा खोसेर नजिकै रहेको नहरमा फालिदिने रहेछन् ।

हरेक वर्ष २ लाख यौन पिपासुहरुले जिन्दगीभरि पालेका आफ्नो कामोत्तेजक इच्छा पूरा गर्ने त्यहाँ जम्मा १७ वटा गल्लीहरु थिए । त्यतिका धेरै गल्लीहरुमा पुग्न एक दिनको आम्सटर्डम भ्रमणमा हामीलाई के सम्भव हुन्थ्यो होला र ? तैपनि वस्त्ररहित युवतीहरु ठिङ्गै उभिरहेको आफ्नै नयनहरु सामु पर्दा वेश्यालयको हरेक सेकेण्ड हामीलाई मनोरन्जनपूर्ण भइरहेको थियो ।

तर खेदको कुरो के थियो भने कतिपय गल्लीहरु अलिक मसिना नै थिए र त्यतातिर जाँदा ह्वास्स गाँजाको गन्धले नाक र आँखा पोल्दा हल्का त्रास पनि उत्पन्न भइरहेको थियो । आखिर जेसुकै भएतापनि हामीले निक्कै धेरै गल्लीहरुको अवलोकन मज्जाले गरेका थियौं । फेरि गल्लीमा हिँड्दै जाँदा अचानक ‘द बुलडक बार’ को सामुन्ने पुग्यौं र त्यहाँदेखि नजिकै रहेको अर्को साँघु तरेपछि आफ्नो नेत्र ज्योतिसामू परेका जम्मै युवतीहरुको वक्षस्थल हेर्दै-हेर्दै झन् अगाडी बढिरह्यौं । तर एकछिन हिँडेपछि हाम्रो नजर एक्कासी ‘रेड लाइट सेक्रेट सङ्ग्राहलय’ मा पुगेर ठोकिएका थिए ।

अब १७औं शताब्दीमा निर्माण भएर नहर (क्यानल) घरमा रहेको त्यति ऐतिहासिक यौन सङ्ग्रालय देखेपछि त्यसको दर्शन नगरी के बेलायत फर्कने होला भन्ने मेरो मनमा थोरै खुल्दुली उत्पन्न हुन थालिसकेको थियो । हेर्दा सानो तर चिटिक्कै परेको त्यो सङ्ग्राहलयभित्र छिर्न मलाई त्यति सहज चाहिँ अवश्य थिएन । जिन्दगीमा पहिलोचोटी आम्सटर्डम वेश्यालयको भ्रमण गर्दा आफ्नै छोरी र श्रीमती साथमा थिइन् । जस्ले गर्दा छोरीसँग यौन सङ्ग्राहलयभित्र छिर्न थोरै कठिनाइ महसुस गरेको थिएँ । त्यसको पाँच वर्षपछि चन्द्रमा दाहिने भएर दोश्रोचोटी आम्सटर्डम पुगेको थिएँ । त्यसबेला दाजुको छोरी र ज्वाइँ सँगसँगै थिए ।

अब छोरीलाई के भनेर सङ्ग्राहलयभित्र छिर्ने होला भनेर मनभरि पीरको भारी बढ्यो । जहाँ समस्या त्यहाँ उपाय भन्दै एउटा युक्त्तीको जन्म दिइहालें । ‘ज्वाइँ ! सङ्ग्राहलयको भ्रमण गर्ने होइन ?’ सानो स्वरमा उनलाई प्रश्न गरें । त्यसै त हरेक कुरोमा सकारात्मक मात्र विचार राख्ने ज्वाइँले मेरो कुरो सुन्ने बितिक्कै, ‘भइहाल्छ नि हजुर,’ भनेर स्वीकारोक्त्ति जनाउनु भयो । तर भ्रमण दलमा हामी ४ जना थियौं र हामी दुई जनाले गरेको निर्णय नै सर्बोच्च निर्णय हुन सक्त्तैनथ्यो । त्यसैले हामीबीच एकछिन् तर्क बितर्कहरुको जन्म भइरह्यो ।

तर आम्सटर्डम वेश्यालय घुम्दै गर्दा सबैभन्दा गौरवको कुरो त के थियो भने हाम्रो कर्मभूमि बेलायत थियो । जहाँ अहिलेसम्म महिलाको शासन चल्ने गर्दछ । त्यसैले नेपाल जस्तो ३३ प्रतिशतको कुरो नगरेर नारीहरुले भनेको जम्मै कुरोलाई नै उच्च प्राथमिक्त्ता दिने चलन रहिआएको छ । त्यसैले नारीहरुको अधिकार र भनाइलाई शिरोपर गर्दै हामीले सङ्ग्राहलयभित्र नजाने निधो गरेका थियौं । नत्रभने अन्य समयमा सङ्ग्राहलयभित्र प्रवेश गर्न १५ यूरो शुल्क लाग्ने गर्दथ्यो भने त्यसदिन काकताली परेर जम्मा १३ यूरोमा नै भेटेका थियौं ।

अब तिनै १३ युरो जोगाएपछि हामी पुनः नहरको किनारै किनार हिँड्न थालेका थियौं । तर केही समयपछि महिलाहरु आम्सटर्डम सहरको कोसेली किन्नका लागि वरिपरि देखापरेका दोकानहरुभित्र पस्दै र निस्कदै गर्न थाले । मैले कसैलाई उपहार किन्न पर्ने थिएन । तर उनीहरुले त्यसो गर्नु भनेको हामीलाई झन् धेरै युवतीहरु हेर्ने अवसर प्रदान गर्नु नै हो भन्ने मैले राम्ररी बुझेको थिएँ । त्यसैले त्यति सुनौलो अवसरको फाइदा लिँदै म ढोका-ढोकामा ठिङ्ग खडा भइरहेका युवतीहरुको नजिक पुग्न थालेको थिएँ ।

केहीबेरमा नहरको पारी पुगेपछि एउटा सानो तर पूर्णतया खाली गल्ली भेटेको थिएँ । गल्लीको दायाँपट्टि जम्मा ४ जना षोडशीहरु खडा भइरहेका देखिन्थे । उनीहरुमध्ये सबैभन्दा किन्नरी देखिने एउटी कामोत्तेजक युवतीको ढोका नजिकै पुगें । लगभग २०-२१ वर्षिया जस्ती देखिने ती युवतीको नयनमा मज्जाले मेरा नयनहरु ठोकाइ दिएँ । हाम्रा नयनहरु दुईदेखि चार भएपछि उनले सुस्तरी ढोका खोलिन् । हुनत आम्सटर्डम वेश्यालयमा २१ वर्षीयभन्दा मुनिको युवतीले भाडामा शरीर बेच्नको लागि कानूनी रुपले निषेध गरिएका छन् । त्यसैले उनी निश्चय पनि २१ वर्षभन्दा माथिका हुनुपर्छ ।

जीना नाम बताउने तर अल्बानियन मूलकी ती सुकुमारी अन्य युवतीहरुभन्दा अलिक पृथक देखिएकी थिइन् । उनकी लामालामा तर कैली केश, निधारका तीन-चार रेखाहरु, मिलाएर काटेकी पातलो परेला, अग्लो नाकका नरम पोराहरु, दुवै कानका रित्ता छेडहरु, अलिकति खुलेका ओष्ठ, डिसेम्बरको चिसाले कठ्याग्रिए पनि पुक्क-पुक्कका स्याउ जस्ता राता गाला, नाक छेउमा काला कोठी, मयल बिनाका छोटा गर्धन, कपडाले नछोपिएका एकजोर गतिला भोगटेहरु, बोसोरहित तल्लो पेट र नाइटोमा तुर्ङलुङ्गै झुन्डिएका ढुङ्ग्री हो कि बुलाकी हेरेर म मन्त्रमुग्ध भइरहेका थिएँ । ‘लाल बत्तीको जिल्ला’ आम्सटर्डममा भेटिएकी तिनै किन्नरीकी त्यहाँदेखि मुनिको भाग नजर लगाउन मलाई पटक्कै जागेर आएको थिएन । किनभने उनको त्यति सुकोमल शरीरको दर्शन गरेर नै मैले अग्रीम मोक्ष प्राप्त गरिसकेको थिएँ ।

वेश्यालयको रक्त्तिम ढोका समाएर निक्कै लामो समयसम्म उभिएपछि उनी आफैँले मुख खोलिन् – ‘पचास यूरो हो । कि भित्र आउनोस् होइन भने जानुहोस् ? म ढोका बन्द गर्दैछु किनभने बाहिर एकदम जाडो छ । र म करिब-करिब नाङ्गो छु ।’

कोइलीको झैं सुरिलो स्वरमा आएका उनका अन्तिम शब्दहरु हावामा बिलीन हुन पाउँदानपाउँदै मेरा हृदयले करङ्गमा ढङ्गढङ्ग हिर्काउन सुरु गरेका थिए । त्यति भनि सकेर उनले ढ्याम्मै ढोका बन्द गरेतापनि उनको अल्बानियन उदाङ्गो शरीर मैले शिसा बाहिरबाट क्वारक्वार्ती हेरिरहेको थिएँ । अनि आम्सटर्डमको सुनसान गल्लीमा मेरो दुवै खुट्टा जोडेर एउटा वाक्यांश निर्माण गर्ने प्रयत्न गर्दै थिएँ ।

‘संसार कति सुन्दर छ, तर जीवन कति दुःखमय छ ।’

उक्त्त वाक्यांश अजीर्णको ब्यथासँग मिसिएर मेरो भित्री हृदयदेखि उकुसमुकुस भएर बाहिर निस्कन खोज्दै थियो तर बाहिर निस्किसकेको थिएन । ठीक त्यहीबेला दूरदेखि ताराले, ‘बूढो ! जाने होइन ?’ भनेको अचानक सुनेपछि म किंकर्तब्यबिमुढ बनिरहेको थिएँ ।

अक्सफोर्डसायर । बेलायत

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक