इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

दुबई। इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधान न्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ ।
न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गर्नु भएको थियो ।
सन् १९८८ मा हजारौं राजनीतिक बन्दीहरुको सामूहिक हत्याको आरोप खेप्दै आउनु भएका राइसीमाथि संयुक्तराज्य अमेरिकाले प्रतिबन्धहरु लगाइरहेको छ । साथै उहाँमाथि सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुँदा धेरै मानिसलाई मृत्युदण्ड दिनेगरी फैसलाहरु गर्नु भएको आरोप छ ।
यस पटकको राष्ट्रपति निर्वाचनमा सुधारवादी पक्षधरहरुको उम्मेदवारी नै रद्द गरिएका कारण पनि राइसीले चुनाव सहजै जित्ने अनुमान गरिएको थियो । यसपटक चार जना मात्र चुनावी मैदानमा थिए ।
इरानी सर्वोच्च नेता खामेनीको संयोजकत्वमा गठित समितिले उम्मेदवार छनौटमा मनोमानी गरेको भन्दै त्यसको विपक्षमा रहेकाहरुले मतदान बहिस्कार गर्न आह्वान गरेका कम मतदान भएको अड्कल गरिएको छ । धेरै मानिस मतदान गर्न जानुको साटो घरमै बसेका थिए ।
इरानमा कूल पाँच करोड ९० लाख मतदाता मध्ये करिब दुई करोड ८९ लाखले मात्र मतदान गरेका थिए । मतदानमा सहभागीमध्ये पनि करिब ३७ लाखको मतपत्र बदर भएको छ ।
इरानी राज्य नियन्त्रित टेलिभिजनले कम मतदाता सहभागी हुनुमा कोरोनाभाइरस महामारी र अमेरिकी प्रतिबन्धहरु मुख्य रुपमा जिम्मेवार रहेको बताएको छ ।
एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामार्डले इब्राहिम राइसीमाथि मानव हत्या, जबर्जस्ती बेपत्ता र यातनाजस्ता मानवता विरोधी अपराधको अनुसन्धान हुनुको साटो राष्ट्रपतिमा निर्वाचित हुनु बिडम्बना रहेको बताउनुभएको छ ।
आधिकारिक घोषणामा राइसीले समग्रमा एक करोड ७९ लाख मत प्राप्त गर्नु भएको देखाइएको छ । कूल मतदान भएको मध्ये राइसीले झण्डै ६२ प्रतिशत मत प्राप्त गर्नु भएको छ । दोस्रो स्थानमा रहनु भएका पूर्व कट्टरपन्थी रिभोल्युसनरी गार्डका कमान्डर मोहसेन रेजाईले ३४ लाख मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपति हस्सन रौहानीको समर्थनप्राप्त केन्द्रीय बैंकका पूर्व प्रमुख अब्दोलनास्सेर हेम्माटीले २४ लाख मत प्राप्त गरी तेस्रो स्थानमा रहनु भयो । अमिरहोसेन घाजीजादेह हाशेमीले १० लाखभन्दा कम मत प्राप्त गर्नु भएको थियो ।
मतगणनाको नतिजा सार्वजनिक गर्दै गृहमन्त्री अब्दोलरेजा रहमानी फाज्लीले बदर भएको मतको संख्या खुलाउनु भएको थिएन । सन् २०१७ र २०१२ मा भएका मतदानमा करिब १२ लाख मत बदर भएका थिए । इरानमा चुनावमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति दिइएको छैन ।
सिरियाका राष्ट्रपति बसार असादले राइसीलाई राष्ट्रपति पदमा निर्वाचित भएको भन्दै तत्कालै बधाई दिनु भएको छ ।
इरानका राष्ट्रपतिहरु प्रायः सबै दुई कार्यकाल पदमा रहेका छन् । इरानमा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री