मंगलबार, असोज ५ २०७८ | Tue, September 21, 2021
नेपालको समय: ०७:४८ | UK Time: 03:03

कला र सिर्जनाको उपमा शशी दिदी

मुकेश राई
२०७८ साउन २४ गते ८:२३

जीवनमा देखेका दु:ख

सुख र विभिन्न परिवेशहरुसँग मैले यस्तरी मितेरी लगाएछु कि आफ्नो खुशी, दु:खका अनुभव र उकुसमुकुसहरुलाई गीतमा पोखाउन थालेछु र गीतहरुको चाङ चुलिदै आएछ । आदरणीय दिदी शशी थापा सुब्बाकै गीति सङ्ग्रह “साँझकी शशी” मा लिखित उहाँकै शब्द सापटी लिएर लेख्न शुरु गर्दैछु । किनकी उहाँले कला, साहित्य र सामाजिक योगदानको विषयमा लेखिनु पर्छ भन्ने लागेको निकै भयो, आज बल्ल समय अनुकूल बनाएर लेख्न बसेको छु । हुनत उहाँ मात्रै होइन प्रवासमा रहेर आफ्नो भाषा, कला, संस्कार र सस्कृतिको श्रीवृद्धिको निम्ती कुनै न कुनै रुपमा लागिपरेका व्यक्तित्वहरुको कुरोहरु लेखिनु पर्छ भन्ने लाग्छ । लेख्ने कोसिस पनि गरिरहेकै छु ।

मैले दिदीलाई शुरुमा कलाकारको रुपमै चिनेको थिएँ । सन् १९९१ ताका हङकङमा शशी दिदीको श्रीमान् धनबहादुर थापा गुरुजी र म एउटै पल्टनमा थियौँ । डिजिटल जमानाको कल्पना पनि नगरिएको त्यो समयमा आफ्नो घर परिवारको फोटो फ्रेममा राख्ने चलन थियो, गुरुजीले पनि दिदीको फोटो राख्नु भएको थियो । गुरुजी र म एउटै कोठामा बस्ने भएकोले सम्बन्ध पनि नजिक भयो । विशेष रुपले दिदीलाई मैले त्यो बेला सम्मानपूर्वक चिन्नु वा सम्झनुको कारण गुरुजी धनबहादुर थापा मगरले सुनाइरहनु हुने उहाँको कला र सिर्जनाका कुरोहरु। दिदी धरानमा अनाम नाट्य समूहको कलाकार हुनु भएको अनि “तरेवा” चलचित्रमा उहाँ कलाकारको रुपमा आवद्ध हुनु भएको कुरोहरु नै थियो ।

लाहुरे जीवनमा प्रत्यक्ष भेट नभएको दिदीसँग सन् २००९ सालमा लण्डनमा नेपालबाट आउनु भएको कवि विश्वविमोहन श्रेष्ठको स्वागत कार्यक्रममा एउटा साहित्यिक कार्यक्रममा भेट भएको थियो । यसपछि कैयौं कार्यक्रमहरुमा दिदीसँग भेट हुँदै गयो, दिदीको बहुप्रतिभाहरुसँग झनै निकटता बढ्दै गयो । यही निकटताले कैयौं सिर्जनात्मक र व्यक्तिगत अप्ठ्याराहरुमा दिदी मलाई मार्गदर्शन गरिरहनु हुन्छ । यही आत्मियताले गर्दा कहिलेकाही लाग्छ मैले एउटी आदरणीय दिदी पाएको छु, शशी दिदी । सिर्जनात्मक काम, बेलायतको ब्यस्तता र पारिवारिक समयलाई अत्यन्तै नै सन्तुलित रुपले अगाडी बढाउनु भइरहेकी दिदीको व्यक्तित्व पनि उस्तै शालिन र भद्र लाग्छ ।

शुरुवाती दिनमा नेपाली चलचित्रका लोकप्रिय कोरियोग्राफर एव नृत्य निर्देशक प्रवेश बान्तावा राईसँग कत्थक नृत्य प्रशिक्षण लिएपश्चात चर्चित नृत्य गुरु देवदत्त ठटालसँग भारत नाट्यम र हिमालय कल्चर एसोसिएशन काठमाण्डौमा लोक नृत्यहरू सम्बन्धी २ वर्ष प्रशिक्षण लिएकी हुन् ।विसं २०३९ सालको तिहारमा सामूहिक देउसी भैलो कार्यक्रम गरेर संकलन भएको रकमले पहिलोपल्ट नाटककार शारदा सुब्बाद्वारा लिखित “देउरालीमा एक थुङ्गा फूल” नामक नाटक मन्चन गरेको अवस्मरणीय क्षण अझै सम्झिन्छिन् । उक्त नाटकको एक पात्रा चमेलीको भूमिकामा गरेकी सशक्त अभिनयले रङ्गकर्ममा दरिलो पाईला टेकिन् । साथै नाटकले पनि निकै लोकप्रियता हासिल गरेको थियो । त्यो बेलाको देउसी भैलो कार्यक्रममा गायिका पवित्र सुब्बा, गायिका अमृता थापा, गायक संगीतकार देवेन्द्र थापा, नाटककार एवं कानुन व्यवसायी शारदा सुब्बा, संचारकर्मी मोडल कला सुब्बा, अजय राई, विजय राई अनि दिल गुरुङ जस्ता चिरपरिचित स्रस्टाहरुको महत्वपूर्ण सहभागी रहेको थियो । उहाँहरुले थालनी गरेको सामूहिक देउसी भैलो कार्यक्रम सम्भवत धरानमा पहिलोपटक थियो जो आजसम्म पनि यथावत चल्दै आएको र उक्त कार्यक्रमबाट उठेको पैसा विभिन्न सामाजिक र सिर्जनात्मक कार्यमा खर्च गरिदै आएको छ ।

विसं २०४४ सालमा निर्देशक नविन सुब्बाको अध्यक्षतामा गठित “अनाम नाट्य समूह धरान” मा उहाँको सशक्त भूमिका रहेको थियो । त्यहाँ हुँदा उहाँले लामो समयसम्म नृत्य निर्देशक एवं कोरियोग्राफरको जिम्मेवारी सम्हालेकी थिइन् । यसै समयमा कवि टंक घिमिरेको बीस वर्ष शीर्षकको कवितालाई शास्त्रीय संगीतवद्ध गरी कत्थक नृत्य गरेकी उहाँ सम्भवत नेपाल मै यसरी कवितामा पनि नृत्य गर्ने नृत्याङ्गना हुन् । यही समूहमा रहँदा नै उहाँ कै अवधारणामा राष्ट्रिय गीतहरुमा कलात्मक नृत्य गर्ने परिपाटी बस्यो ।

यसैले हाल गीत, कविताहरु लेखिरहनु भए पनि उहाँले औपचारिक रुपमा कला यात्रा अभिनयबाट शुरु गर्नु भएको हो भन्दा अत्युक्ति नहोला । चर्चित रङ्गकर्मी सुनिल पोखरेलको लोकप्रिय टेलिसिरियल जेठो छोरो”मा एक प्रौढ महिला नैनादेवीको भूमिका निर्वाह गरेपछि त्यसै पात्र नैनादेवीको नामले उनी जनमानसमा चिनिन पुगिन् । उक्त नामको प्रभाव पछिसम्म पनि रहिरह्यो भन्ने कुरो दिदी कहिलेकाही अझै सम्झना गर्नुहुन्छ । यसपछि उहाँले निरन्तर विवश आकाश, नभेटिएको बाटो, कलियुगको रामायण, रहर, आजभोलि, हर्के अब के गर्ने जस्ता नाटकहरुमा सशक्त भूमिका निभाइन् । जसले एकतर्फ नवप्रवेशी कलाकारहरुलाई प्रेरणाको श्रोत जस्तै बनिन् भने आफैं पनि चर्चाको शिखरमा पुगिन् । यही सफलताले गर्दा उनको पाईला विस्तारै साना पर्दाका चलचित्रतर्फ उहाँको पाइला मोडियो । यसरी उनले तरेवा, बिषालु धुवाँ, आश, छर्किदेउ सिन्दुर लाशमाथि, जीवनधारा, क्याबिन गर्ल, छिमेकी जस्ता चलचित्रहरुमा पनि आफ्नो भूमिकालाई सशक्त ढङ्गले प्रस्तुत गरेकी छिन् ।

उहाँको नाम शशी थापा सुब्बा हुनुको रोचक प्रसङ्ग रहेछ । पहिले माइतीमा हुँदा आफ्नो नाम शशीकला सुब्बा थियो बिहे पछि दर्ता गराउने क्रममा श्रीमानको थर थपियो शशीकला थापा मगर । केही समय यही शशीकला थापा मगर नामबाट परिचित भइन् तर लिम्बु भाषाको चलचित्र “तरेवा” मा अनुबन्ध भएको समयमा उक्त चलचित्र निर्देशक नविन सुब्बाले कुनै विवाद नहोस् भन्ने कारणले समाचार र चलचित्रमा नै उहाँको नाम शशी थापा सुब्बा राखिदिए । त्यसपछि शशी थापा सुब्बा नामबाटै उहाँको परिचय बनिएको र शुरुवाती दिनहरुमा कसै कसैले तपाईं थापा मगर कि सुब्बा, लिम्बु भनेर सोध्ने गरेको स्मरण गर्नु हुन्छ ।

आफ्नो पिता पुर्खादेखि वीर गोर्खाली हुनुको गौरव बोकेकी सैन्य सुपुत्री उहाँको श्रीमान् पनि गोर्खाली सैन्य पेसामा नै आवद्ध सिपाही भएको कारण आफू पनि विदेश जानु पर्ने बाध्यताहरुले गर्दा चाहना भएर पनि आफ्नो सशक्त कला यात्रालाई निरन्तर रुपमा अघि बढाउन सकिनन् यद्यपि उहाँले गर्नु भएको समाजसेवाका सुकार्यहरुले अझै पनि धरानमा होस् वा बेलायतमा साथै उहाँसँग सहकार्य गरेका धेरैले प्रशंसापूर्वक सम्झन्छन् ।

विसं २०५०/ ५५ को ताका गठन भएको गोर्खा सैनिक महिला संघ सुनसरीको संस्थापक अध्यक्षसमेत रहेकी शशी दिदीले आफू अध्यक्ष रहिन्जेल लाहुरे परिवारहरुबाट लुगाफाटा र अन्य सरसमानहरु संकलन गरी सुकुम्बासी बस्तीमा अति नै न्यून मूल्यमा बिक्री गरी जम्मा भएको रकमले गरिब र असहाय महिलाहरुलाई सहयोग गर्ने गरेको सुनाउँदै, यसबाहेक संस्थाले एकजना स्थानिय साहित्यकारहरुको कृति वार्षिक रुपमा प्रकाशित गरिदिने र सम्मान गर्ने गर्दथ्यो । जसमा कवि बेनु आचार्यको “एक टुक्रा आकाश” (कविता सङ्ग्रह), कथाकार राजेश विद्रोहीको “बधशालाको तस्वीर” (कथा सङ्ग्रह) आदि प्रकाशित गरिदिएका थिए भने साहित्यकार गोविन्द विकललाई सम्मान पनि गरिएका थिए । यस संस्थाले भूपू सैनिक संगठनँग समान रुपमा भूपू गोर्खाहरुको न्याय र समान हक अधिकारको निम्ती गरेको आन्दोलनको फलस्वरुप बेलायती सैनिक वा सो सरहको हक अधिकार पाएकोमा आफू सन्तुष्ट रहेको ब्यक्त गर्छिन् ।

यसबाहेक पिण्डेश्वर वरपरका गरीब र सुकुम्बासीहरुको निम्ती प्रारम्भिक स्कुल संचालक, व्यवस्थापन समिति गठन गरी स्कुल चलाउने र शिक्षकहरुलाई समितिले नै तलब दिने गरेको थियो । यसैगरी धरानका तत्कालिन प्रहरी निरिक्षक शिवजी श्रेष्ठ एव प्रशासनसँग समन्वय गरेर चेलीबेटी बेचबिखन तथा बाल यौन शोषण नियन्त्रणको निम्ती महत्वपूर्ण कार्यमा संग्लग्न रही सेवा गर्नु हुन्थ्यो । यसैगरी ईन्द्रमाया राईको अध्यक्षतामा संचालित आमा समूहमा सचिवको कार्यभार सम्हालेर माओवादी द्वन्द्वकालको समयमा महिला हक अधिकारको निम्ती जागरुकता अभियान कार्यक्रमहरु गर्ने, एचआईभी एड्स लागेका र लागूऔषधी दुर्व्यसनीहरुका परिवार अनि नानीहरुको निम्ती प्रहरी तालिम लिएर सहयोग कार्य गर्ने गरेकी थिइन् साथै तिनीहरुमध्ये कोही आशक्त बिरामी परेको खण्डमा डाक्टर तपनसँग सहकार्य गरी निशुल्क उपचार अनि अवस्था गम्भिर भएमा इण्डियन आर्मी क्याम्प हस्पिटलमा उपरार्थ लगिने गरेको थियो ।

बाबा मेगदल नयोङ सुब्बा र आमा बिना राई सुब्बाको कोखबाट साउन ५ गते शनिवार दार्जिलिङको सुकिया पोखरीमा जन्मिएकी शशी दिदी स्कुले जीवनमा नै गीत र कविताहरु कोर्ने गर्थिन् । प्राय महिला मुक्ति, आत्मअभिमान र गौरवपूर्वक बाँच्नु पर्छ भन्ने विचार बोकेकी उहाँलाई लिम्बु समाजको छोरीचेलीहरु प्रतिको उदारता र स्वतन्त्रताले झनै सोचलाई बल पुर्याएको देखिन्छ । जसको कारण उहाँमा आफूले चिताएको गर्छु भन्ने दृढ इच्छाशक्ति र स्वतन्त्र विचारले कला र साहित्यका बहुआयामिक बाटोमा अग्रसर हुन पुगेकी छिन् भने समाजका विसङ्गतिहरुको विरुद्ध आवाज उठाउने गरेकी छिन् ।

आकाश ओडेर सुत्नेहरु

उठ फेरि क्रान्ति बोकेर

तिमीले ओढेको आकाश

अझै स्वतन्त्र भएको छैन !

उहाँको यी कविताका अंश हेर्दा कला, साहित्य, रङ्गकर्म, समाजसेवा मात्रै नभएर राजनैतिक चिन्तनमा पनि राम्रो दक्खल भएको भेटिन्छ । सामाजिक विसङ्गतिहरुको विरुद्धमा खरो रुपमा प्रस्तुत हुने उहाँको कविता, गीत, गजल, मुक्तक जस्ता छोटा विधाका सिर्जनाहरुमा मौलिक निजत्व, जातिय संवेदना र सह अस्तित्वका विषयहरुलाई सुन्दर र शालिनताका साथ अभिव्यक्त गर्नु हुन्छ । अहिले गीत, संगीतमा कमसल सिर्जनालाई पनि पैसाको भरमा बजारमा ल्याउने कसरतमा लागेका मान्छेहरु र चर्चाको निम्ती लाखौं खर्च गर्ने सर्जकहरुलाई उपयुक्त वातावरण र साधना गरेर आफ्नो सिर्जना ल्याउन सल्लाह दिनुहुन्छ भने जस्तोसुकै रचनाहरु पनि पैसाकै भरमा संगीत भरिदिने र गाइदिनेहरुप्रति आफ्नो त्यसो नगर्न रोषपूर्ण विपुल आग्रह गर्नुहुन्छ ।

बेलायत आएपश्चात उहाँले रङ्गकर्मलाई पनि निरन्तरता दिने प्रयास गर्दै दुईवटा एकांकी लेखन र निर्देशन गर्नु भएको छ । नारी दिवसको उपलक्ष्यमा नारी प्रधान एकांकी “कान्छी, झापामा अवस्थित रत्न वृद्धा आश्रमको सहयोगार्थ “आत्मसन्तुष्टि” अनि गोर्खा वेल्फेयर सोसाईटीका युवा समुहसँग सामूहिक लेखनमा पूर्णांकी चाहिँ गोर्खालीहरुको जीवनका कथाव्यथा समेटिएको “बन्धकी जिन्दगी” निर्देशन गरेकी हुन् । यसबाहेक बेलायतमा हुर्कदै गरेका युवा पुस्ताका नानीहरु र तथा महिला कमिटीका दिदिबहिनीहरुलाई लाई उद्घोषण तालिम दिने कार्यक्रमहरु संचालन गर्नु भएको छ ।

सन २०१९ मा उहाँको गीतिसङ्ग्रह “साँझकी शशी” प्रकाशित भएको थियो । यद्यपि गीत लेखन उहाँको सिर्जनात्मक पक्षका एउटा अंश मात्रै हो । यद्यपि यसैमार्फत पनि विशुद्ध नेपाली कला र संस्कृतिलाई निजत्व दिएकी छिन्, सुन्दर शैलीबद्ध गरेकी छिन् । लोक भाकाका शब्द, विम्व र प्रतीकहरुलाई कुशलतापूर्वक आफ्नो गीतहरुमा समाविष्ट गरेर मौलिकता प्रस्तुत गरेकी छिन् ।

सपना ठूलो पाइ पाइ जोडी किन्नु छ आना सुन

टायरको फ्याङटा टालेको दौरा ढाकरमा ढिके नुन !

टाउकोमा थाप्लो काँधैमा खकन तोक्मा चाह हातैमा

बिसाउँदा भारी मनैको पिर बजाउँछ पातैमा …

 

जस्ता ग्रामीण जनजिब्रोमा झुण्डिएका शब्दहरु संयोजन होस वा

जिन्दगी कैले दियो झै जल्छ

कहिले आफै आधी भै चल्छ

बुझ्न खोज्दा खोज्दै यसले

हर मोडमा रुप बदल्छ …

जस्ता जीवन दर्शनका गहिराईमा डुबिएका शब्द संयोजन, गीतिकारीतामा पनि उहाँ खरो उत्रित्नु भएको छ । परदेशिनु बाध्यता कि रहर ? जीवनलाई परिस्थिति र परिबन्द्ले अनेक भोगाइ र अनुभूतिहरुसँग बाँच्न सिकाउँछ तर मलाई सधैं यो प्रश्नले सोच्न बाध्य गराउँछ । आखिर हाम्रो नियति नै किन यस्तो कि लाखौं युवापुस्ता विदेशमा भौतारिन बाध्य छौं ? यही रहर र बाध्यताको पौठेजोरी खेल्दै २०० वर्षभन्दा बढीको गौरवपूर्ण इतिहास बोकेको गोर्खाली सिपाही र उनीहरुका परिवारहरुले आवासीय भिसा पाएसँगै बेलायतमा पनि नेपालीहरुको सघन बस्ती बसिसकेको छ । यसैसँग हामीले ल्याएका छौं आफ्नै थातथलो र माटोको सुगन्ध, आफ्नै कला, भाषा, संस्कार, संस्कृतिहरुको चिनारी जसले हामीलाई अनेकतामा एकता र बेलायतको बहुल सांस्कृतिक समाजको एउटा अंश बनेर बाँच्न सिकाएको छ । यसै समाजमा भित्रिएका छन् र जन्मिरहेका छन् शशी थापा सुब्बा जस्तै बहुआयामिक व्यक्तित्वहरु अनि गरिरहेकै छन् सामाजिक र सिर्जनात्मक कर्म । आफ्नै आमाको पदचाप टेकेर उक्लिरहेकी नेपाली चलचित्रमा स्थापित हुँदै गरेकी मिरुना थापा मगर, जसले आफ्नी आमाले जस्तै गोर्खाली हुनुको आत्मा गौरव र आत्माभिमानले अघि बढिरहेकी छिन्, यो श्रेय अवश्य पनि शशी दिदी अनि हरेक पाईलामा दिदी र परिवारलाई सामाजिक र सिर्जनशील यात्रामा दरिलो साथ सहयोग दिँदै आउनु भएका सबैको भेनाज्यू अर्थात् धनबहादुर थापामा जानेछ ।

बेलायत हाम्रो निम्ती कर्मथलो हो, जीवन आफ्नै दैनिक कार्यब्यस्तताले भरिएको छ तर पनि यो ब्यस्ततालाई पन्छाएर कुनै न कुन कर्म सामाजिक र सिर्जनात्मक कर्म गरिरहेकै छिन् शशी दिदी। यसरी नै कुनै साहित्यिक वा सामाजिक कार्यक्रममा उद्घोषकको रुपमा होस् वा सहयोगीको उहाँको सहभागिता रहेकै हुन्छ ।

उहाँले सन् २०१४/१५ ताका बेलायतमा हुर्कदै गरेका नयाँ पिढीका युवाहरुलाई उत्साहित गर्न र जोश भर्न “पुस्तान्तर” नामक अन्तरङ्ग कार्यक्रम पनि युकेको अनलाई टिभीमार्फत चलाउनु भएको थियो, कार्यक्रम लोकप्रिय हुँदै गए पनि समयाभाव, आर्थिक र प्रविधिक जटिलताको कारण छोड्नु परेकोमा दु:ख ब्यक्त गर्नुहुन्छ ।

आफ्नो कार्यब्यस्तता, समाजसेवा र सिर्जनात्मक यात्रासँगै पारिवारिक जिम्मेवारीहरु पनि उत्तिकै सकृयता र सफलताका साथ अघि बढाइरहनु भएकी दिदी हाल आफ्नो श्रीमान धनबहादुर मगर अनि दुई छोरीहरु एलिजा र मिरुनाको साथ नर्थहोल्ट लण्डनमा रहदै आउनु भएको छ । पुर्ख्यौली धरान भए पनि समयले दिएको अवसर भनेर बेलायत आईपुगेका उहाँले भविष्यमा फेरि नेपाल नै गएर आफ्नो जीवनको उतरार्ध  ब्यतित गर्ने इच्छा रहेको बताउँछिन् ।

जीवनको हरेक आयाममा कुनै न कुनै रुपमा आफ्नो क्षमता र अवसर मिलेसम्म कला, सिर्जना र सामाजिक अभियन्ताको रुपमा सहभागिता जनाएर एउटा सफल र गतिशील जीवन बाँचिरहनु भएकी दिदीको बाँकी समय अझै उर्जाशील बनोस् भन्ने शुभेच्छाका साथ उहाँकै गीतका आंशिक हरफहरु शेयर गर्न चाहन्छु ।

अन्जुली भरिका सपनाहरु थोपा थोपा झरिरहेछन्

उदाउने घामको लालीसँगै मेरा दिनहरु मरिरहेछन्

भित्र र बाहिरको साँधमा नाघ्नै पर्ने संघार मेरो

शायद यही नै हुनुपर्छ जीवनको मध्यान्तर  मेरो !

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक