नेपालीमा पहिलो गीत रेकर्ड गर्ने गायक मास्टर मित्रसेनको बेलायतमा सम्झना

लन्डन । नेपाली सङ्गीतमा उल्लेख्य योगदान दिएका मास्टर मित्रसेन थापा मगर एक किम्वदन्ती भएको सर्जकहरूले बताएका छन् ।
बीसौँ शताब्दीको पूर्वार्धका एक महत्वपूर्ण सर्जक भन्दै साहित्यकार एवम् सङ्गीतकर्मीहरूले मित्रसेन थापा मगरलाई स्मरण गरेका छन् ।
१२५ र्औँ मास्टर मित्रसेन थापा मगर जयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले आइतबार आयोजना गरेको जुम परिचर्चा कार्यक्रममा बोल्दै गुवाहाटी विश्वविद्यालय आसामका प्रा.डा. खगेन शर्माले मास्टर मित्रसेनको बहुआयामिक व्यक्तित्वको प्रभाव भारत र नेपालमा समान रहेको बताए । मास्टर मित्रसेनको योगदानबारे नै शोध विद्यावारिधि गरेका प्रा.डा. शर्माले उनको कृतित्व र व्यक्तित्वको थप अध्ययन गर्न द्विदेशीय पहल हुनुपर्ने जिकिर गरे । ‘उनी बीसौँ शताब्दीका एक किम्वदन्ती हुन् । सामाजिक चेतनादेखि जातीय जागरण ल्याउनसम्म उनले काम गरेका छन्,’ उनले भने, ‘भारत र नेपालका सर्जकहरूले संयुक्त रूपमा पहल गरेर उनको व्यक्तित्वको थप प्रचार गर्नुपर्छ ।’ उनले मित्रसेनलाई चर्चित सङ्गीतकर्मी डा. भूपेन हजारिकासँग तुलना गर्दै पहिलो नेपाली गीतको डिस्क रेकर्ड, नाटक रेकर्डदेखि सामाजिक काम सम्ममा उनको महत्वपूर्ण देन रहेको बताए । दुई देशले हुलाक टिकट छापेका दुर्लभ व्यक्तिमा मास्टर मित्रसेन रहेको भन्दै डा. शर्माले उनको परिवारसँग समन्वय गरेर थप संरक्षणका काम गनुपर्नेमा जोड दिए ।
त्यसैगरी, मित्रसेन जन्मेकै थलो भाग्सु धरमशालाबाट बोल्दै मित्रसेन साहित्य सङ्गीत सभाकी अध्यक्ष साधना नेपालीले ब्रिटिस औपनिवेशिक कालमा मित्रसेनले झ्याउरे लयमा गीत सङ्गीत रचेर चेतना फैलाएको बताइन् । ‘मास्टर मित्रसेन साझा सम्पत्ति हुन् । सामाजिक समस्याबारे उनले धेरै छोएर लेखेका छन् । अबका सन्ततिहरूले उनीबाट प्रेरणा लिनुपर्छ,’ उनले भनिन् । उनको घर अहिले सङ्ग्रहालयका रूपमा रहेको भन्दै सबैले थप सम्भार संरक्षण गर्नुपर्ने सुझाइन् ।
त्यस्तै, मास्टर मित्रसेन स्मृति प्रतिष्ठान, काठमाडौँका अध्यक्ष त्रिलोकसिङ थापा मगरले सेनका पाण्डुलिपिको सङ्कलनदेखि पाठ्यक्रमको तयारीसम्म प्रतिष्ठानले काम गरिरहेको सुनाए । ‘साँस्कृतिक साङ्गीतिक पर्यटनका लागि मास्टर मित्रसेनसँग सम्बन्धित स्थलहरूको संरक्षण गरिनुपर्छ । भाषाको आन्दोलनमा लाग्नेहरूले पनि सेनको जीवनीलाई फर्केर हुनुपर्छ’ थापाले भने ।
कार्यक्रममा सुरेन्द्र इङ्नाम, सेमन्त राई, भरत लोहोरूङले बाँसुरी, मिन रानाले सारङ्गीमार्फत् मित्रसेनका गीतका धुनहरू प्रस्तुत गरे । त्यस्तै, क्याप्टेन वीरबहादुर थापा मगर, थिर थापा मगर, प्रतिमा दूतराज, मनिष, प्रवल थापा र लखन थापाले सेनका लोकप्रयि गीतहरू सुनाए । त्यसैगरी, कवि औँतारी साइलाले कविता पाठ गरे ।
युद्ध साहित्य र सङ्गीत प्रबद्र्धन गर्ने हिसाबले कार्यक्रम आयोजना गरिएको विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले जनाए । उनले मास्टर मित्रसेन थापाबारे भविष्यमा थप अन्तरक्रियाहरू पनि आयोजना गर्ने उल्लेख गरे । परिचर्चामा यूके, भारत, नेपाल, रसिया, अमेरिका, इजरायल लगायत विभिन्न मुलुकबाट करिब आठ दर्जन स्रष्टा, सङ्गीतकर्मी र अभियन्ताहरूको सहभागिता रहेको विनेसाम साउथ यूकेका सचिव अमित थेवेले बताए ।
मास्टर मित्रसेन थापा मगरको जन्म सन् १८९५ डिसेम्बर २९ मा तोतारानी, भाग्सुु धरमशालामा भएको थियो । उनको पुख्र्यौली थलो पर्वत जिल्लाको राखु पूला रहेको थियो । १६ वर्षकै उमेरमा उनी पहिलो गोर्खा राइफल्सको पहिलो बटालियनमा भर्ना भए । सैनिक जीवनबाट अवकाश लिएपछि उनले बाँकी जीवन नेपाली गीत, सङ्गीत, नाटक र समाजसेवामा समर्पित गरेका थिए । उनको निधन सन् १९४६ अप्रिल ७ मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री