आज आफूलाई नै जोडेर केही मनका कुरा लेख्न मन लाग्यो । म सम्झन्छु “म मरे पनि मेरो देश बांचिरहोस्” भन्ने गीत । यो रचना थियो प्रेम प्रकाश मल्ल र गायक थिए शिवशंकर । यो गीत रेडियो नेपालमा धेरै बज्यो । आफू सानो छँदा धेरै सुनेकोले, किन रचनाकारले आफूलाई भन्दा देशलाई बढी माया गरेर यो भनेका होलान् ? आफ्नो ज्यान पो ठूलो मान्न पर्छ भन्ने सोच्दथें । उनको भनाई सत् प्रतिसत् सत्य रहेछ । त्यो सोचाई त म उमेरले सानो र आफ्नै देशमा बुवाआमाको काखमा भएको कारणले आएको रहेछ । वास्तवमा भन्दा आफू आफ्नो देशमा आफ्नो बुवाआमा संगै हुँदा आफूलाई यति सुरक्षित लाग्दोरहेछ कि आफूलाई कहिल्यै पनि दुःख पनि पर्दैन र मर्न पनि कहिल्यै पर्दैन भन्ने लाग्दोरहेछ । तर पनि मानिस नमरेका कहाँ पो छन् र ?
अहिले म परदेशमा छु । परदेशिनु पनि आ-आफ्नै बाध्यता तथा अवस्था हुन्छ । नत्र किन छोड्थ्यो मानिसले आफ्नो देश, घर, परिवार, साथीभाई र चाडपर्वहरु सबै । परदेशिनु सबैको जस्तै मेरो पनि एउटा अवस्था थियो । विदेशिएकै दिनदेखि कुनै न कुनै कारणले मेरो मन पोलिरहेको छ । अझ बढी कुनै बहानामा होस् मेरो देशमा जनअधिकार खोसिन लाग्दा होस्, भ्रष्टाचारीहरुले देशलाई लुछ्दा होस्, निर्मला जस्ता चेलिबेटी बलात्कृत र महिलाहरु बोक्सीको नाममा दुर्व्यवहारको सिकार हुँदा होस् वा भुकम्पले थिल्थिल्याउँदा, बाढीपहिरो, दुर्घटनाहरु वा डेँगु, स्वाईन फ्लु, बर्डफ्लु, कोरोना जस्ता महामारीको बिगबिगीले देश आहत भईरहेको अबस्थामा होस् मलाई पीडा हुन्छ । यही नै मातृभूमिप्रति प्रेम भनेको भनेर बुझ्दछु ।
हो मेरो देशलाई पीडा हुँदा मलाई दुख्छ । जसरी आफ्नो जन्मदाता र कर्मदाता आमा र बुवाप्रति जति प्रेम, स्नेह र सम्मान हुन्छ, आफ्नो जन्मभूमिप्रति पनि उत्तिनै हुने रहेछ, फरक त सजिवता र निर्जिवताको मात्र । निर्जिवताको कुरा गरौ भने पनि मातृभूमिको प्रेम र सम्मान भगवानका निर्जिव मूर्तिहरु जस्तै शक्तिशाली हुने रहेछ जसमा अटुट सम्मान र सम्बन्ध रहन्छ । छोराछोरीहरुमा भने फरक पाउँछु । उनीहरु जहाँ जन्मे वा हुर्के त्यही रमाएका र खुसी भएकै देख्दछु । तर नेपाल जाने भनेपछि उनीहरुमा पनि छुट्टै उत्साह र खुसी भएकै नै पाउँछु । एक भतिजले १० वर्ष अगाडि भनेका कुरा यथार्थ लाग्छ, “हाम्रा बुवा हजुरबुवा पहाड छोडेर तराई झर्दा सधै दुःखी हुनुहुन्थ्यो, हामी तराई छोडेर काठमाण्डौ जाँदा छटपटिन्छौं तर अहिले देश छोडेर परदेशमा बस्नेलाई त्यस्तै छ, यस्तै रहेछ जीवन पनि” ।
हो, म धेरै कुराले अहिलेको नेपालभन्दा सम्पन्न देशमा छु । म मेरो आफ्नो सानो परिवारसंगै छु । यातायात, शिक्षा, स्वास्थ्य, खानपान, रंगीचंगी भेषभुषा शहर बजार सबै राम्रो छ । तर मेरो मनले भने यी सबै क्षणिक र बिलासी देख्छु । दिउँसोको उज्यालोमा त मलाई यी सबै कुराले भुलाउँछ । म साँझ घर फर्कन्छु । दिउसो जे खाए पनि, बेलुका नेपाली खाना दालभात, तरकारी, अचार खानैपर्छ । यी खाना एकदिन नखाए पनि अर्को दिन त चाहियो नै । अझ मेरी श्रीमतीलाई गुन्द्रुक, मसौरा, रायोको साग, लप्सीको अचार भए पुग्छ । मौका मिले फुर्सदको समयमा परिवारसंग दिउसो जानी नजानी मम, छोईला, चटपटे, समोसा, अनि पकौडा आदि आदि पकाएर त खाईन्छ नै । खाँदै गर्दा भन्छु, आज नेपालकै जस्तो खाईयो तर पनि मेरो मन भने अघाउँदैन । विश्वभरिका खानेकुराहरु आफु भएको देशमा उपलब्ध भएपनि तिनको स्वादले मलाई र मेरो परिवारलाई कहिलै आकर्षण गरेन ।
समय समयमा नेपालबाट गायक र गायिका आउँदैछन्, कलाकार आउँदैछन्, हास्य ब्यंग्यकार आउदैछन् या राजनेता आउँदैछन् भन्दै फेसबुक र भाईबर भरी त्यही मेसेज आउँछन् । म पनि समय मिलाएर संभव भए सम्म र खबर पाएसम्म कार्यक्रममा पुग्छु । कति कार्यक्रममा त नेपाली खाना पनि दिने चलन छ । खाना पछि हलमा बसेर मजाले नेपाली कार्यक्रम प्रत्यक्ष हेर्छु, सुन्छु र रम्छु । त्यहाँ मेरो नेपाल देख्छु तर त्यो त २-३ घण्टा मात्रै हो फेरि मेरो आफ्नै परदेशमा रहेको जीवन त छँदैछ । राति बिछ्यौनामा पल्टन्छु । घर परिवार, बुवाआमा, दाजुभाइ दिदीबहिनी र ईष्टमित्र, साथीहरू सबैको संझना आईरहन्छ । त्यहि सम्झिदा सम्झिदै निदाउछु ।
सपनामा पनि नेपालमै घर परिवार, ईष्टमित्र र साथीभाईहरुसंगको भेटघाट, घुमघाम, रमाईलो, मन्दिर गएको, डाँडा चढेको, झरेको, खेतबारी आदि देख्छु । बिहान बिउँझिदा आनन्दको सिमै हुँदैन । अनि विस्तारै मेरो दिमाख खुल्न थाल्दछ अनि फेरि उही गरुंगो, भारी बोके जस्तो, छट्पटी भएजस्तो, केही बिर्से जस्तो भान बढ्दै जान्छ । आफ्ना दैनिकी र कार्य ब्यस्तताहरुले केही समय त आफू कहाँ छु मेरो धरातल के हो भन्ने नै बिर्सन्छु तर फेरि “खाली समय सैतानको घर” भनेझैं नेपाल, घरपरिवार, ठांउथलो सबै ताजा हुँदै आउँछ । मनले झोला बोक र देश फर्क भनिरहन्छ तर परिस्थितिले फेरि मलाई अल्झाई रहन्छ ।
सबै नेपालीले आफ्नो भूमिका अनुसार विश्वका जुनसुकै कुनामा बसेर भएपनि आफ्नो देशलाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरिनै रहेका छन् । परदेशी नेपालीहरुको मुलुकको अर्थतन्त्रमा ठुलो योगदान त छँदैछ । अझ थप देशमा आपतविपदमा, आ-आफ्नो गांउ, जिल्ला र क्षेत्रहरुमा बाढीपहिरो पिडितलाई सहयोग गर्ने, स्कुल बनाउने, हेल्थपोष्ट खोल्ने, एम्वुलेन्स सेवा संचालन गर्ने, छात्रवृत्ति दिने, कम्पुटर शिक्षा आदिमा सहयोग गरेर देश र सामाजिक विकासको अभियानमा सरिक हुदै आएका छन् । म र मेरो परिवार पनि यस्ता सहयोगी हातहरु बनेर बेला मौकामा नेपाल र समस्यामा परेका नेपालीलाई कुनै न कुनै रुपमा सहयोग गर्ने गर्दछौ ।
नेपालमा र नेपालीलाई टुसुक्क केही होस् त सबैका फेसबुकका भित्ताहरुमा नेपालकै माया झल्केका पोष्टहरुले रंगिएको पाउछु र म पनि आफ्नो बर्कतले भ्याएको कमेन्ट लेखिहाल्छु । कमेन्ट लेख्दा कोही अल्ली भावुक भएर र कोही यथार्थलाई केलाएर लेख्छन् त कोही अल्लि खरो भाषा पनि प्रयोग गर्छन् । तर आखिर यी सबै मुलुकप्रतिको मायाले त गरेका हुन् नि भन्ने बुझ्दछु । म पनि नेपालमा राम्रो उदाहरणीय काम भएको बेला खुसी हुन्छु तर राज्यमा गलत भएको बेलामा वा जनआवाज उठाउन पर्ने बेलामा दुखी भएर आफ्नो वालमा लेख्ने गर्छु र साथीभाई भेट हुँदा छलफल गर्छु । जोसुकै होस् मनको कुरा सालिनता साथ पोखिदिन्छु । कसैलाई मन परे वा नपरेकोमा मलाई पर्वाह लाग्दैन किनकि ती मेरो आफ्नो बुझाईका प्रतिबिम्व त हुन् नि ।
आजभोली त सोसल मिडियाले र अनलाईन मिडियाको विकासले गर्दा सबैलाई अभिब्यक्त गर्ने अवसर मिलेको छ र सबैलाई नजिक बनाईदिएको छ । पहिला जस्तो खबर थाहा पाउन वा एउटा लेख छपाउन पनि धेरै गार्हो अवस्था छैन । यही अवसरलाई सदुपयोग गरेर पाठकहरु माझ पुगोस् भनेर सोसल मिडियामा र अनलाईन खबर पोर्टलहरुमा पनि कहिलेकांही समसामयिक विषयमा आफ्ना विचाररहरु लेख्न मनलाग्छ र समय मिलेसम्म लेख्छु पनि । यहि सोसल मिडियाको माध्यममार्फत अहिले देशभित्रै मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने श्रमिक समूह लकडाउनको अबस्थामा शहरहरुमा खान र बस्नको समस्याका कारण आफ्नो कुम्लो काम्लो बोकेर लामो दुरी तय गर्दै आफ्नो घर फर्कदै गरेको देखियो । सरकारबाट पनि आवस्यक ब्यवस्था भएको छैन भन्ने सुन्दा मलाई पीडा थपिएको महसुस भएको छ । ती राष्ट्र निर्माणमा सरिक श्रमिकहरुलाई काम गरिरहेकै ठांउमा नै राहत दिन त सक्थ्यो, खानाको प्रबन्ध गर्न सक्थ्यो नि सरकारले । यस्तो आपत पर्दा खाडी मुलुकहरुमा रहेका नेपालीहरुलाई मुलुक फर्कन दबाव भन्ने कान्तिपुरमा छापिएको समाचार पढ्दा निकट भविस्यमा आईपर्ने कठिनाईको सामना गर्नुपर्ने अर्को समस्या देख्दछु ।
प्राय सधै बिहान उठेर पहिला नेपाली अनलाईन पोर्टलहरु हेर्छु । आफूलाई सर्सर्ती नेपाली न्युजहरु अपडेट गर्छु र त्यसपछि मात्र बीबीसी, सिएनएन आदि अरु स्थानिय र विश्व समाचार हेर्ने गर्छु । अहिले जताततै कोरोना फैलिएको र यसकै प्रभावका खबरहरु छन् । म आफै बसेको देशमा कोरोना महामारीका कारण १६ हजार भन्दा बढी मानिसले कोरोना भाईरसका कारणले ज्यान गुमाई सके । करिब डेढ दर्जन जति नेपालीहरुले त ज्यान गुमाएको खबरहरु नेपाली पोर्टलहरुमा आएका छन् भने धेरै संक्रमित भईरहेका छन् । मेरै वरिपरि कोरोना भाईरस घुमिरहेको रहेछ ।
अहिले, हामी आफैँमा संक्रमण पुष्टि भएको छ । मैले पनि बेलायतमा र विशेषगरि आफ्नै परिवारमा यो कोरोना संक्रमणसंग जुध्न पर्ला भन्ने सोचेको थिईनँ । अहिले हामी यस भाईरससंग लडिरहेका छौ । तर आत्म विश्वास, उपलब्ध सूचना, साथीभाईहरुको अनुभव र सद्भावले रोगसंग लड्न मद्दत पुगिरहेको छ । सबै ठिक हुने आशामा छौं । तर मलाईभन्दा पनि मेरो देश र नेपाली समुदायमा के भईरहेको छ आज अर्को नेपालीलाई डस्यो कि भन्ने चिन्ताले सताउन भने मलाई छोडेको छैन । नेपालीको कोरोनाका कारण विदेशमा मृत्यु भयो रे, नेपालमा अर्को केस भेटियो रे भनेपछि यो भुसको आगो सल्के जसरी एक मानिसबाट अर्को मानिसमा थाहै नभै सर्ने भाईरसले कतै मेरै देश बिस्तारै आक्रान्त हुदै त छैन ? खबर हेर्न समेत डराउँछु । कोरोना कै कारण करिब ३० परदेशिएका नेपालीहरुको ज्यान गैसकेको छ भनिएको छ । यसको पीडा र परिवारमा यसबाट पर्न गएको असरको भयावह छ सामना गर्नै कठिन छ ।
कहिले युद्ध, कहिले भुकम्प, कहिले बाढीपहिरो त कहिले आगलागीले थला पर्ने गरेको सानो अर्थतन्त्र र प्रजातन्त्रिक अभ्यासमा वामे सर्दै गरेको मेरो देश कतै कोरोनाको चपेटामा पर्यो भने के गति होला? अहिलेसम्म ३१ वटा केसहरु फेला परेपनि यसको असर बढ्दै गयो भने ? कल्पना गर्दा पनि डर लाग्छ । अहिले अमेरिका, युरोप कोरोनाको केन्द्र नै बनिरहेका छन् । अहिलेसम्म विश्वमा १७१ हजारले ज्यान गुमाईसके जसमा यो विश्वमा अझ कतिले ज्यान गुमाउन पर्ने हो र कति साधन र श्रोतहरुको प्रयोग गर्न पर्ने हो यकिन छैन। अरु देशमा जतिले दुखद् रुपमा ज्यान गुमाए पनि मेरो देशमा यसका कारण कसैले ज्यान गुमाउन नपरोस् । एउटा मात्र ज्यान गयो भने राज्य थप सतर्क हुदै ठूलै साधन श्रोतहरु ब्यवस्था गर्न पर्ने हुन्छ । यसबाट मेरो सानो देश आर्थिकरुपमा धेरै पछाडि धकेलिने छ, धेरै थप नेपालीले फेरि अर्थतन्त्र बचाउन र रोजगारीको लागि वर्षौ विदेश धाउन र दुःख, कष्ट, एकान्त महसुस गर्न पर्नेछ । हुन त सबै देशहरु आर्थिकरुपमा खुम्चिन पुगेका छन् । तर मेरो मन मानिरहेको हुँदैन ।
यही लकडाउनमा परिवारसंग बसेर एउटा हिन्दी सिनेमा पनि हेरेको थिएँ “सुपर ३०”। बिहारका आनन्दकुमारको वास्तविक जीवन कथामा आाधारित सिनेमा रहेछ । त्यसमा भनिएको थियो “आपत्तिबाट नै आविष्कारको जन्म हुन्छ” । यसले विश्वलाई नयाँ अवस्थामा त बदल्ने अवसर दिनेछ । यसपछि विश्वब्यापीकरण र परनिर्भरता र सस्तो श्रमिक खोज्ने नितिमा परिवर्तन हुने देखिन्छ भने सम्वन्धित देशहरुले पनि जिम्मेवार भएर जनताका सेवा सुविधा, आवस्यक उत्पादन र रोजगारी ब्यवस्था आफ्नै देशमा गर्न पर्ने देखिन्छ । यस विश्वमा यो कोरोना आकस्मिक आपत्ति पछि हुने परिवर्तनले नेपाललाई पनि सुधार गर्ने र अगाडि बढ्ने अवसर प्राप्त हुनेछ । मनमा निकै सकारात्मक कुरा पनि खेल्छन् । यदि यसो भयो भने त रोजगरी र शिक्षामा विदेश भौतारिने आजका नेपालीहरु भोलि अरुलाई रोजगारी दिन सक्ने नि त हुन सक्छन् नि। अहिले पो विश्वब्यापीकरणले थिच्चिएर र मिचिएका मुलुक अगाडि बढ्ने अवसर प्राप्त नभएर हो कि, हेरौं ।

पुरुषोत्तम पौडेल समसामयिक विषयमा कलम चलाउँछन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान