आइएलओको छानविन दायरामा एनआरएनए

 

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोभिड–१९ प्रभावित राहत तथा उद्धार परियोजनालाई उपलब्ध गराइएको आर्थिक सहयोग अपचलन भएको भन्दै उजुरी परेपछि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को जेनेभास्थित मुख्यालयले छानबिन सुरु गरेको छ ।

आईएलओले आप्रवासी नेपाली रहेको यूएई, कतार, साउदी अरब, मलेसियासहितका ९ मुलुकमा घरफिर्ती, उद्धार र राहतका लागि एनआरएनलाई १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

आईएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले परियोजनाअन्तर्गत यूएईमा केही आर्थिक दुरुपयोग भएको भन्ने उजुरी आएपछि जेनेभास्थित मुख्यालयले छानबिन गरिरहेको जानकारी दिए । ‘आईएलओमा जेनेभास्थित आर्थिक मामिला हेर्ने स्वतन्त्र इकाई अफिस अफ एक्सटर्नल अडिटरले यसबारे रिपोर्ट नदिइकन अहिल्यै केही भन्न सकिँदैन,’ उनले भने ।

गत सेप्टेम्बर पहिलो साता सुरु भएको परियोजनामा एनआरएनको यूएई राष्ट्रिय समितिले गत फेब्रुअरीसम्म गरेको आर्थिक कारोबारमा आशंका देखिएको भन्दै उजुरी परेको हो । यो सूचना बाहिर आउनासाथै एनआरएनएको अन्तर्राष्ट्रिय समिति (आईसीसी) ले सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । यो समितिले पनि यूएईमा पीडितको उद्धारका नाममा नक्कली बिल राख्नुका साथै खानेकुराको दाम बढाइएको र हवाई टिकट तथा पीसीआर शुल्कमा समेत हिनामिना गरिएको निष्कर्ष निकालेको छ । यूएईमा मात्रै झन्डै २० लाख रुपैयाँको हिनामिना भएको छानबिन समितिले जनाएको छ । विदेशी भूमिमा कुनै श्रमिक अलपत्र पर्दा वा उद्धार–समन्वय काममा आईएलओले काम गर्दै आएकामा उसले पहिलो पटक कोभिड महामारीमा पनि यस्तै समन्वयकारी काम गरेको हो ।

आईएलओ नेपाल निर्देशक होवार्डले मानवीय संकट र आप्रवासी नेपालीले बेहोरेको कठिनाइमा राहत–उद्धारका लागि आईएलओले सहयोग गरेको र यसमा एनआरएनएले सहयोग परिचालनको जिम्मेवारी लिएको बताए । ‘हामीले किस्ताबन्दीका रूपमा आर्थिक सहयोग प्रदान गर्दै आएका छौं, अहिलेसम्म ३ किस्ता रकम पठाइएको छैन । हाम्रो आन्तरिक छानबिनबाट कुनै आर्थिक अपचलन वा हिनामिनाको निक्र्योल आइनसकेकाले बाँकी आर्थिक सहयोग रोक्ने कारण र अवस्था छैन,’ उनले भने । छानबिनमा कुनै त्रुटि पाइए एनआरएनएलाई जिम्मेवार बनाउने गरी रकम क्षतिपूर्ति वा अन्य कारबाही प्रक्रिया अघि बढ्न सक्ने उनले बताए । (इकान्तिपुर)

प्रतिक्रिया

सम्बन्धित सामाग्री