सउल । दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित समारोहबीच कोरियाको मानार्थ नागरिकको सम्मान प्राप्त गर्नुभएको हो ।
महानगरपालिकाले हरेक वर्ष विदेशीलाई यस्तो सम्मान दिन्छ । दक्षिण कोरिया सरकारले नेपाल र कोरियाको सांस्कृतिक, आर्थिक सम्बन्ध निर्माण गर्न पुलको भूमिका निर्वाह गरेवापत उहाँलाई सो सम्मान दिएको हो । उहाँले महानगरपालिकाका प्रमुख उ सेहुन्बाट सम्मानपत्र, मानार्थ नागरिकताको प्रमाणपत्र र एक रजत पदक प्राप्त गर्नुभयो ।
कोरिया सरकारले आफ्नो देशको विकासमा योगदान दिने विदेशीको खोजी गर्दैै मानार्थ नागरिक सम्मान दिन्छ । हरेक वर्ष प्रदान हुने सो सम्मान प्राप्त गर्न निश्चित मापदण्ड तोकिएका छन् । सम्मान प्रदान गर्नुअघि विदेशी नागरिकलाई लक्ष्य गरी यहाँको सउल मेट्रोपोलिसन गभर्मेन्टको योजना तथा प्रशासन मन्त्रालयअन्तर्गतको इन्टरनेशनल रिलेसन डिभिजनले मानार्थ नागरिकका लागि प्रस्ताव आह्वान गर्छ । जसले सम्मान प्राप्त गर्नका लागि आफू योग्य भएको आवेदन दिन्छ, उसका लागि दक्षिण कोरियामा, विशेषगरी सउल महानगरपालिकामा बसोबास गर्ने ३० जनाले सिफारिस गर्नुपर्छ । त्यसपछि महानगरपालिकाले वर्षमा एक देशबाट एक वा दुई जनासम्मलाई सो सम्मान दिन्छ ।
सन् १९५८ देखि हालसम्म नेपालीसहित विश्वका १०० भन्दा बढी मुलुकका करिब ९०० नागरिकले सो सम्मान प्राप्त गरिसकेको महानगरपालिकाले जनाएको छ । पचास हजारभन्दा बढी नेपाली बसोबास गर्ने कोरियामा नेपालका तर्फबाट शिवाकोटीसहित हालसम्म १० जनाले सो सम्मान प्राप्त गरिसकेका छन् । यसअघि नेपाली नागरिक केपी सिटौला, तेञ्जि शेर्पा, राजु क्षेत्री, हर्कबहादुर गुरुङ, जुनु गुरुङ, गम्भीरमान श्रेष्ठ, विपीन गुरुङ, सुजन शाक्य, भजिन्द्र क्षेत्री र भानु श्रेष्ठले सो सम्मान पाइसक्नुभएको छ ।
मोरङका स्थायी बासिन्दा शिवाकोटी सन् २००६ मा कामदारका रूपमा कोरिया प्रवेश गर्नुभएको हो । अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरिरहनुभएका शिवाकोटी कोरियामा भविष्य छ जस्तो लागेर पढाइ छाडेर आफू विदेशिएको बताउनुहुन्छ । सो समयमा रोजगार अनुमति प्रणालीको व्यवस्था थिएन । उहाँ मुनड्रप्स मेनपावरबाट दक्षिण कोरिया प्रवेश गर्नुभएको हो ।
सन् २००८ देखि कोरिया र नेपाल सरकारबीच इपिएससम्बन्धी सम्झौता भयो । रोजगार संस्थाबाट आउने सबैलाई इपिएस अन्तर्गत पुनः सम्झौता भयो र पालैपालो गरेर अझै थप १० वर्षका लागि प्रवेशाज्ञा लाग्नेभयो । “११ वर्ष एउटै कम्पनीमा काम गरेपछि कमाएको पैसाले कोरियामै व्यवसाय गर्नुपर्छ भन्ने मलाई लाग्यो । सम्भावना पनि यता धेरै थियो”, उहाँले भन्नुभयो । उहाँले करिब रु एक करोड ३० लाखका लगानीमा राजधानी सउलमा निरोशा रेष्टुरेन्ट सञ्चालन गर्नुभयो । विशेषगरी नेपाली र भारतीय खाना र स्वाद पाइने उक्त रेष्टुरेन्टका सञ्चालक रूपमा उहाँको परिचय विस्तारै कोरियामा फैलिन थाल्यो । सुरुआती चरणदेखि नै यहाँको एनआरएनए, एनसिसी, पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालगायत संस्थामा सल्लाहकारका रूपमा सेवा गर्नुभएका शिवाकोटी हाल विभिन्न सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।
उहाँले फुर्सदका समयमा स्थानीय प्रहरीसँग सम्पर्क बढाउने तथा यहाँका सङ्घसंस्थामार्फत स्वयंसेवा गर्ने कार्य गर्दै पनि जानुभयो । यसो गर्दै जाँदा कोरियामा सन् २०१७ देखि यहाँको एशियाली संस्कृतिमा सहभागी हुने र नेपाली संस्कृतिलाई पनि सहभागी गराउने मौका मिल्यो । सन् २०१९ देखि २०२१ का लागि उहाँलाई १८ वर्षमुनिका बालबालिकाका लागूऔषध सेवन रोकथाम अभियानमा स्वयंसेवा गर्ने अवसर मिल्यो ।
स्वयंसेवाकै क्रममा कोरोनाबारे जानकारी दिने तथा कोरोनाविरुद्धको खोप अभियानमा निरन्तर सहयोग पुर्याउने कामले सो सम्मान दिलाएको उहाँ बताउनुहुन्छ । “यो मानार्थ नागरिकको सम्मान सिङ्गो नेपालले खुसी विषय हुन सक्छ”, शिवाकोटीले बताउनुभयो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा