नयाँ वर्षको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्व राजाको सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारी, तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, (जीएनएन ) – नयाँ वर्ष विसं २०७७ को अवसरमा रास्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राजा ज्ञानेन्द्र शाह तथा मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले छुट्टा छुट्टै शुभकामना संदेश दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । उनले आफ्नो संदेशमा नोबल कोरोनाभाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नु भएको जनाएकी छन् ।

त्यस्तै आफ्नो संदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कामना गरेका छन् । विगतमा भूकम्पको अप्यामारो अबस्थामा नेपालीले देखाएको एकता र साहसबाट भूकम्पको प्रभावबाट उठ्न सफल भएको दृष्टान्त दिंदै कोरोना विरुद्धको लडाइँमा पनि एक हुन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

चुनौती सामना गर्न आह्वान
यसैगरी आफ्नो शुभकामना संदेशमा पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसबाट सिर्जित समस्याविरुद्ध एकतावद्ध भएर चुनौतीको सामना गर्न आह्वान गरेका छन्। एकले अर्कोलाई निषेध गर्ने सोचको आयु समाप्त भएको बताउँदै पूर्वराजा शाहले राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकिएन भने इतिहासमा अर्को एउटा महाभूल हुने जनाएका छन्।

कोरोना भाइरसको वर्तमान संक्रमणले हाम्रा पुर्खाले अनादिकालदेखि अवलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवनपद्धति सर्वश्रेष्ठ र वैज्ञानिक भएको महसुस अहिले विश्व जगत्ले स्वीकार गरेका पनि पूर्वराजा शाहले उल्लेख गरेका छन्।

त्यस्तै आफ्नो संदेशमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेकामा जोड दिँदै लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कार्य गर्न र गराउन सबैमा आग्रह गरेका छन् । उनले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन् ।

नेपालमा बन्दाबन्दीकै बीच यो वर्ष नेपालीहरुले सामाजिक संजालबाट नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गरिरहंदा नेताहरुको यस्तो संदेश आएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री