मंगलबार, मंसिर ९ २०७७ | Tue, November 24, 2020
नेपालको समय: ०६:४४ | UK Time: 00:59

कोभिड-१९ को भ्याक्सिन उपलव्ध हुन कम्तिमा ६ महिना लाग्छ: प्रा. डा. सिंखडा

घरमा जमघट नगरौं, दोस्रो वेभमा १ लाख २० हजार मानिसको ज्यान जान सक्छ ।

वीनेपाली
२०७७ साउन १९ गते १२:३७

ब्रिटेनको युनिभर्सिटी अफ हडर्सफिल्डको स्कुल अफ ह्युमन एण्ड हेल्थ साइन्सेज़का एसोसियट डीन तथा विश्व स्वास्थ्य विषयका प्राध्यापक डा पदम सिम्खडाले नेपालको जनस्वास्थ्य विषयमा विभिन्न अनुसन्धान गरेका छन्। उनीसंग कोरोनाको दोस्रो वेभ, बेलायतमा यसको असर तथा यो महामारीबाट विशेषगरी नेपाली समुदायहरु कसरी जोगिने भन्ने बारेमा वीनेपाली डटकमका लागि श्याम लुईटेलले  गरेको सम्वाद:

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको दोस्रो लहर दुई साताभित्र आउने भनेका छन् । यसमा कत्तिको सत्यता छ ?
प्रधानमन्त्री बोरिस जोनसनले भनेअनुसार दोस्रो वेभ आउँछ भन्ने कुरा सत्य हो । यहाँका वैज्ञानिक र सल्लाहकारले दिएको सल्लाहअनुसार नै भन्नुभएको होला । भाइरल डिजिजहरुका विगतलाई हेर्ने हो भने सन् १९२० को स्पेनिस फ्लुलाई हेर्नु पर्ने हुन्छ । १ सय वर्ष अघिको त्यो फ्लुले पहिलो पटकभन्दा दोस्रोपटक आउँदा अर्थात दोस्रो वेभमा धैरे मानिसको ज्यान गएको थियो । अहिले पनि विश्वभर त्यो संभावना देखिन्छ । अहिले पनि अष्ट्रेलिया, लक्जेवर्ग, स्पेनलगायतका मुलुकहरुमा दोस्रो वेभ देखिसकिएको छ । बेलायतमा पनि दोस्रो वेभ आइसकेको छ । यहाँ कोरोना संक्रमित संख्या दैनिक बढिरहेको छ । यसलाई हेर्दा प्रधामन्त्री भन्नु भएअनुसार दोस्रो वेभ आइसकेको छ । हामी सबै उच्च सतर्क रहनुपर्छ ।

विभिन्न संचारमाध्यममा कोरोनाविरुद्धको भ्याक्सिनको बारेमा निकै सकारात्मक समाचार आएका छन् । ती भ्याक्सिनहरु कहिलेसम्म तयार होलान् ?
करीब १ सय २२ समूहले कोभिड-१९ को भ्याक्सिनका बारेमा ट्रायल गरिरहेका छन् । त्यो विभिन्न स्टेजमा छ । कसैले औषधी बनाउने, कसैले जनावरमा प्रयोग गर्नेदेखि लिएर मानिसमा समेत प्रयोग गरिसकेका छन् । तीमध्ये अक्सफोर्ड विश्वविद्यालयको ट्रायल सकारात्मक देखिएको छ ।  भ्याक्सिनले कसरी काम गर्छ भने जुन जीवाणुले मानिसलाई असर गर्छ त्यही जीवाणु मानिसमा पठाउने हो । जसका कारण शरीरले त्यो जीवाणुसँग लड्न एन्टीवडी बनाउँछ । अनि जीवाणु आएको बेलामा एन्टीबडीले लड्न सक्छ । तर भाइरल डिजिजमा भ्याक्सिनको इफेक्टिभनेस एकदमै कम छ । किनकी भाइरल चाहिँ एक रुपबाट अर्काे रुपमा फेरिइरहन्छ । यसलाई म्यूटिसन भन्छौं । यदि भ्याक्सिन आयो भने पनि सर्वसाधारणको पहुँचमा पुग्नलाई कम्तीमा ६ महिना लाग्छ । राम्रो भयो भने पनि सन् २०२१ भन्दा अघि जनताको तहमा भ्याक्सिन पुग्न सक्दैन । मानिसले सोचेअनुसार र हल्ला भएअनुसार तुरुन्त सर्वसाधारणको पहुँचमा भ्याक्सिन पुग्न सक्दैन ।
कोरोना दोस्रो लहरको महामारीबाट जोगिन नेपाली समुदायले के के कुरामा ध्यान दिनु पर्ला ? 
कोभिड-१९ नियन्त्रणका लागि बेलायत सरकारले तयार गरेको गाइड लाइनअनुसार साधारण रुपमा गर्नु पर्ने कामहरु नेपाली समुदायले पनि गर्नुपर्ने जरुरी छ । ग्रेटर म्यान्चेस्टर, हडर्सफिल्ड, लेस्टरलगायतका केही क्षेत्रमा फेरि स्थानीय लकडाउन गरिएको छ । त्यहाँ के देखियो भने ती ठाउँहरुमा सर्ने पोजेटिभ भएको संख्या चाहिँ घरभित्रकै मानिसहरुमा देखा पर्याे । घरमै पार्टी गर्नेहरुको संख्या बढी भएकाले हामीले नेपाली समुदायलाई हेर्ने हो भने घरमै जमघट गर्ने परम्परा बढी छ । घरमै रमाइलो गर्ने चलन छ । अब यसमा होसियार बन्नु पर्छ । मेरा नेपाली साथीभाइहरुलाई एउटा अनुरोध छ, यहाँको सरकार र पव्लिक हेल्थ इंग्ल्याण्डले जारी गरेको निर्देशनलाई पालना गरौं। कोरोना रोकथामका लागि व्यक्तिगत सरसफाई, माक्सको प्रयोग, सामाजिक दुरी कायम गर्ने, भीडभाडमा नजाने तथा समग्रमा भन्दा कोभिड -१९ बाट संक्रमित भैहाल्यो भने पनि तन्दुरुस्त मानिसहरुको ज्यान जाने संभावना कम छ । त्यसैले धेरै आत्तिहाल्नु पर्ने अवस्था छैन ।
बेलायत सरकारको अनुरोधलाई बेवास्ता गर्दै कतिपय नेपाली संघसंस्थाले भेटघाट सुरु गरेका तस्विरहरु सार्वजनिक भएका छन् । यसलाई यहाँले कसरी हेर्नु भएको छ ?
यदि कुनै ठाउँमा सामाजिक दुरी कायम गर्नु नपर्ने ठाउँमा जमघट गरेको भए ठिकै भयो । तर कतिपय ठाउँमा बेलायत सरकार र पब्लिक हेल्थ इंग्ल्याण्डद्वारा जारी निर्देशन विपरीत भेटघाट गर्नेलाई जरिवानाको व्यवस्था गरिएको छ । त्यसकारण आफ्नो र अरुको स्वास्थ्यको ख्याल गर्नु पर्ने कुरामा सबै विज्ञ भएकोले धेरै भनिरहनु पर्ने जरुरी देख्दिनँ ।

पहिलो कोरोनाको लहरले करीब ४५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । अझै यो क्रम रोकिएको छैन । यस्तो अवस्थामा दोस्रो कोरोनाको लहरले कति मानिसको ज्यान जाने अनुमान गर्न सकिन्छ ?
विभिन्न समूहले विभिन्न अनुमान गरेका छन् । दोस्रो वेभको असरका बारेमा विभिन्न फ्याक्टरहरुले काम गर्ने भएकाले कति मानिसको ज्यान जान सक्छ भन्ने ती फ्याक्टरमा भर पर्छ । टेष्टिङ, ट्रयाकिङ र आइसोसेलन (टिटिआई) प्रयोग, स्थानीय लकडाउन तथा अहिलेको उत्तम उपाय भनेको नै टेस्ट-रिटेस्ट र सेल्फ-आइसोलेसनमा राख्ने नै हो । दोस्रो लहरबाट २५ देखि २ लाख ५० हजारसम्म मानिस मर्न सक्ने अनुमान छ । ती अनुमान बीचको ग्यापलाई हेर्ने हो भने १ लाख २० हजार मानिसको ज्यान जान सक्ने अनुमान छ । तर पनि सरकारले जारी गरेको स्वास्थ्य गाइडलाइनलाई जनताले फलो गरी सामाजिक दुरी कायम राख्ने, माक्स लगाउने र व्यक्तिगत स्वास्थ्य तथा सरसफाईमा ध्यान दिने हो भने कम मानिसको ज्यान जाने अवस्था रहन्छ ।
कोरोनाको दोस्रो वेभ आउँदा विन्टर झन् खतरापूर्ण अवस्था हो ?
कोभिड-१९ का लागि समरभन्दा पनि विन्टर चाहिँ बेलायतका लागि निकै खतरापूर्ण छ । बेलायतमा विन्टरमा धेरै मानिसहरुको मृत्यु हुने गरेको तथ्यांक छ । यस अवस्थामा अस्पतालमा चाप पनि ९० प्रतिशत बेडहरुमा मानिसहरु अस्पताल भर्ना भैसकेको अवस्था रहन्छ । एकातिर अरु रोग फ्लू र इन्फ्लुएन्जाले अस्पताल भरिभराउ  भएको अवस्थामा कोभिड १९ संक्रमित थपिँदा बढी च्यालेन्ज हुन्छ । पहिलो वेभ आउँदा अप्रिल र मे थियो । दोस्रो वेभ पूर्ण रुपमा आउँदा विन्टरमा हामी पुगेका हुन्छौं । पहिलो वेभ आउँदा अस्पतालहरु खाली थिए । अब दोस्रो वेभ आउँदा अरु रोगका कारणले पनि अस्पताल भरिभराउ अवस्थामा रहन्छन् । झन् कोभिड-१९ थपियो भने हाम्रो स्वास्थ्य हालत के होला भनेर अनुमान गर्न सजिलै सकिन्छ ।

एकातिर विन्टरमा यहाँको हेल्थ सर्भिस व्यस्त रहन्छ । त्यसकारण समुदाय स्तरमा कोभिड-१९ फैलिनबाट कसरी रोक्न सकिन्छ भन्ने कुरा निकै महत्वपूर्ण छ । इन्डोर गतिविधिलाई रोक्ने र अर्काे कुरा टेम्प्रेचर, ह्यूमिडिटी र भ्यान्टिलेटरका कारणले भाइरस कसरी सर्छ भन्ने कुरा एकदमै महत्वपूर्ण छ । कोभिड -१९ लाई मात्र महत्व दिएर अरु बिरामीलाई वास्ता गरिएन भने पनि अवस्था नाजुक हुन सक्छ । त्यसकारण सरकारले दिएको नियमभन्दा बाहिर गएनौँ भने हामी जोगिन र हाम्रा मानिसलाई जोगाउन सक्छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक