बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: ०२:२० | UK Time: 21:35

खोक्लिङको लङ्के पिंडालु

यात्रा संस्मरण

जानु काम्वाङ लिम्बु
२०७७ असार ३१ गते ७:४०

घरमा हामी बुबा बित्नुअघि सपरिवार कहिल्यै भेला हुन सकेनौं । सन्तान जति सबै परदेशी । कहिले को हुने कहिले को नहुने । ‘म मरेको दिन मात्र सबै सँगै हुन्छौ होला ।’ यस्तै गुनासो गर्दागर्दै बुबा बित्नुभयो ।

बुबा बितेपछि हामी सबै छोराछोरी एकै ठाउँ भेलिनै पर्यो । जिउँदो हुँदै यसरी सन्तान सबैलाई एकै ठाउँ देख्ने बुबाको इच्छा अधूरो भयो । सदालाई चिम्लिएका बुबाका आँखा हाम्रो उपस्थितिमा पिलिक्कै उघ्रेला कि लाग्थ्यो तर उघ्रेन । छिमेकी पुरी काकाले बुबा बितेको साल दसैंमा हामीलाई सम्झेर कुनातिर फर्केर बेसरी रुनु भएको सुनाउनु भयो । त्यो घटना सुनेर मैले आफूलाई थाम्न सकिनँ । वास्तवमा बुबाआमामा सन्तानप्रति माया र संवेदना कति हुँदो रहेछ ! त्यो सम्झेर मन यति बिरक्तियो कि बुबा बिनाको माइती घर बस्न मनै लागेन ।

छोटो छुट्टीमा आएको ठूलो भाइ बुबाको काजक्रिया सकेर बेल्जियम फर्की हाल्यो । माइला भाइ र मेरो भने छुट्टी बाँकी नै थियो । बुबाको फजे (अन्तिम मृत्यु संस्कार)मा आउँदा मक्खन लुङाले कान्छी फुपू प्यारालाइज भएर बसेको बताएको थियो । हाम्रा दुई बहिनी फुपूमा लिङ्खिम गएकी जेठी फुपू बितिसक्नु भएको थियो । अब कान्छी फुपू मात्र बाँकी हुनुहुन्थ्यो । सोचें, बुबा त बिती गए, फुपूको पनि के भर ? बरु भेट्न दौडेर जान्छु । घरसल्लाहपछि माइला भाइ र म जाने भयौं ।

पुष २ गते बिहानै चन्द्रगढीबाट लागियो उकालो । बिर्तामोडसम्म पुग्न कान्छा भाइले एउटा इन्डियन प्लेटको गाडी बन्दोबस्त गरेको थियो । भारी बोकेर हिंड्न नसकिएला कि भनेर कान्छा काकाको छोरी चन्द्रकलालाई पनि सँगै लगियो ।

हिउँद महिना तराइ-मधेस ढम्म धुम्मिएको थियो । बिर्तामोडबाट ताप्लेजुङ जाने तेस्रो ट्याक्सी मात्र भेट्यौं । ड्राइभरभन्दा पछाडिको लामो सिटमा बहिनी र म अनि त्यसको पनि पछाडि एउटा सिटमा भाइ बस्यो ।

बुट्टाबारीका चिया बगान छेउछाउका खाली खेत घरैघरले भरिएर नचिनिने भएछ । पहिले बाटो मास्तिर एकदुई घर र बाटोमुनि एउटा काठेघरमा मिल थियो । मैले चारआलीको जङ्गल र चियाबगान मात्र चिनें ।

गाडी भरिभराउ थियो । तै पनि सडकमा भारीवाल मान्छे देख्ने बित्तिक्कै फुच्चे खलासीले ‘दाइ कता जाने हो ?’ भन्दै सोध्ने क्रम जारी थियो । चारआलीपछि धाइजन चोकमा एकछिन रोकिएर गाडी उकालो चढ्यो । हरिया बुधबारे र हापेन चोक काटेपछि तराई फाँट छाडेर पहाडको अँगालोमा हराउन थाल्यौं हामी ।

कुटीडाँडा पुगेपछि तुँवालोले पनि पछ्याउन छाड्यो । कुटीडाँडामाथि सानो पाथीभरा देवी पूज्न भक्तजनहरु हातमा पूजाका थाली लिएर उक्लिँदै थिए । पाथीभरालाई दाहिने छाडेर तेर्सैतेर्सो कन्याम चियाबगान हुँदै फिक्कलतिर लाग्यौं हामी । कन्याम बिहानी झुल्के घामको पछ्यौरी ओढेर मुस्कुराई रहे झैं लाथ्यो । ठाउँ—ठाउँमा सइसहरु आगो ताप्दै घोडचढी गर्न चाहने पर्यटक कुरिरहेका देखिन्थे । गाडी लाग्ने हुनाले चन्द्रकला निदाएकी थिई । रमिता हेर्नेमा पर्यौं म र भाइ ।

पहाडको बाटो जति उज्यालो हुँदै गयो उति रमाइलो लाग्ने । बिमारी फुपू भेट्ने अभिलाषाले उडेको मन एकैछिनमा बुबा गुमाएको पीडाले पखेटा काटिएको जटायु झैं छटपटिन्थ्यो ।

बिहानको खाना खान बिब्ल्याँटेमा रोकियौं । त्यहाँ अघि नै माथि पहाडबाट आएको एउटा र तल मधेसबाट गएको अर्को गरी दुई वटा ट्याक्सी रोकिएकोले खाना खाने होटलमा निक्कै भिड थियो । भिरालो ठाउँमा खाँबा गाडेर बनाइएको थियो होटल । त्यो होटलको मुनि तलामा दुई ओटा टोइलेट थिए, भाइ र बहिनी त्यता झरे, म झोलाहरु रुँगेर बसें ।

खाना खाने ठाउँ हल्का खाली भएपछि मैले माछा र भाइबहिनीले खसीको मासुसँग खाना खायौं । जाडोले होला, ठीकै मात्र लाग्यो खानाको स्वाद । जम्मा तीन खाना र दुई बोतल पानीको १२ सय रुपैयाँ तिरें ।

बिब्ल्याँटेमा ताजा सुन्तला सारै मीठो, चाखेरै एक सय रुपैयाँमा दुई किलो किनेर बोक्यौं । पीरो कुर्कुर्रे पनि बहिनीले दुई ओटा किनेर बोकी । पेट अघाएपछि भाते निन्द्रा लागिहाल्यो । निक्कै मजाले निदाएछु म । पुवा माई हेर्दै जाने मेरो सपना सपना नै भयो । बुबाको कामको लछारोले निक्कै थाकेका पनि थियौं ।

एक्कासी ब्यूँझिँदा ट्याक्सीबाट केही मान्छेहरु ओर्लिरहेको देखें, ‘होइन कहाँ पुगियो माइला ?’

‘फिदिम नि ।’ भाइले भन्दा पो थाहा भयो, म निकै लामो बाटो निदाएछु ।

उहिल्यै खेलिहिंडेका फिदिमका ठाउँहरू खोजिहेरें, तर त्यहाँ सबै नयाँ घर, स्कुल, खेल मैदान, सपिङ मल मात्र थिए । म त हराई गएँ । फिदिमको नयाँ बसपार्क भन्थे, थुप्रै ट्याक्सी र बस रोकिएका थिए । वरिपरि बुकिङ काउन्टर अनि बसपार्कको तल्लो छेउका लहरै चार ओटा सार्वजनिक सौचालय चार कोश परैसम्म गन्हाउने । नाक थुनेर पिसाब फेरें । निश्लोट गन्धले बहिनी त पस्नै मानिन ।

विदेशबाट गएका हामीलाई नयाँ देखेर हो कि त्यहाँका मान्छेले सारै हेरे ।

फिदिमबाट हिंडेको गाडी पहाड, पर्वत, खोलानाला, खोल्साखोल्सी नाघ्दै बेलैमा ताप्लेजुङ पुग्यो । गाडीवालालाई नै हामीले साँझ बास बस्ने होटल र खानाको बन्दोबस्त गर्न लगाएका थियौं । सो अनुरुप नयाँ बसपार्क छेउ होटल केञ्जोमा हाम्रो बास भयो । साँझको थकाई मेट्न दिदीभाइले ‘ताप्लेजुङको तोङबासुकुटी’ नार्यौं । ताप्लेजुङको तोङ्बा सुकुटीको महिमा गाइएको धेरै पूर्वेली गीत छन् तर खै हाम्रै भाग्य उस्तो हो कि हामीले तानेको तोङ्बा भने त्यस्तो अच्छा थिएन ।

बिहान सबेरै गाडी चढ्नुपर्ने, बेलुकी नै हिसाबकिताब मिलाएर सुतियो । दुई ओटा कोठाको एक हजार र खाना, तोङ्बा गरी जम्मा १६ सय रुपैयाँ भएछ । राति निक्कै चिसो लाग्यो । ठाउँठाउँमा रुवा डल्लो परिसकेको सिरक भारी न भारी थियो, थिचेर ऐठन लाग्ला जस्तो । भाइ र बहिनी त मज्जाले सुते, म सुत्नै सकिन । पर बजारमा कुकुर पनि रातभरि भुक्ने । मास्तिरै बसपार्क भएकाले गाडी र मान्छेको हल्ला पनि आइरहने ।

बिहान ४ बजे नित्यकर्म सकेर बस पार्क पुग्यौं ! हाङ्द्रुङ्ग हुँदै दोभान जाने गाडीको टिकट काटेका थियौं । दोभानमा पुषे मेला भरेर मान्छे फिर्दै गरेकाले माथिबाट जाने गाडी खाली हुने गाडीवाला भन्थे । त्यै भएर होला, गाडीको अगाडिका सिट हाम्रो भागमा पर्यो । तर गाडी चढेर पनि हामीलाई गाडीवालाले यात्रुहरु अझै आउँदै छ भन्दै धेरै बेर कुरायो । कस्तो चिया पिउन तलतल लाग्थ्यो, जाडोले बाहिर निस्कन सके पो । ५ बजे नै हिंड्ने भनिएको गाडी ६ : १५ मा बल्ल हिंड्यो, खोइ, आउने भनिएका यात्रु पनि आएको देखिएन ।

ताप्लेजुङ छाडेर गाडी ओरालो लाग्यो । गाडी भर्खरको केटाले हाँकिरहेको थियो । तोक्मे डाँडाबाट ओरालो लागेपछि कच्ची बाटो सुरु भयो । दोखु, अम्बोटे हुँदै पहिले पैदल हिंडेको बाटो देउलिङ्गेलाई दाहिने छाडेर गुड्न थाल्यो गाडी । झन् तल गयो झन् नराम्रो बाटो, हंसले ठाउँ छाड्ला जस्तो । सास रहेसम्म आस हुन्छ भने झैं आँखा चिम्लेर माङ पुकार्दै बस्यौं । तर गाडी हाङ्द्रुङ्ग नपुग्दै बिग्री त हाल्यो ।

गाडीबाट ओर्लेर अब हामी चौतारोमा चढी रमिता हेर्न थाल्यौं । गाडीवाला तिनको ठाँडो गाडी बनाउँदै थिए । गाडी बिस्तारै हिंडे जस्तो लाग्थ्यो, होइन रहेछ, हामी त झन्डै खोला छेऊ पुगिसकेका रहेछौं । तमोरको सुसेलीले मलाई बुबाको याद खुब दिलायो । दुई वर्षअघि मात्र बुबासँग हामी गाउँ आएका थियौं । रमाइला डाँडापाखा अनि पहाडका खेत हेर्दै मनमोहक लाग्ने आहा..गाउँघर । वारिपारिका गाउँ मजाले देखिन्थे । तर हामी कसैलाई थाहा थिएन कुन गाउँ कुन हो ? यति हो खोक्लिङ पारि हो भन्ने मात्र थाहा थियो । सम्झें, बुबा भएको भए हातको लौरोले हावामा घोचीघोची यी गाउँको नाम चिनाउनु हुन्थ्यो ।

‘सुइ’ पारेर अचानक गाडी ड्राइभरले बोलायो । गाडी बनेछ भनेर गयौं हामी । तर उसले त ‘दाइ गाडी नबन्ने भयो, गेयर नै गएछ । तपाईंहरू हिंडेरै झर्नुस् । यहाँबाट हाङ्द्रुङ्ग  धेरै छैन अब’ पो भन्यो ।

‘लाऽऽ हो र भाइ ? हाम्रो पैसा थोरै फर्किएला नि, हिंड्नै परेपछि ?’ माइला भाइले भन्यो । ‘के गर्ने दाइ, हामीले जानी जानी बिगारेको होइन । हामीलाई पनि कत्रो घाटा छ अब बनाउँदा ! पैसा के फिर्ता दिनु होला र ?’ उसको कुरा दयालाग्दो थियो । मैले ‘होस् भाइ, ठिकै छ । बरु कति लाग्छ यहाँबाट हाङ्द्रुङ्ग पुग्न ?’ सोधें । बाटो ओरालो भएकाले आधा घण्टामा पुग्न सक्ने बताउँदै गर्दा ऊ हाम्रो भारी पनि झारी दिँदै थियो ।

माइलाले एउटा पछाडि भिर्ने र कोसेलीको प्लास्टिक झोला बोक्यो । चन्द्रकलाले आफ्नै झोला र मेरो ब्याग बोक्यो । मैले आफ्ना फेरफारे लुगा भएको झोला भिरें ।

अघि हामीसँगै गाडीमा भएका तीन जना हेर्दाहेर्दै कतिबेला कता पुगिसकेछन् । पहाडमा सधैं हिंडिरहने तिनको गति हामीले भ्याउनसक्ने कुरा भएन । ओरालोमा खुट्टा कामेर हामीलाई हाङ्द्रुङ्ग पुग्न पूरै एक घण्टा लाग्यो । हिंड्न नसक्दा सिंवाली भाँचेर लौरो टेक्दै झरियो । तमोर देख्दा आमाले सुम्सुमाए झैं भित्र कताकता आनन्द लाग्ने शीतलताले मन सुम्सुमायो । एकदम आफ्नोपनको आभाष दिलायो | सोचें, यो तमोर मेरो गाउँ इखाबु र मेरो मावला लेलेप हुँदै बगेर आएको हो । समय भए मेरो गाउँ पनि पुगी आऊँ जस्तो लाग्थ्यो ।

हाङ्द्रुङ्ग बजार वारि ताप्लेजुङपट्टि आधा र पारि खोक्लिङपट्टि आधा । बिचमा गडगडाउने तमोर नदी । अनि ती दुई बजारलाई फलामको लट्ठैलट्ठा बाटिएको झोलुङ्गे पूलले चुपचाप जोडिदिएको छ । घाम नआइपुगेकोले सेपिलो वारिपट्टि बजारमा ५—६ घर बीच केही ट्याक्सी र ट्याक्टर रोकिएका छन् । माथि खोक्लिङ डाँडा बजारसम्म पुग्ने ट्याक्टरहरू रैछन् ती । घमाइलो खोक्लिङ साइटमा चाहिं दोभानसम्मै घाम अर्लिसकेकोले हल्का गर्मी समेत महसुस हुन्थ्यो ।

भोक र थकानले सताएको हामी पारिपट्टि बजारमै खाजा खाँदै मक्खन लुङालाई पर्खिने योजना बुन्यौं । पुल तर्नुअघि पैसा र फूल फालेर तमोरलाई ढोगें मैले । भाइ र बहिनीले किन त्यसो गरेको दिदी भनेर सोधे । सानोमा मावला जाँदा खोला तर्नु अघि आमा यसै गर्नुहुन्थ्यो । त्यै याद आएर मैले पनि त्यसो गरेको सुनाउँदा सहर बजारमै जन्मेहुर्केका उनीहरुले अनौठो माने ।

हामीले पुलमा केही तास फोटो पनि खिच्यौं । पुलको मुखैमा अण्डा, चाउमिन र सेलरोटी सजाएर राखिएको एउटा दोकान देख्यौं । ‘आन्ने कत्यो चामा बी ….? (दिदी यहाँ खाने ?)’ दोकाने अरु नै जात होला भनेर माइला भाइले लिम्बु भाषामा सोध्यो मलाई ।

माइला भाइले लिम्बु भाषामा बोलेको सुनेर होला, ‘तरेबा तरेमाहरू कहाँसम्म जानु हुने होला ? अनि के खानु हुने हो ? कत्यो केरेक् खोदेत्लो (यहाँ सबैथोक पाइन्छ है !)’ हातमा छुरी बोकेर दोकानबाट बाहिर निस्केकी एउटी युवती हामीसँग बोल्न थाली ।

दोकान त लिम्बुको पो रहेछ । बहिनीले भाइलाई हेर्दै हाँस्न थाल्यो । माइला भाइले आफूलाई सम्हाल्दै नहाँसिकन सोध्यो, ‘अनि दिदी तोङ्बा पनि पाइन्छ ?’ म अघि नै बेञ्चीमा झोला बिसाएर सियाँलनेर बसिसकेकी थिएँ ।

‘तोङ्बा… छ तर कलिलो पो छ !’ युवतीको जवाफ सुनेर चन्द्रकला बहिनी पनि चम्किन थाली, ‘अहा….कलिलो भए त म पनि खान्छु तोङ्बा !’

दोकानेनीसँग जिस्किंदै भाइ र बहिनी खाजा र तोङ्बा अर्डर गर्न थाले । म उठेर बाहिर निस्कें । हावा खाँदै मक्खन लुङालाई फोन गरें । भाइले आफू ओरालो झर्दै गरेको र एक घण्टामा आइपुग्ने निधो दिएपछि म पनि दोकानभित्र पसेर तोङ्बा तान्न थालें । मेरो लागि चाउमिन र आफ्नो लागि थुक्पा मागेर खाँदै रैछन् भाइ र बहिनी । तोङ्बा कलिलो भए पनि मीठो थियो, चाउमिन त भोकमा नमिठो हुने कुरै भएन ।

एकछिनमा मक्खन लुङा आइपुग्यो । लुङाले मम र एक बोतल बियर खायो । अनि, लगियो नाकै ठोक्किने उकालो । हिंड्नेबेला ‘पर्सि फर्की आउँदा भेटौं है !’ भन्दै ‘कुन लिम्बु हो तपाईं ?’ भनेर दोकानेनीलाई सोधनी गरेका थियौं । उसले थर सेरेङ चोङबाङ घर सान्थाक्रा बताई । नचिनेसम्म को हो को हो, चिनेपछि आफ्नै जस्तो लाग्यो ।

‘बेस्सरी मोटो हुनु पनि कठिन कुरो है माइला दाइ ?’ बहिनीले दाइलाई गिज्याउन थाली । माइला चुपचाप पसिना पुछ्दै बलैले भर्याङ जस्तो भीरमा कोपिएको बाटो उक्लिरहेको थियो । हाम्रो भारी बहिनी र मक्खन लुङाले बोकेका थिए । माइला भाइ र मेरो हातमा लौरो बाहेक केही थिएन । तै पनि त्यो सालघारीको गर्मी, तमोरको सुसाइ अनि अप्ठ्यारो बाटो; उफ् ! बेकारमा आइएछ जस्तो लाग्यो ।

त्यो साँगुरो भीरबाटोलाई अल्ट्रा म्याराथुन धावक झैं कतिले दौडेर काट्थे । कोही भारीसँग हुन्थे । छेउमा उभे लाडिएला भनेर हामी भित्तातिरै टाँसिएर बाटो छाडी दिन्थ्यौं । निक्कैबेर भीर कोपर्दै उक्लेपछि डाँडामा बल्ल एउटा शीतल चौतारा आयो । ओइलिएको दुबोसरी जताततै पर्लक्कपुर्लुक्क लडिहाल्यौं ।

‘लु ! आराम गर्नुस्, लुङाहरू, सारो पर्यो होला । घाम छिप्पिएको बेला पर्यो ।’ मक्खन लुङाले सान्त्वना दियो । हुन पनि हामी त्यो घमाइलो उकालीमा दिउँसो १२ बजे घिस्रिएका थियौं ।

अब भने उकालो सकिएको थियो । करेमकरेम तेर्सो खेतको बाटो आयो । खेत काटे लगत्तै एउटा चिया दोकान, दोकान पर्तिर साम्बा थालङ र खोक्लिङ जाने दोबाटो थियो । हामी फेरि फलैंचामा बसेर चिसो कोक पिउन थाल्यौं । त्यहाँ बस्दाबस्दै थुप्रै खच्चरहरू टन्नै अलैंची र अम्लिसोको भारी बोकेर साम्बाथालङतिरबाट आइपुगे । त्यो दोकान पनि लिम्बुनीकै थियो ।

‘होइन, आजभोलि गाउँघरमा सोल्टीभन्दा धेरै सोल्टिनीहरू भेटिँदो र’छ है लुङा ?’ माइला भाइले मक्खन लुङालाई भन्ने पल्टेर दोकानकी केटीले सुन्ने गरी रेला गर्यो । म र बहिनी मज्जाले थकान भुलेर हाँस्यौं । दोकानमा दुई दिदीबहिनी थिए । गालामात्र रातो होला भनेको बहिनीको मन पनि गुलाबी रहेछ । रमाइलो जवाफ फर्काउँदै हाँसिहाली, ‘के को फिक्कर हौ सोल्टीज्यू, निर्धक्क सात दिन सात रात धान नाचे हुन्छ, खुकुरी अर्जाप्ने लाठे कोही छैनन् ।’

‘होइन हौ सोल्टिनी, मीठो पालामको ठाउँमा खुकुरीको के काम ? किन अर्जाप्नु ?’ माइला भाइ जिस्किँदै गर्दा ‘लु बहिनीको चट्पटे  तयार भयो …’ भन्दै चन्द्र बहिनीको छेउमा चट्पटे राखेर गई दिदी चाहिं ।

दोकान छाडेर हिंडेपछि फेरि ठाडै उकालो बाटो तर, धन्न अप्ठ्यारो रहेनछ । तै पनि पहाडको बाटो जसरी हिंडे पनि खुट्टा बाङ्गो । भित्तापट्टि उभ्दा पारि देखिने रमाइलो गाउँहरु सान्थाक्रा, नुम्लक, ढुङ्गेसाँगु, चाँगे तेम्बे, तल तमोर नदी बगिरहेको दृष्य बयान गर्न नसकिने थियो । खोक्लिङदेखि पारि तोक्पे गोला जाने सडक धमाधम डोजरले खन्दै थियो ।

केही वर्षअघि ताप्लेजुङमा गएको विनासकारी पहिरोमा चनजिपुङ, खोक्लिङ र बगल्ले गाउँ पनि पर्यो । ८—९ वर्षकी हुँदा म कान्छी फुपूसँग उहाँको गाउँ चनजिपुङ आएकी थिएँ । केही दिन बसेर फिर्दा मलाई फुपूले पुषे मेलासम्म पुर्याएर हाम्रा गाउँका तरुनी तन्नेरीको जिम्मा लगाउनु भयो । एक्लै घर फिर्ने नसक्ने म गाउँका फुपूकाका, दाजुदिदीहरु जहाँ—जहाँ जान्छन् उही उही पछ्याउँथें —मेलामा । रातभर धान नाचेर उहाँहरुले छ्याङ्गै उज्यालो पार्नुभयो । बिहान बाटो लाग्दा हामी इखाबु घर फिर्दैछौं भन्नेमा ढुक्क थिएँ । तर, हामी त इखाबु नपुगेर उही बगल्ले गाउँ पो पुग्यौं । फेरि त्यही पुग्दा मलाई अचम्म लाग्यो । कारण सोध्दा दिदीहरू भन्थे, ‘यहाँ मासुभात खान आएको हो । अब खाइसकेर घर जाने !’

मासुभात कुर्दाकुर्दै सुतेछु म त । हामी पाहुनालाई आँगनमा गुन्द्रीराडी ओछ्याएर राखेका थिए । ब्यूँझिएपछि मलाई सारै भोक लाग्यो । रङ्गीन ऊनको हातबुना सानो झोलामा भोक लाग्दा खानु भनेर फुपूले किनिदिएको केरा र चिउरा बोकेकी थिएँ । खान्छु भनेर झोला खोज्दा भेटिन र डाँको छाडेर रुन थालें । फुपूहरूले भन्न थाले, ‘लौ है सोल्टीज्यूहरू ! यहाँ हाम्रो ठूलो मान्छेको झोला खोजी दिनु पर्यो ।’ बल्ल थाहा भयो, तरुनीहरू खाना नखाई भागेर जान्छन् भनेर बगल्लेका तन्देरीतरुनीले हामी सबैका झोला लुकाएका रैछन् । एउटा तन्देरीले सिकुवाबाट ‘सोल्टिनीको झोला यो हो ?’ भन्दै ऊनको एउटा हातबुना झोला अलग्गै देखायो । ‘होइन’ भनेर मैले टाउको हल्लाएँ । त्यतिखेर छेउमा बसेकी चमेली माइली दिदीले मेरो कानमा खुसुक्कै भनेकी थिई, ‘हो भन्नु छैन लाटी, त्यो मेरो हो क्या ! त्यहाँ बिडी छ खान नपाएर तलतल लगेर मरें ।’

यसरी रोकिएको हामीलाई त्यहाँ ठूलो राँगा ढालेर मेजमान खुवाइएको थियो । पछि त्यो मेजमान खाने हाम्रो तर्फबाट पनि बगल्लेका तन्देरीतरुनीलाई तेस्तै दुइटा राँगा ढालेर खुवाएका थियौं । जमाना न हो, त्यतिबेला जसले जति मनितो दिन्छन् त्यसको डबल मनितो तिर्ने चलन थियो ।

आज म हेर्दैछु, त्यति बेला म रोएको आँगन र घर अझै उस्तै छ । उकालोमा हामी कछुवाको तालमा हिंड्दै थियौं । निक्कै माथि पुगेपछि एउटा काठको गोलो डिजाइनको चौतारा आयो । त्यहाँको शिलालेख र फोटो हेर्दा मृतक मलेसियाबाट बन्द बाकसमा आइपुगेको थाहा भयो । यस्तो अवस्था हामीले कहिलेसम्म भोग्ने हो ? सम्झेर नरमाइलो लाग्यो । चौतारो छेउमै एउटा ठूलो बोटमा भोगटे टन्नै पाकेको देखेर जिब्रो रसाइहाल्यो । भोगटे किन्नलाई मैले मक्खन लुङालाई भनें । भोगटे धनीले ५० रुपैयाँमा दुई दाना झारिदियो । एउटा दाना त्यहीं खायौं र अर्को झोलामा हाल्यौं । तिर्खा बेसरी लागेकै थियो । माटोको ठूलो घैला चौतारोमा राखिएको थियो । घैलाको पानी साँच्चिकै हरर आँतलाई तृप्त पार्नेगरीको चिसो थियो ।

त्यहाँबाट आधा घण्टाजसो मास्तिर उक्लेपछि एउटा घर आयो । घरको बरन्डामा एउटी किशोरी किताब पढ्दै बसेकी थिई । ती किशोरीलाई हेर्दै माइला भाइले जिस्क्याइहाल्यो, ‘म आउँदै गरेको देखेर किताब हेरेको हो सोल्टिनी ?’

लिम्बुनी न परी, ऊ पनि के पछि हट्थी र ! ‘हो नि सोल्टी, अघिनै कालो कागले तलतिरबाट एउटा भुँडेभुँडे सोल्टी आउँदैछ, उसलाई बरण्डामा किताब लिएर बस्ने केटी मन पर्छ भन्दै थियो, मलाई लैजाने हो त सोल्टी ?’ उसको ‘सिक्चिम्’ (धित्मर्दो) जवाफमा हामी सबै हाँस्यौं ।

‘म हारेर गएको होइन है सोल्टिनी, भोलि फेरि फर्केर आउँछु, यै बरन्डामा यसैगरी बसिरहनुस् है ?’ माइलाले हाँस्दै भन्यो । ‘ए हवस् सोल्टी साप !’ जवाफ दिन उसले पनि कुनै आइतबार बारिन । यसरी जति थाके पनि माइला भाइ हामीलाई हँसाइरहन्थ्यो । उसको यो हर्कतले यात्रा रमाइलो भयो ।

त्यो घर कटेपछि हामी खोक्लिङ डाँडा बजार निस्क्यौं । पहिलो डिल उक्लिने बित्तिकै ठूलो हेल्थपोस्ट भवन अनि मास्तिर दोकान र क्यारेमबोर्ड खेल्ने ठाउँ रैछ । म र बहिनी चिसो कोक पिउन थाल्यौं । मक्खन लुङा र माइला क्यारेम खेल्न थाले । डाँडा गाउँदेखि माथि हेर्दा फुपूको घर चनजिपुङ देखिन्थ्यो । तमोरको गड्तिरदेखि हिंडेको हामी खोक्लिङको टुप्पोमा पुग्नु थियो । भाइहरु क्यारेममै अल्झेलान् ठानेर मैले हतारो लगाई हालें । पसलमा कोक खाएको पैसा तिर्न लाग्दै थिएँ, मक्खन लुङाले मलाई रोक्दै भन्यो, ‘यहाँ मेरो अलैंचीको कारोबार हुन्छ दिदी । तेसैले पैसा तिर्नु पर्दैन । मेरो खातामा चढ्छ ।’

‘लौ, तेसो भए जै होस् अलैंचीको !’ भन्दै म अघि लागें । खेल्दै गरेको क्यारेम छोडेर भाइहरुले पछ्याउनै पर्यो ।

ठाडो आकारको थियो डाँडागाउँ बजार । सिरान घरमा पुगेपछि एक जना बुढी मान्छेले हामीलाई कहाँबाट आएको, कसको छोराछोरी भनी सोधनी गरी । मक्खन लुङाले ‘मेरो माइला मामाको छोराछोरी हौ तुम्मा ।’ भन्दा बुढी मान्छेले कुरा निकालिहाली बुबाको, ‘ए..तीनघरे हल्दार माइलाको छोरी र छोरा ? लु, बाबुसँग उहिल्यै बेस्सरी धान नाचेको । यो साल त मरिगयो रे, सुनेर छक्कै मात्र परें ।’ भर्खर गुमाएको बुबा मैले त यात्राका धुनमा बिर्सी रा’को रैछु । फेरि मलाई बुबाको यादले एकपल्ट नमिठो गरि चिमोट्यो ।

बुबाको बैंसको तरुनी ती बुढी मान्छेसँगको अचानक छोटो भेटलाई त्यही बिट मारेर फेरि हामी गन्तव्यमा लम्क्यौं । मलाई सानोमा हिंडेको पूर्वाञ्चलकै नामी खोक्लिङ हाई स्कुलको बाटो जान मन थियो तर मक्खन लुङाले त्यो बाटो घुमाउरो र ठूलो चिहानघारी पनि भएकाले नजान भन्यो । मलाई भने त्यै चिहानघारीमा लुङाहरु (मक्खन लुङाको जवान दाजु, दिदी र भाइबहिनीहरू) को चिहान हेर्दै जाने विचार थियो । कान्छी फुपूको जेठी छोरी लुङा मसंगैको थियो । ती जेठी लुङा मावला आउँदा हामी कस्तो मिलेर खेल्थ्यौं । मक्खन लुङाको जेठा दाजु सन्तोष लुङा गएको साल मात्र मलेसियाबाट फर्केर बितेको हो । अरु दुई जना लुङा (मक्खन लुङाका भाइ र बहिनी) गरी चार जना लुङालाई उराठ लाग्दो त्यो चनजिपुङ डाँडाले कहिल्यै नफर्कने गरी बसाइँ सारेर लगेको थियो ।

खोक्लिङ र बगल्ले बाकुलो गाउँ भए पनि फुपूहरूको गाउँ चनजिपुङ एकलास पर्छ । अलैंची खेतीले अहिले आगो बलेको रैछ यो गाउँ अनि डाँडापाखा सबै । उहिल्यै फुपूूसँग घाँसदाउरा, मेलापात हिंडेको ठाउँ सबैमा अम्लिसो र अलैंची थियो ।

हामी हल्का तेर्सो लागेर फेरि अन्तिम उकालो चढ्यौं । बाटोभरि लाम्पाते सुर्ती पर्लक्कपर्लक्क पल्टेको थियो । सुर्ती खेतीको दृष्य मलाई रमाइलो लाग्यो । भारी बिसाएर लाम्पाते सुर्तिसित पिरती गाँस्दै फोटो खिच्यौं पालैपालो ।

पातलो जङ्गल । फुस्रो कमेरे माटोको उकालो बाटो । कतै सिमसार खेत हुँदै डाँडामा बल्लैले निस्क्यौं । बल जति भित्ता कोपर्दै सकिसकेको थियो ।

‘लु है अन्तिम बिसौनी यो सोल्टिनीको छेउमा गर्नु पर्यो’ आँगनमा सुँगुरको चारो काट्दै गरेकी फुच्चीलाई गिज्याउँदै माइला भाइले भारी बिसायो । गाला रातो बनाउँदै त्यो फुच्ची बेस्कन सर्माई मात्र । बोलिन । आँगनमा मास्तिर रक्सी बाहन बसाइएको थियो । अर्को चुलामा सुँगुरलाई चारो पाक्दै थियो । भाइले ‘होइन हो सोल्टिनी, यो चारो त मेरै भुँडी हेरेर मेरै लागि पका’को जस्तो पो छ त ? मलाई त काटी खान मिल्दैन नि फेरि, विचार चोगे (विचार गर) ।’ अलिकति लिम्बु भाषा मिसाउँदै भन्यो । फुच्ची झनै लजाएर हँसियासँगै घरभित्र दौडी । हामी हाँस्दै बाटो लाग्यौं ।

घर पुग्दा झमक्क साँझ परेको थियो । मक्खन लुङा हामीलाई लिन हाङ्ग्द्रुङ्ग  झरेदेखि नै फुपू हाम्रो बाटो हेरेर बसेकी रैछिन् । हामीलाई देखेर रुन थालिन् । नरुवोस् पनि कसरी ? चार—चार जना छोराछोरीको शोकमाथि भर्खर सहोदर दाजु बितेको शोक पनि जो थपिएको थियो ।

भोलिपल्ट उठेर फुपूको घर वरिपरि डुल्दै रमिता हेर्यौ‌ । चिसो यति होइन कि मुख पनि धुन सकेनौं । घाम नआई बिहानको खाना मक्खननी बुहारी ( मक्खन लुङाकी श्रीमती) ले बनाई । बुहारी उमेरले कलिली तर दुई छोराकी आमा भैसकेकी रैछिन् । अलिक मास्तिर चनजिपुङ स्कुलमा पढाउँदी रैछिन् । फुपू र फुपा दुई नाति र छोरा बुहारीको मुख हेरेर बाँचेका छन् । बुहारी भने गरिखाने भेटेछन्, खुशी लाग्यो ।

खाना खाएर एकछिन फुपूलाई कपालमा ठुङ हानिदिएँ । बहिनीले सबैसँग फोटो पनि खिची । फुपाजुलाई बिहानैदेखि हामीले लगेको कोसेली रमले झमझम भैरहेको थियो । कान्छी फुपूको घर मास्तिर हाम्रो गाउँकै अर्को फुपू पर्ने पनि थिइन् । तर ती फुपू बितिसकेको कान्छी फुपूले भनेपछि थाहा भयो ।

दिउँसो माइला भाइ र मक्खन लुङा फेरि डाँडागाउँ बजार क्यारेम खेल्न झरे । म र बहिनी फुपूको बारीतिर पस्यौं । बारीमा लङ्के पिंडालु लुबारात फलेको रैछ । एक डालो जति खनेर उसिनी खायौं । सारै मीठो खोक्लिङको लङ्के पिंडालु र स्कुस । सानोमा लङ्के पिंडालु खानै म फुपूकोमा आउने जाने गर्थें । सपनामा पिंडालु देखे मृत्यु शोक पर्ने विश्वास छ लिम्बु जातिमा । जे होस्, शोकैशोकमा डुबेका हामीले खुबै स्वाद मानिमानी खायौं लङ्के पिंडालु ।

वर्षौंपछि भेटेको बिरामी फुपूसँग एक दिन बसेर छुट्यौं । हिंड्ने बेला फुपू रुएको झझल्को दिनैभरि आइरह्यो । डाँडागाउँ पुग्दा बाटो छेउमा लाम्पाते सुर्तीको पातले राति परेको रसिलो शीत बोकेर घाम पर्खिरहेको थियो । घाम भने पारि खाम्लुङको टुप्पोबाट हामी सँगसँगै ओर्लिरहेको थियो ।

हाङ्द्रुङ्ग दोभान पुग्दा ठिक्क गाडीले पर्खिरहेको थियो । सिटहरू मक्खन लुङाले फोनबाटै बन्दोबस्त गरिसकेकोले पैसा मात्र तिरेर लाग्यौं फेरि ताप्लेजुङ उकालो । गाडीमै भेटियो ताप्लेजुङ भानु स्कुलका खेलकुद शिक्षक र केही फुटबल खेलाडीहरू । उनीहरू खेलकुदकै बारेमा मच्ची मच्ची गफ गरिरहेका थिए । थाकेर होला, नाम सोध्ने जाँगरै चलेन । ताप्लेजुङ पुगेर होटलमा छाडेको सामान र चन्द्र बहिनीको भारी लियौं । चन्द्र बहिनी त्यहाँबाट अझ उत्तर फक्ताङलुङ गाउँ पालिका अर्थात् हाम्रो पुर्खौली घर इखाबुतिर लागी । माइला भाइ र म ओरालो झर्यौं । फिदिममा बुबाहरूको दाजुभाइभित्रकी चेली अर्थात् हाम्रो फुपू पर्नेको घर थियो । त्यहाँ आएर एक दिन बस्यौं । यसरी तल—तला झर्दै फिर्यौं झापा । मनमा एक तलामाथि अथवा जन्मगाउँ इखाबु पनि पुग्ने मन त कहाँ नभएको हो र ? तर के गर्नु ? समय न हो, बुबाको मृत्युदर्तादेखि आमाको पेन्सन नामसारीसम्मका काम सकेर चाँडै बेलायत फिर्नुथियो । जे भए पनि कान्छी फुपूलाई भेटेर लङ्के पिंडालु खाएकोमै मैले चित्त बुझाउन पर्यो ।

(जानु काम्बाङ लिम्बुको प्रकाशोन्मुख नियात्रा पुस्तकबाट)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक