शुक्रबार, असार १९ २०७७ | Fri, July 03, 2020
नेपालको समय: ०२:५१ | UK Time: 22:06

कोरोना नियन्त्रणमा नेपाल विश्वकै रोल मोडल बन्ने अवसर गुमायौं: डा. न्यौपाने

वीनेपाली
२०७७ असार १७ गते ९:५३

डा. न्यौपाने

लन्डन (जीएनएन) – नेपालले कोरोना नियन्त्रण गर्ने सुनौलो अवसर गुमाएको एकजना जनस्वास्थ्यविद्ले बताएका छन् । विगत १० बर्षदेखि नेपालको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष अनुसन्धान गर्दै आउनु भएको तथा हाल संसारभरि कोरोना संक्रमण र विस्तारको अनुगमन गरिरहेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयसंग आवद्ध एकजना अनुसन्धानविज्ञ डा. दिनेश न्यौपानेले नेपालले अरु कैयौं मुलुकहरु भन्दा चांडै लकडाउन गरेता पनि सिमा नाकाबाट भित्रिने नेपालीहरु व्यवस्थापन राम्रो संग गर्न नसक्दा अहिले स्थिति थप गम्भीर हुदै गएको बताए ।

ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै न्यौपानेले भने, “कन्ट्याक्ट ट्रेसिंग, क्वारेन्टिन र आईसोलेसनलाई प्रभावकारी बनाउन सकिएको भए नेपाल विश्वकै रोल मोडल बन्न सक्थ्यो, तर हामीले अहिले त्यो अवसर गुमायौं।“ “महामारीलाई नियन्त्रण गर्न भएका प्रयासहरुलाई बोर्डर क्षेत्रमा भएका लापरवाहीहरुले गर्दा दुर्भाग्यवस नेपालका सबै जिल्लामा संक्रमण फैलियो। पर्याप्त तयारी विना लकडाउनलाई खुकुलो बनाउने प्रयास तथा विभिन्न विरोध प्रदर्शनहरुले समस्यालाई अझ गम्भीर बनाउंदै लगेको छ ।“ सरकारले पिसीआर टेस्टबाट संक्रमितहरुको संख्या मंगलबार (३० जुन) सम्म १३,५६४ पुगेको बताए पनि यथार्थमा त्यो संख्या निकै धेरै हुन सक्ने न्यौपानेको अनुमान छ ।

“अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले टेस्टले देखाए भन्दा संक्रमितहरुको संख्या दश गुना बढी भएको अनुमान लगाएको छ । यसर्थ नेपालको परिप्रेक्षमा हाल सरकारी तथ्यांक भन्दा संक्रमितहरुको संख्या निकै धेरै हुन सक्ने भएकाले कोरोना संक्रमणबाट नागरिकहरुलाई जोगाउन कुनै पनि कसर नराखी सरकार र सम्बन्धित निकायहरु लाग्नु पर्ने देखिन्छ,” उनले भने, “विदेशबाट आउनेहरुसंग कुनै संसर्गमा नभएकाहरु पनि संक्रमित देखिनुले यो महामारी अब सुमदायस्तरमा पुगीसकेको देखिन्छ । अहिले मुख्य गरेर भारतबाट ह्वात्तै नेपाल प्रवेश गरेकाहरु क्वारिण्टिनमा छन् र उनीहरु लक्षित टेस्टहरु गरिएको छ। त्यसैले गर्दा अधिकांश संक्रमितहरु बिदेशबाट आएका देखिए पनि देश भित्रै धेरै संक्रमितहरु छन् जसलाई कसरि रोग सर्यो भनेर कन्ट्याक्ट ट्रेसिंग गर्न सकीएको छैन।”

जब सम्म कोरोना भाइरसको औषधी बन्दैन वा कोरोना भाइरसको खोप बन्दैन वा यो भाइरस आफै हराएर जादैन तबसम्म यो संक्रमण संसारबाट पुरै निर्मुल हुने सम्भावना देखिदैन। सिद्धान्त यदि कुनै सामाजिक दुरी कायम नगर्ने हो भने यस्ता संक्रमणहरुको प्रति दिन सबै भन्दा बढी देखिने बिरामीहरुको संख्या लगभग ५० प्रतिशत जनसंख्या संक्रमित भए पछि देखिन्छ। यसको लागि पनि यो संक्रमण एक पटक भएर निको भए पछि जीवनभर पुनः संक्रमण नहुने हुनु पर्दछ। तर वास्तविक जीवनमा जानेर वा नजानेर सामाजिक दुरी कायम गरेका हुन्छौँ। यसले गर्दा संक्रमण को बढ्ने दर कम हुन आउंछ र राम्रोसंग एक व्यक्तिबाट अर्को व्यक्तिमा यो संक्रमणलाई सर्न दीईएन भने सं क्रमणको दर घट्ने मात्र होइन, न्युजिल्यान्डले जस्तो पूर्ण रुपमा पनि रोकथाम गर्न सकिन्छ। तर नेपालको अहिलेको अवस्था हेर्दा धेरै नेपाली जनसंख्या संक्रमित हुने जोखिम बढेर गएको छ। नेपालको अवस्था यस्तै रहिरहने हो भने संक्रमितहरुको संख्या केहि समयमा नै ५० हजार नाघ्ने देखिन्छा।

” वुहानबाट फर्काईएका नेपालीहरुलाई जस्तै व्यवस्थित हिसाबले भारत र अन्य देशबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राख्न सकिएको भए कोरोना नियन्त्रण गर्न अत्यन्त प्रभावकारी हुने थियो, तर त्यो हुन सकेन,” उनले भने। न्यौपानेले नेपाल सरकार वा सम्बद्ध अधिकारीहरुसंग अहिलेसम्म आफ्नो यस बिषयमा कुनै प्रत्यक्ष सम्पर्क नभएको पनि बताए। कोरोना नियन्त्रण गर्न नेपाल सरकारलाई तपाईंको सुझाव के छ ? भन्ने प्रश्नमा उनले पांच बुंदे सुझाव दिए। १ गुणस्तर तथा परिमाणको हिसाबले क्वारेन्टिन केन्द्रहरुको तत्काल सुधार गर्ने, २ पालिका तह सम्म कन्ट्याक्ट ट्रेसिंगको विस्तार गर्ने। अलि अलि कर्मचारीहरुको संख्या बढाएर मात्रै खास लाभ हुंदैन ।

३ पीसीआर परिक्षणका लागि श्रोतको भन्दा पनि पद्धतिको अभाव देखिएको छ, त्यसैले त्यसलाई सम्बोधन गरी पीसीआर परिक्षण क्षमता बढाउने। ४ कोभिड-१९ को संक्रमणले गर्दा गम्भीर स्थितिमा पुगेका बिरामीहरुका लागि मात्रै भेन्टिलेटर, आइसोलेशन वार्ड, पर्याप्त पीपीइ तथा एम्बुलेन्स सहितका अस्पतालहरु तयार गर्ने । ५ सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने तथा पटक पटक मिची मिची साबुन पानीले हात धुने लगायतका प्रतिकारात्मक व्यवहार अपनाउन समुदायको चेतना बढाउने र यसको कार्यान्वयन गर्ने । “संयोजितरुपमा गम्भीर भएर यी काम हरु ग-र्यौं भने अझै पनि हामीले नेपालमा हुन सक्ने सम्भावित क्षतिलाई धेरै कम गर्न सक्दछौं,” डा. न्यौपानेले भने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक