भारतबाट मिचिएको भूमि फिर्ता लिएरै छाड्ने मन्त्री अर्यालको दृढता

 

लण्डन । गैर-आवासीय नेपाली संघ यूकेले नेपाल-भारत सिमा विवाद बारे गरिने एक सेमिनार सम्पन्न गरेको छ ।

९ नोभेम्बर २०२० का दिन भर्चुअल रुपमा सम्पन्न उक्त कार्यक्रमा बोल्दै भूमि व्यवस्थासहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भारतले मिचेको भूमि फिर्ता लिन सरकारले अर्जुन दृष्टि लगाएको बताएकी छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपाल भारतबीचको सीमाका विषयमा गुम्सिएर उकुसमुकुस भएर बस्नु पर्ने र लागेको कुरा बोल्न नपाइने बाध्यतासमेत रहेको सुनाउँदै राष्ट्रियताको सवालमा प्रवासमा रहेको नेपालीहरुले जहिल्यै पनि एक कदम अघि बढेर काम गरेकोमा बधाई तथा धन्यवाद समेत दिइन्।

देशभित्रै र पदीय हिसाबले कतिपय कुराहरु कुटनीतिक मर्यादाले समेत बोल्न नमिल्दा गाह्रो भइरहेको अवस्थामा एनआरएन यूकेले यस कार्यक्रमको आयोजना गरी खुल्ला छलफलको वातावरण बनाएकोमा उनले आयोजकको प्रशंसा समेत गरिन्। सन् १८१६ को सुगौली सन्धिको आधारमा भएको नेपाल भारत बीचको सीमा निर्धारण भएको बताउँदै उनले कालपानी र सुस्तामा मुख्य विवाद रहेको बताइन्। उनले नेपाल भारतबीच भएका ऐतिहासिक दस्तावेजले ती क्षेत्र नेपालको भूभाग निर्धारण गरेपछि नापजाँच गर्न जाने क्रममा भारतको तर्फबाट अवरोध भएपछि विवाद सुरु भएको बताइन्।

उनले सुस्ताको सीमा विवाद समाधान उन्मुख रहेको र दुई देशबीचको सहमति औपचारिक रुपमा घोषणा हुन बाँकी बताइन्। उनले लामो समयदेखि भारतले मिचेको भूमि लिम्पियाधुरा र कालापानी क्षेत्रलाई जुनसुकै हालतमा फिर्ता लिन्छौ‌ं भन्ने दृढता व्यक्त गरिन्। उनले नेपालले आफ्नो भूमिलाई नक्सामा राखेपछि नेपाल र भारतबीच यो विषय पेचिलो हुँदै सम्बन्धमा चिसोपन आएपछि करिब १ वर्ष दुई देशबीच संवादहीनताको अवस्था भएको स्वीकार गरिन्। उनले पछिल्लो समय नेपाल भारतबीच संवाद सुरु भएपछि दुई सीमा विवाद समस्या समधानको लागि निकै सकरात्मक रुपमा अघि बढेको बताइन्।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय कानुनका ज्ञाता तथा प्रोफेसर सूर्यप्रसाद सुवेदीले विश्वभर छरिएका नेपालीहरुको कारणले नेपाललाई हेप्न सकिन्न भन्ने अनुभूति दिलाउनमा गैरआवासीय नेपालीहरुले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे। प्रोफेसर सुवेदीले भारतले नेपालको सिमा विवादलाई वार्ताद्वारा समाधान गर्न नचाहेमा अन्तर्राष्ट्रिय कानूनको सहारा लिन सकिने बताए । उनले नेपाल भारतबीचको सिमा विवाद वार्ताद्वारा समाधान नभए त्यसको विकल्पमा जान सकिने सुझाव नेपाल सरकारलाई दिएको बताए। उनले भारत र नेपाल दुवै देश लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने भएको हुँदा नेपाल गुमाएको भूमि फिर्ता पाउनेमा आशावादी रहेको बताए।

 गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले देशको सीमा सुरक्षाको लागि विदेशमा रहेका नेपालीहरु नेपाल सरकारसँग साथ रहेको बताउँदै भारतले मिचेको भूमि फिर्ता लिन विदेशमा हरेका नेपाली प्रतिबद्ध रहेको बताए। उनले राष्ट्रियता एउटा भूगोलभित्र मात्र समित नहुने बताउँदै विश्वभर छरिएका नेपालीहरु नेपालको सीमा रक्षाको लागि तयार रहेको बताए। उनले भूमि फिर्ताले प्रकृया लामो यात्रा रहेको बताए।

एनआरएनए यूकेका पूर्वअध्यक्ष महेन्द्र कँडेलले नेपाल भारतबीचको सिमा विवादमा राजनीतिक दलहरुले चुनावी अजेण्डाको रुपमा लैजाँदा राष्ट्रियता कमजोर भएको बताए। उनले सिमामा भएका समस्यालाई पहिचान गरेर प्रष्ट नीति बनाउन जरुरी रहेको जनाए।

गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षता भएको कार्यक्रमको संचालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष रोजिना प्रधानले गरेकी थिइन् भने धन्यवाद ज्ञापन अर्का उपाध्यक्ष सुनिल खड्काले गरेका थिए। कार्यक्रममा एनआरएनए केन्द्रीय उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, यूरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सिना, आईसीसी सदस्यहरु भक्त गुरुङ, रामशरण सिम्खडा, अर्कराज तिमिल्सिना, योग कुमार फगामी, पूर्व अध्यक्ष तथा संरक्षक सूर्य गुरुङ, एनसीसी चेक रिपब्लिक अध्यक्ष डा चिरन्जिवी खड्का, अष्ट्रिया एनसीसी अध्यक्ष विनोद चौलागाई, डेनमार्क एनसीसी अध्यक्ष रविन्द्र खड्का, आयरल्याण्ड एनसीसी अध्यक्ष मिलन छन्त्याल, टर्की एनसीसी अध्यक्ष उज्वल घिसिंङ लगायत मध्यपूर्व, अमेरिकाज र यूरोपका विभिन्न मुलुकबाट सहभागीहरु उपस्थित हुनुहुन्थ्यो । 

 प्रोफेशर सुवेदी सम्मानित

सो अवसरमा गैरआवासीय नेपाली संघ यूकेले प्रोफेशर सूर्य सुवेदीलाई सम्मान गरेको थियो । संघले विदेशमा बसेर सुवेदीले गैरआवासीय नेपाली अभियानमा पुराएको योगदानको कदर गर्दै सम्मान गरेको हो । प्रोफेसर सुबेदीलाई अक्स्फोर्ड र हल विश्वविध्यालयले ‘महाविध्यावारिधी’ को उच्च पदवी प्रदान गरेकोमा उहाँलाई मन्त्री अर्याल र संघका अध्यक्ष कुमार पन्त र एनआरएन युके अध्यक्ष पुनम गुरुङले संयुक्त रुपमा सम्मान गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री