सोमबार, मंसिर २० २०७८ | Mon, December 06, 2021
नेपालको समय: २०:५३ | UK Time: 15:08

गोर्खा भर्तीको कथा

त्रिलोक सिंह थापा मगर
२०७८ कार्तिक १६ गते १५:३४

बायाँ जनरल अक्टरलोनी जसको पालामा गोरखा भर्ती शुरु भएको थियो । दायाँ देहरादुनमा बनाइएको कालुङ्गा स्मारक जो गोरखाली सैनिकको वीरताको स्मृति हो । तस्वीर गोर्खा म्यूजिम

अंग्रेजी फौजका अत्यन्त अनुभवी, चलाख तथा दूरदर्शी सेना नायक डेविड आक्टरलोनीले नालागढ़, मलाऊँ, बुटवल आदि ठाउँहरूमा गोर्खा अंग्रेज युद्धको गहिरो लेखाजोखा गरिसकेका थिए । गोर्खा सेनामाथि सीधा युद्ध गर्दा अंग्रेजी सेनालाई ज्यादै हानी नोक्सानी तथा क्षति व्यहोर्नु पर्दछ भन्ने कुरा उनले बुझिसकेका थिए । यस्ता युद्धहरूबाट वडाकाजी अमर सिंह थापालाई कुनै हालतमा गलाउन तथा हतोत्साहित गर्न सकिँदैन भन्ने उनको सोचाइ थियो ।
मुठ्ठीभर गोर्खाली सैनिकहरूले आफ्नो पारम्परिक हात हतियार (धनुष वाण, खुकुरी, खुँडा, ढुङ्गा, मुढा)को भरमा विकसित तथा आधुनिक शस्त्र अशस्त्रहरूबाट सम्पन्न विशाल अंग्रेजी सेनाका धेरै योद्धा, अफिसर र सेना नायकहरूलाई सजिलैसित युद्धस्थलहरूमा धराशायी पारेको दृश्य अक्टरलोनीले आफैँ हेरिसकेका थिए । जनरल जेलस्पी जस्ता वीर एवम् अनुभवी जनरल पनि गोर्खा सैनिकबाट मारिएको जानकारी थियो । खलङ्गा युद्धमा अंग्रेजी सेना नायक मावीले गोर्खा सैनिकलाई युद्धबाट पराजित गर्ने आशा मारिसकेको हुँदा छलकपटको सहारा लिनु परेको ज्ञान अक्टरलोनीलाई थाहा भइसकेको थियो ।
पर्वतीय युद्धकला तथा शत्रुमाथि आक्रमण गर्ने क्षमता देखेर अक्टरलोनी गोर्खाली सैनिक योद्धाहरूसँग ज्यादै त्रसित, भयभीत तथा डराएका थिए । त्यसैका लागि गोर्खा राज्य तथा गोर्खार्ली फौजको विरुद्ध फेरि लड्न तथा युद्ध गर्न उनले पटक्कै चाहेका थिएनन् । आफ्नो छोरा तथा गोर्खा सेना नायकको छोरासँग गोर्खा संस्कृति र सामाजिक रीतिअनुसार मीत(मित्रता) समेत पनि गाँसेका थिए । गोर्खा सेनालाई परास्त गर्न युद्धका विभिन्न हतकण्डाहरूको प्रयोग गर्नु पर्ने एकमात्र उपाय हो भन्ने निष्कर्षमा उनी पुगेका थिए ।
ईष्ट ईन्डिया कम्पनी सरकारको रणनीति
वास्तवमा ईष्ट ईन्डिया कम्पनी सरकारको लक्ष्य भारत तथा तिब्बतमा आफ्नो व्यापार विस्तार गर्नु थियो । अंग्रेज सरकारको साम्राज्य तथा उपनिवेश कायम गर्नु थियो । अतः गोर्खा राज्य तथा गोर्खाली सेनाको विरुद्ध युद्धमा अल्झिएर कम्पनी तथा अंग्रेज सरकारलाई कुनै लाभ थिएन । बरु हानी नै थियो ।
जनरल अक्टरलोनीको एक मात्र रणनीति गोर्खा युवाहरूको निपुणता र दक्ष जनशक्तिलाई अंग्रेजी सेनामा भर्ती गर्नु थियो । उनीहरूलाई परिचालन गरेर भारतमा आफ्नो शासन स्थापित गर्नु थियो । गोर्खा राज्य तथा गोर्खा सेनासँग सन्धि गरेर व्रिटिश साम्राज्यको हित तथा रक्षाका लागि गोर्खाली सैनिकहरूको उपयोग गर्नु थियो । त्यसैका लागि गोर्खा सैनिकसँग युद्धमा अनावश्यक रुपमा अल्झिनु उनको मनसाय थिएन ।
गोर्खा सेनाको बाध्यता
जनरल अमरसिंह थापाको अभिलाषा र इच्छा अंग्रेज सेनाको विरुद्ध एक पटक फेरि भीषण युद्ध गरेर आफ्नो मनको धोको मेटाउन चाहन्थे । तर राजदबार काठमान्डौले अंग्रेज फौजसँग सन्धि गर्नु भनेर आदेश पठाएको थियो । तैपनि दबारलाई थप मद्दत पठाउनु भनेर उनले पत्र लेखेका थिए । सो पत्र व्रिटिश सेनाको गुप्तचरले बाटोमा लुकाई दियो । पत्र काठमान्डौ पुग्दै पुगेन ।
कुमाऊँ राज्यका गोर्खा सेना नायक बम शाहले आत्मसमर्पण गरिदिए । अमरसिंह थापाको दाहिने हात सर्दार भक्ति थापाले युद्ध भूमिमा वीरगति प्राप्त गरे । तैपनि अलिकति विचलित नभएर जनरल अमरसिंह थापा एकपटक फेरि अंग्रेजसेना माथि हमला गर्न तयारी गर्दै थिए ।
त्यसै समयमा सेना नायक हस्तीदल चौतरिया थप हात हतियार तथा खाद्यान्न लिएर आइराखेका थिए । तर बाटोमा शत्रुले रोकी दिए । आपूर्ति बन्द भयो । गोली गठ्ठा, सैनिक योद्धा, खाद्यान्नको कमी, आर्थिक समस्या, काठमान्डौ टाढा भएकोले दोहरो संचार नहुने, स्थानीय राजाहरूबाट असहयोग तथा कतिपय स्थानीय राजाहरूले अंग्रेज फौजलाई सहयोग गर्न थाले । जनरल अक्टरलोनीले एक तर्फ सन्धि गर्न तागेता गर्ने । साथै दबाव दिनका लागि चारैतिरबाट तोपको गोला फाल्ने । गोर्खाली सेनाभित्र अंग्रेजहरूले गोर्खा सेना नायकहरूको विरुद्ध नकारात्मक अफवाह तथा प्रचार गरेर मनोवैज्ञानिक आक्रमण पनि शुरु गर्न थाले । त्यसबेला हिमवत खण्डमा चारैतिर गोर्खा सैनिकहरू साना साना युद्धहरूमा अल्झिरहेका थिए । ती सैनिकहरूलाई एक ठाउँमा जम्मा पार्न पनि गाह्रो थियो ।
अतः जनरल अमरसिंह थापाको पक्षमा परिस्थिति सकारात्मक थिएन । यस्तो अवस्थामा आफूले दुःख कष्टले आर्जेको भूमि तथा विशाल गोर्खा साम्राज्य छोड्न परेको पीर र कष्ट वडाकाजी सेना नायक अमरसिंह थापालाई बाध्यतावश सहनु पर्यो ।
सन् १८१५ मई १५ तारिखमा गोर्खा सेनापति अमरसिंह थापा तथा अंग्रेज सेनापति डेविड अक्टरलोनीको बीच मलाउको प्रसिद्ध सन्धि सम्पन्न भयो । तीन वर्ष देखिको गोर्खा–अंग्रेज युद्धको अवसान भयो तर “गोर्खा भर्ती”को उत्थानको कथा पनि सो सन्धिबाट शुरुवात भयो ।
फस्ट नरसरी वटालियन (मलाउ रेजिमेन्ट) सन १८१५ अप्रिल २४
सन् १८१५ अप्रिल २४ तारिखमा हिमाञ्चल प्रदेश, सोलन जिल्लामा अवस्थित मलाउँ किल्लाको पहाडको भीरमा गोर्खाली सैनिकहरूको पहिलो पल्टन खडा गरियो । सो पल्टन जम्मा १५ देखि २० जना गोर्खा सैनिक तथा केही स्थानीय युवाहरू थिए । सो पल्टनको नाम ईष्ट ईन्डिया कम्पनी सरकारले फस्ट नरसरी बटालियन (मलाउ रेजिमेन्ट) राखियो ।
भारतको तत्कालीन मुगल बादशाहले जनरल डेविड अक्टरलोनीलाई “नरसरी उददुल्लाह” राजकीय पदवीबाट सम्मानित गरेका थिए । सोही पदवीको सम्मानमा कम्पनी सरकारले गोर्खालीहरूको पल्टनको नाम “फस्ट नरसरी वटालियन (मलाउ रेजिमेन्ट) नामाकरण गर्यो । त्यस पछि ईष्ट इन्डिया कम्पनी सरकारले आवश्यकताअनुसार विभिन्न समय र विभिन्न ठाउँहरूमा गोर्खालीहरूको गोर्खा पल्टनहरू खडा गर्दै गए । जुन यस प्रकार छ ।
फष्ट नरसरी बटालियन (२४ अप्रिल १८१५ ), छैठौँ लोकल फष्ट नरसरी बटालियन (६ मई १८२३), चौथो लोकल फस्ट नरसरी बटालियन (१ डिसेम्बर १८२६), चौथो लोकल नरसरी वटालियन (१ फरवरी १८२९), ६६ गोर्खा राइफल रेजिमेन्ट (२७ फरवरी १८५०), ६६ गोर्खा लाईट इन्फेन्टरी (११ नोभेम्वर १८५८), फस्ट गोर्खा राईफल रेजिमेन्ट (२८ फरवरी १८९१), फस्ट गोर्खा राईफल (२८ फरवरी १९०१), फस्ट गोर्खा राईफल (दी मलाउ रेजिमेन्ट) (२ अक्टोवर १९०३), फस्ट प्रिन्स अफवेल्स ओन गोर्खा राईफल (दी मलाऊ रेजिमेन्ट) (१ जनवरी १९०६), फस्ट किङ्ग जर्ज गोर्खा राईफल (दी मलाउ रेजिमन्ट) (२ डिसेम्बर १९१०) स्थापना भएको ईतिहास भेटिन्छ ।
फस्ट गोर्खा राईफल (सन् १८९१ फरवरी २८)
सन् १८९१ फरवरी २८ मा स्थापना भएको फस्ट गोर्खा राईफल (रेजिमेन्ट) सन् १८६१ मार्च २६ को दिन हिमाञ्चल प्रदेश, भाग्सू धर्मशाला जिल्ला कागँडामा विधिवत स्थायीरुपमा स्थान्तरण भयो । पल्टनको पहिलो मुकाम हालको पुलिस मैदान तथा पेन्शन लाईनमा थियो । सन् १९०५ अप्रिल ४ दिनांकमा स्थायी रुपमा माथिल्लो धर्मशाला म्यकलोडगंजमा आफ्नो स्थायी छावनी खडा गरेर त्यहाँ स्थान्तरण भयो ।
आफ्नो छोटो अवधिमा फस्ट गोर्खा राईफलले विश्वको सैन्य क्षेत्रमा व्यवसायिक सेना (Professional Army) तथा विशेष सेना (Special Army) को रुपमा त्यसबेला ख्याति प्राप्त गर्यो । युद्ध कलामा फस्ट गोर्खा राईफलको अदभूत प्रदर्शनले गर्दा इष्ट ईन्डिया कम्पनी सरकारले गोर्खा सेनाको संख्या क्रमशः वृद्धि गर्न थाल्यो । गोर्खा राज्यको पहाडी भेगहरूमा गल्लावाला आएर गोर्खाली युवाहरूलाई व्रिट्रिश सेनामा भर्ती हुन आकर्षित तथा लोभ्याउने चलन शुरु भयो ।
सन् १९४७ मा भारत स्वतन्त्र भयो । व्रिटिशहरू बेलायततिर फर्किन थाले । त्यस समयमा नेपाल, भारत तथा बेलायत सरकारहरूको बीच त्रिपक्षीय सम्झौता सम्पन्न भयो । सोअनुसार केही गोर्खा पल्टनहरू भारतमा र केही पल्टनहरू व्रिटिश साम्राज्यको रक्षा तथा सुरक्षाका लागि आफ्नो साथ पानीजहाजमा चढाएर अंग्रेजले बेलायततिर लगे । यसरी भारत तथा बेलायतमा आजसम्म निष्ठासाथ गोर्खा सैनिकहरू कार्यरत छन् ।
गोर्खाली सैनिक र सेनाको विस्तार
कथा यहीँ टुङ्गिदैन । प्रथम तथा द्वितीय युद्धको समयमा अदम्य, अदभूत, आश्चर्यजनक, पराक्रम, वीरता, अत्यन्त कठोर अनुशासन, कडा परिश्रम, तथा दृढ ईच्छाशक्ति आदिको प्रदर्शनले गर्दा गोर्खा सैनिक तथा गोर्खा सेनाको विश्वमा व्यापक चर्चा परिचर्चा हुन थाल्यो । त्यसैबेला जर्मनको तानाशाह एडोल्फ हिटलरले भनेका थिए, “यदि गोर्खाली सिपाही मसँग भएको भए म विश्व विजय गर्ने थिएँ ।” भारतका प्रख्यात पूर्व सेनापति फिल्ड मार्शल एच. एफ. जे. मानेक शाहको भनाघ “मृत्युसँग डराउँदैन भनेर कोही भन्दछ भने त्यो झूठ बोल्दछ अथवा त्यो गोर्खाली हो ।” एक जना भारतीय राज नेताले भन्नु भएको थियो, “सरहदमा गोर्खाली सुरक्षा सैनिक तैनाथ भयो भने म चैन र शान्तिसाथ निदाउँछु ।”
सन् १८५१ अप्रेल १४ को दिनमा प्रारम्भ भएको “गोर्खा भर्ती” आज विश्वका धेरै मुलुकहरूमा विस्तारित भएको छ । जस्तो भारत, बेलायत, ब्रुनाई, सिङ्गापुर, ओमान, आदि मुलुकहरूमा गोर्खा राइफल रेजिमेन्ट, गोर्खा प्रहरी, गोर्खा सुरक्षा तथा गोर्खा गार्ड आदिको नामहरूले प्रख्यात छन् । ती मुलुकहरूको सीमा सुरक्षा प्रतिरक्षा एवम् रक्षा निकायहरूमा खुकुरी भिरेर, छत्रे टोपी पहिरिएर रातो पीरो तथा मुस्तैदी साथ गोर्खा युवकहरू अनुशासित भएर उभिएको देख्न सकिन्छ ।
लाहुरे (सन् १८१४)
सन् १८१४ नोभेम्बर ३० का दिन सेनानायक कप्तान बलभद्र कुँवर क्षेत्रीलाई आफ्नो पल्टनका केही सैनिकहरूका साथ उतराखण्डको देहरादुनस्थित नालापानी खलङ्गा किल्ला बाध्यात्मक अवस्थामा छाड्नु पर्यो । काठमाण्डौँ राजदवारबाट समयमा थप सैन्य सहायता, मद्दत तथा नैतिक समर्थनसम्म प्राप्त भएन । अतः उनी काठमान्डौ राजदवारप्रति अत्यन्त असंतुष्ट र रिसाएका थिए ।
युद्धको रणभूमिमा लड्नुभन्दा पनि छलकपट तथा धोका गर्ने शक्तिशाली अंग्रेजी फौजलाई पनि एकपटक राम्रोसित गोर्खा–थ्याक (अर्थात गोर्खा पराक्रम वा शुरवीरता) उनी देखाउन चाहन्थे । त्यसैकारणले गर्दा कप्तान बलभद्र कुँवर क्षेत्री आफ्नो केही सैनिकहरूका साथ पञ्जावको तत्कालीन राजधानी लाहौर शहरमा पुगे । पञ्जाव राज्यका शक्तिशाली महाराजा रणजीत सिंहसँग भेटवार्ता गरे । त्यहाँ गोर्खा सेनाको स्थापना गरे । गोर्खा तथा सिख (खलासा) सेना मिलेर ईस्ट इन्डिया कम्पनी सरकारको अंग्रेजी फौजलाई विस्थापित गर्न युद्धको तयारी गर्न थाले ।
गोर्खा फौजको स्थापना (सन् १८१४)
पञ्जाव राज्यको राजधानी लाहौर शहरमा झण्डै २०० गोर्खा युवाहरू गोर्खा सेनामा भर्ती भएका थिए । अधिकांश सैनिकहरू मगर तथा गुरुङ्ग समुदायका थिए । साथै केही क्षेत्री, ठकुरी, खत्री, पाण्डे, बस्नेत, खड्का, भण्डारी आदि अन्य समुदायका युवाहरू पनि थिए । ती युवाहरूलाई उनीहरूको गाऊँ समाजले लाहौरे र पछि लाहुरे भनेर सम्बोधन गर्न थाले । यसरी “लाहुरे” शब्दले नेपाली शब्दकोषमा आफ्नो स्थान प्राप्त गर्यो । सन् १८१४ देखि नै लाहौर शहरमा गोर्खा भर्ती शुरु भएपछि लाहुरे शब्द प्रचलनमा आएको पाइन्छ ।
सन् १८१५ मा ईष्ट इन्डिया कम्पनी सरकार तथा नेपाल सरकारको बीच सुगौली सन्धि सम्पन्न भयो । सो सन्धिको धारा अनुसार हिमाञ्चल प्रदेशको सोलन जिल्ला अन्तर्गत मलाऊँमा (सपाटु) ईष्ट इन्डिया कम्पनी सरकारले पहिलो गोर्खा पलटन खड़ा गर्यो । त्यसपछि “लाहुरे” शब्दले झन बढी व्यापकता प्राप्त गर्न थाल्यो । वास्तवमा “गोर्खा भर्ती” तथा “लाहुरे” शब्दको बीचमा अन्योन्याश्रित तथा आन्तरिक सम्बन्ध पाइन्छ । एउटै सिक्काको दुई पाटा हुन् ।

लेखक त्रिलोकसिंह थापामगर

सामाजिक अवधारणा
त्यसै समयदेखि गोर्खा राज्यको पहाडी भेगहरूमा “लाहुरे” शब्दले सामाजिक मान्यतामा (Social Value) प्रतिष्ठा तथा मनोवैज्ञानिक सम्मान प्राप्त गर्न थालेको थियो । लाहुरे भन्ना साथ गाऊँघरमा सामाजिक स्तर (Social Status) तुलनात्मक रुपमा अलि माथि हुने सोचाई हुन थालेको थियो ।
त्यस समयमा गाउँघरमा प्रशस्त मात्रामा अन्नबाली, पशुपालन, फलफूल, जडीबुटी तथा आवश्यक पर्ने लुगाफाटाका लागि गाउँमा घरेलु उद्योग थिए । खान लगाउनका लागि गाउँघर आत्मनिर्भर थियो । कुनै कसैको माथि निर्भर हुन पर्दैन थियो । तर लगानी गर्नका लागि आवश्यक पर्ने नगद रुपियाँ प्रायः उपलब्ध हुFदैन थियो ।
ईष्ट इन्डिया कम्पनी सरकारका गल्लावाला (प्रतिनिधी) आएर गाउँले युवाहरूलाई अग्रिम रकम दिएर गोर्खा फौजमा भर्ना गर्न लैजाने चलन थियो । खेती किसानी तथा गोठालो हुने युुवाहरू लाहुरे भएपछि घर विदामा आफ्नो गाउँघरमा आऊँदा उनीहरूको बेग्लै शान हुन्थ्यो । उनीहरूको जीवनशैलीमा परिवर्तन देखा परेको थियो ।

लाहुरे जीवन शैली (स्टाइल)
लाहुरे युवाहरू ईष्टकोट पहिरिएर, कम्मरमा खुकुरी भिरेर, टाउकोमा छड्के टोपी ढल्काएर, काँतेदार बूट ग्याकग्याक गर्दै, झोलामा चाँदीको सिक्का तथा औलाँमा मोटरमार्च चुरोट च्यापेर आफ्नो गाउँघरमा आउँदा उस्को व्यक्तित्वले एउटा बेग्लै सन्देश दिन थालेको थियो । लाहुरे भनेपछि साहस, हिम्मत, आँटिलो, सामाजिक सम्मानका साथै कम्पनी सिक्का उपार्जनको प्रतीकको रुपमा गाउँले समाजमा प्रतिस्थापित हुन थालेका थिए ।
फलस्वरुप गाउँघरमा प्रायः युवाहरू लाहुरे बन्ने सपना देख्न थालेका थिए । युवतीहरू लाहुरेनी बन्ने रहर गर्न थाले । केही कारणवश लाहुरे घर बिदामा घरमा आउन सकेन भने र साईत जुर्यो भने लाहुरेको घरधुरी खम्बालाई प्रतीक भनेर (बेउला) विवाह सम्पन्न गर्ने चलन पनि कतै कतै गाउघरमा शरु हुन थाल्यो ।
पुस्तैनी पेशाको शुरुवात

गोरखा सेनामा चारपुस्ता

त्यस समयमा एक पुस्तादेखि अर्को पुस्तासम्म फौजमा भर्ना हुने वा लाहुरे बन्ने चलन पनि केही परिवारहरूमा देखा पर्न थाल्यो । अंग्रेज लेखक पार्करले आफ्नो पुस्तकमा यसरी उल्लेख गरेका छन् : “It becomes a family tradition of services father and sons, brothers and cousins. Many Gurkhas have family connection with British and Indian Gurkha regiments that could be traced back to the late eighteen century” (The Gurkha, John Parker Headline Book, Publishing London, Page 71, 1999) उनले उदाहरण पनि उल्लेख गरेका छन् । जबर थापा मगर सन् १७९० मा नरसरी बटालियनमा भर्ना भएका थिए । उनका छोरा सुवेदार बले थापा मगर सन् १८३७ मा नरसरी बटालिएन भर्ना भए । उनका छोरा सुबेदार नथु थापा मगर चौथो गोर्खा राइफलमा र उनका छोरा क्यापटेन रनु थापा मगर सन् १८८५ मा चौथो गोर्खा राईफलमा भर्ना भए । त्यसपछि उनका छोरा मेजर श्यामसिंह थापा मगर चौथो गोर्खा राईफल सन् १९३४ सम्म कार्यरत थिए । उनका छोरा क्यापटेन धीरेन्द्रसिंह थापा मगर पनि भारतीय सेनाका आर्टलरी विभागमा भर्ना भएर अवकाश प्राप्त गरे । यसरी गोर्खा परिवारहरूमा एक पुस्तादेखि र्को पुस्तासम्म लाहुरे पेशा अपनाएको कथा प्रायः भेटिन्छ ।
राज्यको भूमिका
राज्यले कहिले पनि गोर्खा भर्ती वा लाहुुरे प्रथालाई निरुत्साहित गरेको पाइँदैन । सुगौली सन्धि (सन् १८१५ )ले त गोर्खा भर्तीलाई कानूनी मान्यता प्रदान गर्यो । तत्कालीन प्रधानमन्त्रीहरू वीर शमशेर, जुद्ध शमशेर तथा चन्द्र शमशेरका पालामा युवा श्रमशक्तिलाई निर्यात गर्न नीति नियमहरू झन खुकुलो पारिएको थियो । गाऊँमा उर्दी जारी गरेर भर्ती हुन प्रोत्साहन गरिएको थियो । राज्यलाई निरन्तर राजस्व वा सलामीमा ठूलो रकम (एक प्रकारको रेमिटेन्श) प्राप्त हुन्थ्यो । युवा शक्तिको आन्तरिक राजनीतिबाट ध्यान अन्यन्त्र केन्द्रित हुने, विदेशी सरकारलाई सस्तो तथा सजिलो युवा श्रमशक्ति प्राप्त हु्ने, मुलुकमा शासकहरूको सत्ता सुरक्षित रहने आदि कारणहरूले गर्दा राज्यले लाहुरे प्रथालाई सधैँ प्रोत्साहन गरेको पाइन्छ । वास्तवमा “लाहुरे” प्रथा वा “गोर्खा भर्ती” आन्तरिक तथा अन्तर्राष्ट्रिय कुटनीतिको मोहराको रुपमा विकसित हुन थालेको थियो ।
यसै क्रममा सुखी जीवनको खोजीमा कतिपय युवा शक्ति लाहुरे परिवार विभिन्न मुलुकहरूमा बसाई सरेको पाइन्छ । साथै युरोप तथा अन्य मुलुकहरूमा पूर्व गोर्खा सैनिकहरूको नाम उल्लेख भएको सामूहिक स्मृति स्मारकहरू (चिहान) पनि खडा भएको देख्न सकिन्छ । अनि दार्शनिक प्रश्न उठन थाल्यो यो कस्तो कथा हो ?
कथाको अर्को पाटो
त्यस समयमा अधिकांश भूमिपुत्र वा मूलवासी युवा शक्ति प्रायः कलिलो उमेरदेखि “लाहुरे” बन्ने रहर गर्दथे  । राज्यले उनीहरूलाई लाहुरे बन्न प्रोत्साहित पनि गर्दथ्यो । तर त्यसै गाउँघरका ब्राम्हण वा बाहुनहरूका युवाहरू सानो उमेरदेखि देश जाने सपना देख्न थालेका थिए । कहिले देश जान पाउने होला भन्ने गर्दथे । झन्डै १०/१५ वर्ष देशमा बसेर (काशी, हरिद्वार, ऋषिकेश, मथुरा र अयोध्या आदि) फर्केपछि राष्ट्रको सम्पूर्ण श्रोतसाधन माथि कसरी आफ्नो आधिपत्य कायम गर्ने सपना देख्न थाल्ने गर्दथे । राज्यले पनि उनीहरूलाई सक्दो सहयोग तथा सघाउन खोज्दथ्यो । फलस्वरुप राज्यशक्ति र राज्यसत्ता क्षेत्री–ठकूरी समुदायबाट क्रमशः बाहुन समुदायतिर हस्तान्तरण हुन थाल्यो । भविष्यमा भूमिपूत्रहरूतिर हस्तान्तरण हुने देखिन्छ ।

लेखाजोखा गर्ने समय
अतः अब समय आइसकेको छ, पहिचानवादी सामाजिक संघ संस्थाहरूले आफ्नो समुदायमा युवा शक्तिको शैक्षिक विकास, प्रशिक्षित जनशक्ति तथा कार्यात्मक प्रौढ शिक्षा (Functional Literacy) तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममाथि के कति लगानी गरियो, के कति बजेट रकम छुट्याइयो, सामाजिक अभियान्ताहरूले के कति समय शैक्षिक विकासका कार्यमा समय खर्च गरे आदि विषयहरूमा लेखाजोखा गर्नु पर्ने देखिन्छ । यस्का साथै शोषित एव पिड़ीत समुदायको शैक्षिक विकास तथा मानवीय विकासमा (Human Resource Development) मा राज्यको समावेशी नीतिहरूको प्रभावकारी कार्यान्वoन गर्न गराउनुमा कति दबाव दिइयो ? सो बारेमा पनि मूल्याङ्कन गर्नुपर्ने आवश्यकता भइसकेको छ ।
कारण, कुनै पनि परिवार, समुदाय, समाज तथा मुलुकको सामाजिक, आर्थिक विकास, उत्थान तथा प्रगति उसको प्रशिक्षित तथा शिक्षित युवा जनशक्ति माथि आधारित हुन्छ भन्ने विद्वानहरूको कथन छ ।
गोर्खा भर्तीको संस्था
आजभोलि पहिले जस्तो गल्लावाल गाउँ गाउँमा हिँडदैनन् । भर्ती हुन बैना पनि दिँदैनन् । राज्यले उर्दी पनि जारी गर्दैन तर गोर्खा भर्तीको समयमा हजारौँ युवाहरू भर्तीका लागि लामो लाईनमा लागेको देखिन्छ । गोर्खा भर्ती या भर्ना गर्ने प्रशिक्षण संस्थाहरू पनि खुलेका छन् । भर्ना गर्ने संस्थाहरू पनि खुलेका छन् । युवतीहरू पनि भर्ना हुन खोज्दैछन् । दिन प्रतिदिन गोर्खा भर्तीका लागि युवाहरूको संख्या बढ्दै छ । तर भर्नाको लिइने संख्या क्रमवद्ध रुपमा घट्दै छ ।
विगत नेपालको २५० वर्षको लामो अवधिमा शाहवंश, राणा शासन, पञ्चायत व्यवस्था, प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रले मुलुकमा आमूल राजनीतिक, सामाजिक एवम् मनोवैज्ञानिक परिवर्तन ल्याएको देखिन्छ । सो अनुभव गर्न सकिन्छ । तर यस परिवर्तनको हुरीमा “गोर्खा भर्ती” पहिले जस्तो थियो, आज पनि त्यस्तै स्थितिमा छ । मुलुकमा आएको आमूल परिवर्तनले यसमाथि कुनै असर र प्रभाव पारेको देखिँदैन । २५० वर्ष भईसक्यो तर “गोर्खा भर्ती”लाई यस राजनैतिक सामाजिक परिवर्तनले अलिकति पनि छुन सकेको छैन ।
निष्कर्शः
क) परम्परालाई यथावत कायम राख्दै विस्तारै विस्तारै संयुक्त राष्ट्र संघले आफ्नो छुट्टै शान्ति सेना गठन गरे हुन्थ्यो । सो शान्ति सेनामा अधिकांश गोर्खाली युवाहरूका साथै विकासोन्मुख राष्ट्रका युवा जनशक्तिको सेवा संयुक्त राष्ट्र संघले लिने दीर्घकालीन योजना तयार गरे हुन्थ्यो । यसरी गोर्खा भर्तीलाई नयाँ आयाम दिने कुरामा पहल गर्न सकिन्छ ।
ख) पर्वतीय, पहाडी, मैदानी तथा जंगल युद्धको तालिमका लागि नेपाल उपयुक्त स्थान भएको हुँदा शान्ति सेनाको प्रशिक्षण केन्द्रको अझ विस्तार गरे हुने थियो। यसरी “गोर्खा भर्ती” तथा “लाहुरे” शब्दले नयाँ परिवेश पाउने थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक