विश्वप्रकाश शर्माले काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महाधिवेसनमा महामन्त्री पदमा उम्मेदवार दिने भएका छन् ।

महासचिव पदका लागि उनले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

अवधारणापत्रमा शर्माले पार्टीको १४औं महाधिवेशनमा राजनीतिक परिवर्तनको अनिवार्यतामा जोड दिएका छन् । चौधौं महाधिवेशनको क्रममा एकातर्फ विगतको आत्मसमीक्षा गर्नुपर्ने र अर्कातर्फ भविष्यको आत्मचिन्तन गर्नुपर्ने उल्लेख गरेका छन् ।

शर्माले स्थापनाकालमा विपी कोइरालालगायत अग्रजले देशसामु राखेको संकल्प र सपनाले हासिल गरेको उपलब्धिप्रति एकातर्फ गौरब त अर्कातर्फ कार्यसम्पादनमा रहेका कमजोरीको इमान्दार पहिचान गर्दै बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने नवीन संकल्प र सपनाको रेखांकन अबको कांग्रेसले गर्नुपर्ने औल्याएका छन् ।

इतिहासको कालखण्डमा विपीले देशका लागि देखेको सपनालाई एक्काइसौ शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर ‘समयसापेक्ष सपना’का साथ कांग्रेस अघि बढ्नुपर्ने उनको अवधारणा छ ।

‘यो यात्राले कांग्रेसको रुपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगतितर्फको आकांक्षालाई सम्बोधन गर्न सक्नुछ । चौधौं महाधिवेशन क्रममा यि समग्र विषयमा हामीले चिन्तन गर्नुछ,’ अवधारणापत्रमा भनिएको छ ।

कांग्रेस युवा नेता शर्माले २४ भदौमा बिपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री