९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धिलाई बेलायत सरकारले सही गोरेटोबाट बाहिर फालिदिएर गोर्खा सैनिकहरुले आफ्नो समकक्षीसरह पाउनुपर्ने पाउँदरहरुबाट बन्चित हुनुपरेको छ । तलव, भत्ता तथा अन्य सुविधाहरु आफ्नो समकक्षीहरुले पाउने भन्दा झन्डै १ हजार गुणा कम पाउँदर दिलाइएको छ । विश्वव्यापी मान्यताअनुरुप एउटै झन्डामुनी काम गर्ने कामदारहरुलाई हरेक कुराहरुमा समान व्यबहार गरिनु पर्दछ । यसो नगरेमा यो घोर श्रम शोषण हो । कसैमाथि गरिएको चरम विभेद हो र मानव अधिकारको चरम उल्लङ्घन हो । यी कुराहरुलाई केन्द्रबिन्दुमा राखेर गोर्खा सैनिकहरु आफ्नो, समानता, सम्मान र मानव अधिकारको कुरोलाई लिएर विगत तीन दशकभन्दा बढी समयदेखि ब्रिटिश सरकारसमक्ष आफ्नो माग तेर्स्याइरहेका छन् ।
ब्रिटिश सरकारको हठीपना र नेपाल सरकारको निरीहपनाको बाबजुद आफ्नो मागहरु पाउनको खातिर, विभिन्न गोर्खा सँगठनहरु एउटै मोर्चामा रहेर “ब्रिटिश गोर्खा सत्याग्रह सङ्घर्ष समिति” नामक संस्था खडा गरेर अघि बढिरहेका छन् । आफ्नो अभियानलाई सशक्त रुपमा अघि बढाएका छन् र केही साना-तिना कुरोहरु हात पार्न पनि सफल भएका छन् । यो उनिहरुको एकताको देन हो ।
यही एकताको बलले गर्दा सन् २०१३ को १५ दिने आमरण अनसन सफल भयो । यो मुद्दाको छानबिनसहित निराकरणको लागी तत्कालिन डेभिड क्यामरुन सरकार एउटा सर्वदलीय संसदीय समिति नै गठन गर्न बाध्य हुनु पर्यो । तर यो समितिले पनि गोर्खाहरुको समस्याहरु पत्ता लगाउनु बाहेक खासै गोर्खाहरुको मागलाई सम्बोधन गरेन । सत्याग्रहको निरन्तर दबाब र गेसोको पनि सत्याग्रहमा ऐक्यवद्धताले तत्कालिन ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लान्कास्टार स्वयम् सरिक भएर एउटा संयुक्त प्राबिधिक टीम गठन गराइ दिनुभयो । करीब एक वर्ष लगाएर बनेको संयुक्त प्राबिधिक प्रतिवेदन २२ मार्च २०१८ मा दुवै सरकारलाई बुझाइयो । १३ बुँदे प्रतिवेदनको बारेमा दुवै सरकारको उच्चस्तरीय वार्ता समितिले प्रतिबेदन बुझाएको बढीमा दुई महिनाभित्र एउटा मिलन बिन्दूमा पुर्याउने निश्कर्ष थियो । यसले एउटा राम्रो परिणाम दिनेमा सम्बन्धित सबै मानिसहरु आशावादी थिए । आजको दिनसम्म यो भिरको चिन्डोको अवस्थामा छ । ब्रिटिश मानसिकताको परकाष्टा नै भनौं, ७ मार्च २०१९ को दिन विगतको जस्तै बेलायतले पुन: एकतर्फी निर्णय गरेर “भारतीय पे कोड” लागू गराइ नाम मात्रको पेन्सन बढाएको बहाना गर्यो । यसले गोर्खाहरुको आशामा अर्को तुशारापात ल्याइदियो । बेलायती गोर्खाउपर लादिएको विभेदपूर्ण प्रवृतिले प्रश्रय पाइ नै रह्यो । अब यसको खिलाप पुन: एकजुट भएर २२ मार्च २०१८ को प्रतिवेदनलाई छलफलमा ल्याउनु पर्ने अवस्था टड्कारो रुपमा खडा भएर आएको छ ।
यसमा पुन: गोर्खाहरु एक ढिक्का भएर अगाडी बढ्नुको बिकल्प अरु छैन । बेलायतको “फुटाउ र राज गर” को सिद्धान्तलाई तोड्न गोर्खा संस्थाहरु र अभियान्ताहरु एक हुनैपर्ने अवस्था आएको छ । तर विडम्वना, उनीहरु आफू आफैँमा फुट भएको यत्रतत्र सामाजिक सन्जालहरुमा देखिन थालेका छन् । एकले अर्कालाई दोषारोपण थोपरेका छन् । अभियानको कामको क्रेडिट लिन, आफूले आफूलाई महान ठान्न ती सन्जालहरुमा देखिन्छन् । मुख्य विषयवस्तुलाई नअङ्गालेर अन्य तपसिलका झीना-मसिना विषयलाई प्राथमिकतामा राखेर हिरो पल्टिन लागेको केही नेतृत्वहरुमा प्रस्ट देखिन्छ । युटुबमा छेड हान्ने होड्बाजी नै देखिन्छ । यसलाई उनिहरुमा एक किसिमको “ग्ल्यामर रोग” को देशान नै चलेको जस्तो देखिन्छ । के यस्ता होड्बाजीले आफ्नो गन्त्यब्यमा पुगिएला ? यो असम्भव प्राय छ । यसले त रोजगारदाता बेलायतलाई सजिलो खेल खेल्ने मैदान बनाउनबाहेक अरु केही गर्दैन ।
यसलाई नेपालको पाटोदेखि हेर्दा धेरै सबल कुरोहरु देखिन थालेका छन् । नेपालका विभिन्न राजनैतिक पार्टीहरुले यो समानताको मुद्दामा ऐक्यवद्धता जनाएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई कडा निर्देशन दिएको छ र सरकार पनि यसलाई राष्ट्रिय मुद्दा बनाएर प्राथमिकताको सूचीमा राखेर कुट्नैतिक पहल गरिरहेको अवस्था छ । यसको उदाहरण १२ फरवरी, २०२० को नेपालले बेलायतलाई लेखेको पत्रलाई लिन सकिन्छ । स्वभावैले मानिसहरुको आफ्ना-आफ्नै विचार, सिद्धान्त हुन्छन् तर राष्ट्रियताको सवालमा, मानव अधिकारको सवालमा को होचो, को अग्लो, सबै एकै ठाउँमा उभिन्छन् । गोर्खाहरुको यो मुद्दा यिनै सवाल अन्तर्गतका हुन् । यसको लागि पुन: गोर्खा अभियन्ताहरु र तीनका सँगठनहरु पुन एकीकृत भएर बेलायतको विभेदकारी नीतिलाई निर्मूल गरी त्रिपक्षीय सन्धिको मर्म र भावलाई आफ्नो पोल्टामा हाल्न सरिक हुनु पर्दछ नत्र यो मुद्दा ज्यूँका त्यूँ रहनेछ । यो त यहाँ तल दर्शाइएको नीति कथा जस्तो मात्र हुने छ;
“परेवा र मलेवा सजातिय हुन् । एकदिन उनिहरु भुरुङ्ग भइ सँगै बाहिर निस्के। शिकारी जालो थाप्ने मौका हेरिरहेका थिए । नभन्दै उनिहरु शिकारीको जालोमा परे । तब जालो हान्ने शिकारी उनिहरुको नजिक आइरहेको देखे, उनिहरुले सल्लाह गरे कि हामी यो जालोसँगै उडौँ । उनिहरु दुवैको जोड्बलले उड्न सफल भए । तर शिकारीले विचार गरे की यिनिहरु सजातिय हुन्, कतिसम्म पो मिलेर उड्न सक्लान र ! नभन्दै उनिहरु एक आपसमा बाझ्न थाले । ‘तैँलेभन्दा मेरो बलले उडेको हो’,अर्कोले भन्यो ‘मेरो बलले मात्र उडेको’ । तब ती दुई प्राणीहरु जमिनमा खसे । परबाट शिकारी आइपुग्यो र तिनिहरुलाई मारी भुटुवा बनाएर खायो ।“
यस्तो हुन नदिन गोर्खा सङ्गठनहरु या भिन्न ब्यक्ति-ब्यक्ति बीच द्वन्द्व यदि भएको छ भने पनि तिनलाई भुलेर यो सवालमा उनिहरु इमान्दारिताको साथ एकीकृत हुनु वान्छनीय छ । सफल भएमा यो जित सबैको जित हुने छ । त्यसकारण अहिलेलाई सबैले आफ्नो दम्भ तोडेर सबै एक ठाउँमा जुट्नुको विकल्प छैन । अभियन्ताहरुले मात्र नभई सम्बन्धित सबैले आफ्नो- आफ्नो भूमिकाको धर्म निभाऊँ । जित सबैको हुनेमा प्रश्नै आउँदैन । अत: अहिलेको यो मुद्दाको आवस्यकता नै एकता हो । यसलाई मनन् गरौँ, यसमा सबैको कल्याण हुनेछ । एउटा सार्वभौम राष्ट्र नेपालको नागरिक, वीर गोर्खालीको पहिचानले विश्वमा जीवन्तता पाइनै रहने छ । गोर्खा सैन्य इतिहासमा उनिहरुले अर्को सुनौलो पाना थप्नेछन् । भवतु सव्व मंगलम् !!!
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन