बेलायतका मगर युवाहरुले दिए मगर जातिका विविध विषयमा जानकारी

लण्डन । प्रवासमा जन्मे हुर्केका नेपाली युवा पुस्ताले आफ्नो मौलिक पहिचान बिर्सन थालेको गुनासो चलिरहँदा बेलायतमा भने मगर युवाहरुले मगर जातिको भाषा, सँस्कृति, रहनसहनका बारेमा अनुसन्धान गरी जानकारी दिएका छन् ।

मगर संघ युकेको युवा समितिले आइतबार अल्डरसटमा आयोजना गरेको एक कार्यक्रममा बेलायतमा विभिन्न भागमा बसोबासरत मगर युवाहरुले मगरहरुको भेषभूषा, सँस्कार, सँस्कृति, रहनसहन आदि विषयमा प्रस्तुति दिएका हुन् ।

कार्यक्रम मगर संघका अध्यक्ष सुनिल रानाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रोफेसर डा. केशरजंग बराल र विशेष अतिथि झकेन्द्र घर्ती मगरको उपस्थिति रहेको थियो। अध्यक्ष सुनिल राना, युवा समितिका अध्यक्ष किशोर राना, ज्येष्ठ नागरिक मगर संघ युकेका सल्लाहकार क्याप्टेन वीरबहादुर गाहा र युएचएसबी शाखाका अध्यक्ष श्रीमती हेमा रानाले पानसमा बत्ती प्रज्वलन गरी संयुक्तरुपमा कार्यक्रम शुभारम्भ गर्नु भएको थियो।

कार्यक्रमको आरम्भमा संस्थाका महासचिव रुद्र थापाले कार्यक्रम सन्चालन र युवा समितिका उपाध्यक्ष यमुना रानाले स्वागत मन्तब्य राखेका थिए भने दोस्रो चरणमा युवाद्वय दीपक थापा मैथाने र जानकी रोकाले कार्यक्रम सन्चालन गरेका थिए।
प्रोफेसर डा केशरजंग बरालले आफ्नो तर्क (Philosophy of Magar) दर्शनको आधारमा मगरको विस्वास प्रणाली, यथार्थ मौलिक दर्शनको आधारमा आफ्नो पहिचान भएको बारेमा प्रस्तुत गरेका थिए। प्रकृति सुरक्षित रहेमा हामी पनि सुरक्षित रहन्छौं र प्रकृतिको संरक्षण गर्नु पर्छ। हाम्रो जीवन प्रकृतिमा निर्भर गर्दछ। मगर प्रकृति पूजक हो भन्दै उहाँले बौद्ध दर्शनमा पनि विस्वासको कुरा राख्नुभएको थियो।
सरस्वती क्याम्पस काठमाडौँका लेक्चरर झकेन्द्र घर्तीमगरले Magar Society-Our Status and Our Dream शीर्षकमा आफ्नो प्रस्तुति दिँदै नेपाली समाजमा मगरहरुको वर्तमान अवस्था के छ, कहाँ छौं र भविस्यमा कस्तो हुनुपर्छ ? हाम्रो सपना (कसरी समृद्ध समाज बन्न सक्छ) आधिकारिक तथ्यांकसहित मगरात क्षेत्रको बाहुल्य, जनसंख्या, हाम्रो कति प्रतिशतले कुन धर्म मानेका छन्, राजनीति, ब्यवसाय, रहनसहन आदिको बिस्तृत रुपमा वर्णन गरेका थिए ।
दोस्रो चरणमा युवाहरुको बेजोड प्रस्तुति रहेको थियो। मगर संघ युके युएचएसबी शाखाका युवाहरुले मगर भेषभूषा पहिरनको उत्पत्तिदेखि आधुनिक युगसम्म के कसरी यस्को विकास भयो ? पुरुष र महिलाको पहिरनको बारेमा, नेपालको कुन भेगमा बस्ने मगरको कस्तो पहिरन साथै उनिहरुको गरगहना शिरदेखि पाउसम्मको नाम पालैपालो अति नै रोचक तरिकाले अनुसन्धान गरेर प्रस्तुत गरेका थिए ।
केन्ट शाखाका तर्फबाट टन्ब्रीजका युवा विशाल रानाले सिमारेखा चलचित्रको माध्यमबाट मगर चलचित्रको स्थिति, सिनेमाले कसरी हाम्रो भेषभूषालाई जगेर्ना गर्नुका साथै आफ्नो चिनारी महत्त्वको उजागर भएको छ भन्नेबारेमा बिस्तृत वर्णन गरेका थिए।

वेम्ब्ली शाखाका मिफुरुङ समूहले मगरहरुको तीनवटा भाषा, मगर चाडपर्व, खानपान, रितिरिवाज, धर्म,सँस्कार सँस्कृति ,जन्म, न्वारानदेखि मृत्युपर्यन्त दाहसँस्कारसम्म, भूमे पूजा, बुद्ध पूर्णिमा माघे संक्रान्ती, मगर स्थापना दिवस र प्रथम सहीद लखन थापाको बारेमा युवाहरुले मगर भाषामा प्रस्तुत गर्दा साँच्चिकै सबैलाई चकित पारेका थिए ।

केन्ट शाखाको सारान्या नाचको परिचय सामग्रीको प्रस्तुत गरिएको थियो। रिडी गण्डकी नदी पश्चिम १८ वटा र पूर्व १२ वटा प्राचीन मगर राज्यहरुको आधारमा १८ र १२ मगरात बाट चिनिन्छ। १८ मगरातमा पुरुष समूह नाचलाई नचारु भनिन्छ र त्यही नचारुअन्तर्गत एउटा प्रमुख नाचलाई सारान्या नाच भनिन्छ।

अर्का युवा बिष्णु बुढा मगरले झाँक्री के हो र बुढा मगर जातिमा यस्को प्रभाव कस्तो छ? परिवारको एकजना सदस्य झाँक्री हुनुपर्ने नभएमा जरीवाना तिर्नु पर्ने एक प्रकारको अनौठो विषयको जानकारी दिनु हुँदै अहिले आएर यो प्रथा लोप हुँदै गएकोमा दु:v प्रकट गर्नुभएको थियो।

यी सबै अनुसन्धान खोजबाट गरिएको प्रस्तुति सूचनामूलक, ज्ञानवर्धक हुनुको साथै सबैको लागि उपलब्धिमूलक थियो। कुन शाखाले कस्तो गर्यो भनी तीन जना निर्णायकहरु राखिएका थिए । जसमा विश्व नेपाली साहित्य महासंघ युके दक्षिण शाखाका अध्यक्ष विजय हितान, रेडिङ शाखाका अध्यक्ष शोब रेगामी र वेस्ट लन्डन शाखाका अध्यक्ष टेक राना थिए ।

न्यायपूर्ण र निस्पक्ष तरिकाले मूल्यांकन गरी उत्कृष्ट अनुसन्धानको आधारमा वेम्ब्ली शाखाका मिफुरुङ समूहका करिस्मा थापा, सन्दिप राना, समीक्षा राना, सङ्गीता थापा र दिपक मैथाने, युएचएसबी शाखाका युवाहरु आरती थापा, प्रिया पुन, वर्षा थापा, रइसा राना, अमित बुरा, रेमन राना, रस्मिता थापा र अनिल थापा, सारान्या नाच ब्राइन बुढा, ब्रायन बुढा, प्रत्युस रोका र जुङ्सन रोका मगर, टन्ब्रीजका बिशाल राना, नुतन श्रीस, विकास राना र रुबिना थापा श्रीसलाई हौसलासहित नगद, खादा र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो वर्ष विभिन्न बिधामा पुरस्कृत निशु राना (बक्सिङ च्याम्पियन) गोर्खा कप २०२१ विजयी टीमका (जतिन राना, सुमन राना र अल्विन भुजेल), क्रिशा थापा जुनियर गल्फ च्याम्पियनलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम समापन गर्नु अगाडि युवा समितिका अध्यक्ष किशोर रानाले संस्थाका अध्यक्ष सुनिल रानालाई यो कार्यक्रमको अवधारणाा ल्याउनु भएकोमा धन्यवाद दिएका थिए।
संस्थाका अध्यक्षले कार्यक्रमको महत्त्व दर्शाउँदै यस्ले कसलाई के फाइदा गर्छ र युवाहरु नै भविस्यका कर्णधार भएकोले सबैलाई एक आपसमा चिनाउने, मगरको बारेमा गहिरो खोज अनुसन्धान गरी सबैको लागि अत्यन्तै जानकारीमूलक, ज्ञानवर्धक, सूचना र प्रोत्साहन मिलेको बताए । आर्थिक सहयोग गरी कार्यक्रम सफल बनाइदिनु हुने सम्पूर्ण ब्यवसायीहरु, शाखाहरु र ब्यक्तिगत सहयोगी, प्यालेस रेस्टुरेन्ट र उपस्थित सबैलाई उनले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री