महायज्ञबाट एक करोड २२ लाख संकलन

चितवन । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानले गत माघ ११ देखि १८ गतेसम्म चितवनको भरतपुर महानगरपालिका ६, इन्द्रपुरीस्थित भारद्वाज कुल देवता मन्दिर परिसरमा ऐतिहासिक श्रीमद्भागवत् महापुराण तथा विराट् धनधान्याचल महायज्ञ गरेको छ ।

भारद्वाज गोत्रीय पण्डित स्व. नारायण पोखरेलका सुपुत्र वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल एवं स्व. पण्डित बालमुकुन्द उपाध्याय पोखरेलका सुपुत्र पण्डित दुर्गाप्रसाद पोखरेलद्वयको श्रीमुखबाट भागवत वाचन एवं कथा प्रवचन भएको हो ।

उक्त समारोहमा देशभरिका भारद्वाज गोत्रीय बन्धुहरू, भारद्वाज गोत्र सम्वन्धी अन्यान्य गोत्रीय तथा सनातन धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा स्थानीय विद्यालय, स्काउट, भजन कीर्तन टोली, संघसंस्थाहरूको प्रभात फेरी एवं मंगल कलश यात्रा गरिएको थियो ।

उद्घाटन समारोहमा बेलायतबाट उक्त महायज्ञको लागि पुगेका आचार्य दुर्गाप्रसाद पोखरेलको नवीनतम साहित्यिक कृति ’आफैसंग आफ्नो नाता’ को विमोचन समेत गरिएको थियो । समारोहमा मौलो पूजन, तुला दान, चौरासी पूजा, व्रतबन्ध, भूमि दान, कलश दान, भागवत पाठ पारायण, भजन कीर्तन आदि कार्यक्रम भव्यरूपमा सम्पन्न भएका थिए ।

दैनिक रुपमा नेपाली पञ्चे बाजाका साथ नाचगान, दाता सम्मान कार्यक्रम गरिएको थियो । भारद्वाज गोत्रीय पोखरेलहरूको वंशावली अनुसन्धान एवं प्रकाशन तथा भरद्वाज ऋषिको आश्रम निर्माणार्थ आयोजित उक्त महायज्ञमा भवन निर्माण गर्न जग्गा दानका साथै नगद रू १,२२,००००० (एक करोड बाइस लाख) संकलन भएको आयोजक समितिले जानकारी दिएको छ ।

धान चामल आदि जिन्सी सामानको हिसाब आउन अझै बांकी रहेको आयोजक समितिका एक सदस्यले बताए । समारोहमा नेपालको पूर्व झापा, खोटांग एवं पश्चिम दांग, प्युठान, अर्घाखाची, पाल्पा, बर्दिया, गुल्मी, पर्वत एवं कास्की, तनहुं, काठमाण्डौ, नवलपरासी, चितवनमा बसोबास गर्ने भारद्वाज गोत्रीय पोखरेलहरूको उत्साहपूर्ण उपस्थिति र योगदान थियो ।

स्थानीय सबै दलका प्रतिनिधि, सामाजिक एवं सामुदायिक संस्थाहरू, सुरक्षा निकाय सबैले आ-आफ्नो स्थानबाट आवश्यक सहयोग गरेका थिए । टाढाबाट आएका पाहुनाहरूको सेवा सत्कारमा स्थानीय पोखरेल युवा सशक्त रुपमा लागिपरेका थिए । स्थानीय शिवशक्ति रेडियोले ‘मिडिया पार्टनर’ का रुपमा प्रचारप्रसार एवं प्रत्यक्ष प्रसारण गरेको थियो ।

‘एकीकृत सांस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न भएको महायज्ञको रकमबाट देवघाटधाममा भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माण, भरद्वाज ऋषिको आश्रम निर्माण, धार्मिक पुस्तकालय निर्माण गरिने छ । साथै कुलदेव मन्दिर निर्माण, पितृमोक्ष दान, एम्बुलेन्स सञ्चालन, भारद्वाज गोत्रीय पोखरेलहरूको वंशावलीबारे अनुसन्धान एवं निर्माण र विपन्न व्यक्तिहरूको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

वंशावलीबारे खोज अनुसन्धान गर्न विद्वान् प्राध्यापकहरूको एक विज्ञ टोली बनिसकेर कार्य अगाडि बढेको संस्थाका अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए । गोत्रीय बन्धुहरूसंग परिचय, सौहार्द्रता एवं वंशावली पहिचान र प्रकाशनका लागि प्रयत्न गर्ने उद्देश्यले गरिएको यो नै नेपालमा पहिलो यज्ञ रहेको आयोजकहरू बताउंछन् । सर्वप्रथम कुल र गोत्रका ऋषिको मूर्ति भएको मन्दिर चितवन इन्द्रपुरीस्थित भरद्वाज ऋषिको मन्दिर नै रहेको विज्ञहरू बताउंछन् ।

स्वर्गीय पं. बालमुकुन्द पोखरेलद्वारा शास्त्रीय अध्ययन एवं अनुसन्धान पश्चात् भरद्वाज ऋषिको मूर्ति स्थापना गरिएको पोखरेल कूल पूजा समितिका पदाधिकारीहरू बताउंछन् । विभिन्न तह र तप्कामा देश विदेशमा रहेका पोखरेलहरूको उपस्थिति र ऐक्यवद्धताले नेपाली समाजमा भाइचारा र बन्धुत्वको महत्ता उजागर गरेको र राजनीति भन्दा माथि उठेर भ्रातृत्वको विकास हुनसके राष्ट्र निर्माण गर्न धेरै समय नलाग्ने सन्देश उक्त महायज्ञ समारोहले दिएको सहभागीहरूले बताएका छन् ।

समारोहमा पूर्व अर्थमन्त्री एवं नेकपा नेता सुरेन्द्र पाण्डे, नेका नेता शेखर कोइराला, स्थानीय सांसद कृष्णभक्त पोखरेल, योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेल, कर्मचारी युनियनका केन्द्रीय उपाध्याय भोला पोखरेल, प्रा. श्रीधर मजगैयां पोखरेल, प्रा.डा. सरस्वती पोखरेल, महेश सन्यास आश्रमका प्राचार्य डा. गुरुप्रसाद सुवेदी, आध्यात्मिक गुरु चैतन्यकृष्ण, पोखरेल प्रतिष्ठानका अध्यक्ष ओमप्रसाद पोखरेल एवं संस्थाका पदाधिकारीहरू तथा थानेश्वर पोखरेल, रेखा पोखरेल, टोपलाल पोखरेल, भीम पोखरेल, माधव पोखरेल, श्रवणकुमार पोखरेल, शंकर पोखरेल, धर्मराज पोखरेल, इश्वरी पोखरेल, शिवप्रसाद पोखरेल, भूपाल पोखरेल, रामचन्द्र पोखरेल, हरिप्रसाद पोखरेल, विष्णुमाया पोखरेल, शान्त पोखरेल, लगायत दाता समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो ।

भरद्वाज ऋषिको आश्रम देवघाटधामको अति पवित्र गंगा किनारस्थित आध्यात्मिक परिव्राजिका पवित्रा माताको आश्रममा बन्नेछ । समाजसेवी स्व. चूडामणि पोखरेलद्वारा उक्त जग्गा पवित्रा माता 
व्रह्मलीन भएपछि पोखरेल प्रतिष्ठानका लागि दान भएको हो । भारद्वाज आश्रमका लागि उक्त जग्गामा शिलान्यास समेत भएको महायज्ञ आयोजकले बताए ।

भावी आश्रम भवनको नक्सा डा. गोविन्दराज पोखरेल र इन्जिनियर धर्म पोखरेलले बनाएका छन् । ऋषि भरद्वाज विमान शास्त्रका प्रवर्तक एवं वेदमा अत्यन्त तेजस्वी ऋषिको रुपमा वर्णित छन् । उक्त आश्रम भरद्वाज ऋषि र उनको विमान शास्त्रबारे अध्ययन अनुसन्धान केन्द्रको रुपमा समेत विकसित हुनेमा भारद्वाज गोत्रीय बन्धुहरू विश्वस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री