के हो हाम्रो अभियान? किन बन्ने एनआरएनए यूकेको सदस्य?

गैरआवासीय नेपाली संघ बेलायतलाई सम्पूर्ण बेलायतबासी गैरआवासीय नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्दै संस्थालाई जनमुखी, पारदर्शी एवं विधि र विधानअनुरुप चल्ने स्वच्छ अभिभावक संगठनको रुपमा प्रत्येक नेपालीको आशाको केन्द्र बिन्दुको रुपमा स्थापित गर्ने प्रयास हो हाम्रो। गैरआवासीय नेपाली संघ बेलायतलाई एक विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित गर्दै यस संस्थालाई सबल र सक्षम बनाउँदै सामाजिक परोपकारी संस्थाको रुपमा चिरपरिचित गराउन प्रयास गर्ने हो हाम्रो अभियान।
बेलायतबासी गैरआवासीय नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ बेलायतका विभिन्न गतिविधिहरु यहाँहरुले नजिकबाट नियालीरहनु भएको यस परिप्रेक्ष्यमा बेलायतबासी गैरआवासीय नेपालीहरु माझ फेरि एकपटक निर्णायक समय नजिकिँदै गरेको छ।
एकातिर संस्थाभित्र आर्थिक अपारदर्शितादेखि विधि र विधानअनुसार जिम्मेवारीपूर्ण कार्य सम्पादन हुन नसकेको गुनासो घाम जस्तै छर्लंग छ भने अर्कोतिर संस्थागत पारदर्शिता तथा संगठनात्मक सुद्दिकरणको आवाजको सही सम्बोधन नहुने परिस्थिति विकसित हुँदै अदालतको ढोकासम्म पुगेको नमीठो अनुभव छ हामीसंग।
विगतमा भए गरेका संस्थागत त्रुटीहरुलाई नजिकबाट केलाउँदै, संस्थागत त्रुटिहरु हुनाका कारणहरुको सही अध्ययनका साथ त्रुटी भएकोमा पूर्ण रुपमा जवाफदेही बनाउँदै भविष्यमा त्यस्ता खालका गलत प्रवृतिहरु नदोहोरिने संकल्पका साथ समाज सेवामा अविछिन्न रुपमा लाग्नुको कुनै विकल्प छैन । यस परिस्थितिमा विभिन्न क्षेत्रबाट अनुभवी व्यक्तित्वहरु सम्मिलित एक कुशल नेतृत्वको विकास गर्दै गैरआवासीय नेपाली संघ बेलायतलाई नितान्त सामाजिक सेवामूलक संस्थाको रुपमा विकास गर्ने हाम्रो अभियान हो।
हाम्रा आगामी मुख्य कार्यहरु:
१. गैर आवासीय नेपाली संघ बेलायतलाई नर्दन आयरल्याण्ड, वेल्स, स्कटल्याण्ड हुँदै इंगल्याण्डका सबै क्षेत्रमा क्रियाशील बनाउँदै सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्दै सबै नेपालीको अपनत्वको खातिर एकजुट गराउन पहलकदमी गर्ने।
२. नेपाली नागरिकताको निरन्तरता र नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षाको लागि बृहत अभियान चलाउने ।
३. भूतपूर्व गोर्खा सैनिकहरुको न्याय र समानताको पक्षमा डटेर मुकाविला गर्ने ।
४. गैरआवासीय नेपाली संघ बेलायतलाई आर्थिक रुपमा पारदर्शी, सबल र सक्षम एवं जिम्मेवार संस्थाको रुपमा स्थापित गर्ने ।
५. बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाहरुसंग सामाजिक सम्बन्ध विकास गर्दै गैर आवासीय नेपाली संघसंग सहज रुपमा सहकार्य गर्ने वातावरणको सिर्जना गर्ने ।
६. जनहितसंग प्रत्यक्ष सरोकार राख्ने कार्यहरुमा संस्थागत कोष सही परिचालन एवं नेपाली भाषा, कला, साहित्य, संस्कृति, खेलकुद तथा पर्यटन प्रवर्द्धन साथै लगानी एवं विकासका लागि कार्य गर्ने ।
७. गैरआवासीय नेपाली संघ बेलायतका पूर्वजहरु एवं बेलायती नेपालीहरुको मनोभावना र चाहनाअनुसार नेपाल हाउस प्रोजेक्ट सफल पार्न जुट्ने ।
८. बेलायती नेपालीहरुका सुखदुखमा साथ, सहयोग र सुझावका लागि गैर आवासीय नेपाली संघ बेलायतको आफ्नै सम्पर्क कार्यालय दीर्घकालिन रुपमा संचालनमा ल्याउन पहल गर्ने ।
हाम्रो चाहना गैरआवासीय नेपाली संघ बेलायतलाई शुद्धीकरण गर्दै जनमुखी संस्थाको रुपमा स्थापित गर्ने भन्ने हो। यस संस्थाअन्तर्गत कार्य तथा सहकार्य गर्ने हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरुमा सामाजिक, आर्थिक तथा अत्यावश्यक वैधानिक एवं कानुनी सचेतना वृद्धि गर्दै सही नेतृत्व विकास गर्ने दीर्घकालिन अभियान हो यो । त्यसैले हामीले गरेका प्रत्येक संस्थागत क्रियाकलापहरुमा पूर्ण सचेत एवं पूर्ण जिम्मेवारीका साथ अगाडी बढेका छौँ। अहिलेको यस परिस्थितिमा तपाईंहरुले सकेको सहयोग गरी हाम्रो यस अभियानमा साथ दिनु हुनेछ भन्नेमा पूर्ण आशावादी रहेका छौँ।
एनआरएनए यूकेको सदस्यता दर्ता गर्नको लागि https://members.nrna.org/signup मा गएर वा मोबाईलमा Smart NRNA App डाउनलोड गरेर सदस्यता दर्ता गर्न सकिनेछ।
सदस्यता सम्बन्धी केही जिज्ञासा भएमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ।

(लेखक  एनआरएनए  यूकेका उपाध्यक्ष हुन्)

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री