सोमबार, मंसिर २० २०७८ | Mon, December 06, 2021
नेपालको समय: २०:५८ | UK Time: 15:13

नेपालको जनगणना र विदेशमा बस्ने नेपालीको तथ्याङ्क

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७८ कार्तिक २७ गते १३:१४

नेपालले सन् १९११ देखि जनगणना शुरू गरेको देखिन्छ ।  त्यसपछि प्रत्येक दश वर्षमा जनगणना हुन थाल्यो।  त्यतिबेला अहिलेको जस्तो व्यवस्थित जनगणना हुने भएन नै । पाँचौं गणनादेखि भने अलि व्यवस्थित भएको देखिन्छ । सन् १९११ मा झण्डै ५६ लाख ३९ हजार जनसंख्या देखिएकोमा दश वर्ष पछाडि त्यो घटेर ५५ लाख ७४ हजार देखियो। सन् १९३० मा झन् घटेर करिब ५५ लाख ३३ हजारमा पुग्यो । सन् १९५१ मा हुनुपर्ने गणना भने सन् १९५२/५४ सम्म भएको देखिन्छ । पछिल्लो जनगणना सन् २०११ मा भएको थियो।

विश्वमा जनगणनाको इतिहास हेर्दा चाइनिज, इजिप्ट, ग्रीक र रोमन सभ्यता भन्दा पुरानो देखिन्छ । ४००० बी सीमा बेबिलोनियनहरुले  ( बेबिलोनिया मेसोपोटामिया राज्यको एक भाग थियो जुन अहिले इराकमा पर्दछ) आफूलाई दैनिक कति उपभोग्य सामग्रीहरु चाहिन्छ भनेर सबैको टाउको गणना गर्नुको साथै आफूसँग कति पशु, घ्यू, दूध, मह, ऊन, फलफूल छ भनेर हिसाब गरेए थिए भनिन्छ । २५०० बीसी तिर देखि इजिप्सियनहरुले पिरामिड बनाउन कति कामदारहरुको संख्या चाहिएला भनेर हिसाब गर्न थालेका थिए । चाइनामा पहिलो पटक हान साम्राज्यको बेला २ ए डीमा त्यहीँको जनसङ्ख्या ५७.६७ मिलियन रहेको र घर संख्या १२.३६ मिलियन भएको घोषणा गरेको थियो । रोमन राजा सेरभियस तुलिउसले छैठौं शताब्दी (६००बी सी) मा आफ्नो जनता ८० हजार रहेको भनेका थिए ।

सन् १७९० मा अठार महिना लगाएर अमेरिकाले पहिलो पटक जनगणना गरेको थियो । चिलीमा पहिलो पटक सन् १८५३ मा जनगणना भएको थियो । बेलायतमा सन् १८०१ देखि भारतमा सन् १८८१ देखि र रशियाले सन् १८९७ देखि जनगणना शुरू गरेको थियो ।

संयुक्त राष्ट्र संघले सन् १९५८ देखि जनगणनाको लागि अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेको थियो । दुई जर्मनीको एकता भएपछि पहिलो पटक सन् १९९० मा जनगणना भएको थियो । कंगोमा सन् २०१९ मा दोश्रो जनगणना भएको  र यस अगाडि सन् १९८४ मा पहिलो पटक  भएको थियो । विश्वका केही देशहरू लेबनानमा सन् १९३२मा, अफगानिस्तानमा सन् १९७९, इरिट्रिया सन् १९८४मा, सोमालियामा सन् १९८५मा, उज्बेकिस्तानमा सन् १९८९ मा, वेस्टर्न सहारामा सन् १९७० देखि जनगणना भएको छैन ।

प्रवासमा बस्ने नेपालीको आँकडा

हामीलाई सधैं खड्कीरहने एउटा विषय भनेको नेपाल बाहिर कति नेपाली छौँ भन्ने हो । नेपाल सरकारसँग यसको सही तथ्यांक हुन सम्भव छैन । विदेश आउनेहरु सबै वैध बाटोबाट मात्रै आउँदैनन् । निकै लामो कस्टकर समय बाटोमा बिताएर अन्तिम गन्तव्यमा पुग्ने गर्छन् ।तर वैधानिक रुपमा देश बाहिर आउनेहरुको तथ्यांक पनि उपलब्ध छैन। गैरआवासिय नेपाली संघको जन्मसँगै विदेशमा बसेका नेपालीहरू बीच समन्वय र सम्बन्ध विस्तारमा क्रमिक सुधार हुँदै आएको छ । ८० भन्दा बढी देशमा गैरआवासीय नेपाली संघको शाखा भए पनि किटानीसँग कति नेपाली देश बाहिर कति छन् भन्ने तथ्याङ्क निकाल्न सकिएको छैन । बेलायतलगायत थोरै देशले नेपालीहरुको तथ्याङ्क निकाल्ने कोसिस गरे पनि त्यो त्यति सफल भएको देखिँदैन।

नेपाल सरकारले पनि आजसम्म यसबारे खासै प्रयास गरेको देखिँदैन । यदि राज्यले साँच्चिकै चाहने हो भने यो काम त्यति असम्भव भने छैन । स्थानीय सरकारमार्फत् प्रत्येक गाउँ नगर वडा कार्यालयमा जसरी जन्म मृत्युको दर्ता गरिन्छ त्यसरी नै विदेश जानेहरुको पनि तथ्याङ्क राख्न सकिन्छ । विदेशमा नेपालीहरुको नाम संकलन गर्नभन्दा नेपालमै विदेशमा जानेहरुको तथ्याङ्क तयार गर्न सजिलो हुन्छ । संसारभर छरिएका नेपालीहरुले विविध संस्थाहरूमार्फत आफूलाई नेपालसँग जोडिरहेका छन् । धेरै नेपालीहरु भएको ठाउँमा धेरै प्रकारका संस्थाहरू जन्मँदै जाने गरेका छन् । पार्टी, धर्म ,जाति, जिल्ला, गाउँ टोल हुँदै एकै खलकका नाममा समेत  संस्थाहरू स्थापना भएका देखिन्छन् ।

देश बाहिर बस्ने एकै ठाउँका मानिसहरूको संस्था बलियो हुँदै जाँदा त्यस्तो ठाउँको चौतर्फी विकासमा  पनि महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।  अन्तर्राष्ट्रिय रुपमा केही जिल्लाको नाममा स्थापित संस्थाहरुको चहलपहल धेरै सकारात्मक देखिन्छ । यो अभियानलाई अन्य जिल्लाहरुले पनि अवलम्बन गर्ने र त्यसलाई देशसँग जोड्न सकियो भने त्यसको ठूलो महत्व हुनेछ । अहिलेसम्म नेपाल बाहिर बस्नेहरूले मात्रै यस प्रकारको प्रयास गरिरहेका छन् । आफू जन्मे हुर्केको ठाउँबाट कहींले कहीं सम्झनासम्म मात्रै भए पनि आफ्नो दायित्वको थप बोध हुन सक्छ । बाहिर बस्नेहरूले आफ्नो व्यक्तिगत प्रयासमा गर्दै आएको कामलाई थप हौसला र प्रभावकारी बनाउन त्यसलाई सामूहिक रूपमा परिवर्तन गर्न सकियो भने झन् राम्रो हुन्छ । जो जहाँ बसे पनि आफू जन्मे हुर्केको ठाउँमा कुनै न कुनै माध्यमबाट सक्रिय भइरहनु पर्छ भन्ने भावनालाई थप मलजल गर्न दुवै पक्षको समान पहलकदमी हुनु पर्छ ।

अहिले नेपालमा बाह्रौँ  जनगणना हुँदै छ । यही कार्तिक २५ देखि मंसिर ९ गते सम्म हुने यो गणनामा गणकहरु प्रत्येक घरमा पुग्नेछन् । व्यक्तिगत पारिवारिक गरी ८० वटा प्रश्नहरु सोधिने छन् । विश्वका सबै देशमा प्रायजसो दशवर्षको अन्तरालमा यस प्रकारको गणना हुँदै आएको छ । वास्तवमा यसैको आधारमा देशको सबै क्षेत्रको गुरु योजनाहरू निर्माण हुने गर्दछ । परिवार संख्याको आधारमा घर खर्च छुट्याए जस्तै कुनै पनि देशको चौतर्फी व्यवस्थापनको लागि त्यस देशमा बसोबास गर्ने जनताको वास्तविक संख्या र अवस्था बारे जानकारी हुन अति अनिवार्य छ । विगत दश वर्ष देखि अहिलेसम्मको योजना विसं २०६८ सालको तथ्याङ्कको आधारमा बन्ने गरेको छ । अबको दश वर्ष यही तथ्यांक प्रयोग हुने हुँदा सकेसम्म सबैले सहभागी हुने र सही तथ्याङ्क दिन आवश्यक छ ।

सरकारले सोधेको सबै प्रश्नको जवाफ दिंदा आफूलाई पछि केही समस्या पर्छ कि भन्ने शंका हुनु स्वाभाविक हो तर गणनामा प्राप्त कुनै पनि विषय सम्बन्धित व्यक्तिको विरुद्ध प्रमाणको रूपमा प्रयोग गर्न नपाउने कानुनी व्यवस्था तथ्यांक ऐन २०१५ ले गरेको हुँदा यो भ्रमलाई चिर्दै यथार्थ तथ्याङ्क दिन दिलाउन आवश्यक छ ।

धेरै विषयमा सोधिने प्रश्नहरुमध्ये हामी विदेशमा बस्नेहरुको बारे पनि एउटा छुट्टै खण्ड राखिएको छ । मुख्य प्रश्नावलीमा परिचयात्मक खण्डबाट शुरू हुन्छ । एउटा खण्डमा अनुपस्थित विवरण राखिएको छ । प्रश्न नं १६ मा ‘तपाईंको परिवारका कुनै अनुपस्थित सदस्य हाल विदेश गएका छन्’  मा ‘छन्’ भन्ने जवाफ दिनेले प्रश्न १७ को जवाफ दिनपर्ने छ । जसमा विदेश जानेको नाम, लिंग, जाँदाको उमेर, शिक्षा, कहिले गएको, विदेश जानुको कारण, देशको नाम भर्नपर्ने हुन्छ । यी विवरणहरू सबैले नछुटाई  भर्न सकियो भने हामीले अन्दाजमा सधैं अस्सी लाखभन्दा बढी नेपालीहरु विदेशमा छौं  मात्रै भनिरहन पर्दैन । कुन देशमा कति के गरेर बसेका छन्सम्म भन्न सकिने छ । प्रत्येक गाउँ टोल जिल्लाबाट के कति मानिसहरू विदेश गएका छन् भन्ने तथ्याङ्क सजिलै तयार पार्न सकिने छ ।

हामी सबैले आफ्नो घरमा यो मत गणनामा हाम्रो विवरण नछुटोस् भनेर सम्झाउन आवश्यक छ । अब धेरै दिन बाँकी त छैन जतिले जसरी सकिन्छ  प्रयास गरौं । हुन त गैर आवासीय नेपाली संघले यस बारेमा अलिकति पहल गर्न सकेको भए अझै प्रभावकारी हुने थियो तर आफ्नै अधिवेशन गराउन गाह्रो भैरहेको अवस्थामा अन्यत्र ध्यान पुर्याउन नसक्नु स्वाभाविक नै हो । अझै एकपटक आव्हानसम्म गर्न सकियो भने  नागरिकताको निरन्तरता र विदेशमा बस्नेहरुले पनि निर्वाचनमा भाग लिन पाउनु पर्छ भनेर माग मात्रै राख्ने गर्दैनौं देशले आव्हान गरेको जनगणनामा आफूले पूरा गर्न पर्ने दायित्व पनि पूरा गरेका छौं भन्न पाइने त छँदै थियो सकेसम्म तथ्यांक पनि दुरुस्त निकाल्न सहयोग गरेकोमा गौरव गर्ने एउटा अवसर मिल्ने थियो।

( लेखक अधिवक्ता तथा गैरआवासीय नेपाली संघका पूर्व केन्द्रीय सल्लाहाकार हुन् ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक