बेलायतका १६ सांसदले विदेशमन्त्री राब समक्ष नेपाललाई खोप उपलव्ध गराउन गरे अनुरोध

बेलायतका १६ सांसदले नेपाललाई तत्कालै खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री पठाइदिन आफ्नो सरकारसँग माग गरेका छन् । नेपालमा कोरोना भाइरसको विस्तार विश्वकै उच्च गतिमा भइरहेको भन्दै उनीहरूले बेलायतका विदेशमन्त्री डोमिनिक राबलाई पत्र लेखेका छन् ।

नेपालमा संक्रमितमध्ये भाइरसको इन्डियन भेरिएन्ट ९७ प्रतिशतमा देखिएको र दु्रतगतिमा फैलिँदै गरेको, स्वास्थ्य पूर्वाधार, अक्सिजनलगायतको अभाव भएको उल्लेख गर्दै उनीहरूले तत्कालै सहायताका लागि आग्रह गरेका हुन् । बेलायतका १६ जना सांसदका तर्फबाट सांसद क्रिस्टी ब्ल्याकमेनले तीन पृष्ठ लामो पत्र लेखेकी हुन् ।

उनले मंगलबार विदेशमन्त्रीलाई पठाएको पत्र ट्विटरमा सार्वजनिक गरेकी छिन् । उनीसहित पत्रमा माइक एम्सबेरी, सराह चम्पियन, एलन डोरान्स, प्याट्रिक ग्रेडी, निल हानभेई, क्रिस ल, क्यारोलिना लुकास, केन्नी म्याक्सअस्किल, स्टेवार्ट म्याकडोनाल्ड, क्यारोलिन नोक्स, टोमी सेपर्ड, जराह सुल्ताना, एलिसन थेल्विस, क्लाउडिया बेब्बे र माइक ह्वाइटको हस्ताक्षर छ ।

पत्रमा नेपालमा संक्रमित दर ५० प्रतिशतको आसपास रहेको, कतिपय समुदायमा ९० प्रतिशतमा पुगेको तथा कुल जनसंख्याको सात प्रतिशतले पहिलो डोज खोप पाएको र दुई डोज खोप लगाउनेहरूको संख्या दुई प्रतिशत आसपास मात्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले पत्रमा भनेका छन्, ‘यो स्थिति नेपालका लागि मात्र ठूलो प्रकोप होइन, कोभिड– १९ बाट निको हुने सन्दर्भमा विश्वका लागि नै जोखिमसमेत हो ।’

उनीहरूले प्रधानमन्त्री केपी ओलीले द गार्जियनमा लेखेको लेख तथा बेलायतका ५० जना प्रबुद्ध व्यक्तिहरूले गत साता विदेशमन्त्रीलाई ताकेता गरेको सन्दर्भसमेत पत्रमा उल्लेख गरेका छन् । एक साताभित्रै नेपाललाई खोप आपूर्तिका लागि ताकेता दिँदै हस्ताक्षर गर्नेहरूको संख्या १० हजार पुगेको पनि उनीहरूले विदेशमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । संयुक्त राष्ट्रसंघले पनि दुई साताअघि नेपालमा कोभिडको नियन्त्रणका लागि आठ करोड ३७ लाख अमेरिकी डलर आवश्यक पर्ने घोषणा गरेको पनि स्मरण गरेका छन् ।

हाउस अफ लर्डस् र हाउस अफ कमन्समा पनि नेपालबारे छलफल भएको भन्दै सांसदहरूले आपत्कालीनबाहेकका सामग्रीका विषयमा सरकारको ध्यान गएको गुनासो गरेका छन् । भारतबाट कोभ्याक्स सुविधाको २० लाख डोज पनि पूरै नआएको तथा नेपालका लागि यो संख्या अपर्याप्त रहेको स्मरण गर्दै सांसदहरूले भनेका छन्, ‘यदि कोभ्याक्स सुविधाअन्तर्गत खोप दिन अहिले सकिन्न भने पनि नेपालका लागि बेलायत सरकारले बेग्लै अतिरिक्त प्रबन्ध गर्न नयाँ उपाय पत्ता लगाउनुपर्छ । विश्वका धनी मुलुकहरूले राखेको अतिरिक्त खोपको मौज्दातबाट सहयोग गर्नुपर्छ ।’

उनीहरूले अघिल्लो महिना नेपाल प्रहरीका लागि बेलायतले दिएको सहयोगले केही काम गरेको, तर त्यो बेलायतले विशेष रेस्पोन्स नहुने पनि भनाइ राखेका छन् । बेलायतले सैनिक जहाजबाट यही साता एक सय ३० वटा भेन्टिलेटर पठाउन लागेकोमा सन्तोष व्यक्त गर्दै उनीहरूले बेलायतका विभिन्न संघसंस्थाबाट नेपालका लागि जम्मा भएका पाँच सय भेन्टिलेटरमध्ये बाँकी तीन सय ७० किन नपठाउन खोजिएको भन्दै प्रश्नसमेत गरेका छन् ।

नेपालले स्विट्जरल्यान्ड, अस्ट्रेलिया, क्यानडा, स्पेनलाई पनि खोपका लागि पत्र लेखेको सन्दर्भ उल्लेख गर्दै उनीहरूले नेपाललाई खोप सहयोग गर्नुपर्ने बेलायतको नैतिक तथा कूटनीतिक दुवै दायित्व रहेको पनि स्पष्ट पारेका छन् ।

नेपालका गोर्खाहरूको बटालियन धेरै द्वन्द्वहरूमा बेलायतका पक्षमा उभिएको र नेपालसँग बेलायतको लामो समयदेखिको मित्रताको पृष्ठभूमि स्मरण गर्दै पत्रमा नेपाली मूलका एक लाख बेलायती नागरिकले पनि यसबीचमा पटकपटक विदेश मन्त्रालयलाई ताकेता गरिरहेको उल्लेख छ । उनीहरूले पत्रमा भनेका छन्, ‘हामीले नेपाललाई आपत्कालीन रूपमा किन सहयोग गरेनौँ ? अप्ठेरो अवस्थामा हामीले नेपालको छिमेकी भारतलाई निकै सहयोग गर्‍यौँ, तर त्यही भाइरसको भेरियन्टले पीडित नेपाललाई सहयोग किन गरेनौँ ? नेपाललाई तुरुन्तै आवश्यकता छ ।’ (नयाँ पत्रिका)

प्रतिक्रिया

सम्बन्धित सामाग्री