बिहीबार, साउन २९ २०७७ | Thu, August 13, 2020
नेपालको समय: १७:०८ | UK Time: 12:23

तलदेखिको लोकतान्त्रीकरण प्रकृया: वान्तवा र प्रसाई 

डा.कृष्ण उपाध्याय
२०७७ साउन १८ गते ९:१०

रत्नकुमार वान्तवाको कुरा त आइहाल्यो। प्रवासमा भएको मलाई वहाँको बारेमा थाहा हुने कुरै भएन । त्यसैले अरुले भनेको र सुनेको मात्र हो ।  प्रदिप नेपालले (संजय थापाको नाममा) ‘देउमाईको किनारमा’ लेख्नु भएको छ, त्यही पढे हुन्छ । अहिले त वहाँको जीवनगाथा चलचित्रको रुपमा पनि आइसकेको छ । अहिलेका रक्षा मंत्री ईश्वर पोखरेलले पनि भन्न सक्नु हुन्छ, वहाँहरु काठमाण्डौमा संगै पढ्नु हुन्थ्यो। वहाँ ढल्दै गरेको देख्ने सुशीला श्रेष्ठ (जो अहिले जनता समाजवादी पार्टीमा हुनुहुन्छ)ले धेरै बताउन सक्नुहुन्छ । सबैले वहाँ एक असल इमान्दार, सारै तीक्ष्ण वुद्धि भएको र मानिसहरुसंग घुलमिल भएर राजनीति गर्ने एक कठोर संघर्ष गरेर हुर्केको क्रान्तिकारी रुपमा वर्णन गर्नु हुन्छ र गर्नु भएको पनि छ । कोके (कोर्डिनेसन केन्द्र) कालदेखि नै सक्रिय वान्तवा २०३५ मा मालेको केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो ।

२०३५ सालमै वहाँलाई पंचायती सरकारले इलामको इभाङ्गमा गोलि हानी हत्या गर्यो । मेरो आशय वहाँको बारेमा थाहा भएका तथ्यको पूरा वाचन गर्नु होइन । मेरो उद्देश्य इलामको दूरदराजका  गाउँहरुमा पुग्दा वहाँको बारेमा सर्वसाधारण के भन्थे र वहाँको जीवनले उनीहरुको सोचाइ र गराईमा कस्तो असर पारेको थियो भन्ने हो । अझ पर पुगेर विचार गर्दा वहाँको जीवन गाथाले नेपालको लोकतान्त्रीकरणको प्रकृया कसरी तलबाट शुरु गर्न मद्दत गराएको थियो भन्ने हो ।

शिरिसे गाउँले त्यसको अलिकता उत्तर दिन्छ । मेरो ठूलो बा स्वर्गवासी चुडामणि नेपालले अलिकति उत्तर दिनु हुन्छ । वहाँ जीवनमा स्कुल जानु भएको थियो जस्तो लाग्दैन । बिस्तारै बोल्नु हुन्थ्यो । तर वहाँले रत्नकुमार वान्तवाको बारेमा गरेको बयान जनताको तहमा रत्नकुमारको बारेमा भएको स्थापित विचार (narrative) कस्तो थियो भन्ने देखाउँछ। वहाँले रत्नकुमारको बारेमा बताउँदा कडा अनुशासन भएको, जनताबाट सियो र धागो पनि सित्तैमा लिनु हुँदैन भन्ने कठोर नियमको पालन गर्ने, मानिसहरुको काममा सहयोग गर्ने, सदाचारीको रुपमा प्रस्तुत गर्नु भयो। “२८ वर्षको कल्कलाउँदो उमेरमा वहाँ हाम्रो लागि शहिद हुनुभयो, त्यसैले हामी पनि लाग्नुपर्छ”, हामी दुई/चार जना अगेनाको डिलको वरिपरि बसिरहेको बेला भन्नुभयो । अलि पछि थाहा भयो, वहाँ पनि छेउछाउका राई गाउँमा यसरी नै कुरा बुझाउनु हुँदोरहेछ । पंचायत विरोधी भावना प्रसार गर्नु हुँदोरहेछ, आफू जस्तै सामान्य किसान दाजुभाइहरुलाई । स्थापित भएको विषय भनेको ”पंचले बोल्न दिंदैन, तर बोल्नुपर्छ, अधिकार खोसेर लिने हो” । राज्य लोकतान्त्रिक थिएन, तर यसरी लोकतान्त्रिकीकरणको प्रकृया तलबाट शुरु भएको थियो ।

वान्तवाको सरलता राजनीतिको बिस्तारको कारक बनेको थियो । धेरै वर्षसम्म यसलाई  मैले कारक मान्न सकिनँ, किनभने सरलताले मात्र त्यसो गर्दैन । तर सरलता, विद्वता र सहजताको संगम हुँदा कोही पनि मानिस पछि लाग्दोरहेछ । मेरो ठूलो बाको भनाइ र वहाँबाट सुनेको कुरा, एक जमानाका जाज्वल्यमान विद्यार्थी नेता र चीनका लागि नेपालका भूतपूर्व राजदुत टंक कार्कीको अप्रिल ९, २०१६ को लेखाई हेर्दा पनि यस्तै निष्कर्ष  निस्कन्छ ।

वहाँ लेख्नुहुन्छ, ०३२ सालको कुरो हो ।  विराटनगरबाट घर फर्किदै थिएँ। झापाबाट पैदलै हिँडेर इलाम पुगें ।  सोझै रत्न कुमारको डेरामा पुगेँ। केही महिनाअघि मात्रै , भरत श्रेष्ठ, देवराज घिमिरे  पूर्ण भट्टराई ताप्लेजुंगबाट आउँदा त्यहाँ निस्किसकेका थियौं । त्यसो हामी पहिला नैझापालीभइसकेका थियौं । कोठामा छिर्ना साथै मैले भारी बिसाएँ हात मिलाउन थालें : कर्याप्प हात समातेर । ‘तपाई थाक्नु भएको होला, एकछिन आराम गर्नोस्।,” रत्नले मसिनो तर उहीं आत्मीय भावले भने

त्यहाँ रत्न कुमार, गणेश राई बसन्त पराजुली कोठा भित्रै थिए ।  भने छोरी माईत आए जस्तै फुरुंग थिएँ, आत्मीयता जो थियो । मलाई यी तीन जना त्रिरत्न जस्तै लाग्थ्योउस्तै उमेर, हित्तचित्त मिलेका । खाईलाग्दा  थिए नै, त्यो भन्दा बढ्ता उनीहरुको अनुहारमा निश्छल समर्पण प्रष्टै देखिन्थ्यो, आजभोलि जसलाईव्यवहारवादीराजनीति भनिन्छ मालिक कारिन्दाको व्यवहार गरिन्छ त्यसको कहीं कतै नामोनिसान थिएन । लाग्थ्यो हामी एउटै आमाका दूध खाएका हौँ । अनि मनमनै गम्थें ‘मेरो सानो समर्पण गलत ठाउँमा छैन । यिनीहरु मिशनका पक्का जोधाहा हुन् ।’ बस, मलाई के चाहियो !

रत्न कुमार बाँकी दुई जनाका पनि अगुवा छँदै थिए, ‘शील समाधिमा उस्तै भए पनिप्रज्ञामा उनी माथिल्लो कोटीका थिए । अहिले लाग्छ, उनको समर्पण नैप्रज्ञा, शील समाधिको फ्युजन होनिजात्मक उन्नयनको छक्कापन्जा या सुतिखेती थिएन

त्यहाँ बस्दाबस्दै उनले धेरै जनासंग संवाद चलाए  । कोही अलिक पाका, कोही तरुणतर ती भन्दा प्रौढ थिए । बेलुकासंगै खाना खायौंखाना उनैले बनाए । अनि हामी हाम्रोबिजनेसमा लाग्यौं । विद्यार्थी आन्दोलनको चर्चा गर्यौं, कम्युनिष्ट आन्दोलनको नयाँ शिराको चर्चा गर्यौं, ‘झापा विद्रोहले प्रसस्त गरेको बाटोमा छलफल चलायौं । पार्टी विस्तारका सम्भावनाका कुरा , ‘यता उत्साहजनक प्रगति भइरहेको । ताप्लेजुङ्गको निम्ति के गर्नु पर्ला ?’ उनले यो पनि भनेका हुन्, माओ त्सेतुङ्गलाई उद्धृत गर्दै,’ क्रान्ति कार्चोपी भर्नु होइन, भोज भतेर गर्नु नै । बिना समर्पण बिना बलिदान आश गर्नु पनि मिथ्या हुन्छ । क्रान्तिको आफ्नै विज्ञान हुन्छ ।’ उनी बोल्दै गर्दा भने आफ्नै अघिल्तिर क्रान्तिको घोडा दौड्दै गरेको सपना देख्दै थिएँ

 अलिक अघि मात्रै   विराटनगर क्याम्पसबाटरेस्ट्रिकेटभएको, वर्ष अघि  SLC मा पनि । आफ्नै जीवनले भन्थ्यो, यो शासन अधम छ, बदल्नुको विकल्प छैनहेलिनु पर्छ क्रान्तिमा । उनी मलाई ढाडस दिंदै थिए, ‘यो सत्ताको बल नै अत्याचार हो ।’ हामी अबेरसम्म विमर्शमै रह्यौं । भोलिपल्ट बिहानै लागें आफ्नै दर्गादिशा । यो नै मेरो रत्न कुमार  वान्तवासंगको अन्तिम भेट थियो । त्यसको तीन वर्षपछि काठमाण्डौमा  । भरतले दुखद समाचार सुनाए, ‘कमरेड रत्न कुमारको शहादत भयो ।’ खग्रंग भएँ,’ नेपाली कम्युनिष्ट आन्दोलनका एक नक्षत्रको अस्त भयो ।’ आजभोलि काठमाडौंमै छु । अक्कलझुक्कलसोनाम साथीलाई भेट्छु । उनलाई देख्दा अनायास आफैलाई उहीं इलामको झझल्को आउँछ । (आज सत्ता छैन तर रत्न कुमारहरु हराउन थालेका छन् )..”

टंकजीका अनुभव र  यी भनाइले वान्तवाको  सादगी, विद्वता , समर्पण, र राजनैतिक स्पष्टता देखाउँछ, जुन मैले शिरिसेमा अर्कै भाषा र शैलीमा सुनें, र अनुभव गरेँ ।

मेरो हजुर बा स्वर्गीय पण्डित श्रीनारायणसंग बसमा चढेर इलामबाट झापा  झर्दै गर्दा लाग्यो २०३७ साल निक्कै महत्वपूर्ण वर्ष रहेछ नेपालको निम्ती । जेठमा जनमत संग्रहको नतीजा आयो, ‘सुधारिएको पंचायत’ विजयी भएको घोषणा भयो। तथापि आवाज रोकिएनन्, विद्यार्थीहरुका सभा सम्मेलन हुन् छोडेनन्, भर्खर चुनिएका विद्यार्थी युनियनहरुले पंचायत विरोधको जनमत निर्माण गर्ने काम छोडेनन् । महिला तथा मजदुरहरुका जस्तै जनवर्गीय संगठन निर्माण र उनीहरुका खुल्ला कार्यक्रम हुन् छोडेनन् । आखिरमा महिला मजदुरहरुले पनि पहिलोपल्ट इतिहासमा खुल्ला रुपले ८ मार्च मनाएरै छाडे हेटौडा कपडा उद्योगभित्र । राज्य र व्यवस्थाले रोके पनि इलाम र झापामा मात्र देखेको तलबाट शुरु भएको लोकतान्त्रीकरणको प्रकृया जबर्जस्त देशव्यापी नै रहेछ ।

२०३७ साल साँच्चिकै रन्थन्याउने वर्ष हो नेपाली राजनीतिको। पंचायतले जितेको थियो तर तल हार्दै थियो । पंचायतको वकालत गर्ने भिजिलान्तेहरु, मण्डलेहरुलाई कांग्रेस र कम्युनिस्ट विधार्थीहरुले दोहोलो काड्दै थिए। कुपण्डोलका अमिर घर्तीजस्ता पन्च दादा पंचायत इतर विधार्थीहरुको रामधुलाई पछि दुलो छिरिसकेका थिए । २०३७ सालमा भएको विद्यार्थी युनियनको चुनावमा सबैतिर अखिल र नेविसंघले जितेको थियो । देशभरिको संख्या गन्दा अखिलको (पाँचौ र छैठौंको संयुक्त) । यसले गर्दा नेविसंघ र अखिलको बीचमा तिक्तता पनि बढ्दो थियो । यही तिक्तता र प्रतिष्पर्धाको कारण अखिल पाँचौ र छैठौंका दुई नेताहरुको हत्या भएको थियो विराटनगर र रामपुर क्याम्पसमा । चुनावपछि, त्यही वर्ष नेपालकै इतिहासमै पहिलो पटक चैत्र १४ र चैत्र २४ मा नेपाल बन्द भएको थियो । पहिलो अखिल पाँचौ र दोश्रो अखिल छैठौंको आयोजनामा भएका थिए । चुनाव, नेपालबन्द, र हत्याकाण्ड दूरगामी प्रभाव पार्ने घटना थिए, जसको अलग अलग चर्चा हुनेछ । तर विपक्षीहरुको बीच प्रतिस्पर्धा, तिक्तता, र खिचातानी हुँदाहुँदै पनि पंचायतको औपचारिक संरचनामा बाहेक अन्यत्र पंचायत विरोधीहरुको बर्चस्व बन्दै थियो, लोकतान्त्रिक प्रकृया र विचारको प्रसार र बिस्तार भैरहेको थियो । लोकतान्त्रीकरण प्रक्रिया इतर राजनीतिले अगाडी बढाइरहेको थियो । झापा र काठमाण्डौ जस्ता सचेत ठाउँहरुले त पंचायतलाई गिज्याए ।  २०३८ मा भएको चुनावमा पंचायतलाई असान्दर्भिक देखाउन काठमाण्डौ र झापाका सचेत नागरिकले  नानीमैया दाहाल र पुहातु चौधरीलाई उम्मेदवार बनाएर  जिताए।

विद्यार्थी युनियनको चुनाव, नेपाल बन्द र हत्याकाण्डको बारेमा चर्चा गर्नु भन्दा पहिले अर्को एउटा प्रसंग जसले नेपाली राजनीतिमा अर्को एउटा विचार प्रवाह झापाले दिन्छ । कांग्रेससंग झापामा भएको पहिलो अन्तरंग र अविस्मरणीय अन्तरकृयामा उठेको प्रश्नको जसको चित्तबुझ्दो उत्तर मैले कहिल्यै पाइनँ । अन्तरकृयामा मालेले बहिस्कार नगरेको भए जनमत संग्रहमा वहुदल विजयी हुन्थ्यो भन्ने विचार सुनें। मालेको राजनीतिमा झापा आन्दोलन कालदेखि नै लागिरहनु भएका मेरा मामाहरु कृष्ण र चन्द्र चापागाईसंग शनिश्चरे हाटमा जाँदा यो छलफल सुन्ने मौका मिल्यो । त्यही दिन मैले सिके प्रसाई जस्ता सिद्धान्तनिष्ठ, समर्पित र विद्वान कांग्रेस नेताको बारेमा थाहा पाएँ। वहाँको समाजवादी चिन्तन र लोकतन्त्रको बारेमा विचारको बारेमा पनि थाहा पाइयो । पछि २०३८ सालतिर त वहाँको ‘आजको सरल राजनीति’ भन्ने पुस्तिका पढेपछि झनै श्रद्धा लागेर आयो । रत्न कुमार वान्तवालाई जस्तै सिके प्रसाईलाई पनि कहिल्यै भेट्न पाइएन । तर अलग रणनीति भएका यी दुई समर्पित मानिसहरुले प्रवासबाट भर्खर फर्किएको कलिलो अवस्थामा रहेको यस स्तम्भकारमा गहिरो छाप छोडेका थिए । अझै पनि रत्न र सिके बिना अन्तरविरोध संगसंगै बाँच्छन् मेरा राजनैतिक आस्थामा…

(क्रमश….)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक