‘यो बेला बिलासितामा धेरै खर्च गर्न हुँदैन’: अर्थविद् डा.बाँस्तोला

mukunda

कोभिड १९ का कारण विश्वभर हुनसक्ने आर्थिक मन्दीका विषयमा कार्डिफ स्कूल अफ म्यानेजमेन्टबाट विद्यावारिधि गर्नु भएको अर्थविद् तथा हाल विश्वकै प्रख्यात जोन्सन ग्रुपका आर्थिक परामर्शदाता डा. मुकुन्द बाँस्तोलासँग वीनेपालीले गरेको कुराकानी :

संयुक्त अधिराज्य बेलायतमा आर्थिक मन्दी (रिसेसन) सुरु भएको हो ? यो कसरी थाहा पाउन सकिन्छ ?

बेलायत लगायतका धेरै विकसित मुलुकमा आर्थिक मन्दी (रिसेसन) सुरु भैसकेको छ । रोजगारीका अवसरहरु गुम्ने अवस्था आउनु, व्यापार व्यवसाय राम्रोसँग नचल्ने र उत्पादन तथा वितरणमा असर परेपछि रोजगारी गुम्दै जाने, कुल ग्राहस्थ उत्पादन घट्दै जानुको संकेतबाट आर्थिक मन्दी लागेको अवस्था थाहा हुन्छ । जस्तो पछिल्लो तीन महिनालाई मात्र हेर्ने हो भने पनि विकसित मुलुकको कुल ग्राहस्थ उत्पादन ६ देखि ७ प्रतिशतले ह्रास आइसकेको छ । विकाशुन्मुख मुलुकमा भने तीनदेखि ४ प्रतिशत उत्पादनमा संकुचन आएको छ । यसले अर्थतन्त्रलाई गिर्दो अवस्थामा लगेको छ ।

यो अवधि कहिले सम्म रहन्छ ?

कम्तिमा १८ देखि २४ महिनासम्म अझै रहन्छ । यो बेलायत वा अन्य विकसित मुलुकले जति चांडो व्यापार ब्यबसाय खोल्न सक्छ जसले गर्दा आर्थिक चहलपहलको सुरुवात हुन्छ यसले निश्चित रुपमै अर्थतन्त्रलाई फाइदा गर्छ। त्यसैगरी माग तथा आपूर्तिमा सहजताको लागि साना र मझैला नीजि क्षेत्रका उद्योग धन्दा चलाउन सरकारले प्रोत्साहन नीति नल्याउने हो भने लामो समय रिसेसन हुन्छ र नागरिकले धेरै दु:ख पाउँछन् ।

रिसेसनबाट बेलायत सरकार कसरी बाहिर आउन सक्छ ?

सरकारले मुख्यगरी उत्पादन र वितरणमै जोड दिनुपर्छ । नीजि उद्योग धन्दालाई सहुलियत दरमा ऋण उपलव्ध गराएर बढीभन्दा बढी उत्पादन र वितरणमा हातेमालो गरी अघि हिँड्यो भने अर्थतन्त्रको ह्रासलाई नियन्त्रण गर्न सक्छ । त्यो भनेको सरकार नीजि क्षेत्रसँग सहयोगी बन्नु पर्छ । अनि मात्र यहाँको अर्थतन्त्र चलायमान हुन सक्छ । त्यस्तै अर्को प्रमुख कुरा भनेको रोजगारी गुम्न नदिनु हो । पछिलो एक हप्तामा मात्रै बेलायतमा करिब १० हजार जनाले रोजगारी गुमाए। यो ट्रेन्डलाई रोक्न सरकारले फर्लो स्किमलाई अलि लामो समय लानु पर्ने हुन्छ । नत्र यसरी नै बढ्दै जाने हो भने हामीले सोचेभन्दा पनि भयावह स्थितिको सामना गर्नु पर्ने हुन्छ। सबैभन्दा बढी टुरिजम र एभियसन क्षेत्र मर्कामा परेका छन् । जसमा सरकारले विशेष ध्यान दिन आवश्यक छ।

यो बेला नयाँ व्यवसाय सुरु गर्ने कि पुरानोलाई जोड दिने ?

यसमा कस्तो हुन्छ भने तपाईले कुन ब्यवसाय गर्ने भन्ने कुरामा निर्भर गर्छ । जस्तो कि बजारको माग हेरेर जुन वस्तुमा माग बढी छ त्यो लाइनमा ब्यवसाय गर्यो भने राम्रै होला । नत्र अहिले तत्काल नयाँ ब्यवसाय गर्दा जोखिम बढी देखिन्छ । तर कुनै पनि ब्यवसाय सुरु गर्दा राम्रोसंग बजारको अध्ययन गर्नु अति नै आवस्यक छ । तर तपाईसंग पुरानो ब्यवसाय छ, पुराना ग्राहक छन् तर अहिले यो कोभिडको असरले गाह्रो भएको हो भने त्यसैलाई नयाँ तरिकाबाट निरन्तरता दिंदा राम्रो हुन्छ ।

घर खरीदका लागि उपयुक्त समय हो वा होइन ?

यो घर खरिदका लागि बिल्कुल उपयुक्त समय होइन किनकि अहिले रिसेसनले गर्दा मूल्यमा धेरै नै असर गर्ने देखिन्छ। जस्तो कतिपय मान्छेहरुले बजारमा बिक्रीमा राखेको घर पनि मार्केटबाट निकालेका छन् किनकि अहिले धेरैमा बिक्दैन भनेर । त्यसैगरी किन्नेले पनि धेरै पैसा हाल्न डराउने स्थिति छ । त्यसैले अहिले तत्काल पर्ख र हेरको अवस्था नै छ । मेरो नितान्त व्यक्तिगत राय माग्नु हुन्छ भने बेलायतमा घर किन्नको लागि कम्तिमा पनि अरु ६ महिना कुर्नुस भन्छु ।

रिसेसन कति लामो चल्छ ?

अहिलेको रिसेसन भनेको बिल्कुल फरक खालको छ र ज्यादै खतरनाक हुने सम्भावना पनि छ। पहिला-पहिला रिसेसन कि द्वन्द्वको कारणले हुन्थ्यो, कि त कुनै देशको आर्थिक संकटका कारणले हुन्थ्यो । तर यसपालि यो शताव्दीकै नयाँ अनुभव हो जसले पूरा विश्वलाई नै एकैपटक शिथिल बनाएको छ, जुन हामीले पहिला भोगेका थिएनौँ । त्यसमाथि फेरि कोभिड १९ को दोस्रो वेभको पनि चर्चा चलिरहेकोले यो यति नै समय रहन्छ भन्न सक्ने स्थिति छैन। मलाई जहाँसम्म लाग्छ यसको असर कम्तिमा पनि आउँदो ५ देखि ८ वर्षसम्म रहन्छ ।

नागरिकहरुले रिसेसनबाट कसरी जोगिने ? के केमा खर्च कटौती गर्नु पर्ला ?

अहिले नागरिकहरुले सकभर धेरै बिलासिताका कुरामा खर्च गर्नु हुँदैन। तर यसको अर्थ यो होइन कि उनीहरु बाहिर नै ननिस्कने । अर्थतन्त्र बचाउनको लागि र एकले अर्कोको जागिर जोगाउनका लागि पनि आर्थिक कृयाकलाप अति नै महत्वपूर्ण हुन्छ। तर पनि सेभिङमा अलि बढी ध्यान दिनु पर्ने देखिन्छ ।

नेपालमा रिसेसन सुरु भैसक्यो कि हुन बाँकी छ ?

नेपालमा अबको दुईदेखि तीन महिनाभित्र देखिने गरी रिसेसन सुरु हुन्छ । हाम्रो जस्तो कृषिमा निर्भर मुलुक र अरु देसको तुलनामा अलि कम नै आर्थिक गतिविधि हुने भएकोले झट्ट हेर्दा रिसेसनको त्यति प्रभाव देखिँदैन । तर केही महिनामै हामीले त्यो अनुभव गर्न सक्छौँ । नेपाल सरकारले पनि उद्योग धन्दा र कृर्षि उत्पादन तथा वितरणमा विशेष ध्यान दिएर अघि बढनु पर्छ । सानो अर्थतन्त्र भएको नेपालमा थोरै मात्र ध्यान दिँदा पनि अर्थतन्त्रको संकुचनलाई कम गर्न सकिन्छ । नेपालमा पनि तीनदेखि चार प्रतिशत कुल ग्राहस्थ उत्पादनमा ह्रास आइसकेको छ । कोरोनाको प्रभाव कम भएको ठाउँमा बजारलाई अलि खुकुलो बनाउनु पर्छ । जसले आर्थिक चहलपहल होस् नत्र यसरी नै सबै ठप्प परेर जाने हो भने यसबाट बाहिर निस्किन धेरै गाह्रो हुन्छ ।

नेपालीहरु बेलायतमा बसोबास गरे पनि नेपालमा आफ्ना नातेदारलाई रेखदेख गर्दै आएका छन् । यस्तो अवस्थामा कसरी व्यवस्थापन गर्ने होला ?

अत्यन्तै महत्त्वपूर्ण कुराको उठान गर्नु भो । यहाँ विदेशमा कहिले जागिर जान्छ कि भन्ने त्रासको बीचमा पनि कतिपयले आफ्ना नातेदारहरुलाई नेपालमा हेर्नु पर्ने स्थिति छ । त्यसको लागि सबैभन्दा ठूलो कुरा भनेको तपाइको जागिर अथवा ब्यवसाय जोगाउनु हो त्यसैले मेहेनत गर्नुस्, कामलाइ सानो ठूलो नभन्नुस, बाहिर निस्कनुस् आर्थिक कृयाकलापमा सहभागी हुनुहोस् जसले अरुको ब्यबसाय पनि चलोस् । सरकारले भनेजस्तो सामाजिक दुरी र माक्सको प्रयोग गर्नुहोस्। यसले तपाइलाई पनि बचाउँछ र अरुलाई पनि बचाउँछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री