बर्न्टओक नेपाली समाजद्वारा लमजुङ, जाजरकोट र एनआरएन युकेलाई अक्सिजन कन्सनट्रेटर सहयोग

लन्डन । नेपालमा कोभिड १९ का कारण सिङ्गै मुलुक प्रभावित भैरहँदा पश्चिम लन्डनस्थित एउटा सामुदायिक संस्था बर्न्टओक नेपाली समाजले नेपालमा तीन ओटा अक्सिजन कन्सनट्रेटर पठाएर सहयोग गरेको छ।

समाजले एनआरएनए युकेमार्फत एक, जाजरकोट जिल्ला अस्पतालका लागि एक र लम्जुङ्गको मर्स्यांग्दीस्थित कोभिड अस्पताललाई एक गरी ३ ओटा अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाएको छ।

“नेपालमा कोभिडका बिरामीहरुलाई अक्सिजनको अभाव भएको भन्ने खबरहरु पढ्दा, सुन्दा हामीलाई निकै चिन्ता लाग्यो। तत्काल समाजको बैठक बसेर सक्दो सहयोग गरौँ भनेर यो अभियान शुरु गरेका हौँ,” समाजका अध्यक्ष बिष्णु गुरुङले भने।

समाजले संकलन गरेको कूल २ हजार १०० पौण्डमध्ये एनआरएनए युकेलाई ७०० पौण्ड नगद सहयोग गरेको छ भने जाजरकोट र लम्जुङ्गका लागि अक्सिजन कन्सनट्रेटर किनेर पठाएको छ।

“भूकम्पको बेला होस् वा कोभिडको बेला, नेपालमा कुनै पनि संकट आउँदा प्रवासमा रहेका नेपालीहरुले मन खोलेर सहयोग गर्ने गरेका छन्,” समाजका पूर्व अध्यक्ष तथा लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङले भने। “कोभिड संकटका बेला हामीले गरेको सानो सहयोग पनि नेपालमा कैयौंको जीवन जोगाउन महत्वपूर्ण हुने छ भन्ने हामीले विश्वास लिएका छौं।“

गत वर्ष पनि कोरोनाका कारण नेपालमा पहिलो पटक लकडाउन हुँदा रोजगारी गुमाएका श्रमिकहरुलाई सहयोग गर्न समाजले २ हजार २३५ पौण्ड (नेरु ३२८,५४५) लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेलमार्फत सहयोग वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री