नेपाललाई अक्सिजन लगायतका सामग्री उपलब्ध गराउन बेलायती विज्ञहरुको अपील

लन्डन । बेलायतमा विभिन्न क्षेत्रमा चर्चित  ५० बढी व्यक्तित्वहरुले कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित नेपालमा अक्सिजन लगायत अत्यावश्यक सामग्री उपलब्ध  गराउन बेलायत सरकारसित माग गरेका छन् ।

चर्चित अभिनेत्री जोआना लम्लीसहित बेलायती वैज्ञानिक, प्राज्ञिक व्यक्तित्व, आरोही, गोर्खा र नेपालका निकट बेलायतीहरुले बेलायती विदेश मन्त्री डोमिनिक राबलाई एक खुल्ला पत्र लेख्दै कोभिड १९ का कारण स्वास्थ्य संकट झेलिरहेको नेपालमा अक्सिजनसहित आपतकालिन औषधि सहयोग गर्न माग गरेका हुन् ।

यसरी माग गर्नेहरुमा अभिनेत्री लम्ली, सर माइकल पालिन, सर क्रिस बोनिंगटन, ब्रिटिश जनस्वास्थ्य विज्ञ तथा खोप अनुसन्धाता सर जेरेमी फरार, सराह गिल्बर्ट, एन्ड्रियू पोलार्ड, निकोलस हवाइट, एड्रियन हिल, पिटर होर्बी, फिलिप गुरिन, एलेन टाउनसेन्ड, स्याण्डी डगलस, गोरखा भिसी विजेता क्याप्टेन रामबहादुर लिम्बु लगायतले change.org अनलाइनमार्फत नेपाललाई  तत्काल सहयोग गर्न ब्रिटिश सरकारलाई अनुरोध गरेका छन् ।

यसरी माग गर्नेहरुमध्ये गोर्खा वेलफेयर ट्रस्टका अध्यक्ष जनरल साम कोवानले “गोर्खा भर्तीमार्फत नेपालसंग हाम्रो २०० वर्ष भन्दा पुरानो सम्बन्ध रहेको छ ।  म ब्रिटेनलाई नेपालीहरुको पीडा कम गर्न अगाडी सर्न अपील गर्दछु।  हामीसंग धेरै समय छैन । ”

यस अभियनमान पर्वतारोही, ब्रोडकास्टर्स, फिल्म निर्माता, सैनिक, लेखक र प्राध्यापकहरु पनि जोडिएका छन् ।

“बेलायत र नेपालबीच शताब्दीऔं लामो पृथक र पुरानो सम्बन्ध छ । हामी पुरानो मित्रराष्ट्रको दुःखमा एकसाथ हुने बेला आएको छ,” पत्रमा भनिएको छ ।

सर क्रिस बोनिंगटनले भनेका छन्, “म आफैंले देखेको छु कि नेपालको पहाडी भेगबाट आएका नेपालीले ब्रिटेनका लागि वर्षौंदेखि कति योगदान गरेका छन् भनेर  । मलाई आशा छ नेपालीको दुःखमा बेलायत सरकारले  सहयोग गर्ने छ  ।”

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले भने, ” नेपाल परम्परागत रुपमै ब्रिटेनको सहयोगी मुलुक हो । म नेपालले संकट व्यहोरी रहेको यो बेला बेलायतले हरसम्भव सक्दो मदत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । ”

संयुक्त राष्ट्रसंघका अनुसार करिब २ करोड ९० लाख जनसंख्या भएको नेपालमा  कोभिड १९ संक्रमणदर अहिले अप्रत्यासित रुपमा बढेको छ र  भाइरसको संक्रमण विश्वमै उच्च छ ।

कमजोर स्वास्थ्य प्रणालीले नेपाल अहिले स्वास्थ्यको चरम संकटमा छ । अस्पतालका बेडहरु भरिएका छन् भने मानिस अक्सिजन अभावका अकालमै मरिरहेका छन् ।

सो अभियानलाई सर्वसाधारणले पनि तलको लिङ्कमा क्लीक गरी समर्थन र ऐक्यवद्धता जनाउन सक्नेछन् ।

https://www.change.org/p/the-rt-hon-dominic-raab-mp-uk-send-oxygen-to-nepal-now?utm_content=cl_sharecopy_28944096_en-GB%3A4&recruiter=50255449&recruited_by_id=b0e6b160-85cb-0130-eea7-3c764e049b13&utm_source=share_petition&utm_medium=copylink&utm_campaign=psf_combo_share_initial&utm_term=petition_dashboard&fbclid=IwAR1ia08bUQOHsRNy7jelYJBTPyftpVMQcMSdvp9mqw587QO7Yl-hX4k6dFw

प्रतिक्रिया

सम्बन्धित सामाग्री