काठमाडौँ। पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराउन थालिएको छ ।
मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ । विशेष पूजा भने आजदेखि खुला नगरिएको पशुपति विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।
आज बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको उहाँले सुनाउनुभयो । साढे चार महिनापछि खोलिएको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ । साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार कोषले क्षमापूजा गरेको थियो ।
विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो ।
महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय मन्दिर खुला गरिएको थियो । यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द गरिएको छ । आजदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको कोषले जनाएको छ । आज गणेश चतुर्थी पर्व परेकाले चन्द्रविनायक मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा