देउवाले कार्यशैली नसुधारे कडा प्रतिरोध-शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा शेखर कोइरालाले आफू पराजित भए पनि आफ्ने टिमले विजय हासिल गरेको बताएका छन् ।

कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेसका तपाइँजस्ता साथीहरू, लोकतन्त्रप्रेमी नेपाली, कांग्रेसलाई माया गर्ने साथीहरू र आम जनताले हामीले लिएको कदम र  हाम्रो टिमले लिएको कदमको विजय उहाँहरूले सोच्नुभएको छ । त्यसकारण पनि हामी विजयी भएका छौँ ।’

आफू सभापति पदमा पराजित हुनुलाई स्वाभाविक रूपमा लिएको उनले प्रष्टाए । उनले भने, ‘म पराजित भएँ, निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ, त्यो स्वाभाविक नै हो । मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । कुनै कुन्ठा बोकेको छैन् ।  कसले के गर्‍याे ? कसो गर्‍याे ? किन गर्‍याे ?  भन्ने कुरा पनि मेरो मनमा छैन ।’

निर्वाचित भइसकेपछि पनि देउवाले आफ्नो कार्यशैली नसुधारे आफ्नो टीम सशक्त रूपमा प्रस्तुत हुने उनले चेतावनी दिए । ‘जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो त्यसरी नै चल्न थाल्यो भने हामी सशक्त रूपमा प्रस्तुत हुन्छौँ’, उनले भने ।

कांग्रेस भित्र युवा पुस्तालाई आफ्नो टीमले अवसरको ढोका खोलिदिएको उनले दाबी गरे । ‘हाम्रो राजनीतिक मुद्दा र एजेण्डा स्थापित भएको छ । त्यसकारण  म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुनेछ भन्नेमा ढुक्क छु’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री